२० असार २०८१ बिहीबार
image/svg+xml
विचार

मोदीको नेपाल माया

‘धेरै वर्षअघि एक पथिक तीर्थयात्रीका रूपमा म यहाँ आएको थिएँ,’ नरेन्द्र दामोदरदास मोदी सन् २०१४ मा प्रधानमन्त्री भएपछि पहिलो नेपाल भ्रमणमा आउँदा संविधानसभालाई सम्बोधन गर्दा यहाँको सुन्दरताको वर्णन गर्दै यसरी आत्मीयता दर्शाएका थिए।

मोदी प्रधानमन्त्रीका रूपमा मात्र नभई तीर्थयात्रीका रूपमा नेपाल आइरहे। उनले पहिलो भ्रमणमा पशुपतिनाथको दर्शन गरे। त्यसपछिका भ्रमणहरू मुक्तिनाथ दर्शन, जनकपुरधाम र लुम्बिनी दर्शनका कारण पनि चर्चामा रहे। मोदीका यी भ्रमणले यहाँको तीर्थपर्यटनलाई विश्वसामु झन् परिचित बनायो। मोदीले आफ्ना भाषणहरूमा नेपाली भूमिका जन्मिएका बुद्ध र सीताको नाम लिन्थे। नेपाल आउँदा उनले त्यतिबेला आइपिएल खेलिरहेका नेपाली क्रिकेटरको नामै लिएका थिए।

मोदी भारतीय जनता पार्टीसहितको एनडिए गठबन्धनले बहुमत पाएसँगै लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका छन्। जवाहरलाल नेहरूपछि लगातार तीनपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने भारतका दोस्रो नेता बनेका छन्। विश्वकै सर्वाधिक जनसंख्या भएको देश भारतमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नु सामान्य घटना होइन। गुजरातको सामान्य परिवारमा जन्मिएर राजनीतिको यो उचाईं हासिल गर्नु चानचुन होइन।

कुनै बेलाको बेलायती उपनिवेश भारत स्वतन्त्रतापछि बेलायतलाई नै उछिन्दै विश्वको पाँचौं धनी देश बनिसकेको छ। यो मोदीकै कार्यकालमा भएको छ । अमेरिका र चीनपछि भारत चाँडै तेस्रो धनी देश हुने प्रक्षेपण छ । विश्वभर शक्तिराष्ट्रबीचको टकरावमा भारतको भूमिका निकै खोजियो । कुनै बेलाका दक्षिण एसियाभित्र खुम्चिएको भारत विश्व शक्ति बन्ने होडमा अगाडि बढ्यो। चन्द्रयानको सफल अवतरणदेखि शक्तिशाली हतियार निर्माणमा भारतले सफलता हासिल गर्‍यो। भौतिक विकासमा भारतले अभूतपूर्व प्रगति गर्‍यो यो दश वर्षमा। भारत बलियो हुँदा गैरआवासीय भारतीयहरू पनि बलियो हुन थाले। बेलायत र अमेरिकाको सत्तामा भारतीय मूलका नागरिक उदाए। धनाढ्यहरूमा पनि भारतीय मूलकै देखापर्न थाले।

मोदीले आधुनिक भनिएका समाजवाद, साम्यवादभन्दा भिन्न सिद्धान्तमा टेकेर भारतको कायापलट गरे। उनले हिन्दु सभ्यता र संस्कृतिको जगमा उभिएर विकासको मोडल ल्याए। यसको असर विश्वभर देखिन थाल्यो। मौलिकताप्रति मोह बढ्न थाल्यो संसारभर, धर्म संस्कृतिको अभ्यासमा नयाँ वातावरण सिर्जना भयो। मोदीका विरोधी पनि मन्दिर र तीर्थ गर्न थाले। उनले चालेका कतिपय कठोर कदमहरूको जतिसुकै आलोचना किन नहोस्, त्यसले तरंग ल्यायो। सबैभन्दा माथि देश हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न जे जस्ता कदम चाले, त्यसमा ठुलै जोखिम थियो। यसकारण पनि आरोह र अवरोहका लहर चिर्दै मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सके। एनडिए गठबन्धनले मोदीलाई आफ्नो नेता चयन गरेर ह्याट्रिक बनायो।

वर्तमान विश्वमा मोदी शक्तिशाली नेतामध्येका हुन्। विश्वकै ठुलो जनसंख्या, विश्वकै ठुलो लोकतन्त्र अनि विश्व शक्ति बन्ने दौडमा बढ्न थालिसकेको भारतको प्रधानमन्त्री भएकाले मोदीको तेस्रो कार्यकाल नेपालका लागि पनि उत्तिकै चासोको विषय हो। छिमेकसँगको सम्बन्धमा आरोह–अवरोह पक्कै हुन्छ। तर, दुई कार्यकाल प्रधानमन्त्री बन्दा मोदीले नेपालको पाँचपटक भ्रमण गरेका छन्। कुनै पनि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा यति धेरैपटक आएको यो नै पहिलो घटना हो। यसले पनि मोदीको नेपालप्रतिको आत्मीयता झल्काउँछ। यो यथार्थलाई बुझेर नेपालले भारतसँगको सम्बन्धबाट लाभ लिन सक्छ।

