७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

गठबन्धन सरकारलाई बंगलादेशको सन्देश

यतिखेर संघ र प्रदेश सरकारको गठन लगभग पूरा भएको छ। प्रदेश प्रमुखहरू पनि सरकारले नियुक्त गरिसकेको छ। राजनीतिक अडानका कारण कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा केही ढिलाइ भए पनि मुख्यमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिइसकेका छन्। राजनीतिक अस्थिरताका कारण संघ र प्रदेश सरकार प्रत्येक १८/२० महिनामा फेरबदल हुनु अस्वाभाविक छ। पाँच वर्षका लागि जनताले चुनेर पठाएका प्रतिनिधिले केन्द्रमा आफूखुसी राजनीतिक भागबन्डा गर्नु पक्कै सुखद होइन। दुई ठूला दल मिलेर लोकतन्त्रका पक्षमा रही जनजीवनका सवालमा गम्भीर भई काम गर्नु सकारात्मक पाटो भए पनि देशका प्रमुख दलका शीर्षस्थ नेताको बोली÷ब्यवहार र आचरण हेर्दा निश्चित दुर्गतिमा देशको राजनीति पुग्न सक्छ।

यो सरकारले हनिमुन नमनाउँदै टीकाटिप्पणी गर्नु हतारो हुनेछ तर दलका पुराना र त्यागी कार्यकर्ता र लोकतन्त्र प्राप्तिका लागि दिलो ज्यान दिएर काम गरेका भन्दा आफ्ना मान्छेलाई राजनीतिक नियुक्तिदेखि कामको अवसर दिलाउनाले यस्तै अनुभूत हुँदैछ। जहाँ असत्य हावी हुन्छ, त्यहाँ सत्यको हार हुन्छ।

लोकतन्त्र गरिब र विपन्न परिवारको सुखी जीवनको भलाइका लागी हुनुपर्नेमा दलमा त्यस्तो देखिँदैन। भ्रष्टाचार गर्न सिपालु, चाकडीमा चतुर, बेलाबेलामा बोली फेरेर नेताहरूलाई आफ्नो प्रभावमा पार्न खप्पिस समाजका छट्टहरूले जुनसुकै सरकारमा पनि सुनौलो मौका पाएका छन्। हालै सरकारले गरेका राजदूतदेखि अन्य राजनीति नियुक्तिमा पनि यसको बाछिटा पर्न गएको चर्चा छ।

राजनीतिमा लोकतन्त्रको महŒवपूर्ण भूमिका हुन्छ। लोकतन्त्र नारा होइन, ब्यवहार र आचरण हो। लोकतन्त्र सडकमा चिल्ला गाडीमा सवार हुनेहरूका लागि मात्र होइन, गाडीबाट उछिट्टिएको फोहोर पानी शरीरमा परेर पनि उदरपूर्तिका लागि सडकछेउमा मकै पोल्दै गरेका ती महिलाका लागि पनि हो। तर लोकतन्त्र आएको १६ वर्ष पुग्दापनि वास्तविक प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको मर्म देशलाई दुःख पर्दा सडकमा भोको पेटले पटक–पटक आन्दोलन गरेका कैयौँ आन्दोलनकारीलाई थाहा छैन।

परिणाम लोकतन्त्रको पाठ सिकाउने पार्टी नेपाली काङ्ग्रेसमा लागेका सयौँ युवाको जिन्दगी शिव कंगालको जस्तै बन्दैछ। यो शब्द दुःखका साथ पाठकसामु लेख्नैपर्छ कि बिपी, गणेशमान, कृष्णप्रसाद, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, जस्ता त्यागी र दूरद्रष्टा नेताहरूको विचार हिजोका दिनमा र वर्तमानमा पनि केही नेताले पोलेर खाँदैछन्। लोकतन्त्रको नाममा भविष्यमा दुर्घटना निम्त्याउँदैछन्।

