‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सिद्धान्तमा आधारित हाम्रो संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई प्रवद्र्धन गर्न आवश्यक छ। जसले आमा र बुबालाई भगवानको रूपमा देख्छ। समाजका ज्येष्ठ नागरिकहरू जीवित इतिहास हुन्। ज्ञान, सिप र अनुभव भएका हाम्रा लागि प्रेरणा स्रोत र शक्ति पुञ्ज हुन्। आजका युवाले अनुभव र विचारबाट राम्रो जीवन सिप सिक्नुपर्छ।
ज्येष्ठ नागरिकहरू लामो जीवन यात्रा, संघर्ष, साहस र समर्पणबाट भरिपूर्ण छन्। तसर्थ ज्येष्ठ नागरिकमा रहेको इमानदारिता र अनुशासनको मुहानलाई नयाँ युवा पुस्तामा हस्तान्तरण गर्न सक्षम वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यबाट सामूहिक प्रयास हुन जरुरी छ। उनीहरू नयाँ पुस्ताका लागि राष्ट्रिय नायक, प्रतिमा र रोल मोडेल, विश्वास, सत्य र न्यायका प्रतीक र कथा हुन्। इमानदारी, सत्य, राष्ट्रवाद, देशभक्ति, जनसेवा पेसा र परिश्रमका यिनीहरूको यथार्थ र ऐतिहासिक कथाहरू युवाहरूले सुनेर पालना गर्नुपर्छ।
ज्येष्ठ नागरिक जनसमुदायका अग्रज र अभिभावक हुन्। उनीहरूको जीवनलाई थप मर्यादित र सहज बनाउन सबै परिवार, समाज, स्वास्थ्य र सामाजिक संस्था, अस्पताल, प्रहरी, प्रशासन, सञ्चारमाध्यम र राष्ट्रियदेखि स्थानीय सरकारका सबै तहले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्छ। सरकार र सबै सरोकारवाला पक्षले स्वास्थ्य र यातायात जस्ता सार्वजनिक सेवाहरूमा ज्येष्ठ नागरिकहरूलाई सहुलियत सेवा र सुविधाहरू थप विस्तार र कार्यान्वयन गर्नुपर्छ।
हाल नेपालमा २५ लाख जति ज्येष्ठ नागरिक छन्। सरकारले उनीहरूका माग पूरा गर्न स्वास्थ्य सेवा, अस्पताल, पूर्वाधार र अन्य आवश्यक सेवाहरूमा पनि लगानी बढाउनुपर्छ। सरकारले ६८ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँछ तर नेपाल र अन्य दक्षिण एसियाली देशहरूमा वृद्धावस्थामा उचित स्वास्थ्य उपचार गर्न र स्वस्थ जीवन बाँच्न पाएका छैनन्। उनीहरूलाई परिवारमा बढी भर पर्नुपर्ने भएकाले न्यून आर्थिक र आयस्रोत भएका, दूरदराजका पछि परेका, क्षेत्र, वर्ग, जाति वर्गका लागि न्यूनतम लागतमा उचित स्वास्थ्य सुविधा र सेवा भएका थप अस्पताल र नर्सिङ होमहरू सबै क्षेत्रमा स्थापना गरिनुपर्छ।
सरकारले आवधिक सार्वजनिक स्वास्थ्य कार्यक्रमहरू पनि सञ्चालन गर्छ तर तिनीहरू स्वास्थ्य जाँच, क्यान्सर रोकथाम कार्यक्रमहरू वा अन्य प्रमुख हेरचाह समावेश गर्न प्रायः वृद्ध व्यक्तिहरूलाई लक्षित गर्दैनन्। विदेश जाने युवाको संख्या हाल बढ्दो रहेको छ। यसको मतलव धेरै वृद्धहरू, विशेषगरी महिलाहरू, परिवारको शारीरिक, सामाजिक, भावनात्मक र आर्थिक जिम्मेवारीहरू बहन गर्न नेपालका सबैभन्दा उपेक्षित समूहमध्ये ज्येष्ठ नागरिकहरू दुव्र्यवहार र सम्मानको अभाव सामना गरिरहँदा पनि सुरक्षा संरचना, ज्येष्ठ नागरिकको अधिकारलाई अन्य समूहले ध्यान दिएको छैन।
व्यवस्थित, सहज सुविधा भएको, कम खर्चिलो वृद्धाश्रम र अस्पताल देशभरि नै अधिक खोल्न अत्यन्त जरुरी छ। हामीले अन्तरपुस्ता हस्तान्तरण गर्नुपर्छ र ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवको सदुपयोगले आर्थिक समृद्धि र सामाजिक सद्भावना प्राप्त गर्नमा ठूलो टेवा पुग्नेछ। देशका युवाहरू पढाइ र रोजगारीको सिलसिलामा विदेश गएकाले गाउँगाउँमा वृद्धवृद्धाको हकअधिकार संरक्षणका लागि राज्यस्तरबाटै सोच्ने बेला आएको छ, तिनीहरूको कल्याणका लागि। हामी सबैले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानजनक, स्वस्थ र खुसी बनाउन र उनीहरूलाई सकेसम्म उत्तम सहयोग र हेरचाह प्रदान गर्न आवश्यक छ।
सादा जीवन उच्च विचार, मर्यादित, नैतिक, आर्थिक र सामाजिक आचरण, आदर्श मूल्य र मान्यता जीवित छँदा उच्च आदर र सम्मान र मृत्युपछि पनि चिरकालसम्म अमर हुनेछन्। सदाचार, शान्तिप्रिय जीवन, आर्थिक लाभभन्दा नैतिकता, इमानदारी, स्वच्छ छवि, आदर्श, इज्जत र मान प्रतिष्ठाको जीवन यात्रा महत्वपूर्ण हुन्छ।
प्रकाशित: १८ चैत्र २०८० ०६:११ आइतबार