२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नेता चाहिएको सूचना

देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन। हातमा सिप छैन। पाखुरीमा बल छैन । खुट्टामा पाइला चाल्ने जाँगर छैन। तर केही छैन भन्नु हुन्न। पेटमा कहिल्यै नमेटिने भोक छ। जिब्रोमा गज्जबको स्वाद चाख्ने शक्ति छ। आँखामा राम्रा राम्रा वस्तु हेर्ने तृष्णा छ। कानमा मधुर वाणी सुन्ने लालशा छ। द्रव्यपिशाच मनोकांक्षा छन्। के गरुँ आफूले भने जस्तो केही हुने होइन क्यारे।

अरूले ठुल्ठूला महल बनाए। महँगा चिल्ला गाडी चढे। आफू हेर्‍या हेर्‍यै। अरूका बूढीले मोटा मोटा सुनका सिक्री अनि हार लाएको देख्दा आफ्नी बूढीलाई पनि किन्दिने रहर जाग्छ। तर के गरुँ खल्ती रित्तै छ। अरूले लाएको देख्ला भनी बूढीको ध्यान अन्तै मोड्दै हिँड्नुपर्छ बाटोमा।

झुटो आश्वासन दिएको पनि धेरै भइसक्यो।  कस्तो यो जिन्दगी ! छोराछोरी पनि ठुल्ठूलै भैसके। बाहिर कोही भेट्नै नहुने, छोराछोरीको बिहे कहिले भनी सोधिहाल्छन्। सम्झाएको हो कि जिस्क्याएको हो, बुझ्नै गाह्रो।

हुन पनि हो उमेर त भैसक्यो। धेरै ढिलो भयो भने फेरि दुलाहा–दुलही पाउनै गाह्रो हुन्छ। त्यहाँ तलको कृष्णेले छोराको बिहे धूमधामसित गर्‍यो अस्ति। सब गाउँलेलाई मस्तसँग ख्वायो तेल्ले, दंग छन् सब। तिनीहरूसित पो कालो धन छ खर्च गर्न, केको पीर? हामी जस्ताले त सोच्नै सक्दैनौ त्यसरी खर्च गर्न। छोराछोरीको उमेर बढेर के गर्नु?

त्यो पल्ला घरे काँइलीले साढे दुई करोडको गाडी किनिछे, के हो, कसरी किनी तेल्ले भनी सोध्दा वल्ला घरे माइलो पनि केही बोल्दैन। उल्टै आश्चर्य मान्दै थाहा छैन भन्छ। म त छक्क पर्छु बा। यति छोटो समयमा कसरी प्रगति गर्छन् मानिस? मलाई त अचम्मै लाग्छ भन्या।

यसरी भएन। अब केही न केही त गर्नै पर्‍यो। कति यसरी निकम्मा र हुतिहारा भएर बस्ने? म पनि केही गर्छु भन्ने जाँगर चल्यो। देशमा सबभन्दा राम्रो धन्दा त राजनीति नै हो भन्छन् सबै।

मलाई पनि हो जस्तो लाग्न थाल्यो अब त। हुन पनि सबभन्दा गतिलो पेसा राजनीतिकर्मीकै होला। सिकर्मी/डकर्मीले बनाउँछ, राजनीतिकर्मीले बनाएको बिगार्ने÷भत्काउने न हो। भत्काउने बिगार्ने कामका लागि कुनै ठूलो बुद्धि र ज्ञान पनि नचाहिने। यसमा राम्रो कमाइ हुन्छ भने अरू के गर्नुपर्‍यो।

एउटा पार्टी खोल्यो जीवन आरामले गुजार्‍यो। त्यही विचार पलायो दिमागमा। म पनि एउटा पार्टी खोल्छ। ओहो यो त गज्जबै भयो, कहाँबाट आयो म जस्तो कुबुद्धिमा यस्तो सद्बुद्धि? आफैं आश्चर्यचकित भएँ।

