२५ डिसेम्बर १९९१ मा क्रेमलिनको सिनेट दरबारबाट सोभियत संघको हँसिया–हथौडा अंकित रातो झन्डा तल झारियो र त्यसलाई रुसी त्रिरङ्गी झन्डाद्वारा प्रतिस्थापित गरियो। यससँगै विशाल सोभियत साम्राज्य प्रतीकात्मक रूपमा समाप्त भयो र विश्व समाजवादको प्रतिरक्षाको अवस्थामा रूपान्तरित भयो। करिब सातदशक फहराइरहेको त्यो झन्डाको विस्थापनसँगै विश्वभर ‘वाद’हरूबारे नयाँ समीक्षा सुरु भयो।
ती नागरिक, जसका कैयन् पुस्ता सोभियत कालमा जन्मे हुर्के, तीमध्ये धेरैको यो परिवर्तनबाट जीवनको सुमधुर क्षण र भविष्यप्रति निर्धक्क हुने युग चकनाचुर भयो।
कैयन्का लागि आफू जन्मेको देश जसमाथि तिनीहरू विश्वभर गर्व गर्थे, त्यो हरायो। तीमध्ये केही मानिस ठान्छन् कि महाशक्ति राष्ट्रको झन्डासँगै, नेताहरूले स्वार्थका लागि सबैभन्दा बहुमूल्य चिज बेचे-देशको स्वतन्त्रता, एउटा महाशक्ति र सत्तरी वर्ष लगाएर निर्माण गरिएको संस्कृति।
यसका विपरीत अर्काथरी नागरिकहरू परिवर्तनपछिको खुला संसार र स्वतन्त्रता अनि बजार अर्थतन्त्रका लागि यो सत्तापलटलाई धन्यवाद दिन्छन् र त्यो फलामे बारको पर्खालबाट पार पाएकोमा उन्मुक्त ठान्छन्।
यी परस्पर विरोधीबाहेक बिचमा एउटा तप्का पनि छ जसको विचारमा ‘जो सोभियत संघको अवसानमा पछुताउँदैन, ऊ हृदयविहीन हो र जसले यसलाई पुनर्स्थापित गर्न चाहन्छ, ऊ मस्तिष्कबिनाको मान्छे हो।’
सोभियत संघको स्थापना
सन् १९१७ नोभेम्बर ७ मा सम्पन्न अक्टोबर समाजवादी क्रान्ति मानवजातिको विकासक्रममा नयाँ अध्याय थियो। यसले २०औं शताब्दीमा युरोप र विश्व इतिहासमा ठुलो प्रभाव पार्यो। अक्टोबर क्रान्तिको प्रभाव पूर्व रुसी साम्राज्यको भूभागमा समेत फैलियो र सन् १९२२ सम्म ६ सोभियत–समाजवादी गणतन्त्रहरू गठन भए– रुसी, युक्रेनी, बेलारुसी, अजरबैजान, अर्मेनियाई र जर्जियाली।
१२ मार्च १९२२ मा अजरबैजान, अर्मेनियाली र जर्जियाली गणतन्त्रका नेताहरूले ‘ट्रान्सककेसियन सोभियत संघीय समाजवादी गणतन्त्र संघ’ स्थापना गरे। डिसेम्बर ३०, १९२२ मा सोभियतहरूको पहिलो अखिल महाधिवेशनमा ६ वटै स्वतन्त्र गणतन्त्रका प्रतिनिधिले सोभियत संघको गठन र सन्धिको घोषणामा हस्ताक्षर गरे।
यससँगै रुसी सोभियत संघीय समाजवादी गणतन्त्र, युक्रेनी सोभियत समाजवादी गणतन्त्र, बेलारुसी सोभियत समाजवादी गणतन्त्र र ट्रान्सककेसियन सोभियत संघीय समाजवादी गणतन्त्र एक राज्यमा एकताबद्ध भए र ‘सोभियत संघ’ गठन गरे, प्रत्येक गणतन्त्रको संघबाट स्वतन्त्रपूर्वक अलगाव हुने अधिकारसहित।
समयक्रममा यो संघमा एसियाका कजाक, किर्घिज, ताजिक, तुर्कमेन, उजवेक र युरोपका लाटभिया, लिथुआनिया, एस्टोनिया र मल्दोभिया सोभियत समाजवादी गणतन्त्रहरू थपिए। यसरी पृथ्वी ग्रहको लगभग ६ भागको एकभाग ओगटेको सयौं भाषाभाषी, सयौं जातजाति, सयौं संस्कृति समाहित नयाँ देश सोभियत राष्ट्र र सोभियत मान्छेको जन्म भयो र सोभियत युगको प्रारम्भ भयो।
