७ पुस २०८१ आइतबार
image/svg+xml
विचार

भाषिक पहिचान मेटाउने ‘साजिस’

धनुषा जिल्लाको बेला गाउँका एक साहुजी परिवारमा जाने अवसर जुट्यो । ती एउटै परिवारमा पृथक्–पृथक् भाषाभाषी रहेबसेको पाएँ । जिज्ञासावश घरका जेठा सदस्य राघवेन्द्रसँग सोध्दा उनले मेरो भावना बुझेर आफैँ भनिहाले, ‘हाम्रो परिवारमा विभिन्न क्षेत्रबाट आएका हुँदा यस्तो भएको हो ।’ उनीहरूमा आपसमा आ–आफ्नाे अभिव्यक्ति दिन कसैलाई कुनै कठिनाइ हुँदैन जसलाई जे भाषामा कुरा गर्न मन लाग्छ गर्छन्। 

‘हामी सबै एकअर्काको कुरा बुझ्छाैँ।’ झापाको दमक नगरपालिकाकी उमाको विवाह बेला गाउँका राघवेन्द्र साहसँग भएको हो । उमाको माइती घर–परिवारको खानपान, रहनसहन, बोली सबै फरक । उनको विवाह मिथिलाक्षेत्रको प्रमुख केन्द्रविन्दु जनकपुरधामसँग जोडिएको बेला गाउँमा दश वर्षअघि भयो । उमाको ससुराली घरमा उनी श्रीमान्सँग नेपालीमा कुरा गर्छिन् । आप्mना दुई सन्तान दीपेश्वर र छोरी नम्रतासँग मैथिलीमा कुराकानी गर्न रुचाउँछिन् । सासु सीमापार माइती रहेकी हुँदा तथा ससुरा नेपाली–हिन्दी साहित्यमा बढी दखल राख्ने भएकाले उनीहरूसँग हिन्दीमै कुराकानी गर्दै आएकी हुन्छिन् । उनको जेठानकी श्रीमती भोजपुरी भाषासँग मेल खाने भाषा बोलिरहेकीले उनी भोजपुरीमै कुरा गर्छिन् । घर–परिवारका सदस्यले जुन भाषामा प्रश्न गर्छन्, उमा त्यही भाषामा उत्तर फर्काउँछिन् । उनीहरूको परिवार वा गाउँमा कहिल्यै कुनै भाषा विवाद भएन । उमाको ससुरालीका सबैको मातृभाषा मैथिली भए पनि मैथिलीमै बोल्नुपर्ने भन्ने कर छैन । माघ ७ गते प्रदेश नं. २ को प्रदेशसभामा शपथ ग्रहण गराउने कार्यक्रम भयो । त्यसमा भाषालाई लिएर सभासदस्यहरूले हल्लाखल्ला मचाए । ४७ जनाले मातृभाषा मैथिलीमा, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिए । हिन्दीमा शपथ लिएकामा मधेसका युवाहरूले आक्रोश जनाए । स्वाभिमान, पहिचान र अधिकारका लागि भनेर विभिन्न चरणमा आन्दोलन गर्ने अनि पहिचान विपरीत गएपछि विरोध हुन्छ नै । हिन्दी भाषा लाद्न खोज्दा प्रतिकार हुनु स्वाभाविक हो। 

तराई–मधेसमा जन्मदेखि नै सामान्यतया चारओटा भाषाको बीचमा आफ्नो जिब्रो चलाउँदै मानिस हुर्किन्छ । मैथिली, नेपाली, भोजपुरी, हिन्दी । तर यसको तात्पर्य यो कदापि होइन कि उनीहरूको मातृभाषा चारै भाषा हुन जान्छ । मिथिला क्षेत्रको मातृभाषा मैथिली नै हो । भोजपुरा क्षेत्रको भोजपुरी नै हो । यो सत्यलाई नकार्न मिल्दैन। 

समग्र तराई–मधेसमा मात्रै नभएर नेपालभरिमा हिन्दी भाषा बुझ्नेहरू छन्, होला । आधुनिक सञ्चारको साधनको माध्यमबाट घरघरमा हिन्दी पसेको छ भने पनि हुन्छ । त्यसैले हिन्दी बोल्ने पनि पक्कै छ । तर त्यसको अर्थ हामीले आप्mनो मातृभाषा छोडेर अरू आयातित भाषालाई मातृभाषा स्वीकार्छाैं त ? भाषा अभिव्यक्तिको माध्यम हो । जुन भाषामा पनि बोल्न सकिन्छ । तर, जबर्जस्ती लाद्नु राम्रो होइन । यो अनिष्टको संकेत हो। 

