१९ असार २०८१ बुधबार
image/svg+xml
विचार

संघर्ष: आज र भोलिबीचका

समय प्रवाह

राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो चुनाव चिह्न घन्टीबाट बढी चिनिएको छ। त्यसैले गतिविधिको प्रतिबिम्ब त्यहाँ देखिन्छ। इलाम–२ मा भएको करारा हारपछि घन्टीमा परेको यसको प्रतिबिम्ब या पार्टीको स्वास्थ्य स्थिति पत्ता लगाउन पार्टीले अराएबमोजिम पार्टी महासचिव डा. मुकुल ढकालको टोलीले एक महिना लामो मुलुकको स्थलगत अध्ययन रजाँच गर्‍यो। समग्र स्थिति विश्लेषणपछि पार्टीको स्वास्थ्यमा सुधारल्याउन सुझावसहितको प्रतिवेदन पार्टी सभापतिलाई हालै बुझाएको छ।

प्रतिवेदनमा यो प्रतिबिम्ब प्रष्टसँग देखिएको छ। पार्टी सिकिस्त भएको र तुरुन्त शल्यक्रिया नगरे पार्टी सकिने कुरो प्रष्टसँग उल्लेख छ। ढकाल चिकित्सक पनि भएको हुनाले यस्तो गम्भीर रोगको लक्षणहरू हेरी, जाँची, बुझी अनि बल्ल एकिन निदान गरेको हुनाले अहिले पार्टी एउटा ज्यादै बलियो र अर्को ज्यादै कमजोरवृत्तमा ध्रुवीकृत भएको छ। यो ध्रुवीकरणको परिणतिमा नै पार्टीको परिणति अडेको देखिन्छ।

जुन परिणाम देखिएको छ त्यसको कारण खोज्ने क्रममा सहकारी ठगी प्रकरणमा प्रतिवेदन पुगेको छ। त्यहाँ पार्टी सभापति रवि लामिछाने प्रष्ट देखिन्छन्। रोग पत्ता लगाइसकेपछि अर्थात् निदान गरिसकेपछि डाक्टरले जसरी दरोसँग उपचारविधि बताउन सक्नुपर्ने हो सो कुरा डा. ढकालले झिनो रपिलन्धरे स्वरमा मात्र बोल्न सकेका छन्।

टेलिफोन प्रस्तोताबाट पलाएको महत्त्वाकांक्षाले फेला पारेको विरोध आवाजको एउटै ‘गुलेली–सट’ या हुरीमा आकासिएका लामिछाने यतिखेर नेपालको सत्ता राजनीतिमा एउटा निर्णायक शक्ति बनेका छन्। यो सब नियतिकै खेल हो।

यस अर्थमा कि साधारण नेपालीले इज्जतसँग बाँच्न पाउने प्रजातान्त्रिक हकका लागि लामो सङ्घर्ष गरेको शक्तिहरूले सत्तामा आउने मौका पाउनेबित्तिकै बोल्ने छूट दिएको नाममा मुलुकलाई झन् जमिनदारीकरण गरे। यतिले नपुगेर यसको  १८ वर्षपछि ‘जनयुद्ध’बाट मुलुकको ‘रूपान्तरण’ गर्न अवतरित शक्तिले क्रमभङ्ग, नयाँ नेपाल रसमाजवादी छलाङको आतसबाजी देखाएरझन् कडा जमिनदारीकरणबाट ब्रह्मलुट गरे।

डुब्न लागेको मान्छेलाई त्यान्द्राको सहारा जस्तो भयो नेपालीलाई लामिछानेको उग्र विरोधको आवाज जुन उनले घन्टीबाट झङ्कृत गरेका थिए। करिब ७० लाख स्वीकृत मतमा करिब १२ लाख नेपाली जनताले विश्वास गरेको कारण राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् घण्टी संसद्मा चौथो शक्ति बन्यो।

अहिलेको वाम परस्त गठबन्धनको सरकार बनाउन घण्टी अनिवार्य जस्तै भएको छ। ओली र प्रचण्डसँग सत्ताको खेल खेल्दाखेल्दै खप्पिस बनेका रवि यिनीहरूभन्दा पृथक् होइन, राज्यका विभिन्न अङ्गलाई आफ्नो बचाउका लागि प्रयोग गर्ने कलामा यिनीहरूले भन्दा बढी दक्षता देखाएका छन्।