सोभियत युगका उपलब्धि
सोभियत संघले मानवजातिको इतिहासमा आफ्नो गर्विलो स्थान त्यतिकै रचेको होइन। संसारमा सबैभन्दा पहिला पञ्चवर्षीय योजना (पिचिलेत्नी प्लान) सोभियत संघले सुरु गरेको थियो र योजनाबद्ध विकासको अवधारणा अनुरूप द्रुतगतिमा औद्योगिकीकरण एवं कृषिको सामूहिकीकरण गरेर सन् १९३० को मध्यमा नै कूल गार्हस्थ उत्पादन र औद्योगिक शक्तिको सन्दर्भमा युरोपमा शीर्ष र विश्वमा दोस्रो स्थान हासिल गर्यो।
सोभियत सत्ताले साधारण मानिसलार्ई शिक्षा र उच्च संस्कृतिका लागि बाटो खोलिदियो। सबैलाई अनिवार्य र पूर्ण रोजगारी, सशुल्क बिदा, निःशुल्कजस्तै आवास, निःशुल्क औषधोपचार, निःशुल्क शिक्षा व्यवस्थाको बन्दोबस्ती सोभियत प्रणालीले स्थापना गरेको थियो। त्यहाँ सबैले समुद्री किनारमा छुट्टी मनाउन अधिकार राख्थे।
धेरैले भन्ने गर्छन्– सोभियत युनियनमा तपाईं जो कोही हुनुहुन्थ्यो, मिस्त्री, मजदुर, एक वैज्ञानिक, एक सैनिक, एक विद्यार्थी, सबैले महसुस गर्थे कि उसका पछाडि एउटा देश छ, जसले उसलार्ई सधैं मद्दत गर्नेछ। यही कारण धेरैजसो रुसीहरू सोभियत संघलाई स्थिरताको र भोलिका लागि निश्चिन्तताको काल थियो भन्न रुचाउँछन्।
अझ सिर्जनाको युग, सयौं भाषाभाषी, राष्ट्रियता र गणराज्यलाई एकसूत्रमा बाँध्ने एकताको युग, विजयको युग, आविष्कार एवम् अन्तरिक्ष उडानको युग, सामाजिक सुरक्षाको युग र जहाँ जो कोही पनि राष्ट्रियता वा धर्मको आधारमा अपमानित हुन नपर्ने युग।
सोभियत संस्कृति र परम्परा
भौतिक विकासका साथसाथै सोभियत युगमा नयाँ संस्कृति, परम्परा, चाडबाड र रीतिरिवाजहरू पनि स्थापना गरिए। बिहेको दिन त्यहाँँ नवविवाहित दम्पतीले लेनिनको सालिकमा फूलको गुच्छा चढाउने गर्थे।
दशकौंदेखि चलेको अक्टोबर क्रान्ति दिवस, मे दिवस, विजय दिवस त्यहाँँको कैयन् पुस्ताको संस्कृतिको अङ्ग बनेको थियो। मस्कोको केन्द्रमा अवस्थित रेड स्क्वायर यी उत्सवहरूको ७४ वर्षसम्म साक्षी बन्यो। यो चोकको मैदानमा थुप्रै ऐतिहासिक परेड भए। यहाँ स्थित लेनिनको समाधिस्थलमा उभिएर नेताहरूले जनतालाई सम्बोधन गरे।
हरेक भाषणपछि नेताहरू हुर्रा भन्थे। त्यसको समर्थनमा परेडमा सहभागी जनसागर र सैनिकहरूले पनि ‘हुर्राहुर्रा’ स्वर गरेर आकाश गुन्जाउँथे। क्रेमलिनको महिमा गाउँदै कवि मायाकोभ्स्की ‘हाम्रा लागि पृथ्वी क्रेमलिनबाट सुरु हुन्छ’ भन्थे। नब्बेको दशकमा त्यहाँ आएका परिवर्तनसँगै यस्ता गौरवशाली परम्परा इतिहासको गर्भमा विलीन भए।
ओरालीहरू
सोभियतका केही पूर्वनागरिकहरूको विचारमा पछिल्लो नेतृत्वले भ्रष्टाचार फैलाए, अझ देशद्रोहीहरूले मुलुकको विभिन्न क्षेत्रमा कृत्रिम अभाव सिर्जना गरे, जसले सोभियत जनतालाई समाजवादी मार्गप्रति वितृष्णा उत्पन्न गराउन सुरु गर्यो। यसले पहिले मुलुक, पार्टी र समाजको र वैचारिक मूल्यमान्यताको क्षयीकरण र त्यसपछि सोभियत संघको विघटनतर्फ डोर्यायो।