पक्कै पनि यो त भगवानकै देन हुनुपर्छ। नत्र म जस्तो अल्छी र बेकम्मा मान्छेमा यस्तो सोच र शक्ति कहाँबाट आउनु? यो त प्रभुकै देन हो। प्रभुको ठूलै अनुकम्पा प्राप्त भयो मलाई। जय होस् प्रभु।

पार्टी त खोल्ने भनेँ। के गरी खोल्ने, कसरी खोल्ने, कहाँ गएर खोल्ने, केही थाहा छैन आफूलाई। फेरि उही प्रभुलाई सम्झें उत्तिनैखेर, बुद्धि आइहाल्यो। खुत्रुक्कै। एउटा नेता भर्ना गर्ने अनि सबथोक उसैले गरिहाल्छ नि।

वाह क्या गज्जबको जुक्ति। अब एउटा राष्ट्रिय दैनिकमा नेता छनोटका लागि विज्ञापन निकाल्नुपर्ने भयो भनी न्वारनदेखिको बुद्धि र बल प्रयोग गरी एउटा विज्ञापनको ढाँचा तयार गरेँ। अनि छपाउने निधो गरेँ नेपालको एक लोकप्रिय राष्ट्रिय दैनिकमा। ढाँचाको नमूना यस्तो तयार भयो–

आवश्यकता!

नेपाललाई १० वर्षमा संसारको सबभन्दा शक्तिशाली र धनी देश बनाउने लक्ष्यसहित खोलिएको एक पार्टीका लागि देहायबमोजिमको योग्यता पुगेका नेपाली नागरिकले यथाशीघ्र आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ।

योग्यता र क्षमता

१. दस्तखत गर्न जानेको (भोलि आमनेपाली जनताको अभिमतले सरकार चलाउने अवस्थामा पुग्दाखेरि जुनसुकै फाइल पढ्दै नपढी सदर गर्न सक्ने)

२. तार्किक क्षमता भएको (कालोलाई सेतो हरियोलाई रातो भनी सबलाई मनाउन सक्ने)

३. झुट बोल्न जान्ने चाटुकार (झुट बोल्दा पनि सत्यको अनुभूति दिइ जे छ त्यही सत्य हो भनी प्रमाणित गर्न सक्ने)

४. छेपारे प्रवृत्तिको (छिनछिनमा रूप फेर्न सक्ने। नियमितरूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावशाली नेताहरूसित उठबस गर्नुपर्ने भएकाले गंगा आए गंगादास, जमुना आए जमुनादास बन्न सक्ने)

५. दिउँसै रात पार्न सक्ने (मतलब जनतालाई चौबीसै गुमराहमा राख्न सक्ने)

६. अत्यन्तै विश्वासिलो गुण भएको (पार्टीका लागि कुनै पनि स्रोतबाट आउने नगद–जिन्सी उपहार तथा सहयोगहरू आँखा चिम्ली मेरी गृहलक्ष्मीको हातमा बुझाउनुपर्ने अवस्थामा समेत कुनै लोभलालच नगर्ने)

७. सफा मिलेको दाँत भएको (राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रकारहरूले अप्ठ्यारो प्रश्न तेस्र्याएको अवस्थामा ङिच्च दाँत देखाउँदा पनि राम्रै देखिने)

८. हिंसामा विश्वास गर्ने (परिआएको बेला हतियार उठाउन सक्ने र आफ्ना विरोधीको संहार गर्न जे पनि गर्न सक्ने)

९. लचकदार मेरुदण्ड र लामो हात भएको (प्रभावशाली मित्रराष्ट्रका विशिष्ट नेताहरूसामु सहयोगको याचना गर्दा आधा जिउ झुकाइ तिनको गोडासम्म हात पुर्‍याउन सक्ने)

१०. कठोर हृदय भएको (गरिब निमुखा जनताको दुःखलाई अनदेखा गरी उनीहरूको भागसमेत लुछ्न सक्ने, कमजोरमाथि थिचोमिचो गर्न सक्ने)

प्रकाशित: ३ फाल्गुन २०८० ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App