११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

सहिदको रगत

सहिद सम्मानित शब्द हो । सहिद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन् । सहिदहरूले आफ्नो जीवनको पर्वाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पारे । जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए । आफू उभिएको माटोलाई माया गर्न सिकाए । नेपालको इतिहासमा पटकपटक भएका संघर्षमा सहिदहरूले जेलनेल, लाठीबुट र गोली खाएर जनतालाई रैती र प्रजाबाट सार्वभौम नागरिक बनाएका छन् । तिनै सहिदहरू जसले नेपाली जनताको आधारभूत आवश्यकतालाई नैसर्गिक अधिकारभित्र सुव्यवस्थित गर्ने अनि देशको सर्वांगीण विकास र आमनागरिकको सुख, शान्ति, समृद्धि र कानुनी राज्यको स्थापना गर्ने सपना देखे । उहाँहरूको बलिदानीपूर्ण संघर्षका कारण आज हामी स्वतन्त्रता र समानताको निर्धक्क उपभोग गर्न पाइरहेका छौँ । हामीले उपभोग गरेको आजको लोकतान्त्रिक गणतन्त्रमा उहाँहरूको लगानी परेको छ । हामी ऋणी हुनुपर्छ। 

सहिद न राजनीति गर्ने विषय बन्न हुने हो, न त स्वार्थसिद्ध गर्ने कुनै हथकण्डा । सहिद भावुकता र दबाबकै भरमा बाँडिने उपमा होइन। 

नेपालको प्रजातान्त्रिक इतिहासमा २००७ सालको क्रान्तिले जनतालाई निरंकुश राणाशासनबाट मुक्त गर्‍यो । मौखिक आदेशबाट चल्ने शासनको अन्त भयो । तर त्यो लामो समय भने टिक्न सकेन, राजा महेन्द्रले जनतामा आइपुगेको राज्य संचालनको जिम्मा हठात् खोसेर आफ्नो हातमा लिए । निरंकुश पञ्चायतले झन्डै ३० वर्ष शासन ग¥यो । तर नेपाली जनतालाई कुनै पनि निरंकुशता सह्य थिएन । बहुदलीय शासनको माग गर्दै जनताले आन्दोलनको हुरी चलाए । जनताको एकताको अगाडि राजाको शासन टिक्न सकेन र २०४६ को जनआन्दोलनले मुलुकमा पुनः बहुदलीय शासन स्थापित ग¥यो । जनता र जनमत फेरि बलियो भयो । उक्त परिवर्तनपछि जनता मुलुक समुन्नतिको मार्गमा हिँड्ने र फेरि कुनै पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने अपेक्षा गरेका थिए । तर दुर्भाग्य पछिल्लो समय राजतन्त्रले पुन आफ्नो निरंकुश इतिहास दोहो¥याउन खोज्यो । राजतन्त्र निरंकुश बन्दै राज्य संयन्त्र आफू मातहत चलाउने असफल प्रयास गरे । जसले गर्दा अर्को आन्दोलन जन्मन पुग्यो । यता सशस्त्र क्रान्तिलाई नै एक मात्र सत्य ठान्ने माओवादी शान्तिपूर्ण आन्दोलनका लागि संसदीय राजनीतिक दलहरूसँग एक ठाँउमा उभियो । १९ दिनको आन्दोलनले देशको राजनीतिक कोर्समै परिवर्तन ल्यायो । २०६२÷२०६३ को जनआन्दोलनपश्चात् देशमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान जारी भयो, जसले २००७ सालदेखि थाती रहेका जनताका राजनीतिक आकांक्षा पूरा गर्‍यो । 