समयक्रममा नेतृत्ववर्गमा आएको वैचारिक स्खलन र जडताले सोभियत राज्यको मूल आधार ‘समाजवादी स्वामित्व’ माथि जनताको नियन्त्रण दिनानुदिन कमजोर बन्दै गएको र स्वामित्व प्रणाली बाहिरी रूपमा जे देखिए पनि भावनात्मक रूपमा न त सामूहिक, न त व्यक्तिगत बल्कीमा परिणत हुँदै गएको कुरा राजनैतिक अर्थशास्त्रका प्रोफेसरहरूले गर्ने गर्थे।
सोभियत समाजको जडता र विसङ्गतिहरूलाई सुधार गर्न र मुलुकलाई लोकतान्त्रिकीकरण गर्ने उद्देश्यले असीको उत्तरार्धमा सोभियत कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्बाचेभले ‘पेरेस्त्रोइका’ र ‘खुलापन’ प्रारम्भ गरे। तर उनको प्रयास असफलसिद्ध भयो र सोभियत संघको विखण्डनमा गएर टुङ्गियो। पन्ध्र स्वतन्त्र राष्ट्र मिलेर खडा भएको र राष्ट्रगानमा अविनासी भनिएको संघ ढल्यो।
एउटा युगको अवसान
नब्बेको सुरुआतमा लहराएको प्रजातन्त्र र स्वतन्त्रताको हुरीबिच डिसेम्बर ८, १९९१ मा युक्रेनका लियोनिद क्राभचुक, रुसका बोरिस येल्त्सिन र बेलारुसका स्टानिस्लाभ सुस्केविचले बेलोवेज्स्काया सम्झौतामा हस्ताक्षर गरे।
सम्झौताले सोभियत संघको अस्तित्वको अन्त्यलार्ई ‘अन्तर्राष्ट्रिय कानुन र भूराजनीतिक वास्तविकताको विषय’ भनेर उल्लेख गरेको थियो। सोभियत प्रेमीहरूका लागि डिसेम्बर ८ सोभियत मातृभूमिलाई अपमानित गरिएको र मुलुक हरण गर्न सुरु गरिएको शोकको दिन हो।
यो सम्झौतालगत्तै डिसेम्बर २६, १९९१ मा सर्वोच्च सोभियतले विधिवत ‘सोभियत समाजवादी गणतन्त्र संघ’ को अस्तित्वको अन्त्य भएको घोषणा गर्यो। त्यतिबेलाका कतिपय नागरिक सोभियत संघ आफै ढलेकोमा विश्वास गर्दैनन्। त्यहाँ, हामीले देश गुमाएका होइनौं, त्यो हामीबाट खोसिएको हो भन्नेहरू पनि छन्। कतिपय नागरिकहरू यो दिनलाई आफूहरू ‘स्वतन्त्र’ भएको अवसर मान्ने गर्छन्।
हुन त १७ मार्च १९९१ मा ‘सोभियत संघको अस्तित्व कायम गर्ने कि नगर्ने’ भन्ने विषयमा संघभर जनमत सङ्ग्रह भएको थियो।
जनमतमा भाग लिएका सोभियत गणतन्त्रका ७७.८५ प्रतिशत नागरिकले ‘नयाँ समान समाजवादी सार्वभौम गणतन्त्रहरूको महासंघ’ का रूपमा सोभियत संघ निरन्तर रहनुपर्छ भनी मतदान गरेका थिए। तर अचानक १९ देखि २१ अगस्टमा घटित आपतकालीन राज्य समितिको ‘कू’ प्रयासले राजनीतिको पाटो उल्टियो र यसले सोभियत संघभरि व्यापक प्रदर्शन निम्त्यायो। यही प्रदर्शनको लहरबिच जनमतसङ्ग्रहमा जनताले देखाएको अभिमत छायामा पर्यो।
सोभियत संघमाथि जन्मँदै प्रहार हुन थालेको थियो तर लत्रेन। देशी–विदेशी, आफन्त–पराया, सेता र फासिस्टहरूको आक्रमण निरन्तर थियो तर कहिल्यै हारेन। दोस्रो विश्वयुद्धमा त पुरै ध्वस्त भएको थियो तर ढलेन। अब समाप्त भयो।