डा. ढकाल प्रतिवेदनले झ्याम्मै अगाडि ल्याइदिएको यही पृथक् हुन नसकेको कुरा हो। अर्थात् राजनीतिक सोच र त्यसअनुरूपको मूल्य र मान्यता हिफाजत गर्ने कुरा। जुन विरोधको आवाज र त्यसले अङ्गीकार गरेको मूल्य रमान्यता हिफाजत गर्न नसक्ने हो भने घण्टीले अन्ततः समाप्त हुने नियति भोग्नुपर्ने कुरा प्रतिवेदनले ठोकुवा गरेको छ। अन्ततः भनेपछि भोलि या पछिको कुरा हो। तरआजको, अझ तत्कालको, यथार्थ प्रतिवेदनले समेट्न नसकेको भन्ने पार्टीको शक्तिशाली  पङ्क्तिको धारणा छ। द्वन्द्व आज रभोलिबीचको हो। आजको बलियो आवाज रभोलिको कमजोर आवाजबीचको हो। यो कुरा प्रस्ट्याउन अलिकति चार्वाक दर्शनको कुरा गरौँ।

चार्वाक कति थिए र मूली को हुन् रत्यस्तै सूत्र दिने वृहस्पति कति थिए रमूली को हुन् भन्नेबारे अन्त्यहीन विवाद छ। त्यतापट्टि लाग्दै नलागौँ। मूल सूत्र मात्र हेरौँ। त्यो हो-‘यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।’ यसको सार हो-जबसम्म बाँचिन्छ सुखमा बाँच्ने हो। मरेरखरानी भइसकेपछि फर्केरआउने कुरो त छैन। मान्छे यो सूत्रबद्ध हुन चाहन्छ। अर्थात् मान्छे आजको लागि मात्र बाँच्न चाहन्छ। तर राजनीतिज्ञ बन्ने चाहना जब पलाउँछ तब भोलिको कुरा गर्नुपर्ने हुन्छ। भोलि रहने भनेको त मुलुक मात्र हो, मान्छे त रहँदैन। आज मात्र बाँच्ने मान्छेले भोलि पनि बाँच्ने मुलुकको कुरा जति सहज ढङ्गले गर्न सक्छ त्यति आत्मसात् गर्न सक्दैन। विरोधाभास जन्मिन्छ, र हुर्किन्छ पनि।

अधिकांश राजनीतिज्ञहरू सत्तामा पुगेपछि यो विरोधाभासको सिकार हुन्छन्। आज जमेरबाच्ने लोभ प्रदत्त शक्ति सञ्चालन रलुटपाटको रोमाञ्चकारी यात्रामा सकिन्छन्। ती सकिने महत्त्वपूर्ण छैन जति दुर्भाग्य मुलुकको हुन्छ। किनकि यस क्रममा उनीहरूले मुलुकको तागत सकेर जान्छन्। अर्थात्, भोलिको सन्ततिको बाँच्ने आधारसमेत सखाप पारेर जान्छन्। यसको अर्थ के मुलुकलाई अगुवाइ गर्ने मान्छेले उसको आज बाँच्दा मुलुकको भोलि सकिन्छ? त्यो बेलामा सकिँदैन जुन बेला ऊ विरोधाभासबाट उम्किन सक्छ। त्यो उम्किने भनेको ऊ राजनेता बन्न सक्नुमा सन्निहित हुन्छ। यसको अर्थ आज नष्ट हुने उसको भौतिक शरीर हो तर सोच भोलिका लागि हुने र त्यसअन्तर्गत मात्र ऊ आज क्रियाशील रहन सक्नुमा हुन्छ।

मेरो मनमा यतिखेर त्यस्तो राजनेतामा सिङ्गापुरका ली क्वान् युको नाम आएको छ। त्यसैले राजनीतिलाई तपस्या भनिन्छ। नेपालमा पनि २००७ साल अगाडिका यस्तो तपस्यावान नेताहरू जन्मेका थिए। जसको नाम लिए पनि हुन्छ। टङ्कप्रसाद आचार्य, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केआइ सिंह, कृष्णप्रसाद भट्टराई, डा. डिल्लीरमण रेग्मी। यी कसैले पनि  आफू आज रम्न मुलुकको भोलिलाई क्षतविक्षत पारेनन्।

अब डा. ढकाल प्रतिवेदनमा आउँदा एउटा कुरो प्रष्टसँग भन्नै पर्छ। त्यो हो– रवि लामिछाने। अपूर्व सङ्गठनात्मक क्षमताको बलमा शून्यबाट सुरु गरेर उनले अत्यन्त छोटो समयमा नाटकीय ढङ्गबाट घण्टीलाई मुलुकको चौथो शक्तिका रूपमा उभ्याउन सफल भएका हुन्। त्यसैले घण्टी भनेकै रवि र रवि भनेकै घण्टीको अवस्था छ त्यहाँ। असन्तुष्ट स्वरहरू फैलिँदै गएका छन् तर ती मूलतः भित्ताको पनि कान हुन्छ भनेर सुस्तरी बोल्नेखालका छन्।

