डर यस्तो भावना हो जुन सम्भावित खतरा देखेपछि वा महसुस गरेपछि पैदा हुन्छ। वास्तवमा डर भनेको सम्भावित खतरासँग लड्न वा भाग्न मस्तिष्कले शरीरलाई दिने संकेत हो। मानिसलाई मात्र होइन हरेक प्राणीलाई डर लाग्छ। डरले नै प्राणीलाई सम्भावित जोखिम तथा खतराबाट जोगाउँछ। तर यस्तो डर भौतिक पनि हुन सक्छ, मनोवैज्ञानिकपनि हुन सक्छ।
मनोवैज्ञानिकहरूको एक टिमले जघन्य अपराधमा मृत्युदण्ड पाएका एक कैदीलाई भने–अब तिमीलाई मृत्युदण्ड दिइनेछ। मृत्युदण्ड विषालु सर्पले तिम्रो टाउको टोकाएर दिइनेछ। र, सर्पले टोक्ने बित्तिकै तत्काल तिम्रो मृत्यु हुनेछ। त्यसपछि उनलाई जंगलमा लगियो र उनको आँखामा पट्टी बाँधियो। अनि उनको निधारमा सर्पले डसेजस्तो गरेर पिनले घोचियो। उनले घोचेको थाहा पाए।
यत्ति नै बेला उनको आँखाको पट्टी खोलियो। उनको अगाडि एउटा अजंगको विषालु सर्प थियो। कैदीले सोचे, सर्पले डस्यो। उनी एकाएक कहालिए, सर्पले टोकेपछि मानिस मर्छ भन्ने डरले डराएरै उनी मरे।
अतः मानिसलाई वनको बाघसँग पनि डर लाग्छ, मनको बाघसँग पनि डर लाग्छ। वनको बाघसँग डर लाग्नु स्वभाविक भए तापनि मनको बाघसँग डर लाग्नु स्वाभाविक होइन। हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ। तर यस मनोवैज्ञानिक समस्याको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा निम्न चार दृष्टान्त हेर्न अत्यन्तै जरुरी हुन्छः
दृष्टान्त एक
सुनसान जंगलको बाटो तपाई आफ्नै सुरमा कतै हिँडिरहनुभएको छ। अचानक नजिकै बाघ गर्जिएको ठूलो आवाज आउँछ। तपाईँको सातोपुत्लो उड्छ। ज्यान जोगाउन तपाईँ त्यहाँबाट भएभरको शक्ति लगाएर तुफान भाग्नुहुन्छ। र, सुरक्षित ठाउँमा पुग्नुहुन्छ। अब तपाईँलाई थाहा हुन्छ। तँपाईको मुटु बेजोडले धड्किरहेको छ, पसिनाले शरीर निथ्रुक्क छ।
सास छिटोछिटो चलेको छ। गबराहटले गाह्रो पारेको छ। त्यसबेला तपाईँको बिपी नाप्ने हो भने २ सय कटेको हुन्छ, मस्तिष्क रसायनहरू उथलपथल तथा असन्तुलन भएका हुन्छन्।
केही क्षणको विश्रामपछि बिस्तारै बिस्तारै सबै सामान्य हुन्छ। हरेक डरलाग्दा परिस्थितिको सामना गर्नुपर्दा यस्तै लक्षण देखापर्छन्।
वनको बाघले पैदा गरेको यस स्थिति कुनै मानसिक समस्या होइन, यो सामान्य घटना हो। यो स्थिति बाघको डर र बाघको संभावित आक्रमणबाट बच्नका लागि मस्तिष्कले पैदा गरेको शारीरिक प्रतिक्रिया हो। संसारका हरेक मानिसलाई धेरैथोरै वनको बाघले यस्तो स्थिति पैदा गराउँछ। मानिसले मात्र होइन, हरेक प्राणीले यस्तो स्थितिमा यस्तै प्रतिक्रिया देखाउँछन्। यस्तो अवस्थामा बिपी र एनजाइटी (भय) कम गर्न कुनै औषधि आवश्यक पर्दैन।
दृष्टान्त दुई
तपाई घरमा बसिरहनुभएको छ वा अफिसमा काम गरिहनुभएको छ। तर पनि तपाईँलाई मुटुको धड्कन महसुस भइरहेको छ। डर लागिरहेको छ। मन बैचन छ। हरहमेसा यस्तो स्थिति छ भने सम्झनुहोस् तपाईँको मनमा काल्पनिक बाघ (कुनै चिन्ता, डर तथा भय) बसेको छ र त्यस बाघले तपाईलाई पटक पटक, दिनको हजार पटक खाइरहेको छ।