मोदीको कार्यकालमा भारतसँग जलविद्युत् र कनेक्टिभिटीको सम्बन्धमा महत्त्वपूर्ण सम्झौताहरू भए। भारतलाई पहिलोपटक नेपालले विद्युत् बेचेर कमाउन थाल्यो। भारतको भूमि हुँदै बंगलादेशलाई विद्युत् बिक्री गर्ने मार्ग समेत प्रशस्त भयो। नेपालमा भारतले जलविद्युत् क्षेत्रमा ठुलो लगानी ल्यायो।

१० हजार मेगावाट विद्युत् खरिद सम्झौता भइसकेको छ। नेपालमा तीर्थपर्यटनको विकासको मार्ग फराकिलो भयो मोदीको कार्यकालमा। पशुपतिनाथ, मुक्तिनाथ, हलेसी, लुम्बिनीलगायतका क्षेत्रमा भारतीय पर्यटक बढ्न थाले। नेपालले मुख्यगरी लाभ लिनसक्ने विद्युत् र तीर्थपर्यटनमा फड्को मार्ने आधार तयार भयो। विगतमा भएका यी प्रगतिलाई समीक्षा गर्दै भविष्यमा पनि अझ लाभ लिन सकिने गरी सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको छ।

७३ वर्षीय मोदीले तेस्रो कार्यकालको सुरुवाती चरणमा नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिइसकेका छन्। उनले सपथ समारोहमा प्रधानमन्त्री दाहाललाई निम्तो गरे। एनडिएको जितपछि प्रधानमन्त्री दाहालसँग टेलिफोन कुराकानी नै गरे। नेपाललाई प्रधानमन्त्री नहुँदै तीर्थस्थल मानेर भ्रमण गरेका मोदीले त्यसपछि पाँच पटक भ्रमण गरेर महत्त्वमा राखेको प्रस्ट बुझ्न सकिन्छ। अबका दिनमा पनि नेपाल उनले निकै महत्त्व दिएको देशमा पर्ने नै छ। सांस्कृतिक समानता, साझा तीर्थस्थलले जनजनबीच भावनात्मक सम्बन्ध त बनाएकै छ। देश देशको सम्बन्धमा पनि सीमामा सहज आवतजावतदेखि एक अर्को देशमा रोजगारीका लागि जाने परिपाटी सम्बन्धको पृथक् अभ्यास हो। जतिसुकै नकारात्मक भाष्य निर्माण गर्न खोजे पनि नेपालको भारतसँगको सम्बन्ध जनजनको मनमुटुमा बसेकै छ। यो सम्बन्धको सौन्दर्य पनि हो। यसलाई दुई देशले अझ लाभ लिने गरी सदुपयोग गर्नुपर्ने आवश्यकता हो, जसलाई खेर फाल्न हुँदैन।

८१ प्रतिशतभन्दा बढी हिन्दु र ९० प्रतिशतभन्दा बढी सनातन धर्मावलम्बी रहेको नेपाल धार्मिक आस्थाले ओतप्रोत मोदीका लागि गर्विलो राष्ट्र पनि हो। उनी हिन्दु हुनुमा गर्व गर्छन्। उनले भारतपछि कुनै देशको माटोलाई पुज्छन् भने त्यो नेपाली माटो नै हो। पशुपतिनाथ पुगेर पुजेकै हुन्। भारतबाहेक कुनै देशमा ध्यान गर्छन् भने त्यो नेपाल नै हो। उनले मुक्तिनाथमा ध्यान गरेकै हुन्। सायद उनी फेरि ध्यान गर्न नेपालको कुनै सुन्दर तीर्थस्थलमा आउन सक्लान्।

भारतवर्षमा कुनै पनि शासकले नेपाललाई यति महत्त्व कुनै युगमा पनि दिएको कहींकतै भेटिँदैन। त्यसैले पनि मोदीयुग नेपालको समग्र हितका लागि अवसर हो, जसलाई खेर फाल्नुहुँदैन। जसले बढी माया गर्छ, उसैलाई घृणा गर्ने प्रवृत्तिको पछि लागेमा नेपालले फेरि पनि अवसर गुमाउनसक्छ। मोदीयुगमा दुई देशबीच थाती रहेका समस्या सुल्झाउनेदेखि भारतले विकासमा लिइरहेको फड्कोबाट लाभ लिन सक्नुपर्छ। यही नेपालको हितमा छ। सांस्कृतिक र धार्मिक समानताले जनजनमा बनाएको अन्तरसम्बन्धसँगै देश देशबीचको सुमधुर सम्बन्धबाट सँगसँगै विकासमा बढ्न सकिन्छ। मोदीले ‘सबका साथ सबका विकास’ भनिरहँदा त्यो नेपालको हितमा लगाउन सक्नुपर्छ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App