८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

कहिलेसम्म जप्ने जडीबुटी मन्त्र ?

परम्परागत उपचार जडीबुटीजन्य औषधि र अन्य स्वास्थ्य पद्धतिहरूमा आधारित प्रभावकारी उपचार प्रणाली भएकाले यसप्रति विश्वास र रुचि बढ्दै गएको देखिन्छ। यस प्रणालीअन्तर्गत जडीबुटीलाई प्राथमिकतामा राखेर विभिन्न प्रकारका रोगको उपचारमा प्रयोग गरेको पाइन्छ।

जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ। वन जंगलका प्राकृतिक औषधि र वनस्पतीय कच्चा पदार्थ उपचारमा प्रयोग गरी रोग निको गराएका कैयन् वैज्ञानिक तथ्य छन्। 

आयुर्वेद, युनानी, होमियोप्याथी, चाइनिज, कम्फो आदि प्रणालीमा जडीबुटीको प्रयोग गरी अधिकांश रोगलाई प्राकृतिक पद्धतिबाटै उपचार गर्दै आइएको छ। यस्ता वनस्पति वैकल्पिक उपचार प्रणालीमा प्रयोग गर्दा औषधीय परनिर्भरतामा केही कमी र अर्थव्यवस्था सुधारमा समेत उपयोगी भएका प्रशस्त उदाहरण छन्। अभिलेखहरूका अनुसार मानव जीवनमा बोटबिरुवाको औषधीय उपयोग लगभग ६० हजार वर्षभन्दा पनि पुरानो भएको देखिन्छ। 

करिब तीन लाख प्रजातिका फूल फुल्ने बिरुवाहरूमा औषधीय गुणको सम्भावना रहेको मानिन्छ। हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परम्परागत अभ्यासकर्ताहरूका लागि वित्तीय सहयोग गरी त्यस्ता सम्पत्तिको जगेर्ना गरिदिन र परम्परागत चिकित्सा प्रणालीलाई दिगो राखिदिन आह्वान गरेको छ।

बायोटेक्नोलोजीका नयाँ विधिहरू, रोग परीक्षण गर्ने उपकरणहरू, कुशल कृषि अभ्यास, सफल उपचार प्रमाणीकरण, क्लिनिकल प्रगति, फार्माकोपियल पुस्तकहरू, आयुर्वेदका ग्रन्थहरू, वनस्पतिशास्त्रको उपलब्धि, रसायनशास्त्र र आयुर्वेदको संयोजन आदि कारणले गर्दा हर्बल उत्पादनहरूको विकास हुँदै गइरहेको छ। त्यसैले जडीबुटी उद्योग विश्वको सबैभन्दा छिटो वृद्धि भइरहेका उद्योगमध्ये एक हो।

एलोप्याथिक औषधिहरूको केही प्रतिकूल प्रभावले गर्दा वैकल्पिक प्रणालीका रूपमा हर्बल औषधि उद्योगको तीव्र विकास हुँदै गइरहेको छ। हर्बल औषधिहरूको माग र दायरा पनि फराकिलो हुँदै गइरहेको छ। त्यसैले हाम्रा विश्वविद्यालयहरूका अनुसन्धान र विकासहरू, जडीबुटीजन्य सामग्रीहरूको उत्पादनतर्फ केन्द्रीकृत हुनुपर्छ।

कोभिड–१९ महामारी पछि स्वास्थ्य उपचारमा आधुनिक औषधिको सट्टा सजिलै उपलब्ध हुने जडीबुटीको प्रयोग प्राथमिकतामा परेको छ। डब्ल्युएचओको कुशल उत्पादन संहिता अवलम्बन गर्दा जडीबुटी औषधिको गुणस्तर सुनिश्चित हुन्छ। तर धेरै निम्न र मध्यम आय भएका देशहरूले अति आधुनिक प्रविधिहरू अवलम्बन गर्न सक्षम हुने सम्भावना देखिँदैन। 

नेपालले विश्व व्यापार संगठन सदस्यता प्राप्त गरिसकेको अवस्थामा यहाँ उपलब्ध जडीबुटीहरूबाट आर्थिक लाभ हासिल गर्न हामीले यथाशीघ्र जडीबुटी विज्ञानको पठन–पाठन व्यवस्था गर्न जरुरी भइसकेको छ। अनि मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ। जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीतिले लिएका उद्देश्यहरू प्राप्त गर्नका लागि पनि जडीबुटी विज्ञानका कार्यक्रमहरू विश्वविद्यालयहरूमा यथाशीघ्र सुरुवात गर्न जरुरी छ।

मानव स्वास्थ्यमा अत्यन्तै राम्रो भूमिका खेल्ने हुँदा हाम्रा जडीबुटीहरूको महत्त्व उच्च छ। नेपालमा करिब दुई हजार प्रजातिका विभिन्न वनस्पति गैरकाष्ठ वन पैदावारका रूपमा पहिचान भएका छन्। यसमध्ये आठ सयभन्दा बढी प्रजातिका जडीबुटी औषधिका रूपमा प्रयोग हुने गरेका छन् । नेपालको भौगोलिक विविधतामा पाइने जडीबुटीमा अनुसन्धान भई औषधीय प्रभावकारिताका वैज्ञानिकहरू तथ्यहरू सार्वजनिक भएका छन्।

