बौद्ध धर्ममा तीर्थयात्राको ठूलो महत्व छ । बहुसंख्यक जापानीहरू बौद्धमार्गी छन् जसले गर्दा जापानमा तीर्थयात्राको क्रमिक रूपमा विकास हुँदै गएको पाइन्छ । हेइयन कालमा सम्भ्रान्तहरूमाझ मात्र कायम रहेको तीर्थयात्राको क्रम इडो कालमा सर्वसाधारणमाझ पनि प्रख्यात भएको देखिन्छ । जापानी नागरिक सिन्नो तोशीकाजका अनुसार तीर्थयात्रालाई जापानी धर्मको एक प्रमुख आधार स्तम्भका रूपमा लिएको पाइन्छ । जापान पश्चिमी प्रशान्त महासागरको बीचमा झन्डै २४ सय किलोमिटरमा फैलिएको र होन्सु, होकाइडो, क्यूसु र शिकोकु ४ वटा प्रमुख र अन्य धेरै साना टापुहरूको शृृङ्खलाहरूबाट बनेको देश हो। जापानका विभिन्न स्थनहरूमा संसारभरि नै प्रख्यात बौद्ध तीर्थस्थलहरू र त्यसका सञ्जालहरू छन् । जसमध्ये जापानको शिकोकु प्रायद्वीपको वरिपरि अति नै विशिष्ट, पवित्र र धेरै मन्दिरहरूको संयोग भएको र सबैभन्दा लामो शिकोकु तीर्थयात्रा (पिल्ग्रिमेज) सञ्जाल रहेको छ । विख्यात, आकर्षक, महत्वपूर्ण तीर्थयात्राका रूपमा लिइने शिकोकु तीर्थयात्रालाई एकदम पवित्र र उच्च स्तरको जापानी धार्मिक संस्कृतिको अनुपम नमुनाका रूपमा समेत लिने गरिन्छ । जसले गर्दा यो स्थल अन्तर्र्राष्ट्रिय स्तरको गन्तव्यका रूपमा समेत विकसित भएको छ । यहाँ विश्वका विभिन्न देशहरूबाट बौद्धका अनुयायीबाहेक अन्य धर्ममा आस्था राख्ने मानिसहरू समेत तीर्थयात्राका लागि आउने गरेको पाइन्छ । शिकोकु तीर्थयात्रा हिँडेर पूरा गर्न झन्डै दुई महिना लाग्छ भने सार्वजनिक र व्यक्तिगत यातायातका विभिन्न साधनहरू जस्तै कार, पर्यटक बस, रेल, मोटर साइकल, साइकल आदि प्रयोग गरेमा सहज र छिटो तीर्थयात्रा पूरा गर्न सकिन्छ ।
जापानी बौद्ध भिक्षुु कुकाई (७७४–८३५) जसलाई पछि गएर कोबो दाइसी नामले प्रख्यात भए, उनैले बुद्धत्व (ज्ञान) प्राप्तिका लागि शिकोकुको भ्रमण गरेका थिए र शिकोकु तीर्थयात्रा सञ्जालको विकास पनि गरेका थिए । कोबो दाइसीलाई जापानमा एक चत्कारी व्यक्तिका रूपमा पनि लिने गरिन्छ जसले जापानी बौद्ध धर्म (सिंगोन) को प्रतिपादन गरेका थिए । उनले नै जापनी बौद्ध धर्म (सिंगोन), तीर्थयात्रा र शिकोकु द्वीपलाई जोड्ने र संस्थागत गर्ने काम गरे । कोबो दाइसीलले विकास गरेको झन्डै १३ सय किमि लामो शिकोकु तीर्थयात्रा (पिल्ग्रिमेज) मा ८८ बौद्ध मन्दिरहरू समावेश छन् भने अन्य धेरै पवित्र स्थलहरूको संयोजन रहेको छ । तीर्थयात्रालाई जापानीहरू जुनरेई भन्छन् भने शिकोकुमा यसलाई हेनरो भनिन्छ । शिकोकु ओहेनरो (तीर्थयात्री) जापानी नागरिकहरूमाझ मात्र होइन, संसारभरि नै निकै प्रख्यात रहेको पाइन्छ।
जापानीहरूका अनुसार शिकोकुको अर्थ चार प्रदेश भन्ने पनि हुन्छ । जसअनुसार यी चार प्रदेशहरूको तीर्थयात्रा नै बौद्धज्ञान (प्रकाश) प्राप्तिको सांकेतिक बाटो हुन सक्छ भन्ने कुरामा जापानीहरू विश्वास राख्छन् । शिकोकु तीर्थयात्रीहरू ८८ मन्दिरहरूमध्ये तोकुशिमा प्रदेशमा रहेका १–२३ मन्दिरहरूको भ्रमण सचेतना प्राप्तिका लागि, कोची प्रदेशमा रहेको २४–३९ मन्दिरहरूको भ्रमण योग र तपस्याका लागि, एहिमे प्रदेशमा रहेको ४०–६५ मन्दिरहरूको भ्रमण ज्ञान (प्रकाश) का लागि र खागावा प्रदेशमा रहेको ६६–८८ मन्दिरहरूको भ्रमण मोक्ष प्राप्तिका लागि गर्ने गर्छन् । मन्दिरको अवस्थिति, ऐतिहासिक पक्ष, सुन्दरताजस्ता विविध कारणले गर्दा केही मन्दिरहरूको आकर्षण अरूभन्दा बढी भएको पाइन्छ तर पनि शिकोकुमा रहेका ८८ वटै मन्दिरहरूको समान महत्व रहेको र सबै मन्दिरहरू भ्रमण गरेपछि मात्रतीर्थ यात्रा पूरा भएको मानिन्छ । तोकुशिमामा रहेको पहिलो मन्दिर रोयोञ्जीमा हिंसा नगर्ने, नरिसाउने, चोरी नगर्ने, झुटो नबोल्ने, लोभ नगर्ने, कुबाटोमा नलाग्ने जस्ता १० वटा बौद्ध उपदेशहरू तीर्थयात्रा अवधिभर पालना गर्नेछु भन्ने प्रण गरेर सुरु गरेको तीर्थयात्रा खागावामा रहेको ८८ औँ मन्दिर ओकुबोजीमा पुगेर सकिन्छ।
