हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकतन्त्र होइन । तर हामीले अहिलेसम्म लोकतन्त्र भनेको भोट हालेर नेता छान्ने भन्ने मात्रै बुझ्यौँ । नेताले पनि लोकतन्त्र भनेको ५ वर्षमा एकचोटि भोट माग्न जाने अनि भोट ल्याएर सिंहदरबारमा बस्ने भन्ने नै बुझे । हाम्रो लोकतन्त्र यही बुझाइका कारण कमजोर हुँदै छ । नेपाल लोकतान्त्रिक सूचकांकमा १६७ मुलुकहरूमध्ये १०२ औँ स्थानमा छ । अर्थात् लोकतन्त्रीकरणमा पनि नेपाल आधा संसारभन्दा पछाडि छ।
एक दिन एकजना प्रोफेसरले कक्षामा प्रश्न गर्नुभयो, ‘लोकतन्त्र राम्रो व्यवस्था हो भनेर मान्ने कति जना हुनुहुन्छ ?’ सबैले सहमति जनाउँदै हात उठाए । प्रोफेसरले फेरि दोहो¥याएर प्रश्न गर्नुभयो, ‘तपार्इंहरूमध्ये कति जनालाई आफ्नो देशको लोकतन्त्रले राम्रोसँग काम गरिरहेको छ जस्तो लाग्छ ?’ कसैको पनि हात उठेन । लोकतन्त्रलाई रुचाउनु तर लोकतन्त्रबाट चित्त बुझाउन नसक्नुको कारण लोकतन्त्रको सिद्धान्त अनि व्यावहारिक लोकतन्त्रबीचको ठूलो दूरी हो । समानता, न्याय, स्वतन्त्रता, जवाफदेहिता, स्वच्छताले लोकतन्त्रलाई सैद्धान्तिक रूपमा राम्रो त बनायो तर स्वार्थ, पहँुच, शक्ति, नातावाद आदिले लोकतन्त्रलाई कमजोर बनाउँदै छ । नेपालमा लोकतन्त्रको बीउ त रोपियो । तर, त्यसलाई मलजल गरेर हुर्काउने काम हुन सकेन।
यदि काठमाडौँका मेयरले ‘मलाई काठमाडौँलाई हरियो सहर बनाउन एक हजार जना स्वयंसेवक चाहियो’ भनेर ठोस योजना ल्याउने हो भने उहाँलाई साथ नदिने को होलान् र ? तर यस्तो पहलको आह्वान स्थानीय, प्रादेशिक र संघीय कुनै नेतृत्वबाट आउने छाँट छैन।
लोकतन्त्रमा एउटा सरकार पक्ष हुन्छ । जसलाई आम नागरिकले निर्वाचित गर्छन् अनि दोस्रो हुने पक्षलाई प्रतिपक्षका रूपमा निगरानीका लागि संसद्मा पुर्याउँछन् । यी दुवै पक्षलाई नियन्त्रण अनि सन्तुलनमा राख्ने जिम्मेवारी अदालत, मिडिया अनि नागरिक समाजलाई दिइएको हुन्छ । हालको हाम्रो लोकतन्त्रमा यी पाँचवटै पक्ष कमजोर बनिसकेका छन् । लोकतन्त्रलाई बलियो बनाउन, हाम्रो सरकारसहित प्रतिपक्ष पनि बलियो हुन जरुरी छ । अदालत निष्पक्ष हुन जरुरी छ । मिडियाले वास्तविक रूपमा चौथो अंगको भूमिका निभाउनैपर्छ । अब लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज बलियो बनेर उभिन जरुरी छ ।