भितरहरूले विभेदरहित न्यायपूर्ण व्यवस्था भन्दै आएको र इतरहरूले अधिनायकवादी नाम दिएको सोभियतहरूको देश विश्व मानचित्रबाट हरायो। प्रत्येक नागरिक ‘भोलिका लागि निश्चिन्त भएर जन्मने’ भनिएको मुलुक आफै अनिश्चयको भुमरीमा तुवाँलियो।
यससँगै सोभियत संघका सरकारी भवन, सङ्ग्रहालय, पुस्तकालय र विद्यालयमा फहराइएका त्यो महाशक्ति राज्यका राता झन्डा हटाइए। सबै भातृराष्ट्रहरूको समानता र तिनीहरूको सार्वभौमसत्ता सुरक्षित हुने गरी सन् १९२२, डिसेम्बरमा सोभियत जनप्रतिनिधिहरूको पहिलो कांग्रेसले गठन गरेको ‘सोभियत संघ’ इतिहासमा सीमित भयो।
सन् १९२४ को संविधानमा उल्लिखित ‘बहुराष्ट्रिय राज्य निर्माण गर्ने सिद्धान्तमा सङ्कल्पित’ पहिलो समाजवादी संघ र देश अब बिलायोे। त्यसमा कमीकमजोरी आफ्नो ठाउँमा थिए होलान्, त्यो सफल–असफल इतिहासको विषय हो। अन्तमा हराएको त्यो सोभियत देशका बारेमा दगेस्तानी कवि रसुल गमजातोभको कविता
जब म आफूलाई त्यो अर्को संसारमा भेटाउँछु
र म युद्धमा मारिएका भाइहरूलाई भेट्नेछु
अच्छा, देश कस्तो छ?
मातृभूमि कस्तो छ?
घर कस्तो छ?
पहिलो पटक
तिनीहरू मसँग झुट बोल्न चाहन्छन्
एउटा महान् युद्धमैदानमा लडेको जस्तै
कसरी भनूँ कि उनको देश अब रहेन?
सोभियत युगपछिको विश्व
सोभियत संघ ढलेसँगै घटित शीतयुद्धको अवसानपछि करिब एकध्रुवीय विश्व खडा भयो। बर्लिन पर्खालको पतन निस्सन्देह शीतयुद्ध अन्त्यको चिह्न ठानिएको थियो र यसलाई राजनैतिकवादहरूबिचको सङ्घर्षको विश्राम भएको मानिएको थियो। तर पर्खाल भत्काइनुले संसारमा विद्यमान अन्तरविरोध, द्वन्द्वहरू र राजनीतिक ध्रुवीकरणलार्ई रोक्न सकेन, बरु इरान, इराक, लिबियामा युद्धहरू भइरहे।
सन् १९९१ को जुलाईमा सोभियत शिविरले ‘वार्सा सम्झौता’ समाप्त गरेको घोषणा गर्यो। यसले विश्वशान्तिलाई मार्गप्रशस्त गर्ने विश्वास लिइएको थियो। गोर्वाचोभको यो लचकताको बदला त्यो बेला संयुक्त राज्य अमेरिकाबाट ‘पूर्ववार्सा प्याक्ट राष्ट्रहरू नाटोको हिस्सा बन्ने छैन’ भनेर सहमत भएको थियो।
यसका विपरीत समयक्रममा अल्बानिया, बुल्गेरिया, क्रोएसिया, चेक, डेनमार्क, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, नर्वे, पोल्यान्ड, रोमानिया, स्लोभककिया, स्लोभेनियामा नाटो विस्तार गरियो। सेप्टेम्बर २०२२ मा युक्रेनले नाटोको सदस्यताका लागि आवेदन दियो।
रुसमा प्रजातन्त्रको उदयसँगै अमेरिका र पश्चिमाहरूसँग मेलमिलापमा रहने यसका प्रथम राष्ट्रपति बोरिस यल्त्सिनको अचम्म चाहना थियो।
सोभियत युग अवसानको आधा वर्षपछि १७ जुन १९९२ मा यल्त्सिनले अमेरिकी कांग्रेससामु गर्नुभएको सम्बोधनमा यो सहअस्तित्वको भावना प्रखरित छ।
