सिन्धुली – धुलिखेल हुँदै काठमाडौँसँग सिधै जोडिएपछि बर्दिवासले छोटो समयमा नै सहरको रूप लिएको छ । यो पछिल्लो समयमा चाँडो विस्तार हुने थोरै सहरमध्ये पर्छ । केही वर्ष पहिले बैंकको सेवा लिन जलेश्वर जानुपर्ने अवस्था थियो । जसका लागि दिनभर लाग्थ्यो । अहिले १५ भन्दा बढी बैंकले शाखा खोलेका छन् । बजारको स्वरूपमा पत्याउन नसक्ने किसिमको फरक आएको छ।
यही उदाउँदो सहरबाट १७ किमि उत्तरपश्चिममा पर्ने एउटा मुसहर बस्तीको कथा भने अत्यासलाग्दो छ । बर्दिवास नगरपालिका वडा नं. १० मा पर्ने मुसरी टोल (साबिक खयरमारा वडा नं. ७) मा २० घर मुसहरको बसोवास छ । २० घर भए पनि यहाँ झन्डै ३५ परिवार बसोवस गर्छन् । सानो एउटै झुपडीमा ४ परिवार बस्ने गरेका भोगेन्द्र सदाले भने– कोचाकोच गरेर बस्छौँ । आधाभित्र आधाबाहिर गरेर सुत्छौँ।
बालुवा नै बालुवाको लामो मडाहा खोला तर्नासाथ पुगिने यो बस्तीको पूरै क्षेत्रफल दुई कठ्ठा मात्र हो । यो जग्गा पनि उनीहरू सबैको नाममा दर्ता छैन।
फागुन २ गते बिहान ८ बजेतिर बस्तीमा पुग्दा बाटोको मुखैमा बूढाबूढी र केटाकेटीहरू घुर तापेर बसिरहेका थिए । आगो नबले पनि धुवाँ आइरहेको थियो । सबैजसो परिवारका महिला सदस्यहरू साँघुरो आँगन (बाटो पनि त्यही) मा खाना पकाइरहेका थिए । बासी भात राखिएका थालहरू यत्रतत्र थिए । मैले अरू पनि मुसहर बस्ती नदेखेको हैन । तर यो बस्तीको अवस्था बढी नै दुःखदायी थियो । सामान्य कल्पनाभन्दा बाहिरको । सिमेन्टको टायलले छाएको एकबाहेक सबै झुपडीमा ढोका थिएन । ह्वांगको एउटै कोठामा हरेक दिन दर्जनभन्दा बढी मानिस कसरी बसेका होलान् ? अनि बाख्रा कहाँ बाँध्ने ? कुखुरा कहाँ छोप्ने ?
कुनै पनि घरमा चर्पी थिएन । बस्ती नजिकै बिजुलीबत्ती भए पनि उनीहरूको बस्तीमा बिजुली थिएन । खानेपानीको राम्रो सुविधा थिएन । घर बनाउन जमिन नभएकाहरूले तरकारी लगाएर खाने ठाउँ पाउने कुरै भएन । बच्चाबच्चीहरू पनि बढी नै थिए । अवस्था अत्यासलाग्दो थियो।
बाहिरी मानिस आउँदा उनीहरूको अनुहारमा कुनै भाव झल्किएको थिएन । सायद उनीहरू सपना देख्न छाडिसकेका छन् । जसको सुरक्षित वास छैन । उनीहरूको स्वास्थ्य राम्रो हुँदैन । बालबालिकाहरू पढ्न पठाए पनि घरमा पढ्ने वातावरण बिथोलिन्छ । जाडोमा अति जाडो र गर्मीमा अति गर्मीको कारणले सजिलोसँग न रात बित्छ, न दिन । मूलतः कृषि मजदुरी गरेर कमायो । आज नै खायो । भोलिको कुनै ठेगान छैन । जस्तो आउँछ । त्यस्तै टर्छ । बिरामी परेको समयमा साह्रै अप्ठेरो हुन्छ । बस्तीका केहीले सुनाए । दिनहुँ कृषि मजदुरी गरेर बाँचेको यो समुदायका सदस्यहरू सुत्न पनि सकसमा छन्।
उनीहरूले खोजेको कुरा एउटै छ– घर बनाउन पुग्ने जग्गा भए झुपडी बनाउँथ्यौँ । खुट्टा पसारेर सुत्न पाइन्थ्यो । भन्छन्– घर बनाउने जग्गा चाहियो । संविधानमा लेखिएको छ– हरेक नागरिकलाई सुरक्षित आवासको हक हुनेछ । हरेक नागरिकभित्र यिनीहरू पनि पर्नुपर्ने हो । र गएको चुनावमा यहाँ नेताहरू भोट माग्न पुगेका पनि हुन्।
बाबुराम भट्राई प्रधानमन्त्री हुँदा महोत्तरीकै कुनै मुसहर बस्तीमा गएर रात बिताउनु भएको विषय चर्चामा आएको थियो । त्यतिखेर अब गरिबका दिन आएका हुन् कि जस्तो पनि नलागेको हैन । तर उचित नीति र कार्यक्रम नबनाउने अनि एक रात मुसहरको घरमा गएर बस्ने मात्र कार्यले खोजेको परिवर्तन आउँदो रहनेछ । यसरी जानु नराम्रो हैन । तर ठाउँमा पुगेको बेला सार्वजनिक खपतका लागि भन्दा दरिलो नीति बनाउन सकेको भए बढी हितकर हुने थियो । उनले सबै मुसहरलाई व्यवस्थित आवासको कार्यक्रम सुरु गरेका भए आजसम्म धेरै फरक पथ्र्याे कि ?
