२ वैशाख २०८१ आइतबार
विचार

पुँजीवाद भर्सेस् लोकतन्त्र

खुला बजार पुँजीवादले लोकतन्त्रलाई मजबुत पार्छ वा लोकतन्त्रविरोधी शक्तिलाई जन्म दिन्छ ? यो प्रश्न १७औँ र १८औँ शताब्दीताकाको पुनर्जागरण युग (एज अफ इन्लाइटमेन्ट)देखि सुरू भएको हो। त्यतिबेला पुँजीवादलाई यसअघिको कठोर सामन्ती व्यवस्थाबाट मुक्ति पाउने साधनका रूपमा स्वागत गरिएको थियो र पुँजीवादलाई आशावादी दृष्टिकोणले हेरिन्थ्यो।

साना उत्पादक र उपभोक्तालाई समान अवसर सिर्जना गर्ने समाज स्थापना हुने र अदृश्य शक्तिले मूल्य निर्धारण गर्न सक्ने अवस्था अन्त हुने कतिपयको आकलन थियो। यस्तो अवस्थामा लोकतन्त्र र पुँजीवाद एकै सिक्काको दुई पाटा रहेको मानिएको थियो। पछिल्लो शताब्दीमा अमेरिकाका आन्तरिक प्रोपगान्डाले समेत त्यही आशावादलाई प्रश्रय दिँदै मतदातालाई अमेरिकी बाटो (अमेरिकन वे) का लागि खुला बजारमा आधारित पुँजीवाद अत्यावश्यक रहेको भनिँदै आएको छ। 

यसैगरी कुनै हस्तक्षेपबिनाको व्यवसाय र अविश्वसनीय सरकारमा उनीहरूको स्वतन्त्रता आधारित हुने विषयलाई जोड दिइँदै आइएको छ। तर, पछिल्ला दशकको आर्थिक विकासले यो अवधारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको छ। यसो किन भयो भन्ने कुरा पुष्टि गर्न हामीले पृष्ठभूमिमा रहेका अवधारणा हेर्नुपर्छ। 

नवीनतामा आधारित कम्पनीहरूले हाल प्रविधिगत प्रतिस्पर्धामार्फत बजार शक्तिलाई तहसनहस पार्न चाहेको देखिन्छ। यसअघिको परम्परागत बजार मूल्यमा हुने प्रतिस्पर्धा र न्यूनतम फाइदामा कैयन् फर्म बाँच्न सक्ने अवस्था अन्त भएर मात्र एकाध कम्पनीको मात्र वर्चस्व स्थापना भएको छ। 

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

स्थायी बजार शक्तिले पुँजीवादलाई परिवर्तन गरेर विजयीले सबै फाइदा लिने अवस्था सिर्जना गर्छ। यस्तो अवस्थामा हरेक क्षेत्रमा प्रविधिगत वर्चस्व राख्ने सीमित कम्पनीले एकाधिकार स्थापना गर्दछन्। यस्तो अर्थतन्त्रमा संसाधनको अप्रभावकारी परिचालन मात्र होइन, आर्थिक र राजनीतिक शक्ति कुनै एक स्थानमा मात्र सीमित रहँदा लोकतन्त्रलाई समेत खतरा उत्पन्न हुन्छ।

दोस्रो ‘गिल्ड युग’  

वर्तमान अवस्थाका लागि सन् १८७७ देखि सन् १९१४ सम्म अमेरिकाको आर्थिक समृद्धिको पहिलो गिल्ड युगलाई आधार मान्न सकिन्छ। त्यतिबेला दुई हजारभन्दा बढी फर्म मर्ज भएर १५७ ठूला कम्पनी निर्माण भएको थियो र अमेरिकी अर्थतन्त्रमा शक्तिशालीको एकाधिकार सुरु भएको थियो। यसप्रकारको अवधारणाका पक्षधरले विनाशकारी प्रतिस्पर्धाबाट बचाउन र अर्थव्यवस्थालाई बलियो पार्न यो ‘ईश्वरीय कार्य’ रहेको तर्क गरेका थिए। 

हर्बर्ट स्पेन्सरको सामाजिक डार्विनवादअन्तर्गत प्राकृतिक छनोटमा चतुर व्यक्तिको आधिपत्य हुने र बलियाहरूले मात्र प्रजनन अधिकार राख्ने फ्रान्सिस गाल्टनको युजेनिक्स अवधारणाले यो विचारलाई प्रश्रय दिएको थियो। केही सशक्त पुरुषले नेतृत्व गर्ने प्राकृतिक सिद्धान्तको आधारमा व्यावसायिक फर्महरूको विकास भई साना र कमजोर फर्महरूलाई प्रतिस्थापन गर्ने कार्य भएको थियो।

जोन डी रकफेलरको ‘एकाधिकार रोक्न नसकिने ईश्वरको कानुन’ भनाइअनुसार ठूला कम्पनीको एकाधिकारलाई प्रगतिको संज्ञा दिइएको थियो। तर सन् १९०१मा राष्ट्रपति थियोडोर रुजवेल्टले यो अवधारणाको आविष्कार गरेका थिए भने फ्रांकलिन रुजबेल्टको ‘न्यु डिल एरा’ मा आइपुग्दा कुलिन र सीमित वर्गको वर्चस्वको अन्त भएर आर्थिक वृद्धि र साझा समृद्धिको लामो युग सुरु भएको थियो।