गाँजाबाट आधुनिक औषधि उत्पादन भइसकेको हुनाले नेपालमा यसको खेती सम्भावना र चुनौतीबारे हालसालै एउटा अध्ययन प्रतिवेदन पनि सार्वजनिक भएको छ। नेपालको भूगोलको कारण हामी जडीबुटी उद्योगका लागि कच्चा पदार्थको महत्त्वपूर्ण आपूर्तिकर्ता बन्ने सुनिश्चित छ। हामीकहाँ औषधीय वनस्पतिमा आधारित सम्भावित उद्योग प्रवद्र्धन गर्नमा सरकारी र निजी क्षेत्र दुवै पछि परेका छन्। संकलनस्थलमै जडीबुटी प्रशोधन गर्ने प्रविधि स्थापना गर्ने काम स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको देखिएन।

सरकारको स्वामित्वमा रहेको चार शताब्दी पुरानो र एक सयभन्दा बढी आयुर्वेदिक औषधि बनाउने देशकै सबभन्दा पुरानो औषधि उत्पादन कम्पनीलाई पुनर्संरचना गर्नुपर्छ। यसपछि मात्र यो कम्पनी मुनाफामा जान सक्छ। नीतिगत सुधार गरेर खुला प्रतिस्पर्धाबाट प्राविधिकहरू पदमा योग्य व्यक्तिलाई यसको जिम्मा लगाउनुपर्छ। त्यस्तो व्यक्तिले मात्र कम्पनीको व्यवसायीकरण नीति बनाउन सक्छ। यो काम छिटोभन्दा छिटो गर्न जरुरी देखिन्छ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि औषधीजन्य जडीबुटीको उत्पादन र बजारीकरणमा पनि खासै उन्नति गर्न सकेको छैन। जडीबुटी कम्पनीको मानव स्रोत व्यवस्थापनको संरचना, संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि केन्द्रीकृत गर्नुपर्ने देखिन्छ। यहाँ पनि नीतिगत सुधार गरेर खुला प्रतिस्पर्धाबाट महाप्रबन्धकको छनोट गर्ने व्यवस्था अंगीकार गर्नुपर्छ। सञ्चालन समितिको संरचना परिमार्जन गरी व्यावसायिक विज्ञहरू भित्राउन जरुरी छ।

परम्परागत आयुर्वेदको अभ्यास, महत्त्व, वैज्ञानिक पुष्टि, संरक्षण तथा विश्व बजारसम्म व्यावसायिक विस्तार गरी आर्थिक उन्नति हासिल गर्न जडीबुटी विज्ञानको उपलब्धिलाई सदुपयोग गर्नुपर्छ। कृषि विज्ञहरूको थप सहकार्यमा समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरू जुटाउन सकिन्छ। आयुर्वेद अस्पतालहरूको सेवा वृद्धि भयो भने मात्र स्थानीय जडीबुटीहरूको खपत बढ्नेछ। नेपालका रैथाने ज्ञानलाई विश्वव्यापी सेवामा लैजानका लागि केन्द्रसँग अनुसन्धानात्मक सहकार्य गर्न सकिन्छ। यसतर्फ पनि नीति निर्माताको ध्यान जान जरुरी छ।

अब के गर्ने ?

औषधीय जडीबुटी बोर्ड गठन, प्रशोधन केन्द्रहरू स्थापना, सम्बन्धित सबै पूर्वाधारको स्तरोन्नति, जडीबुटी प्रमाणीकरण प्रयोगशालाको स्थापना, उत्पादित वस्तुको गुणस्तर सुनिश्चितता, उपलब्ध जनशक्तिको विज्ञताअनुसार यथास्थानमा पदस्थापन, वनस्पति विभागको अझ बृहत् विस्तार, सरकारी उत्पादन कम्पनीहरूलाई सबलीकरण, विद्यमान प्राविधिज्ञहरूलाई व्यावसायिक तालिम, नयाँ रासायनिक औषधि खोज र विकासमा जोड, जडीबुटीको सार तत्त्व मात्र निर्यात गर्ने प्रतिबद्धता, हर्बल वस्तु तथा आयुर्वेदिक उत्पादनलाई प्रोत्साहन, हाम्रा नवीनतम अनुसन्धान र आविष्कारहरूलाई प्राथमिकता, जडीबुटी खेतीमा अनुदान, जडीबुटीजन्य वस्तुमा आयात–निर्यातमा नीतिगत लचकता, शैक्षिक कार्यक्रमहरूमा अनुदान, ग्रामीण जडीबुटी उद्यमीहरूलाई प्रोत्साहन, बौद्धिक सम्पत्तिको अधिकार प्राप्तिको छरितो प्रणाली, बैंकको सरल ब्याज दर, उद्योग र अनुसन्धान केन्द्रहरूबीच साझेदारी आदि कुरा सम्बोधन गर्न ढिलो नगरौँ। यसो गर्न सकेमा मात्र ‘जडीबुटी’ मन्त्र जप्ने शब्दका मात्र सीमित हुँदैन।  

 

– डा. ज्ञवाली काठमाडौँ विश्वविद्यालयका फर्माकोग्नोसीका प्राध्यापक तथा जडीबुटीविज्ञ हुन्।

प्रकाशित: १३ पुस २०८० ००:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App