१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

उता नितिशकुमार, यता पुष्पकमल

यसैसाता जनवरी २८ का दिन बिहारको राजधानी पटनास्थित राजभवनमा नितिशकुमारले तेस्रोपटक मुख्यमन्त्री पदको सपथ ग्रहण गरे। २०२० मा सम्पन्न १७औँ विधान सभाको पाँच वर्षे कार्यकालमा तेस्रो भए पनि उनको उनले नवौँ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन्। २४३ सिटको बिहार विधान सभामा नितिशकुमारको जनता दल (एकीकृत) ४३ सिटमा विजयी भई तेस्रो दलका रूपमा स्थापित छ। लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटसहित पहिलो दल रहेको छ भने भारतीय जनता पार्टी (भाजपा) ७४ सिटसहित दोस्रो दलको हैसियतमा छ।

भारतीय राष्ट्रिय कांग्रेस १९ सिटसहित चौथो दल र बाँकी अन्य ससाना दल रहेका छन्।  सन् २०२० को विधान सभा निर्वाचनमा कुनै पनि दलको पूर्ण बहुमत नआएको कारण मिलिजुली सरकार गठन हुँदै आएको छ बिहारमा।

पहिलो पटक भाजपा सम्मिलित एनडिएसँग मिलेर गठबन्धन सरकार बनाएका मुख्यमन्त्री नितिशकुमारले २०२२ मा त्यो गठबन्धन तोडेर आरजेडी र भारतीय राष्ट्रिय कांग्रेससित मिलेर नयाँ गठबन्धन सरकारको नेतृत्व गरे तर त्यो सरकार पनि धेरै लामो समय टिक्न सकेन र पुनः भाजपा र एनडिए गठबन्धनसित मिलेर हिजो मात्र पुनः नयाँ सरकारको नेतृत्व लिएका छन् नितिशकुमारले।

भाजपाको २०२४ को आमनिर्वाचन लक्षित रणनीतिक चालअन्तर्गत भाजपालाई प्रतिपक्षी दलहरूको महागठबन्धन आइएनडिआइए (इन्डिया) लाई तोड्नु आवश्यक थियो।

बिहार सरकारको अदलाबदली पनि त्यही आमनिर्वाचन लक्षित रणनीति हो भन्नुमा अत्योक्ति नहोला। किनभने नितिशकुमारको जनता दल (एकीकृत) पनि उक्त महागठबन्धनको एक हिस्सा थियो। बिहारको राजनीतिमा पनि नितिशकुमारका लागि लालु यादवको आरजेडी प्रमुख प्रतिस्पर्धी दलका रूपमा छ। त्यसमाथि लालु यादवका छोरा तथा पूर्वसरकारको उपप्रधानमन्त्री तेजस्वी यादवको बढ्दो प्रभाव नितिशकुमारका लागि नयाँ चुनौती बनिरहेको थियो। भाजपासित मिलेर बिहारमा आफ्नो पकड मजबुत बनाउनु र आरजेडीलाई कमजोर बनाउनु पनि नितिशकुमारको चाहना भएको झल्कन्छ यो कदममा।

भाजपाले आगामी निर्वाचनका लागि धर्म, जात, विकासको नारालाई प्राथमिकताका साथ अघि बढाएको देखिन्छ। यसमा छिमेकी मुलुकहरूको समेत साथ खोज्नेछ। भाजपाले नेपालको वर्तमान गठबन्धन सरकारबाट पनि सहयोगको अपेक्षा गर्ने कुरामा कुनै शंका रहन्न। रोटी, बेटी र राखीको घनिष्ठ सम्बन्ध भएको छिमेकी मुलुकबाट सहयोगको अपेक्षा गर्नुमा कुनै अन्यथा लिनु पनि हुँदैन होला शायद।

नेपालको वर्तमान सरकार र बिहारको राज्य सरकारबीच एउटा समानता के छ भने दुवै सरकारको नेतृत्व गर्ने प्रमुख दलहरू तेस्रो शक्तिका रूपमा छन् र दुवै दल जनता दल (एकीकृत) र नेकपा माओवादीका नेतृत्व ठूला दललाई खेलाइ खेलाइ आफू सरकारको नेतृत्व गर्न सफल हुँदै आएका छन्।

