२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बहादुरीको कहालीलाग्दो व्यापार

फाइल तस्वीर

एकीकरणकालदेखि उदाएको गोर्खाली बहादुरीको गाथा ब्रिटिस इन्डियाले गोर्खा पल्टन खडा गरेपछि नेपाली गोर्खाली योद्धाहरूले प्रदर्शन गरेको बहादुरी वीरताको गाथा बनेर संसारभर फैलियो।

गोर्खाली पल्टनले विभिन्न समयमा भारत र बेलायतको पक्षमा युद्ध लडेर देखाएको बहादुरीले नेपाली वीरताको गाथाका पानाहरू थप्न अझ ठूलो योगदान गर्‍यो। युवाहरू गोर्खा पल्टनमा भर्ती हुन बर्सेनि सयौँको संख्यामा विदेशिन्छन्। यो क्रम निरन्तर चलिरहेको छ।

कहिलेसम्म चल्ने हो थाहा छैन। गोर्खा सैनिक भर्तीपछि एक सामान्य नेपाली युवाको जीवनशैलीमा देखिने आमूल परिवर्तनले अरू नेपालीलाई लोभ्याउनु सामान्य कुरा हो।

वर्तमान अवस्थामा आएर अमेरिका, फ्रान्स, अस्ट्रेलिया, क्यानाडा र अन्य युरोपेली मुलुकको सेनामा समेत भर्ती हुने नेपालीको संख्यामा निरन्तर वृद्धि भइरहेको छ।

नेपालीको बहादुरीका कथा र गोर्खालीको साहसका उदाहरणले विदेशी सेनालाई बहादुर नेपालीप्रति आकर्षण बढ्नु स्वाभाविक हो भने बेरोजगार, निराश अनि देशको अवस्थाले विरक्तिएका युवाका लागि आकर्षक र लोभलाग्दो पारिश्रमिक र उच्च जीवनशैलीले आकर्षित गर्नु अस्वाभाविक हुँदैन।

गएको वर्ष सुरु भएको रुस–युक्रेन युद्धमा समेत नेपाली युवा युद्धरत दुवै देशका सेनामा संलग्न रहेको पुष्टि भएको छ। कतिले त ज्यान गुमाइसकेको समाचारसमेत सुन्नमा आइसकेको छ। ती युवा जो रुसी र युक्रेनी सेनामा भर्ती भई रणभूमिको अग्रपंक्तिमा भिडिरहेका छन् उनीहरू युद्धको जोखिमपूर्ण अवस्थाबारे अनभिज्ञ भएकोचाहिँ अवश्य होइन र उनीहरू एक हिसाबले रोजगारी र सीमित धन आर्जनका लागि ज्यानको माया मारेर युद्धमा सामेल भइरहेका छन्।

 उनीहरूलाई जानीजानी ज्यान जोखिममा पार्न कस्ले वाध्य पार्‍यो? कसले लोभ्यायो आफ्ना परिवार आफन्तमाझ राम्रा राम्रा सपना बाँडेर उनीहरूलाई युद्धमा होमिन किन आवश्यक पर्‍यो?

भविष्यमा आउन सक्ने अकल्पनीय युद्ध परिणामले नेपालमा रहेका आफ्ना परिवार तथा प्रियजनमा पर्ने असरको उनीहरूले पूर्वानुमान गर्न किन नसकेको यसै भन्न गाह्रो छ। केही निश्चित आर्थिक लाभका लागि बिचौलियाहरूले गरिरहेको जीवनको अमानवीय सौदाबाजी टुलुटुलु हेर्न हामी बाध्य छौँं। कस्तो विडम्बना हो यो?