वक्तव्यमा राष्ट्रपति भन्नुहुन्छ– ‘अब संसारले सहज सास फेर्न सक्छ। पृथ्वीमा जताततै सामाजिक विद्वेष, वैमनस्य र क्रूरता छर्ने, मानव समुदायमा भय जगाउने कम्युनिस्ट मूर्ति ढल्यो। र म तपाईंहरूलाई आश्वस्त पार्न यहाँ छु, हाम्रो पृथ्वीमा, हामी उसलाई फेरि उठ्न दिनेछैनौं। धेरै वर्षसम्म हाम्रा राज्यहरू दुई चरम विपरीत ध्रुवमा थिए। अब यो सैतानी परिदृश्य विगत भएको छ।’
तर रुसी प्रजातन्त्रका पिता बोरिस यल्त्सिनको सदाशयतालाई पछिल्लो विकासक्रमले थाँती लगाइदियो।
युक्रेन संकट
सोभियत संघको अवसानसँगै त्यसमा आबद्ध देशहरू धेरै वर्ष सङ्क्रमणकालको अस्थिरतामा गुज्रिए। सन् २०१० को चुनावमा देशलाई असंलग्न राख्न रुचाउने भिक्टरयानुकोभिच राष्ट्रपति निर्वाचित भएपछि युक्रेनले नाटो सदस्यताको योजनालाई स्थगित गर्यो।
यसलगत्तै सन् २०१३ को नोभेम्बरदेखि युक्रेनको राजधानी किभमा सरकारविरोधी प्रदर्शन सुरु भयो। यसले युगौंदेखि मिलिजुली बसेको समाजमा भाषिक, जातीय विभाजनको बीज रोप्यो र देशमा सामाजिक–आर्थिक अराजकता फैलायो। बाहिरबाट हेर्दा यसको रूप राष्ट्रवादी थियो तर सारमा यो स्वेच्छाचारी थियो र गृहयुद्धको सुरुवात भयो।
महिनौंको प्रदर्शन, टायरको धुवाँ र धर्नापछि फेब्रुअरी २०१४ मा युक्रेनमा राजनैतिक ‘कू’ भयो र एउटा निर्वाचित सत्ता फ्याँकियो।
यसलाई प्रचारको दुनियामा ‘मैदान रिभोलुसन’ पनि भन्न रुचाइन्छ। युरोमैदान आन्दोलनका कारण उत्पन्न अशान्तिका बिच यानुकोभिच युक्रेनबाट भागे। यसपछि युक्रेनमा कट्टरपन्थी राष्ट्रवादी शक्तिहरूको स्थिति बलियो भयो र खुलेआम जातीय असहिष्णु विचार हाबी भयो।
‘मैदान रिभोलुसन’ को परिवर्तनपछि त्यहाँ इतिहासको पुनः परिभाषा गर्न थालियो। धेरै सोभियतकालीन सालिक उखाडिए। यस क्रममा दोस्रो विश्वयुद्धताका युक्रेनी, रुसी, यहुदी, पोल्याकीहरूको जीवन नष्ट गर्ने तत्कालीन नाजीवादीहरूलाई त्यहाँ स्वतन्त्रता सेनानी रूपमा प्रस्तुत गरियो।
यो इतिहास तोडमरोड गर्ने र पहिलेका परिभाषा उल्ट्याउने हर्कतलाई रुसी संस्थापन पक्ष नाजीवादको महिमा गर्न थालिएको भन्छ। २२ फेब्रुअरी, २०१४ देखि किभका अधिकारीहरूले रुसी भाषीहरूको अधिकारलाई दबाउन सक्रिय नीति सुरु गर्यो।
असहिष्णुको एउटा उदाहरण २ मे, २०१४ मा ओडेसाको ट्रेड युनियन भवनमा राष्ट्रवादीहरूले आगजनी गरेर १६ वर्षे कमसोमोलेच भादिम पपुरासहित चार दर्जन व्यक्तिलार्ई निर्ममतापूर्वक गरेको हत्या आफैमा त्रासदीपूर्ण थियो।
यी घटना १९१८ को ओडेसा बोल्सेभिक क्रान्तिपछिको सबैभन्दा रक्तपातपूर्ण गृह सङ्घर्ष थियो। हामी सोभियत युगमा अध्ययन गरेर फर्कनेका लागि यस्तो घटना एकदमै अपत्यारिलो थियो।
मे २३, २०१७ मा तत्कालीन राष्ट्रपति पेट्रो पोरोसेन्कोको पहलमा टेलिभिजन र रेडियो प्रसारण कानुनमा संशोधन गरियो। फलतः युक्रेनमा रुसी टिभी च्यानलहरू र टिभी कार्यक्रमहरूको प्रसारण रोकियो र रुसी चलचित्रहरूको प्रदर्शनमा प्रतिबन्ध लगाइयो।