विगत १० वर्षयता मात्र हेर्ने हो भने, हामी शिक्षाको गुणस्तरमा एकदमै खस्किएका छौँ । हाम्रा युवाहरू बाहिर जाने लहर झन् बढेको छ । हामीले हाम्रो कला अनि संस्कृतिलाई बचाउन सकिरहेका छैनौँ । आम नागरिकमा आशाभन्दा निराशा पलाएको छ । हामीले मिडिया, अदालत अनि नागरिक समाजलाई पनि आफ्नो अनुकूलताका लागि प्रयोग गरेर जीर्ण बनाइसकेका छौँ । हामीले ५ वर्षमा आउनुपर्ने मेलम्ची १६ वर्षदेखि ल्याउन सकेका छैनौँ । हामीले विकासको गतिलाई बढाउन सकेका छैनौँ । राजनीति अनि कर्मचारीतन्त्र झन् भ्रष्ट बनेका छन् । राजनीतिकरणले हाम्रो विद्यालय अनि अस्पताललाई झन् गाँजेको छ । हाम्रा बाटाहरू असारमा बजेट खन्याउने खाल्डो मात्र बनेका छन् । संवैधानिक अंगहरू समेत पार्टीको साधनका रूपमा काम गर्छन् । सिटामोल पाउने अवस्था छैन । अनि हामी प्रत्येक दिन लोकतन्त्रको भाषण गरेर बसेका छौँ । लोकतान्त्रिक देशमा जबसम्म लोकतन्त्र बलियो हुँदैन, तबसम्म विकास अनि समृद्धि सम्भव छैन।
पहिला एउटा राजा थिए, उनले निर्णय गर्थे । अहिले प्रत्येक गाउँमा राजा छन्, नेताका रूपमा । नेतासम्म पहुँच नहुने मानिसहरूको अहिले पनि काम हुँदैन । अहिले पनि अधिकांश रूपमा सत्तामा पुग्न कि त पैसा चाहिन्छ, कि त नेताको आफन्त हुनुपर्छ । आम जनता राजनीतिमा पहुँच नहँुदा राजनीतिप्रति नै घृणा गर्न थालेका छन्, जसले लोकतन्त्रलाई कमजोर बनाउँदै छ । चर्चित पुस्तक ‘ह्वाइ नेसन फेल’को निष्कर्षसमेत जब जब राज्यका अंगहरू अनि संस्थाहरू जीर्ण हुन्छन् तब तब लोकतन्त्र कमजोर हुन्छ अनि राष्ट्र असफल हुन्छ भन्ने नै थियो । त्यसैले अब राज्यका अंगहरूलाई बलियो बनाउन जरुरी छ ।
लोकतन्त्र आफैँ पूर्ण विचार हो । अहिले लोकतन्त्रको विभिन्न परिमार्जित रूपलाई व्यवहारमा उतार्न खोजिँदै छ । अहिले युरोप अनि अफ्रिकाका केही देशहरूमा सहभागितामूलक लोकतन्त्रको अभ्यास सुरु भइसकेको छ । सहभागितामूलक लोकतन्त्रमा नागरिकले आफूलाई नीतिगत अनि राजनैतिक मुद्दाहरूमा सहभागी गराउँछन् । अझ सहभागितामूलक लोकतन्त्रको उन्नत रूप ‘डेलिबेरेटिभ डेमोक्रेसी’समेत छलफल अनि व्यवहारमा आउन थालिसकेको छ । यो लोकतन्त्रमा आम नागरिकहरू सहभागी मात्र होइन, संलग्न नै हुन्छन् । अब हाम्रो लोकतन्त्रलाई पनि अद्यावधिक गर्न जरुरी छ । अब नेपालीहरू पनि भोट हाल्ने मात्र होइन, नीतिगत अनि नेतृत्वगत हिसाबमा आफूलाई राजनीतिसँग जोडिन जरुरी छ ।
‘जिम्मेवार नागरिक, जवाफदेही नेतृत्व’ नै लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचनमा जिताउन मात्रै होइन, निर्वाचनपछि पनि आफ्नो प्रतिनिधिलाई जवाफदेही राख्ने जिम्मेवारी आम मतदाताले लिने हो भने हाम्रो लोकतन्त्र परिपक्व बन्न सक्छ । आम नागरिक राजनीतिमा संलग्न हुनका लागि पहिला त नागरिक नै आफ्नो जिम्मेवारीबारे सजग हुन जरुरी छ । संसद्मा चल्दै गरेको महत्वपूर्ण विधेयकमाथि अब प्रत्येक निर्वाचन क्षेत्रमा छलफल हुन जरुरी छ । अब मतदातालाई कानुन बनाउँदा नै संलग्न गराउन सके उक्त कानुनको पालनामा समेत सजिलो हुने थियो । साथै, नागरिकले उक्त कानुन अनि राज्यप्रति नै अपनत्व महसुस गर्न सक्ने थिए ।
