भारतको स्वतन्त्रता र गणतन्त्र स्थापनाको आन्दोलनबाट प्रभावित भई तत्कालीन नेपालका नेताहरू भारतीय स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए । जसलाई भारतका महात्मा गान्धी, जवाहरलाल नेहरू जस्ता उच्च समाजवादी नेताले हाँकेका थिए । खासगरी नेपालको कोइराला परिवारका अग्रज त्यसमा सामेल भएका थिए र यसको अगपंक्तिमा कृष्णप्रसाद कोइराला थिए।
२००३ सालमा विराटनगरको जूट मिलबाट सुरू भएको मजदूर आन्दोलनले नेपालको राजनीतिमा ठूलो प्रभाव जमाएको थियो। त्यसमा समर्पित एक होनहार प्रजातान्त्रिक योद्धाका रूपमा नोना कोइरालाको महत्त्वपूर्ण भूमिका थियो । उनले आन्दोलनकारीलाई खाने व्यवस्थाका लागि रासन जुटाउने र औषधोपचारको व्यवस्थासमेत मिलाएकी थिइन्।
तानाशाह सरकारका क्रूर प्रशासकहरूले जतिसुकै यातना दिए पनि नोना कहिल्यै विचलित भइनन् । बरु झन् प्रखर योद्धा बनेर जीवनभर निष्कटकरूपमा राष्ट्रको हितमा लागिरहिन् । उनको राजनीतिक, सामाजिक, धार्मिक जीवनभित्र अनेकौंँ उतारचढाव आइरहे । त्यति हुँदा पनि विचलित नभई क्रान्तिको यात्रामा सामेल भइरहिन् । पिताजी कृष्णप्रसाद कोइरालाको सानिध्यता र दिव्याआमाको ममतामयी वात्सल्यले झन् उनमा उत्साह बढाइरह्यो । लोभ, लालच र स्वार्थले उनलाई कहिल्यै विचलित बनाउन सकेन । उनको विशेषता नै निस्वार्थ र मातृवात्सल्य हुनु थियो।
तनहुँबाट वनारस प्रवासमा गएका थिए नोनाका व्यापारी बाबु ईश्वरीप्रसाद उपाध्याय पौडेल र आमा इन्दिरा । उनको जन्म १९८५ साल कात्तक २४ गते त्यहीँ भएको थियो । उनको न्वारानको नाम सुधा पौडेल थियो । सानैदेखि क्रान्तिकारी स्वभावकी उनको नाम बुबाले रसियन चलचित्रमा सशक्त भूमिका निर्वाह गरेकी नोनाको नामबाट प्रभावित भएर राखिदिएका थियो । नोना वनारस हिन्दु गल्र्स स्कुलमा पढ्दा महात्मा गान्धीलाई माला लगाउने र भाषण सुन्न पाउने भाग्यशाली विद्यार्थीमध्येकी थिइन् । बाल्यकालमा केटा जस्तो स्वभाव भएकाले नोनाका त्यसबेलाका साथी पनि कृष्णप्रसाद भट्टराई, कमलमणि दीक्षित, शैलेन्द्र उपाध्याय आदि थिए ।
नोनालाई धनी परिवारबाट विवाहको प्रस्ताव आएको थियो तापनि स्वतन्त्रता र प्रजातन्त्रका हिमायती कोइराला परिवारमा विवाह गर्ने रुचि देखाइन् । त्यसैले वि.सं. २००० सालमा १५ वर्षको उमेरमा कृष्णप्रसाद कोइराला र दिव्याका साइँला छोरा केशवप्रसादसँग विवाह गरिन् । बिहे गरेर वनारसबाट विराटनगरस्थित कोइराला निवास आउँदा बन्दी गृह जस्तो सैनिकहरूले निवास घेरा हालेका थिए । नोना पहिलो पटक नै प्रहरीको घेराभित्रबाट कोइराला निवास प्रवेश गरेकी थिइन् । जतिबेला उनका ससुरा कृष्णप्रसाद कोइराला भने काठमाडौँंको बन्दी गृहमा थिए । साथै जेठाजुद्वय मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला भारतको हजारीवाग कारागारमा बन्दी जीवन बिताइरहेका थिए।