महत्त्वाकांक्षी हडबडले हो या अरू केहीले हो, रविको सुरुवात नै गडबड हुन पुगेको छ। अमेरिकी पासपोर्ट लिएका उनले नेपाली नागरिकताको बलमा नेपाली पासपोर्ट पनि लिए। त्यतिबेला कानुनतः अमेरिकी नागरिक भएर पनि त्यो नेपाली पासपोर्टमा विदेश पनि पुगे। यो अभियोगमा अदालतले उनलाई उपप्रधानमन्त्री पदबाट र आफैंले खडा गरेको पार्टीको सदस्यबाट पनि हटाइदियो। तर पनि जनताले माफ गरिदिएर उनलाई फेरि मौका दिए। यो गडबडी त दिएका छन्। तर यसैबीच गरिबहरूले खाइनखाइ जम्मा पारेको अबौँको बचत रकमको सहकारी ठगीमा उनको संलग्नता रह्यो। होला कि यो ठगी उनी राजनीतिमा आउनुभन्दा अगाडिको हो। र, यो प्रश्न पनि उठेको छ मान्छेहरूको मनमा यतिखेर। त्यो हो– राजनीतिमा आइसकेको बेला भएको भए उनी त्यो ठगीमा संलग्न हुँदैनथे कि? तर अहिले सरकारगठन गर्न र सरकार बचाउन परेको अनिवार्यताले गर्दा राज्यका सबै अङ्गलाई यो ठगी ढाकछोप गर्न प्रयोग गरिएको घाम जत्तिकै छर्लङ्ग छ। र, पार्टीलाई होइन, रविलाई गृह मन्त्रालय नभई नहुने कारण पनि उदाङ्ग भएको छ।

औपचारिक शिक्षा ओलीको हाराहारीमा भए पनि वाक्पटुता ओलीभन्दा प्रखर देखिन्छ। यसको कारण झुटलाई सत्य बनाउने सक्ने वाक्शक्ति अति स्फूर्त रबलियो छ। तरओलीले हाँकेको एमालेमा भन्दा रविले हाँकेको घन्टीमा पढेलेखेका सचेत मध्यम वर्गका व्यक्तिहरूको उपस्थिति तुलनात्मक रूपमा धेरै बढी छ। भनिहालौँ, हाम्रो देशमा मध्यम वर्ग आफैँमा शक्ति नभए पनि परिवर्तनको सशक्त संवाहक हो। त्यसैले पार्टीमा एकल पकड बलियो भए पनि ठगी संलग्नता ढाकछोप गर्न सत्तामा जानुपर्ने बाध्यता र जनताले साथ दिएको विरोधको स्वरलाई बचाउने पृथक् पहिचानबीच तालमेल मिलाउन त्यति सजिलो छैन। डा. ढकालको प्रतिवेदनको निचोड हो-सरकारमा नबसे रवि सकिने। सरकारमा बसे घन्टी सकिने। त्यसैले उत्तर खोज्नुपर्ने प्रश्न बनेको छ-दुइटै नसकिने मार्गचित्र बनाउने।  

जतिसुकै अघोषित सम्झौता गरे पनि देउवा, ओली रप्रचण्डको स्थिति योभन्दा झन् खराब छ। सबै नै यस्तै र अझ राष्ट्रद्रोहको गडबडीमा संलग्न छन्। र, सबै नै राज्य संयन्त्रहरूलाई प्रयोग गरेर अहिलेसम्म उम्किँदै आएका छन्। त्यति मात्र होइन, अझै ‘मसिहा’ बनेरजमिन्दारीकरण गरिरहेका छन्। पार्टीलाई त मुलुकको कानुन संशोधन गरेर भए पनि कानुनसम्मत अपराध गर्ने राजनीति सङ्गठनमा रूपान्तरित गर्दै लगेका छन्। यस क्रममा ‘मसिहाहरू’ निश्चेतन र विवेकहीन बनिसकेका छन्। त्यसैले हरेक पार्टीमा यतिबेला आज र भोलिबीचको सङ्घर्ष छ। बलियो आवाज र कमजोर आवाजबीचको द्वन्द्व छ। मात्र पार्टीभित्रको परिवेश केही फरक। टड्कारोमा यतिखेर घन्टी परेको छ। सायद नियति नै होला यो पनि।  

प्रकाशित: १७ असार २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App