हरेक वर्ष सहिद दिवस मनाउँदा नेताहरूबाट सहिदका सपनाको लामालामा भाषण सुन्न पाइन्छ । राज्यले हर्षबढाइँ गरेको हुन्छ । तर उनीहरूको आदर्श अनुसारको राज्यव्यवस्था चलेको छ या छैन ? जनता वर्तमान शासन प्रणाली र राजनीतिक शैलीप्रति गर्व गर्न सकिरहेका छन् कि छैनन् ? यो प्रश्न गर्ने समय हो । राजनीतिक दलहरूले पछिल्लो समय सत्ता सम्हाल्न थालेको एक दशकभन्दा बढी भइसक्यो तर सहिदहरूको योगदानबाट प्राप्त उपलब्धिहरूलाई जनताको जीवनस्तर परिवर्तनसँग गाँस्न सकेको देखिँदैन । देशको सामाजिक, आर्थिक रूपान्तरणमा नयाँ अध्यायले गति लिने अपेक्षा गरिएकामा सामाजिक, आर्थिक गतिविधिमा अझै रिक्तता देखिन्छ । सहिदहरूको बलिदानीबाट तयार यो अनुकूलतामा जनताको आर्थिक समृद्धिको आकांक्षा कुण्ठित हुनु हुँदैन । तर जनताका दैनिक जीवनका समस्याबाट मात्रै समग्र घटनाक्रमलाई मूल्यांकन गर्ने हो भने ठीक निष्कर्षमा पुगिन्छ । सेवाप्रवाहका क्षेत्रमा राज्यव्यवस्था धेरै कमजोर छ स्थानीय निकायको निर्वाचन भएको यतिका समय हुँदासमेत आशा जगाउने झलक देखिएको छैन । काठमाडौँका बाटा धुलाम्य छन, मुग्लिनको बाटो समयमै बन्न नसकेर जनताले सास्ती खेपिरहेका छन् । आखिर किन राज्य र जनताबीचको यत्रो खाडल ? लोकतन्त्रका मूल्य, पारदर्शिता, जवाफदेहिता खोइ ? राजतन्त्रले जनताको चेतनाको गतिलाई बुझ्न सकेन लोकतान्त्रिक मूल्यलाई पटकपटक अपहरण ग¥यो । जसको कारण जनताले राजतन्त्र र प्रजातन्त्र सँगसँगै हिँड्न नसक्ने निष्कर्षमा पुगी पाखा लगाए । तर नयाँ प्रतिबद्धतासहित शासन सत्तामा पुगेकाहरूले सहिदको आदर्श अनुसारको शासन व्यवस्था स्थापना गर्ने राजनीतिक इच्छाशक्ति देखिएन । हाम्रा सीमा खुम्चँदै छन् । नेता बोल्दैनन् । के राजनीतिक नेतृत्वलाई देशको भविष्यप्रति चिन्ता छैन ? नेपाली जनताले राणादेखि गणतन्त्र, कम्युनिस्टदेखि प्रजातान्त्रिक सिद्धान्त बोकेका पार्टी यसै गरी विभिन्न जातीय, क्षेत्रीय पृष्ठभूमिका मानिसको नेतृत्व देखर भोगिसके। 

सहिद दिवस मनाइरहँदा अपसंस्कृतिको रूपमा विकास भएको सहिद घोषणाको प्रवृत्तिलाई विरोध गर्नैपर्छ । सहिद घोषणामा राज्यले चरम लापरबाही देखाएको छ । सहिदजस्तो गरिमामय पदलाई दुरुपयोग गरेर राज्य भाग्न पाउँदैन । जस्तोसुकै मरणलाई सहिद घोषणा गरियोस् भनेर गरिने बन्द र जुलुसकै भरमा सहिद थपिनुहुन्न । सहिद न राजनीति गर्ने विषय बन्न हुने हो, न त स्वार्थसिद्ध गर्ने कुनै हथकण्डा । सहिद भावुकता र दबाबकै भरमा बाँडिने उपमा होइन। 

सहिद दिवसलाई साक्षी बनाएर राजनीतिक नेतृत्वले देश र जनताको विकासका लागि साझा संकल्प गर्नुपर्छ । भ्रष्टहरूको स्थान कटौती गर्दै सदाचार र त्यागको राजनीतिलाई प्रेरणा भर्न सक्नुपर्छ र आफ्नो कर्तव्य चिन्दै अधिकारको सदुपयोग गर्न सक्नुपर्छ । तब मात्र सहिदको सपनालाई संकुचनको घेरामा कैद गर्न भाषण, नारा र वर्षको एकपटक औपचारिक कार्यक्रम मात्र सम्झने र व्यवहारका प्रत्येक मोडमा ती आदर्शलाई कुल्चने प्रवृत्ति रोकिन सक्छ । यति गरे मात्र सहिद दिवस मनाउनुको सार्थकता झल्कन सक्नेछ। 

(महासचिव, सहिद स्मृति तथा सहिद परिवार र जनआन्दोलनका घाइते सरोकार समिति) 

प्रकाशित: १६ माघ २०७४ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App