७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

अपरिहार्य आन्तरिक पर्यटन प्रवर्द्धन

नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।

यसरी हेर्दा बाह्यभन्दा आन्तरिक घरेलु पर्यटक झण्डै तीन गुणा बढी छन्। पूर्वमा इलामदेखि सुदूरपश्चिममा खप्तडसम्म र पोखरादेखि हिमालपारिको मुस्ताङसम्म मात्र हैन, तराईको चितवन, लुम्बिनी, जनकपुरसम्म आन्तरिक नेपाली पर्यटकले भरिपूर्ण देखिन्छ यतिबेला। 
खासगरी नेपालीले यतिबेला बिदा र फुर्सदको समयमा घुम्ने परिपाटी बढाइरहेका छन्।

होटलमा गरेको खर्च तथा किनमेलका आधारमा हेर्दा नेपालीको घुम्ने र खर्चने क्षमता विकास भएको देखिन्छ। पर्यटकीय होटलमा १० देखि १५ प्रतिशत बुकिङ स्वदेशीले गर्ने गरेका पाइएको छ। अझ कतिपय होटलमा त ३० प्रतिशतसम्म आन्तरिक पर्यटक रहने गरेका व्यवसायी बताउँछन्।

 नेपालीहरू पछिल्लो समय नयाँ ठाउँ र संस्कृतिको अनुभव लिन नयाँ गन्तव्यमा पुग्न थालेका छन्। नेपाली धार्मिक यात्री र तिर्थालुका रूपमा परिवार र इस्टमित्रसहित विभिन्न महत्त्वपूर्ण धार्मिकस्थल जाने गर्छन्। यी दर्शनार्थीहरू कैयन् प्रसिद्ध मठमन्दिर, देवालय र देवीदेवताको दर्शनका लागि प्रचलित धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रम, पूजापाठ इत्यादिमा सरिक हुन यात्रा गर्छन्।

 यसक्रममा उनीहरूले स्थानीय बजारमा खाद्यान्न, कपडा तथा कोसेलीजन्य सामग्रीका लागि मनग्गे खर्च गर्छन्। साथै यात्रा खर्च र अन्य वस्तु तथा सेवाका लागि पनि पैसा खर्च गर्छन् जसले स्थानीय अर्थतन्त्र र रोजगारीलाई टेवा पुग्छ। जसले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ। यसबाट स्थानीय किसानको फलफूल, तरकारी, खाद्यान्न आदि बिक्रीमा समेत मद्दत पुग्ने गर्छ। जसले स्थानीयका जीविकोपार्जनमा सघाउँछ।

यसरी नेपाली हस्तकला, कपडा र अन्य सामान बिक्री र प्रवद्र्धनमा पनि ठोस प्रगति हुन्छ। खासमा पर्यटक भनेका विदेशी मात्र हुन् र उनीहरू मात्र घुम्छन्, उनीहरूले मात्र खर्च गर्छन् भन्ने मान्यतालाई पनि यो वास्तविकताले चुनौती दिएको छ। 
त्यसैले नेपालको सन्दर्भमा पर्यटक भनेका विदेशी मात्र हैनन् र विदेशीभन्दा बढी नेपाली हुन् भन्ने वास्तविकता स्वीकार गरेर नीति र कार्यविधि बनाउनुपर्छ। साथै उचित सडक, यातायात, सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण, पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्ने जस्ता काम पनि उत्तिकै आवश्यक छन्। घुमफिरको संस्कृति ठूलो परिमाणमा विकास हुँदै गए पनि सरकारले पर्यटकमैत्री वातावरण बनाउन नसक्दा यो क्षेत्रबाट लिन सकिने जति लाभ लिन सकिएको छैन। मनन गर्नु जरुरी छ।

सन् १९५० मा संयुक्त राष्ट्र संघका प्रतिनिधि टोनी हागनले धेरै वर्ष नेपाल भ्रमण गरेर 
सन् १९७१ मा नेपाल– द किङडम इन द हिमालयज पुस्तक प्रकाशन गरेका थिए जसमा नेपाली जनताको जीवन, जाति, भाषा, पवित्र धर्म र भूगोल आदि विषयमा गहिराइमा व्याख्या गरिएको थियो। यसले नेपाली पर्यटनलाई विश्वव्यापी रूपमा प्रचार गर्न सघायो।

त्यसैगरी सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि अन्तर्राष्ट्रिय समुदायमा नेपालको पर्यटन विकासले अर्को फड्को मारेको देखिन्छ। 
यही सन्दर्भमा नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष र २०११ मा पर्यटन वर्ष मनाएको थियो। २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी भइरहेका बेला नेपालको पर्यटन क्षेत्रको विकासमा अभूतपूर्व संकट आयो।

कोरोना महामारीले विश्वव्यापी प्रकोप र विनाश ग¥यो। प्रकृति, संस्कृति, प्राचीन धर्म, भौगोलिक अवस्थिति, जीवविज्ञान, शान्तिमय ध्यान र अध्यात्मका दृष्टिले निकै समृद्ध भएकाले नेपालमा पर्यटनको सम्भावना धेरै छ। यो प्रकृति र साहसिक पर्यटनका लागि धेरै प्रसिद्ध र धनी देश पनि हो। जसलाई पर्याप्त प्रचारप्रसार गर्न आवश्यक छ।

यति मात्र हैन, नेपालका केही प्रमुख अद्वितीय विशेषता पनि छन्। पहाड, समतल ऊर्वर भूमि, उपत्यका, हिउँले ढाकिएको विश्वको सर्वोच्च हिमालय शृंखला, झरना, हिमाल पहाड, तराई, हरियो घना जंगल, रमणीय नदी र ताल, जंगल दुर्लभ वन्यजन्तु सफारी, ग्रामीण 
जीवन, हाइकिङ ट्रेल, ट्रेकिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङ, पाराग्लाइडिङ, बन्जी जम्पिङ, बर्ड अवलोकन, हिमालय दर्शन,  डुङ्गा सयर, अध्यात्म, योग, आयुर्वेद, ध्यान, दुर्लभ जडीबुटी आदि 
यहाँ पाइन्छ।

स्थानीयमा आतिथ्य भाव, नेपाली खाना र परिकारको स्वाद, धर्म, संस्कृति, प्राचीन मन्दिर, ठूलो विविधता, जातजाति, भेषभूषा, कला, संगीतलगायत पनि पर्यटक लोभ्याउन काफी छन्। त्यसैले सरकारले नीति बनाउँदा यी विषयलाई नजरअन्दाज गर्न मिल्दैन।

प्रकाशित: १९ माघ २०८० ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App