देशको माटोको माया यी नेतालाई रत्ति छैन। समाजका गुण्डा, भ्रष्टाचारी, नैतिकपतन र आडम्बरीहरूको माझमा हरेकपार्टीका नेता र कार्यकर्ता परिसकेका छन्। अराजकताको दलदलमा फसेका यिनीहरूलाई उम्कन गाह्राे छ। कुनै जमाना थियो, बिपी हिँडेको बाटो सम्झेर बटुवाहरू काँडा पन्छाउँदै त्यही बाटो हिँड्ने गर्थे। नयाँ सडकमा गणेशमान देखेर यात्रुहरू टक्क उभिन्थे, नतमस्तक हुँदै श्रद्धापूर्वक नमस्कार गर्थे। कस्तो हार्दिकता थियो उहाँहरूप्रति।

वर्तमानमा कुनै पनि नेताको बोलीसम्म सुन्न चाहन्नन् सम्बन्धित पार्टीका कार्यकर्ताबाहेक अरू सर्वसाधारण नागरिक। आखिर किन यस्तो भैरहेको छ ? प्रत्येक लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छ। सरकारले राजनीतिक नियुक्ति गर्दा सहमति जनाउन्न, सोठाउँमा योग्य मौका नपाएको र देश र जनताका लागि जीवनभर इमानदार भएर काम गरेको ब्यक्तिलाई नियुक्ति गर्नुहोस् भनी सरकारलाई राय दिने व्यक्ति हाम्रो समाजमा कहिले जन्मिएलान्? हालै नवनियुक्त मन्त्रीहरूको चाकडीका लागि खादा, माला र भित्री नजराना गर्ने दास मनोवृत्तिका व्यक्तिबाट भविष्यमा नेपाली समाज उभो लाग्ला जस्तो देखिँदैन। यिनै हविगत देखेर हजारौँ नेपाली युवा विदेश पलायन भएका हुनुपर्छ।

अब केही चर्चा छिमेकी मुलुक बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पनि गरौँ। दुई वर्ष पहिले श्रीलंकालाई आर्थिक टाट पल्टाएर देश छाडेर त्यहाँका राष्ट्रपति राजपाक्षे विदेश पलायन भए। कलंकको कालो टीका लगाए।

सन् १९७१ डिसेम्बर १६ मा पश्चिमी पाकिस्तानबाट अलग भएर नयाँ राष्ट्रका रूपमा उदाएको बंगलादेशका जन्मदाता शेख मुजिबुर रहमान हुन्। बंगलादेशका लागि उनी लोकतन्त्रवादी नेता थिए। जसको हत्या अतिवादी समूहद्वारा राजधानी ढाकाको पूर्वी क्षेत्र चटगाउँमा भयो। चटगाउँ समुन्द्री किनारामा अवस्थित प्रमुख व्यापारिक केन्द्र हो। बर्माबाट भागेर आएका केही नागरिकको बसोबास त्यस ठाउँमा छ।

सबैलाई थाहा छ १६ वर्षसम्म लगातार शासन चलाउँदै आएकी ७६ वर्षीया शेख हसिना उनै प्रजातन्त्रवादी नेता मुजिबुर रहमानकी छोरी हुन्। सुरुका वर्षहरूमा देशको भलाइका लागि लोकतान्त्रिक आचरणअनुसार राजनीति गरेतापनि पछिल्ला १० वर्षयता लोकतन्त्रका नाममा उनले बंगलादेशलाई राजनीतिक बन्दी बनाइन्।

भारत र चीनसँगको सम्बन्ध सन्तुलितरूपमा कायम राख्न सफल देखिएतापनि गत जनवरीमा सम्पन्न आमचुनावमा उनले तानाशाही प्रवृत्तिको रवैया देखाइन्। प्रमुख प्रतिपक्षी दलहरूले सो चुनाव पूरै बहिष्कार गरे। अन्तर्राष्ट्रिय स्तरमा बदनामी कमाइन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले त सो चुनावलाई बंगलादेशको खेलौना भनेरसमेत टिप्पणी गरे। झण्डै १४ हजार आन्दोलनकारीलाई कारागारमा बन्दी बनाएकी उनले चार सय जति विद्यार्थी र आन्दोलनकारीको नरसंहार गरिन्।