प्रधानमन्त्री स्वयंले करिब दुई सयको हाराहारीमा नेपाली युवा रुसी सेनामा सामेल भई युद्ध लडिरहेको सार्वजनिक गरेका छन्।

यस्तो परिस्थितिमा हाम्रो दायित्व के हुन्छ भन्ने विषयमा जुन मात्रामा चिन्तन हुनुपर्ने हो नभएको आभास भइरहेछ। उनीहरू कसरी त्यहाँ पुगे? के नेपाली जनता सामान्य प्रक्रियाबाटै विदेशी सेनामा भर्ना हुन पाउँछन्? त्यो पनि युद्धग्रस्त क्षेत्रमा? के दुई देशबीच सैन्य भर्नासम्बन्धी समझदारी वा सम्झौता हुन जरुरी छैन?

भविष्यमा आउन सक्ने युद्ध परिणामहरू, जस्तै-शारीरिक घाउचोट-अंगभंग, मृत्युको घटनाको क्षतिपूर्ति के हुने, कसले बेहोर्ने? यति सजिलै नेपालले आफ्ना नागरिकको जीवन सुम्पन सक्छ अरू कसैका लागि? आफ्ना नागरिकलाई गलत बाटोमा जानबाट रोक्नुपर्ने होइन हामीले? यस्तै यस्तै प्रश्न उब्जिएका छन् नेपालीजनका मनमा।

केही दिनअघिको कुरो हो, म घर नजिकैको स्टुडियो गएको थिएँ। स्टुडियो ग्राहकले खचाखच थियो। मैले केही समय कुर्नुपर्ने भयो। त्यतिबेलै एक भर्खरकी महिला दूधेबालक पिठ्युँमा बोकी सरकारी कागजातहरूको ठेली नै फोटोकपी गराउन आइन्।

केही समय कुर्नुपर्ने भएपछि उनी अगाडिको बैंकमा काम सिध्याएर आउँछु भनी बैंकतिर लागिन्। उनी फर्केर आइन्। उनको अनुहार मलिन थियो, उनी तनावग्रस्त देखिन्थिन्।

उनले हामीलाई सोधिहालिन्-‘यतानजिकै कतै मनी ट्रान्सफर छ?’ भर्खरै बैंक गएर आएकी हुनाले कतै आफन्तलाई पैसा पठाउनुपर्ने होला भन्ने लाग्यो। ‘कहाँ पठाउनुपर्ने पैसा?’ मैले सोधें। उनले जवाफ दिइन्-‘रसिया ।’ झसङ्ग भएँ। मैले जवाफ दिएँ-‘अलिकति तल छ मनिट्रान्सफर ।’ फेरी सोधेँ-‘कसलाई पठाउने?’ जवाफ दिइन्-‘श्रीमान्लाई खर्च नपुग भएकाले पठाउनुपर्ने भयो, बैंकबाट पठाउन नमिल्ने रैछ।’

रसिया भन्नेबित्तिकै रुस-युक्रेन युद्धको दृश्य मेरो मस्तिष्कमा आइहाल्यो। मैले आफूलाई रोक्नै सकिन। उनलाई सुझाइहाले“-‘फेरि आर्मीमा जाला, नजान भन्नू !’ उनले जवाफ फर्काइहालिन्- ‘आर्मीमै गइसक्यो।’

म छाँगाबाट खसेझैँ भएँ। मैले थप केही बोल्नै सकिन। लाग्यो, योभन्दा बढी प्रतिक्रिया दिएँ भने कसैको घाउमा नून छर्के जस्तो हुन्छ। चूप लागेँ।

आफ्नो काम सिध्याएर म घरतिर लागेँ। तर बाटोभरि मेरो मनलाई एक प्रकारको ग्लानिभावले पछ्याएको पछ्याइ गर्‍यो। मेरो केही गर्न नसक्ने असमर्थताको हीनताबोध, अनि देशको परिस्थितिले थिचिएका हामी नेपालीको अवस्था।

ती महिला अनि उनका पति, मैले न चिनेको, न जानेको। तैपनि आफ्ना नेपाली दाजुभाइ अनि दिदीबहिनीलाई परेको दुःख, पीडा र उनीहरूको बाध्यता विवशतामा कुनै पनि प्रकारले सघाउन नसक्नुको पीडाबोधले पोलिरहेर्छ। एक नेपालीको दुःखपीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ। 

प्रकाशित: ४ पुस २०८० २३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App