शिकोकुका हरेक मन्दिरहरूमा मूलदेवता भगवान् बुद्धको मूर्ति रहेको मुख्य भवन, कोबो दाइसीको मूर्ति रहेको अर्को भवन, मैनवत्ती र धुप बाल्ने स्थल, प्रार्थना गर्ने, सूत्र पाठ गर्ने स्थल, ठूलो घन्ट, हातमुख धुने ठाउँ, प्रशासकीय भवन आदि हुन्छन् । तीर्थयात्रीहरू मन्दिर प्रवेश गर्दा क्रमैसँग मन्दिर परिसरको मुख्य ढोकामा उभिएर बुद्ध भगवान्को मूर्ति रहेको मुख्य भवनतिर फर्केर टाउको झुकाएर हात जोड्ने, आफूलाई शुद्ध बनाउन हातमुख धुने, भगवान्लाई आफू मन्दिर प्रवेश गरेको जानकारी दिन ठूलो घन्ट बजाउने, मुख्य भवनमा धुप–मैनबत्ती बाल्ने, फेरि घन्ट बजाउने, सँगै रहेको बाकसमा आफ्नो नाम लेखिएको पत्र (ओसामे फुदा) र सूत्र (शाक्यो) खसाल्ने, सूत्र पाठ र प्रार्थना गर्ने गर्छन् । त्यसै गरी दाइसी भवनमा पनि मुख्य भवनमा जस्तै सबै कार्यहरू गरेपछि छाप लगाउने अफिसमा गएर आफ्नो विशेष प्रकारको कपी (स्ट्याम्प बुक) मा छाप लगाउने र फर्किने क्रममा मन्दिर परिसरको मुख्य ढोकामा उभिएर मुख्य भवनतिर फर्केर टाउको झुकाएर हात जोड्ने अनि आफ्नो गन्तव्यमा जाने गर्छन्।
शिकोकु एक आकर्षक पर्यटकीय गन्तव्य हो । पर्यटकहरूलाई यातायातको राम्रो व्यवस्था, होटल, गेस्टहाउस, रेस्टुरेन्टको व्यवस्था, सुरक्षाको प्रत्याभूति, नक्सा तथा गाइडबुकहरू सजिलै उपलब्ध छन् भने धार्मिक पर्यटनको साथमा प्रकृति र समुद्रको अनुपम सुन्दरताको संयोजन रहेको शिकोकु जापानी संस्कृति र खानाका लागि पनि अलग्गै पहिचान राख्छ । त्यसैले हरेक वर्ष लाखौँको संख्यामा जापानीहरूको अलावा संसारभरिकै पर्यटकहरू शिकोकु भ्रमण गर्ने गर्छन् । शिकोकुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्दै स्थानीयहरू लागिपरेका छन् । सूचीकृत हुन सकेमा शिकोकुको आकर्षण अन्तर्राष्ट्रिय रूपमा अझ बढ्ने देखिन्छ।
जापानमा ६० वर्षपछि मान्छेको पुनर्जन्म हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । जापान र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्ष भइसकेको छ । संस्कृति, आर्थिक, सामाजिक र राजनैतिक हिसाबले नेपाल र जापानको सम्बन्ध उच्चस्तरको रहेको छ । यी दुई देश संस्कृति र पर्यटनका कारण संसारभरि नै प्रख्यात छन्, यसलाई नागरिक स्तरमा लैजान जरुरी छ । जापानको प्रमुख बौद्ध तीर्थस्थल शिकोकु र भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबीच भगिनी सहरका रूपमा सहकार्य गर्न सके, लुम्बिनीसँग जोडेर धार्मिक पर्यटन सञ्जालको विकास गर्न सकेमा जापान, नेपाल र बौद्ध संस्कृतिको समेत विकास हुन सक्छ। शिकोकुमा रहेका होटल, गेस्टहाउस, रेस्टुरेन्ट, ट्राभल कम्पनी लगायतमा भएको सहकार्य, व्यावसायिक धर्म र स्वस्थ प्रतिस्पर्धाजस्ता कुराहरू नेपालका लागि अनुकरणीय छन् । नेपालको पर्यटन, लुम्बिनी, बौद्ध पर्यटनको विकास र बौद्ध परिपथ निर्माण गर्न शिकोकु पर्यटनबाट नेपालले धेरै सिक्न र फाइदा लिन सक्छ । जापान भौतिक विकास र आर्थिक हिसाबमा मात्र वैभवशाली होइन, जापानी समाज हरेक कुरामा सकारात्मक सोच राख्ने प्रवृत्तिका छन् । जापानी संस्कृति र विकास, त्यहाँका नागरिकहरूकोे शालीनता, विज्ञता, लगनशीलतान, जिम्मेवारीप्रतिको बोध, कडा परिश्रम गर्ने बानी, आदरसत्कार र नम्रताजस्ता धेरै कुरा नेपाल र अन्य मुलुकहरूले सिक्नुपर्नेछ र सो कुराहरूको अवलम्बन गर्न सके सबैलाई राम्रो हुनेछ।
प्रकाशित: १९ माघ २०७४ ०२:५७ शुक्रबार