सन् १९८१ देखि पुनः अहस्तक्षेपमा आधारित आर्थिक नीति परिपालन भएयता प्रविधि दौडमा विजयी कम्पनीले अर्थतन्त्रमा वर्चस्व राख्ने प्रचलन सुरु भएको हो। यही दोस्रो गिल्ड युगको अवधिमा शक्ति र धनको वर्चस्व प्रतिशोधपूर्ण हिसाबले फर्केको छ। 

यस्तो अवस्थामा यो प्रणालीका विनाशकारी प्रभावहरूलाई नियन्त्रण गर्न सकेमा मात्र लोकतन्त्रको अस्तित्व कायम रहन सक्ने देखिन्छ। प्रविधिका विजयीले समग्र अर्थतन्त्रलाई नियन्त्रण गर्दा साना फर्महरू एकातिर जोखिममा छन्, अर्काेतिर उनीहरू शत्रुतापूर्ण व्यवहारको सिकार हुन्छन। ठूला फर्मले यिनीहरूलाई अधिग्रहण गर्न सक्ने सम्भावना रहन्छ। कमजोर क्षमताको अभावमा यी ससाना कम्पनी वर्चस्वकारी ठूला कम्पनीसँग लड्न इच्छुक हुँदैनन्।

जब कुनै एक फर्मले मूल्य बढाउँछ र एकाधिकारसहित मुनाफा कमाउँछ, यो अवस्थामा उसको आर्थिक संसाधनको प्रभावहीन उपयोग हुने जोखिम बढ्छ र यसले अन्ततः उसको समग्र उत्पादकता र लगानी क्षमतालाई असर पार्न सक्छ। बजार मूल्य बढ्दा, नवीनताबाट सीमित उपभोक्ताले मात्र फाइदा लिन सक्छन्। यसको उदाहरणका रूपमा महँगा औषधिलाई लिन सकिन्छ।

यो समग्र परिस्थितिमा देशका समग्र राष्ट्रिय उत्पादन (जिएनपी) समेत प्रभावित हुन सक्छ। यसैगरी नवप्रवर्तनका कारण तीव्र सम्पत्तिको सञ्चय हुने र बचतको माध्यमबाट विस्तारै पुँजीको सञ्चय हुने कार्यमा फरक छ। 

अत्यधिक एकाधिकारले अकल्पनियतवरले सम्पत्ति सञ्चय हुन सक्छ र यसले अमेरिमकामा ७५५ अर्बपति किन छन् भन्ने कुराको पुष्टि गर्दछ।

राजनीतिक प्रभाव

आर्थिक तथा बजार गतिशीलताको राजनीतिक प्रभाव दूरगामी रहने गरेको छ। बजारको असीमित शक्तिका कारण चर्काे आर्थिक असमानताको स्थिति निम्तन्छ। प्रष्ट छ, आर्थिक असमानताले राजनीतिक असमानतासमेत सिर्जना गर्छ। यतिबेला धनीले आफ्ना आवाज र स्वार्थलाई झन सुदृढ पार्छन्।

पहिलो गिल्ड युगमा कर्पाेरेट आम्दानीमा एकाधिकारपूर्ण नाफाको हिस्सा ३१ प्रतिशत थियो भने दोस्रो गिल्ड युगमा यो २५ प्रतिशतमा झरेको थियो। अन्य अनुसन्धाताले इंगित गरेझैँ यसले व्यक्तिगत असमानता ह्वात्तै बढेको देखिन्छ। त्यसैले बजारको शक्ति बढ्दा यसले असमानता बढाउने, सीमितलाई फाइदा पुर्‍याउने र अन्यलाई नोक्सानी हुने गर्छ। तर निष्क्रिय स्वतन्त्र बजार नीतिमा अवस्था झन बिग्रन जान्छ। यस्तो अवस्थामा सम्बद्ध व्यक्तिले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ र नोक्सानीको क्षतिपूर्ति र रोकथाम सार्वजनिक नीतिले गर्दैन। यसको चर्काे मूल्य निर्दाेष सर्वसाधारणको जीवनयापनमा पर्छ।

त्यसैले सन् १०८० यताको स्वतन्त्र बजार नीति र बढ्दो बजार शक्तिले थारैलाई फाइदा पुर्‍याएको छ। यसले सामाजिक ध्रुवीकरण, धनी र गरिब तथा शिक्षित र अशिक्षितबीच तिक्क्तताको स्थिति सिर्जना भएको छ। 

यो समग्र अवस्थामा ध्यान दिनुपर्ने कुरा के हो भने प्रविधि र स्वतन्त्र बजार नीतिका कारण यो विभाजन आएको हो। सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणमा अधिकांश कामदारहरूको सहभागिता थियो।

