९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

भोकले पिल्सिएका अन्नदाता

प्राकृतिक स्रोत, सम्पदार जलाधारहरूबाट धनी छ हाम्रो देश। जहाँ सम्पूर्ण मानव जातिका लागि आवश्यक पर्ने जमिन, खानी र सिँचाइका लागि आवश्यक जलसमेत उपलब्ध छ। यी पर्याप्त स्रोतको उपयोगितासँगै हाम्रो जीवनको मुख्य आधार किसानमा गएर टुंगिन्छ। मानव जीवनका लागि आवश्यक वस्तु हो गाँस, बास र कपास। ती सबै प्राप्त गर्ने मुख्य आधार हो कृषि। कृषि र किसानबिना हाम्रो दिनचर्या कल्पनासम्म पनि गर्न सक्दैनौँ।

खेती, हिलो, आली, जोतारो, सोइला, पाटी, हरिस, लगुना, चरी, अनौ, करुवा, फाली, जोरमा जुवा, हल्लुड, फ्याउरी, पटाहा, गोरु, राँगा यी सबै हुने र गरिदिने सधैँ गरिब। उनीहरूलाई गरिब सोच्ने मानसिकताबाट माथि उठ्न नसकेको हाम्रो समाज। किसान सधैँ गरिब नै हुनुपर्छ। किसानका आङ नयाँ लुगाले ढाकिन हुन्न। मीठो मसिनोको स्वाद चाख्न हुन्न। गतिलो छानोमा ओत लाग्न हुन्न भन्ने सोच। अनि उल्टै किसानी पेसालाई तुच्छ मान्ने प्रवृत्ति।

सुकुमबासी, भूमिहीन, हली, हलिया, साहूको अधिया बट्टैया, ढेक्का गर्ने सबै गरिब नै हुन्छन्। अन्ततः त्यही गरिब नै किसान बनिदिन्छ।

२०२८ सालदेखि खोटाङमा बाजेले खेती गर्दै आएको साहूको जग्गा स्याहार्न थाले विष्णुबहादुर राई। मधेस झरेर २०६७ सालदेखि उनै साहूको खेती सपार्दै आएउनै विष्णु। धेरै वर्ष एउटै मान्छेलाई कमाइ गर्न दिँदा मोही लाग्ने डरले राईले जोत्दै आएको जमिन खोसियो। जुन जमिनको माटोलाई राईले रातदिन खेलाए। मलिलो बनाए। अहिले उनी त्यही जमिनबाट बेदखल भए।

हातका कर्म रेखाहरूअनौ समाउँदा समाउँदै मेटिए। थाकेको शरीरलाई ओताउन बनेको बाँसको झुपडीले राईभन्दा पहिले ओत खोजेको छ। यही वर्षको हुरीले घरको छानो उजाडियो। बाँस खिप्दै उनी सोध्छन्–यही बाँस खिप्दा खिप्दै मैले सपना खिप्न बिर्सेछु। भएको एउटा ओत लाग्ने झुपडी पनि उजाडियो। अब ओत कहाँ लाग्नु ? कमाउँदै आएको दुई बिघा जमिनबाट साहूले बेदखल गरे। उनी जमिनबाट बेदखल मात्र भएनन्। राईको जीविका पनि गुम्यो। अब उनीसँग पीडाबाहेक केही बाँकी छैन। कालो बादलझैँ मन पनि धमिलिएको छ, राईको। बादल मडारिँदा आकासतिर हेर्दै प्रार्थना गर्छन्। र, भन्छन्– ‘मैले मेरो जीवन सकिन लाग्दा पनि माटो छाडिन। आफ्नो अधिकार नहुँदा अरूको माटो स्याहारे। तर खेती गर्नबाट खोसियो।’ आकाशतिर हेर्छन्, मानौँ उनको त्यो आँसु केही समयपछि वर्षात् बनिदिन्छ। र, ओत खोज्दै भौतारिन्छ।