५ सेप्टेम्बर, २०१७ मा युक्रेनको संसद्ले शिक्षा सम्बन्धी कानुनमा संशोधन ग¥यो। अब पाँचौं कक्षादेखि रुसी र अन्य भाषामा नपढाइने भयो।
सबै कुराको फेहरिस्त यो सानो लेखमा सम्भव छैन। मात्र यति भन्न सकिन्छ: लगत्तै रुस–युक्रेन युद्ध सुरु भयो।
सभ्यताको आदिकालदेखिका दाजुभाइ, करिब एक शताब्दी एउटै लक्ष्य र सिद्धान्त बोकेर एउटै सोभियत देश निर्माणमा जुटेका सहयात्री, काँधमा काँध मिलाउँदै नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धा एकापसका दुश्मनमा परिणत भए।
समयक्रममा जसका विरुद्ध उनीहरूले वार्सा सैनिक संगठन खोलेका थिए, युक्रेनलाई त्यही नाटोको सदस्यता लिने मोह जाग्यो।
माथिका विविध घटनाक्रमले पुष्टि गर्छन् कि हालको रुस–युक्रेन युद्धको अवस्था २४ फेब्रुअरी, १९२२ मा रुसद्वारा सञ्चालित ‘विशेष सैनिक अपरेसन’ वा हस्तक्षेपबाट मात्र उत्पन्न भएको होइन, यो विश्व राजनीतिक नक्साबाटै रुस र उसको स्वतन्त्र भूमिकालाई हटाउने र रणनीतिक हिसाबले पराजित गराउने नाटो राष्ट्रहरूको इच्छाको विकासक्रम हो। यसका लागि युक्रेनी र रुसी जनताबिचको शताब्दी पुरानो सम्बन्ध तोड्नु सबैभन्दा पहिलो आवश्यकता थियो।
त्यो एकप्रकारले तोडिएन मात्र, बरु हालको संकटलाई ‘रुस र युक्रेनबिचको द्विपक्षीय द्वन्द्व’ को रूपमा विश्व रङ्गमञ्चमा प्रस्तुत पनि गरियो। यो गर्न सक्नु पश्चिम मिडियाको ठुलो सफलता हो।
तर इतिहासलाई यसरी मात्र परिभाषित गर्नु र हेरिनु पूर्णसत्य हुन सक्दैन। यही प्रस्टोक्ति यो लेखनीको अभिप्राय हो।
आखिर सोभियत संघ र त्यसको गठबन्धन ‘समाजवादी शिविर’लाई रक्षा गर्न गठित ‘वार्सा प्याक्ट’ नै नरहेपछिको एकध्रुवीय विश्वमा उत्तर एटलान्टिक सैनिक संगठन ‘नाटो’ को समेत औचित्य समाप्त हुनुपर्ने हो।
शीतयुद्धको कारक मानिएको विचारधाराको युग नै समाप्त भएपछि ‘नाटो’ किन रुस घेर्न आइपुग्यो? नाटो विस्तारको कदम र युक्रेनको नाटोमा आबद्ध हुने रहर, सायद हालको द्वन्द्व र सङ्कटको जरो हो कि?
आज शक्तिराष्ट्रहरू युक्रेनीको बलबुता र जीवनलाई दाउ लगाएर युद्ध गरिरहेका छन्। यो अत्यन्त पीडादायी छ। कसकसको स्वार्थले द्वन्द्वको यो अग्निमा घिउ थपिँदै छ, यसको मूल्याङ्कन इतिहासले गर्ला तर पीडा युक्रेनी नागरिक भोगिरहेछन् र युक्रेनी–रुसी सैनिक मरिरहेछन्।
अरू राज्यको स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकार र आन्तरिक मामिलामाथिको हस्तक्षेप नै वर्तमान द्वन्द्वको कारक तत्त्व हो। एकध्रुवीय हैकमवादको अन्त्य, हरेक राष्ट्र र तिनका सार्वभौमिकताको पारस्परिक सम्मान, विविध सांस्कृतिक र सभ्यताको सम्मानमा आधारित बहुलवादमा केन्द्रित विश्व व्यवस्थाको स्थापना नै विश्व शान्तिको पहिलो सर्त हो।
प्रकाशित: ७ पुस २०८० ०३:४६ शनिबार