नागरिकको स्तर अनि भूमिकाले पनि लोकतन्त्रको गहिराइ नाप्ने हो । एकजना नागरिकले सजिलै ‘सूचनाको हक’ प्रयोग गरेर आफ्नो गाउँको बजेट अनि योजनाबारे ज्ञान राख्न सक्छ तर धेरै आम नागरिकलाई यो हकबारे थाहा नै छैन । स्थानीय निकाय स्रोत परिचालन तथा व्यावस्थापन कार्यविधि २०६९ धारा ५०(१) बमोजिम नगर वा गाउँपालिकामा कार्यक्रम गर्दा आयोजनाको नाम, लागत अनुमान, सम्झौता मिति, सम्पन्न हुने मिति, लाभान्वित हुने जनसंख्या आदिको विवरणसहित सूचनापाटी सर्वसाधारणले देख्ने गरी कार्यक्रम स्थलमा राख्नुपर्ने नियम छ । हामी यो हाम्रो हकबारे पनि अनविज्ञ छौँ । आफ्नो टोलको बजेट कतै वडामा ३०० रुपियाँको पेनड्राइभ ३ हजारमा त किनिएको छैन ? फेरि कतै तीनकुनेको चौरलाई बगैँचा बनाउने भनेर डेढ करोड खर्चिंदा पनि चौर जस्ताको त्यस्तै त छैन ? कतै जुम्ला अनि हुम्लामा पुग्नुपर्ने राहत काठमाडौँमै थन्केको त छैन ? अब सम्बन्धित नागरिक आफैँ पनि सचेत हुन जरुरी छ । यदि आम नागरिक आफ्नै वडाको मात्र गतिविधिमा सचेत हुन सके आधा अनियमितता अनि भ्रष्टाचार आफैँ घट्ने थियो ।
चुनाव आउँछ, हामी हल्ला गर्छौं, भोट हाल्छौँ, एकजनालाई जिताउँछौँ अनि पाँच वर्ष चुप लाग्छौँ । समस्या हाम्रै मौनतामा छ । अब नेतृत्वले पनि आम मतदातालाई आफ्नो आफ्नो क्षेत्रमा विभिन्न कार्यहरूमा संलग्न गराउनुपर्छ । यदि काठमाडौँका मेयरले मलाई काठमाडौँलाई हरियो सहर बनाउन एक हजार जना स्वयंसेवक चाहियो भनेर ठोस योजना ल्याउने हो भने उहाँलाई साथ नदिने को होलान् र ? तर यस्तो पहलको सुरुवात अब नेतृत्वको तर्फबाट सुरु हुनैपर्छ । नागरिकले पनि एक भोट हाल्दैमा मेरो दायित्व सकियो भन्ने सोच बन्द गर्नुपर्छ । जति आम नागरिक राजनीतिमा सहभागी हुन्छन्, त्यति नै नेतृत्वको तानाशाह घट्छ । लोकतन्त्र बलियो हुन्छ ।
शक्ति आम नागरिकमाथि शासन गरेर आउने होइन । शक्ति त आम नागरिकलाई सहभागी गराएर साथ लिएर आउने हो । नेतृत्व सफल हुनका लागि अनि लोकतन्त्रको सुदृढीकरणका लागि नेता नागरिकसँग जोडिन जरुरी छ । आम नागरिकलाई प्रभावमा पारेर आम नागरिकलाई नीति अनि विकासका कार्यक्रममा सहभागी गराउन सके मात्र नेतृत्व सफल हुनेछ । जब आम नागरिकले सहभागिता जनाउँदै जिम्मेवार बन्नेछन्, तब मात्रै गाउँ–गाउँबाट अग्र्यानिक नेता जन्मन सक्छ । तब मात्र हाम्रो राजनीति सुसंस्कृत बन्न सक्छ । अनि तब मात्र हाम्रो लोकतन्त्र बलियो बन्न सक्छ ।
(केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी)
प्रकाशित: २४ माघ २०७४ ०४:०३ बुधबार