कमरेड प्रचण्डले पनि नेपाली कांग्रेसबाट आउने दबाब थेग्न नसक्ने अवस्थामा पुनः नेकपा एमालेको साथ लिन पुग्ने कुरामा कुनै सन्देह रहन्न। एमालेको वर्तमान मनस्थिति बुझ्ने हो भने प्रतिपक्षको भूमिकामा निसास्सिएको छनक पाइन थालेको छ। यदाकदा सरकार परिवर्तनका लागि प्रयास थालिएको पनि देख्न सकिन्छ।

छिमेकी मुलुक नेपालमा तत्काल सरकार परिवर्तन भारतीय चुनावका लागि लाभदायी हुन नसक्ने भएकाले नेपालमा सरकार परिवर्तनको गुञ्जायस कमै देखिन्छ। तर धार्मिक र साम्प्रदायिक आवाज बुलन्द हुने कुरालाई भने नकार्न सकिँदैन।

राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन। जे गरे पनि जे बोले पनि त्यसमा नैतिक खोल लगाइदिएपछि अनैतिक भन्ने केही बाँकी रहँदैन। भारतीय सञ्चार माध्यमहरूमा नितिशकुमारको पछिल्लो कदममा दुई प्रकारका प्रतिक्रिया देख्न र सुन्नमा आएको छ।

 एक पक्ष जो नयाँ सरकारमा सामेल भएका छन् उनका समर्थकहरूले नितिशकुमारलाई एकदम प्रिय हितैषी मित्र र भाइका रूपमा चित्रण गरी जय÷जयकार गरिरहेका छन् भने अर्को पक्ष जो सरकारबाट बाहिरिएका छन् उनीहरू विश्वासघाती ‘आयाराम गयाराम’ भनी गाली गरिरहेका छन्।

एक समय चर्चित बालकोट बरन्डाको सुखद हात हल्लाइमा वाहवाही पाएका प्रचण्ड पनि नायकबाट केही समयमै खलनायक भए एमाले समर्थकबीच। कांग्रेसीजनहरूका लागि एक समय खलनायक बनेका उनै प्रचण्ड केही महिनामै पुनः नायक भइ उदाए। गजबको शक्ति छ उहाँमा। तर शक्तिको स्रोत र केन्द्र कता छ सामान्य नागरिकले मेसो नै पाउन सक्दैन।

नेपाली कांग्रेस र एमाले प्रतिनिधि सभामा पहिलो र दोस्रो ठूलो दलका रूपमा रहे तापनि तेस्रो ठूलो दल माओवादीको वसमा परेका छन्। जनताको अभिमत पनि गज्जबको छ ठूला भनाउँदा दलहरूलाई नै विवश पार्न सक्ने। कहिले को सरकारमा, कहिले प्रतिपक्षमा बस्ने ठेगानै नहुने। अहिले नेपालका ठूला दलहरूको अवस्था कस्तो छ भने एकापसमा सशंकित भएर बस्नुपर्ने। एउटाको मुख्य ध्यान सरकारमा कसरी टिकिरहने र अर्कोको सरकारमा कसरी जाने।

यही मेसोमा प्रचण्ड दुवै दलका नेतालाई खेलाइरहेका छन्। देशको दैनिकी, सुशासनका कार्य, विकास गतिविधिहरू गतिहीन छ, कसैको ध्यान छैन। सरकारमा बस्नु नै मूल उद्देश्य बनेको छ दलहरूको। यस्तो अर्थहीन र गतिहीन काम केका लागि? तर यसमै व्यतीत भइरहेछ नेपालको दैनिकी र रमाइरहेका छौँ हामी नेपाली। सरकार र प्रतिपक्षबीचको भिन्नता के हो भन्ने नै थाहा नपाउने भैसके नयाँ पुस्ता। को पक्ष, को प्रतिपक्ष सबै एकै ठाउँमा। जनताको अभिमतको नाममा व्यक्तिगत र दलगत रजाइँ मात्र। 

प्रकाशित: १६ माघ २०८० ००:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App