यही नगरपालिकाको वडा नंं. १४ मा धुर्मुस सुन्तली फाउन्डेसनले मुसहर समुदायकै लागि नमुना बस्ती बनाएको छ । जसको देशभित्र र बाहिर पनि चर्चा छ । सरकारले पनि उनीहरूको कामलाई सह्राना नै गरिरहेको छ । तर त्यो मोडललाई सरकारले अन्यत्र पनि फैलाउनुपथ्र्याे । धुर्मुस सुन्तलीले गरे हुन्छ भनेर देखाएका थिए । तर सरकारले यसबाट सिकेको छैन । अन्य संघसंस्थाले पनि सिक्न चाहेका छैनन्।
यिनीहरूको दुःख र गरिबीलाई कम गर्न भनेर केयर नेपालले बस्तीका १८ घर मुसहरलाई समेटेर मुसहर सामुदायिक वन दर्ता गर्न सघाएकोे रहेछ । यो २०५३ तिरको कुरो हो । सामुदायिक वनको क्षेत्रफल ३५ हेक्टर छ । वनबाट मुसहरको जीविकोपार्जनमा सहयोग पुगोस् भनेर आँप खेती गरिएको रहेछ । आँप मुसहरहरूले अनेकन् दुुःख गरेर हुर्काए । आँप फल्न थाल्यो । पछि त्यसमा वरिपरिका धनी मानिसहरूको आँखा प¥यो । अरू जो गैरसदस्य हुन्, उनीहरूले पनि भाग चाहियो भन्न थाले । अहिले मुसहर बाहेकका अन्य पनि जर्बजस्ती सदस्य भएका छन् । अबको केही वर्षमा यो मुसहर बाहेकका वन बन्ने खतरा बढेर गएको छ । विनासित्तीको खाली जग्गा व्यवस्थापन गरुन्जेल कसैलाई वास्ता भएन । वन चाहिएन । जब आँप फल्न थाल्यो । तब सबैलाई सदस्य हुनुप¥यो । सामुदायिक वन जोगाउन धेरै दुःख गरेमध्येकी एक दिदीले दुखेसो सुनाउनुभयो।
पहिलेको जग्गामा बस्नलाई सकस भएपछि बेचेको आँपबाट पैसा जोगाई केही वर्ष पहिले ७ कठ्ठा १० धुर २० परिवारले जग्गा किनेका थिए । २०६५ सालमा किनिएको यो जग्गाको प्रत्येकसँग ७ धुर जग्गाको पुर्जा छ । तर त्यो जग्गामा पनि मोही लागेको रहेछ । त्यसरी किन्न लागेको जग्गामा मोही लागेको थाहा भएपछि उनीहरूले भने– पूरै पैसा तिरेर हामी मोही लागेको जग्गा किन्दैनौँ । जग्गा मिलाउन सहयोग गर्ने स्थानीय रामदुलार यादवले यो मोही मेरो काका हो, म मिलाउँछु भनेर जग्गा किनाए । जग्गा किनेपछि घर बनाउन जाँदा घर बनाउन दिइएन । पहिलेका उपप्रधान पञ्च भइसकेका यादव थरका परिवारबाट २० घर मुसहरबाट मोहियानी हकबापतको आधा जग्गा पाउन निवेदन दिएका छन् । अर्थात्, अब प्रत्येकको ७ धुरबाट आधा जग्गा कट्टा हुन्छ । मोही जग्गा कट्टाका लागि निवेदन दिएका यादव भन्छन्– मुसहर ठुला भएर मेरा कुरा सुन्न छोडे । यिनलाई देखाइदिनु परेको छ । सामान्य मान्छेको जीवन जिउनबाट वञ्चित यिनीहरूलाई यहाँभन्दा थप के देखाइदिने ? के दुःख दिने ? बुझ्न सकिएन।
यो एउटा बस्तीको दुःखको कथा हो । मुसहरहरूको अन्यत्रको अवस्था पनि धेरै फरक छैन । तराईका ३५ जिल्लामा छरिएर रहेका मुसहरहरू जसको जनसंख्या करिब २ लाख ५० हजार छ । पूर्वी तराईका ८ जिल्लाहरूमा अन्यत्रभन्दा बढी देखिन्छ । प्रायःजसो उनीहरू कृषि श्रमिकका रूपमा माटो काट्ने र खेतीपातीमा श्रम गर्ने काम गर्छन् । तराईको दलित समुदायभित्र पनि सर्वाधिक पिछडिएको जाति मुसहर हो । यिनीहरूको व्यवस्थित आवासमा स्थानीय र प्रदेश सरकारको ध्यान जान सके पिँधमा परेको एउटा वर्गलाई थोरै भए पनि न्याय हुन सक्थ्यो।
मुसहरहरूको मुख्य जीविकोपार्जनको आधार कृषि मजदुरी हो । यो समुदायले पहिला खेतिपातीका अलावा माछा, गंगटा, घुँगी, मुसा र चरा मारेर खाने गथ्र्याे । तर अहिले खोलामा, वनमा त्यस्तो चिजबिज पाइन मुस्किल छ । हाल उनीहरू खेतीपातीबाहेकको समयमा बालुवा बनाउने, गिट्टी फोड्ने काम गर्छन् । तर मुख्य पीर बास र गास कै छ।
प्रकाशित: ६ फाल्गुन २०७४ ०५:११ आइतबार