अधिकार, पहिचान र स्वामिभमानको मुख्य एजेन्डा लिएर अघि बढ्ने तर ईसापूर्व तीन हजार वर्षदेखिको गौरवमय इतिहास, समृद्ध साहित्यको धनी, गौरवशाली लोकपरम्परा रहेको मैथिलीलाई अंगिकार नगरेर बाह्राँै शताब्दीका भाषालाई स्वीकार्न सकिन्छ ? यसबाट कस्तो पहिचान दिलाउन खोजेको हो ? मधेसका सच्चा सपूतहरूले खोज्नुपर्ने बेला आएको छ । भाषागत विवाद कहिल्यै समाप्त नहुने विवाद बनाइँदै छ । मुस्लिम बाहुल्य देश पाकिस्तानबाट सन् १९७४ मा पूर्वी पाकिस्तान ‘बङ्गलादेश’का रूपमा अस्तित्वमा आएको मूल कारण भाषा विवाद नै थियो । हाम्रो मुलुकमा अहिले त्यसरी नै विवाद सृजना गर्न केही तत्व लागिपरेका छन्। 

मातृभाषा सबैलाई प्यारो हुन्छ । यस कुरोलाई नै हृदयंगम गरेर २०७२ असोज २ गते जारी भएको नेपालको संविधानले मातृभाषालाई कामकाजको भाषाका रूपमा पनि स्वीकार गरेकै हो । यसले पञ्चायतकालीन राज्यवस्थामा एक भाषा एक भेषको नीतिलाई त्यागेको हो । अब कसैले कसैमाथि केही कुरा लाद्न सक्दैन तर जुन हिसाबले मधेसकेन्द्रित दलहरू भाषाको नाममा आयातित भाषालाई लिंक भाषाको रूपमा लाद्ने प्रयासमा छन्, त्यसले थेरै समस्या जन्माइरहेको छ । 

लामो इतिहास बोकेका मैथिली, भोजपुरी तथा राष्ट्रभाषा नेपालीलाई तह लगाउने र आयातित भाषालाई मलजल गरेर उकास्ने कामले मधेस र मधेसीलाई घात गरेको छ । उल्लिखित साह परिवारमा जस्तै प्रदेश नं. २ मा जसले जुन भाषामा आप्mनो अभिव्यक्ति राखे पनि नबुझ्ने कोही हुँदैन । केही अपवादबाहेक र केही मतियारहरूको बाहेक कसैको मातृभाषा हिन्दी छैन । यस भेगमा मूलरूपमा भन्ने हो भने मूल भाषा मैथिली र भोजपुरी नै हो । मैथिली, भोजपुरी, ठेठी, मग्ही, बज्जीका, अंगिका आदि एउटै हो । 

हाम्रो मुलुकमा सत्ता सञ्चालकहरूले भाषा र बोलीमा फरक हालसम्म छुट्याउन सकेका छैनन् । जसले जे बोले र जे भाषा भनिदिए गणनामा जे कुरा लेखियो, त्यही नै भाषा हुने भयो । सन् २०११ कोे राष्ट्रिय जनजणना अनुसार देशभरिमा कुल १२३ भाषा बोलिन्छ । तर सूक्ष्म अध्ययन र अनुसन्धान गरियो भने यो कम छ । प्रदेश नं. २ मा मैथिली भाषा–भाषीको संख्या २४ लाख ४७ हजार ९ सय ७८ रहेको छ । त्यसपछि १० लाख ३ हजार ८ सय ७३ जना भोजपुरी भाषाभाषीको संख्या छ । ६ हजार ५ सय ६४ जना अर्थात् १२ प्रतिशत जनता हिन्दी भाषी रहेका छन् । यस तथ्यांकले पनि एउटा कुरा प्रस्ट पारेको छ । प्रदेश नं. २ मा सर्वाधिक मैथिली भाषाभाषी छन र त्यसपछि भोजपुरी । त्यस हिसाबले मैथिली र भोजपुरी भाषा प्रदेशको कामकाजको–राजकाजको भाषा हुनुपर्छ । तेस्रो भाषाको आवश्यकतालाई न्यून पारेको छ । अनि किन फेरि हाम्रा मधेसका कर्णधारहरू बहुमततिर नगएर अल्पमततिर ढल्केका छन् । के रहस्य छ ? 

(लेखक जनकपुरबाट प्रकाशित ‘सीमाञ्चल’ दैनिकका सम्पादक हुन्)

प्रकाशित: २८ माघ २०७४ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App