१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

विप्रेषणको सुखदुःख

सरकारले वैधानिकरूपमा विश्वका एक सय ११ मुलुकमा वैदेशिक रोजगारका लागि स्वीकृत दिइसकेको छ। व्यक्तिगत पहलमा विश्वका एक सय ७८ मुलुकमा कामका लागि पुग्ने गरेका छन्। हाल ५७ लाख हाराहारी नेपाली श्रमिक विश्वभर कार्यरत छन्। विप्रेषण आय मूलतः कुल गार्हस्थ्य उत्पादनसँग तुलना गरिन्छ। कुल गार्हस्थ्य उत्पादनका आधारमा विप्रेषण भित्राउने विश्वका १५ मुलुकको सूचीमा नेपाल पर्छ। विश्व बैंकले प्रकाशन गर्ने आप्रवासन तथा विकास प्रतिवेदन २०२२ ले नेपाललाई विप्रेषण भित्राउने विश्वको ११ स्थानमा राखेको छ।

आर्थिक वर्ष २०५१/५२ देखि मात्र सरकारले वैदेशिक रोजगारमा जाने नेपाली र प्राप्त विप्रेषणको अभिलेख राख्ने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विगत ३० वर्षलाई नियाल्दा, आ.व. २०५१/५२ मा दुई अर्ब १५ करोड रहेकामा २०७८/७९ मा यो १० खर्ब सात अर्ब पुगेको थियो भने आ.व. २०७९।८० मा ११ खर्ब १२ अर्ब भित्रिएको छ। उक्त आँकडा भारत र अनौपचारिक माध्यमबाट भित्रिएबाहेकको हो।

कुल गार्हस्थ्य उत्पादनको करिब एकचौथाइ हिस्सा विप्रेषणबापत प्राप्त भइरहेको अटल कुरा हो। दैनिक तीन हजार हाराहारी युवा पलायन हुँदा उक्त तप्कावाट औषत दैनिक तीन अर्ब २८ करोड रूपैयाँ भित्रिरहेको साँचो हो। वैदेशिक रोजागारीका कारण मनग्य विप्रेषण भित्रिएकामा कुनै शंका गर्ने स्थान छैन् तर विप्रेषण भित्रनु मात्र सबथोक होइन। मुख्य कुरा विप्रेषणको उपयोग के, कति, कहाँ र कसरी गरियो भन्ने नै हो।

यसो त वार्षिक १२ खर्ब रूपैयाँ थोरै राशि होइन। ठीकै छ, पुरापुर राशि बचत गर्न नसकिएला, ५० प्रतिशत उपभोगमै समाप्त होला, बाँकी ५० प्रतिशत भनेको ६ खर्ब हो। उक्त ६ खर्ब भन्नु थोरैतिनो धनराशि होइन। उक्त ६ खर्बको अवसर लागत (अपरचुनिटी कस्ट) प्रतिमेगावाट सरदर २० करोड रूपैयाँका दरले तीन हजार मेगावाट जलविद्युत् आयोजना वा प्रतिकिलोमिटर सरदर तीन करोड रूपैयाँका दरले २० हजार किलोमिटर पक्की सडक आयोजना अथवा प्रतिकिलोमिटर सरदर १५ करोड रूपैयाँका दरले चार हजार किलोमिटर रेल्वे आयोजना निर्माण गर्न सकिने राशि हो। तर प्राप्त विप्रेषणवाट अझैसम्म कुनै त्यस्ता भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन्।

विप्रेषणको समुचित उपयोग भइरहेको छ वा छैन ? विप्रेषणको प्रयोग जलविद्युत्, सुरुङ मार्ग, रेल्वे वा यस्तै उत्पादनमूलक क्षेत्रमा हुन सक्यो वा सकेन? तर दुर्भाग्यको कुरा यी र यस्ता क्षेत्रमा विपे्रषणको किमार्थ सदुपयोग हुन सकेको छैन्। विप्रेषण उपयोगसम्बन्धी जीवनस्तर सर्वेक्षण, २०७६ ले ७९ प्रतिशत घरेलु उपभोगमा, १२ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, सात प्रतिशत ऋण भुक्तानीमा खर्च भई र बाँकी दुई प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा खर्च हुने उल्लेख गरेबाट पनि यो प्रष्ट हुन्छ।