त्यसपछि उनी पतिका साथ काठमाडौँमा पिताजी भेट्न गइन् । बुढ्याइँ र बिरामीका कारण बन्दीगृहमै ओछ्यान परेका थिए पिताजी । उनको अन्तिम अवस्था थाहा पाएर शासकले पिताजीलाई बन्दीगृहबाट बाहिर लैजाने आदेश दिए । त्यसपछि उनलाई नजिकको एउटा धर्मशालामा पु¥याइयो । जहाँ उनको निधन भयो।
पिताजीको दाहसंस्कारका बेला पनि कठोर राणाशाहीका डरका कारण धेरै उपस्थित हुन पाएनन् । एकजना सैनिक, आमा दिव्या कोइराला र नोनाका पति, पत्नीसमेत ४ जनाले बोकी घाट पु¥याएर अन्तिम दाहसंस्कार गर्नुपरेको थियो । यस्तो दुखद् अवस्थाका बाबजुद पनि नोनाले आप्mनो प्रजातान्त्रिक निष्ठा, आदर्श, सिद्धान्त र विचारमा विचलित नभई राजनीतिक यात्रा अगाडि बढाइरहिन् । नोनाका ३ छोरा निरञ्जन, शेखर र प्रभातमध्ये प्रभातको सानैमा मृत्यु भएको थियो।
२००३ सालको मजदूर आन्दोलन, २००७ सालको जनक्रान्ति, २०१४ सालको भद्रअवज्ञा आन्दोलन, २०१५ सालको आमनिर्वाचन, २०१७ सालको राजा महेन्द्रको कु, २०३० सालको विमान अपरहण काण्ड, २०३१ सालको ओखलढुङ्गा–सोलु–टिम्बुरबोटे काण्ड, २०३१ सालको ओखलढुंगाका वीर योद्धा लीला, ठगी, खगेन्द्र र गोकर्ण सम्मिलित काठमाडौंँ बम काण्ड, २०३७ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ सालपछिका २०४८, २०४९, २०५१, २०५४ र २०५६ सालमा भएका निर्वाचनका महत्त्वपूर्ण मोड र घटनाले सधैँभरि उनलाई घच्घचाइरहन्थे र प्रेरणाका स्रोत बनिरहन्थे।
२००७ सालको सङ्घर्षमा राणाशासन पतनपछि विराटनगरमा प्रजातान्त्रिक सामरिक सरकार गठन गरिएको थियो जसको प्रशासकमा उनका पति केशवप्रसाद कोइराला नियुक्त भएका थिए । त्यसबेला पनि नोनाले केशवलाई कुशलपूर्वक प्रशासकीय काममा सहयोग गरेकी थिइन्।
२०१७ साल पुस १ गते राजा महेन्द्रले लोकतन्त्र अपहरण गरी सम्पूर्ण नेतालाई गिरफ्तार गरेका थिए । त्यस समयमा उनी शान्तभवन अस्पतालमा छोरा शेखरलाई उपचार गराउँदै थिइन् । यस घटनाले प्रजातान्त्रिक आस्थामाथि चोट लागेको हुँदा बालक छोरालाई स्वास्थ्यकर्मीको जिम्मा लगाई भूमिगत भएर पुरूषको भेष धारण गरी सङ्घर्षमा उत्रिइन् । त्यस समयमा बेलायतकी रानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा विरोध जनाउने जिम्मा नोनालाई दिइएको थियो।
२०१७ साल फागुन १२ गते नोनाकै नेतृत्वमा इन्द्रचोकबाट महिलाको बृहत् जुलुस निकालिएको थियो । त्यस जुलुसबाट सेनाले नोनालाई नाङ्गेझार पारी कष्टमय यातना दिएको थियो । उनलाई जेलमा राख्दा राजनीतिक बन्दीको व्यवहार नगरी ज्यानमारा र बौलाहा महिलासँग राखिएको थियो । यसरी हेर्दा उनको जीवन सङ्घर्ष र दारूण कहानीले भरिएको पाइन्छ । परोपकारी स्वभावकी नोनाले सामाजिक कार्य पनि प्रशस्त गरेकी छिन् । बाँचुन्जेल आफ्नो पथबाट कहिल्यै विचलित नहुनु उनको मुख्य विशेषता रह्यो ।
केन्द्रीय प्रवक्ता, नेपाल प्रजातन्त्र सेनानी सङ्घ
प्रकाशित: १४ माघ २०७४ ०४:१० आइतबार