आरक्षणको कोटामा ३५ प्रतिशत आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता, आफन्त र त्यहाँका धनाढ्यका छोराछोरीलाई वितरण गरिन्। जसबाट समाजमा तीव्र असन्तुष्टि पैदा भयो। विद्यार्थीले  हसिनाको घोर विरोध गर्दै आन्दोलनलाई निर्णायक विन्दुमा पुर्‍याए। फलस्वरूप देशै छाडेर भाग्न बाध्य भइन् उनी।

खासमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई १७ वर्षसम्मको नजरबन्दको सजाय सुनाउनु लोकतन्त्रको उपहासबाहेक केही थिएन। विद्यार्थीमाथिको दमन उनको अर्को क्रूर व्यवहार थियो। एकै दिनमा ३०जना विद्यार्थीको हत्या गरिनु उनको सत्ताच्यूत र विदेश पलायनको प्रमुख कारण रहन गयो। सार्क मुलुकको संस्थापक राष्ट्र बंगलादेशको हालैको आन्दोलनका वाछिटा नेपालमा पनि नपर्ला भन्न सकिन्न। किनकि यहाँको पारा पनि सन्तोषप्रद् छैन।

हाम्रो मुलुकमा विकास गर्न गाह्रो छैन। इच्छाशक्ति हुनुपर्छ। सम्भावना नै सम्भावनाको मुलुक हो नेपाल। देश बनाउने संकल्प बोकेर अघि बढ्ने नेताको खाँचो छ आजपनि। अदम्य साहस बोकेका नेपालीलाई अब धेरै नजिस्काए हुन्छ पदासीनहरूले। बंगलादेशबाट भागेकी शेख हसिनाको कार्यालयभित्र घुसेका आन्दोलनकारीले उनको भान्सामा पाकेको चिकेन बिरयानीको स्वाद लिएझैँ नेपाली युवाले पनि लोकतन्त्रका नाममा लुट्ने लुटेराहरूको निवास नियन्त्रणमा नलेलान् भन्न सकिन्न। समय बलवान छ। कसैले रोकेर रोकिन्न।

सन् १९८४ मा त्रिवि, कीर्तिपुरका राजनीतिशास्त्र संकायका स्नातकोत्तर तहका हामी ४८ जना विद्यार्थी दक्षिण एशियाली मुलुकको शैक्षिक भ्रमणमा पाकिस्तान गएका थियौँ। त्यहाँको सरकारले हामी विद्यार्थीमाथि गरेको व्यवहार स्मरणीय रह्यो। बंगलादेशका तत्कालीन राजदूत गहेन्द्र राजभण्डारीले नेपाली राजदूताबासमा चार दिनसम्म निःशुल्क खानेबस्ने प्रबन्ध मिलाए।

राजदूतावासको बार्दलीबाट बंगलादेशको विशाल बस्ती देखाउँदै उनले भनेका थिए– यो भाग पूरै बगर थियो, बस्न योग्य थिएन, मानिस पेटीभरि बसेर मागेर पेट पाल्थे। तीन वर्षको अन्तरालमा यो देशले अद्भूतरूपमा प्रगति गर्‍यो’, राजभण्डारी सुनाउँदै थिए, ‘पाकिस्तान र नेपालको भन्दा प्रतिव्यक्ति आय बढी छ बंगलादेशको। स्वदेशी उत्पादनमा सरकारले सहुलियत दिइरहेछ। तर स्वतन्त्र मुलुक भएर पनि नेपालले भने विकास गर्न सकिरहेको छैन।’

कालान्तरमा लोकतन्त्रका नाममा परिवारवाद हावी भएपछि जनतालाई शेख हसिनाको व्यवहार पचेन। नेपालले पनि आरक्षण कोटामाथि लापरबाही नगरोस्।  

प्रकाशित: ३१ श्रावण २०८१ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App