अव सवाल उठछ कि वैदेशिक रोजगार हाम्रो श्रम बजारमा बर्सेनि ओइरिने पाँच लाख श्रमशक्ति थेग्ने अजर/अमर औजार हुन सक्छ? सवाल यो पनि उठ्छ कि विप्रेषण मुलुकको आर्थिक स्वास्थ्य तन्दुरुस्त राख्ने अचुक उपाय हुन सक्छ? अथवा विप्रेषणबाट उद्योगधन्दा, कलकारखाना, जलविद्युत्, रेल्वे, सुरुगमार्ग निर्माण हुन सक्छ ? भए/गरेका नजिर छन् ? उत्तर हो– वैदेशिक रोजगार, बर्सेनि श्रम बजारमा ओइरिने पाँच लाख श्रमशक्तिलाई थेग्ने अल्पकालीन औजार हुन सक्छ तर दीर्घकालीन औजार हुन सक्दैन्। विप्रेषणद्वारा आर्थिक स्वास्थ्यमा छोटो समयका लागि मलमपट्टी लगाउन सकिन्छ तर दीर्घकालसम्म हृष्टपुष्ट र निरोगी राख्न सकिँदैन।

अर्को शब्दमा भन्नुपर्दा मानवसंसाधनमा निहित सम्भावना, सामथ्र्य र शक्ति, प्राप्त विप्रेषणको उपयोग, मानव संसाधन बहिर्गमन हुँदा अर्थतन्त्रका आयाममा पर्न जाने नकारात्मक शृंखला असर र मानव संसाधन निर्यात गरी विप्रेषण आयमा जिविका चलाइरहेका मुलुकहरूको नजिरका आधारमा मानव संसाधन निर्यात गरी नेपालको दीर्घकालीन आर्थिक स्वास्थ्य पुष्ट बन्न सक्दैन।

मानवपुँजी निर्यात र विप्रेषण आय आर्थिक स्वास्थ्यका खातिर केवल अड्को–पड्को तेलको धूप मात्र हुन सक्छ। यो आर्थिक स्वास्थ्य तन्दुरुस्त तुल्याउने दीर्घकालीन हतियार बन्न सक्दैन। हामीले विप्रेषणका नाममा विदेशमा श्रम मात्र बेचिरहेका छैनौँ, बरु हाम्रो स्वाभिमान, सम्मान र प्रतिष्ठासमेत लिलाम गरिरहेका छांैं । बेच्नुपर्ने भनेको सिप र बौद्धिकता हो। उत्पादनमूलक वस्तु हो। कृषि उपज, जलविद्युत्, पर्यटकीय सौन्दर्य र अमूल्य जडीबुटीबाट निर्मित औषधि हो। विप्रेषणका नाममा युवातप्का विदेशिइरहेका मात्र छैनन् बरु देश छाडिरहेका छन्। अझ भनौँ, मुलुकबाट भागिरहेका छन्।

हामीले यो बुझिरहेका छैनौँ कि अमूल्य मानव संसाधन निर्यात गरेर दुनियाँमा कोही समृद्ध भएका छैनन् र हामी पनि समृद्ध वन्न सक्ने छैनौँ। एलसल्भाडोर, कोमोरस, अल्बानिया, जाम्बिया, बंगलादेश जस्ता मुलुक जसले विप्रेषण आय मनग्य भित्र्याइरहेका छन्, ती नेपाल जस्तै आर्थिकरूपमा नाजुक नै छन्। यसर्थ बर्सेनि पौने १२ खर्ब विप्रेषण भित्रायौंँ, एक सय ११ मुलुकमा जनशक्ति पठायौँ भनेर नाक फुलाउनुका बाहेक हाम्रो अर्थतन्त्र कुबाटोमा हिँडिरहेका त छैन, कदाचित वैदेशिक रोजगारका ढोका बन्द हुन गएमा हाम्रो अर्थतन्त्र भीषण अन्योलमा त पर्ने होइन भन्नेबारे गम्भीर हुनैपर्छ। अमूल्य श्रमशक्तिलाई कसरी मुलुकभित्र रोकी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने भन्नेबारे उपयुक्त उपाय समयमै पहिल्याउनु आवश्यक छ।

प्रकाशित: ३ माघ २०८० ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App