डरलाग्दा तीन प्रभाव

यो समग्र परिदृश्यमा बढ्दो बजार शक्ति, यान्त्रिकीकरण र विश्वव्यापीकरणको प्रभाव देखिएको छ। बजारको शक्ति बढ्दा श्रमशक्तिलाई नकारात्मक प्रभाव परेको छ भने यान्त्रिकीकरणले सिप भएका र नभएका कामदारबीच असमानता बढाएको छ।

सन् १९१३ ताका कारखानामा उत्पादनको विभिन्न चरण (एसेम्ब्ली लाइन) मा धेरै सिप भएका कामदार नचाहिने हँुदा यसले उनीहरूको उत्पादकत्व बढेको थियो र ज्याला पनि बढेको थियो। तर यान्त्रिकीकरण (अटोमेसन) र रोबोटिक्सले यसको ठीक उल्टो प्रभाव पारेको छ।

यसैगरी दोस्रो विश्वयुद्धयता सुरु भएको विश्वव्यापीकरणले चीनलाई फाइदा पुगेको छ भने अमेरिकाका उत्पादक क्षेत्रको रोजगारीलाई नराम्ररी प्रभावित गरेको छ। सन् १९८० यता सूचना प्रविधिको विकासले शिक्षित कामदारले बढी अवसर पाएका छन् भने कम शिक्षितले पर्याप्त अवसर पाएका छैनन्।

यी तीन शक्तिले विजेता र हरूवाहरूको ठूलो वर्ग सिर्जना गरेको छ। यो परिस्थितिमा कम दक्ष र शिक्षित कामदार बढी प्रभावित रहे पनि यसले समग्र समाजलाई प्रभावित गरेको छ। मध्यपश्चिम र दक्षिणपूर्व जस्ता विशिष्ट भौगोलिक क्षेत्रका देशको अर्थतन्त्र सबैभन्दा बढी प्रभावित बनेको छ । 

आर्थिक तनावका कारण कतिपयले मद्यपान सेवन तथा आत्महत्याको बाटो रोजेका छन् र सरदर आयुसमेत प्रभावित बनेको छ। नीति निर्माताले यो समस्यालाई ध्यान दिएका देखिन्न। अमेरिकाको सन्दर्भमा यस प्रकारको असन्तोषले डोनल्ड ट्रम्पको अभियानलाई सहयोग पुगेको छ। यसैगरी कृत्रिम बौद्धिकता (एआई)को उदयले समेत ठूला फर्महरूलाई फाइदा पुग्ने देखिन्छ । यसरी बृहत् आर्थिक असमानताले लोकतन्त्रलाई कमजोर पार्छ।

गर्नुपर्ने काम

प्रविधिका विजेताले अर्थतन्त्र र राजनीतिमा राख्न सक्ने वर्चस्वलाई कम गर्न सार्वजनिक नीतिले सहयोग गर्न सक्छ। यसका लागि एकाधिकारका कारण भएको नाफा र अन्य हिसाबले आर्जित धनबारे राष्ट्रिय तथा क्षेत्रगत तथ्यांक संकलन गर्न आवश्यक छ। यसैगरी प्रविधिको बजार शक्तिलाई सीमित पार्नुपर्ने देखिन्छ। निश्चित कम्पनीले बेरोकतोक आफ्नो प्रविधिगत पहुँच विस्तार गर्न नपाउने बनाउन बौद्धिक अधिकारको विषयवस्तु, कामदारको बार्गेनिङ क्षमताको ग्यारेन्टी तथा एकाधिकारबाट प्राप्त मुनाफामा कर्पाेरेट कर लगाउने पक्षलाई ध्यान दिन आवश्यक छ।

अन्तमा, लोकतन्त्रलाई सुदृढ पार्ने आर्थिक नीति बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ। प्रविधि, यान्त्रिकीकरण तथा विश्वव्यापीकरणका कारण विस्थापित भएका कामदारहरूको पुनर्उत्थान, सिप हासिल गर्ने पहुँच विस्तार तथा प्रत्यक्ष क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ। यस्तोखाले नीतिगत व्यवस्था स्क्यान्डेनेभियाली देशले अवलम्बन गरिसकेका छन्।

कतिपय वामपन्थी माक्र्सले व्याख्या गरे जस्तो पुँजीवादको अन्त भइसकेको र यसलाई निगरानी पुँजीवाद, प्रविधिगत सामन्तवाद तथा डिजिटल नियन्त्रित प्रणालीले विस्थापित गरेको ठान्छन्। तर विश्वमा प्रविधिको गहिरो प्रभाव, राष्ट्रिय आयमा तेस्रो दाबीकर्ताको अस्तित्व जस्ता कारणले पुँजीवाद अझैं पनि सिर्जनशील र बलियो देखिन्छ। प्रविधिले पुँजीवादलाई नाटकीय हिसाबले परिवर्तन गरिदिएको छ। यस्तो अवस्थामा जनपरिचालन हुन नसक्दा र आवश्यक नीतगत सुधार हुन नसक्दा विश्वभर लोकतन्त्रलाई खतरा बढ्ने निश्चित छ।

 

–लेखक स्टानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्।

प्रकाशित: १२ चैत्र २०८० ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App