यहाँ उल्लेखनीय कुरा के भने जंगलको बाघ समान्य घटना हो तर मनको बाघचाहिँ सामान्य होइन, यो मनोवैज्ञानिक समस्या हो। यस समस्यालाई मनोचिकित्सामा सामान्यकृत दुश्चिन्ताको समस्या मानिन्छ।
यस अवस्थामा पनि मुटुको धड्कन बढेको हुन्छ, सास छिटो चलेको हुन्छ, मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ। बिपी आदि बढेको हुन सक्छ। यस समस्याको समाधानका लागि साइक्याट्रीले अनेक प्रकारका औषधि सिफारिस गरेको छ।
दृष्टान्त तीन
तपाई सामान्य अवस्थामा कतै जानुभएको छ तर बिनाकारण अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चिटचिट पसिना निस्कन्छ, त्यहीँबेहोस भई पल्टिउँला जस्तो हुन्छ। १० मिनेटदेखि आधा घण्टापछि सबै समान्य हुन्छ। यस्तो अवस्था यस कारण सिर्जना हुन्छ कि अचानक तपाईँको मनमा बाघ आउँछ र केहीबेरपछि आफैँ मनबाट जान्छ।
यो पनि सामान्य घटना होइन, मनोचिकित्साको भाषामा प्यानिक अट्याकको समस्या हो। यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ। बिपी आदि बढेको हुन सक्छ। यस समस्या समाधानका लागि पनि साइक्याट्रीले अनेक प्रकारका औषधि सिफारिस गरेको छ।
दृष्टान्त चार
अरू बेला तपाईले आफ्नो दिनचर्या सामान्य रूपमा गर्नुहुन्छ। तर कसैसँग बोल्दा आँखामा आँखा जुधाएर बोल्न सक्नु हुँदैन। विवाहपार्टी वा कुनै सामाजिक तथा सार्वजनिक समारोहमा जान, मानिसको अगाडि बोल्ने स्थितिबाट तपाई पन्छिनुहुन्छ तथा बाध्ताबस त्यस्तो स्थिति सामना गर्नुपरेमा अचानक मुटु फुट्ला जस्तो हुन्छ, सास छिटो छिटो चल्छ, चिटचिट पसिना निस्कन्छ, त्यहीँबेहोस भई पल्टिउँला जस्तो हुन्छ भने यो पनि सामान्य घटना होइन, यो पनि मनको बाघले खाएको स्थिति हो। यसलाई मनोविज्ञानमा सामाजिक फोबिया भनिन्छ। यस्तो बेलामा पनि मस्तिष्क रसायन असन्तुलन भएको हुन्छ।
बिपी आदि पनि बढेको हुन सक्छ। यस समस्याको समाधानका लागि पनि साइक्याट्रीले अनेक प्रकारका औषधि सिफारिस गरेको छ।
अतः उपर्युक्त चार अवस्थाको कारण हो, बाघ (डर)। पहिलो घटनाको कारण हो वनको बाघ (बाघको डर)। बाँकी घटनाको कारण हो मनको बाघ (काल्पनिक भय)। अब एउटा गहन प्रश्न उठ्छ, के मनोचिकित्सकले सिफारिस गरेका औषधिले मनका यस्ता बाघ हटाउन सक्छ? पक्कै सक्दैन। त्यसैले त औषधि खाउनजेलसम्म मनको बाघले पैदा गरेका लक्षण केही कम भए जस्तो भए तापनि औषधि सेवन गर्न छाडेपछि लक्षणहरू फेरि उस्तै भएर वा अझ उघ्र भएर आउँछन्।
अतः मनोवैज्ञानिक समस्याको सही समाधान भनेको बाघलाई मनबाट हटाउनु हो। मनको बाघलाई नहटाएसम्म डर फर्किफर्की आउँछ। तर विडम्बना मनोचिकित्सा यस बाटोतर्फ हिँडेको देखिँदैन। किनभने यस बाटोमा कुनै फाइदा छैन। फाइदा त औषधिमा छ।
–लेखक साइकोथेरापिस्ट हुन्।
प्रकाशित: ८ पुस २०८० ००:२१ आइतबार