बेलबारी–५ का ५९ वर्षीय गडुवा सरदारको समस्या पनि उस्तै छ। २०१७ सालदेखि हजुरबुबाले, त्यसपछि बुबा बन्झरु सरदार र छोराले पनि त्यही जमिन जोत्दै आए। वर्षौँदेखि जमिन र माटोमा जीवन सके। तर जीवनस्तर उकासिएन। खेती गर्न लागेको खर्च कुनै वर्ष त उठाउन पनि मुस्किल पर्छ। खेती गर्न ब्याजमा ऋण उठाउँछन् गडुवा सरदार। यो वर्ष यस्तै भयो। अर्को सालको कमाइबाट रामै्र आम्दानी होला भन्ने सोचे। ऋण तिरौँला, महाजन खुसी पारौँला, छोराछोरीको पढाइ खर्च टारौँला भनी दिन/रात खटेका छन्। राई र सरदार जस्ता लाखौँ किसानको हालत उस्तै हो। माटो मलिलो बनाउँछन्। अन्न उब्जाउँछन्। तर उनीहरूसँग न जमिनको अधिकार छ न त विनातकलिफ खेती नै गर्न पाउँछन्।

संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत खाद्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हक हुनेछ भनिएको छ। तर जो जमिनमा श्रम गर्छ, ऊ भोको छ। उसको झुपडीमा अन्न छैन। आफ्नै जमिन छैन। त्यस्तै आवासको अकअन्तर्गत प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भनिएको छ तर विष्णु जस्ता हजारौँ भूमिहीन राईहरू ओतको अभावमा भौतारिएका छन्।

किसानको रगत र पसिनाले बिउ उम्रन्छ तर तिनै किसान ओठ र ओतका लागि भौतारिएका छन्। नेपालमा ६७ प्रतिशतभन्दा बढी जनता कृषि पेसामा संलग्न छन्। तर पनि वास्तविक किसानले व्यवसाय सञ्चालन गर्न खोज्दा सहुलियत कर्जासमेत पाउँदैनन्। स्थानीय सरकारबाट प्राप्त प्राविधिक सेवा तथा प्रविधिहरू पुग्नुपर्ने किसानसम्म पुग्न सक्दैनन्। मल, बिउविजन र सिँचाइको अवस्था अत्यन्तै नाजुक छ। अझै जमिनको लालपुर्जा नहुने किसानले राज्यबाट पाउनुपर्ने कुनै सेवा र सुविधा पाउँदैनन्।

मोरङ बेलबारी–५ का ६६ वर्षीय जीतबहादुर तामाङ भन्छन्– ‘हवाईजहाजमा आकाशको बाटो हिँड्ने मालिकलाई के थाहा बाली कसरी हरियो भयो भनेर ? त्यो बालि हरियो बनाउँदा मेरो शरीरको रगत पसिना मिसिएको छ। त्यसैले त्यो खेत र बाली दुवै मेरा प्राण हुन्।’ जीतबहादुर जस्तै किसानको रगत पसिनाले सिँचित गरेर उब्जाएको उत्पादनले मालिकको भान्छा बसाउँछ। तर तिनै किसानहरूको पेट भने भोकले गड्गडाएको पत्तो कसले पाउने?

किसान नै हो माटो मलिलो बनाउने। जीवजन्तुको रक्षा गर्ने। सारा मानवपाल्ने। तर आज तिनै किसान भोको छन्। ओत लाग्ने गतिलो छाप्रो छैन। तिनै किसानले जल, जङ्गल, जमिन जोगाएका छन्। उत्पादन बढाएका छन्। तर यहाँ उत्पादन गर्ने किसानसँग जमिन छैन, भएका जमिन सबै भूमाफिया र बिचौलियाको हातमा पुगेको छ।

किसान अन्नदाता हुन्। मानो रोपेर मुरी फलाउँछन्। हामी एकदिन त के एकछिन पनि भोको बस्ने कल्पना गर्न सक्दैनौँ। तर आज तिनै किसान भोको पेटमा पटुकी कसेर उत्पादन गर्छन्। तर आफू भोको हुन्छन्। राज्यले पनि किसानको हितका लागि खासै नीति तथा कार्यक्रम ल्याउन नसकेकै हो। जसका कारण आज पनि किसानहरू उत्पादन गर्दागर्दै पनि आफैँ भोकै मर्न विवश छन्। आफूले जोतेको जमिनबाट बेदखल भैरहेका छन्। विडम्बना, तर राज्य भने यो वास्तविकताबाट बेखबर छ। आखिर कहिलेसम्म ?

प्रकाशित: १३ भाद्र २०८१ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App