नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता । सरकारले अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताअनुरूप अपांगता भएका बालबालिकाहरूलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाएको छ । हाम्रो देशमा दुई प्रकृतिका विद्यालयमा अपांगता भएका बालबालिकालाई अध्ययन गराइने गरिन्छ । यसमा विशेष विद्यालय एवम् समावेशी विद्यालय पर्छन् । विशेष विद्यालय भन्नाले एक विशेष स्कुल जहाँ अपांगता भएका बालबालिकाहरू मात्र पठनपाठनमा सरिक हुन्छन् । त्यसैगरी विद्यालयमा शिक्षा लिन आएका सबै खालका बालबालिकालाई विभेदरहित वातावरणमा बालबालिका केन्द्रित पद्धति अपनाई अध्ययन–अध्यापन गराइने विद्यालयलाई समावेशी विद्यालय भनिन्छ।
कक्षा कोठाहरूमा बालबालिकाहरूको व्यवहार व्यवस्थापन गर्ने काम आम शिक्षकहरूका निम्ति चुनौतीपूर्ण कार्य हो भने त्यसमाथि समावेशी कक्षामा पढाउने शिक्षकहरूका निम्ति त यो अत्यन्तै कठिन चुनौतीका रूपमा देखापर्दै आइरहेको छ । उनीहरूले एकै समयमा विशेष आवश्यकता भएका बालबालिकाहरू एवं सबलाङ्ग बालबालिकाहरूबीच सन्तुलन मिलाई कक्षामा अध्यापन गराउनुपर्ने हुन्छ ।
नेपाल सरकारले हालका वर्षहरूमा समावेशी शिक्षालाई प्राथमिकता दिई कार्यान्वयन तहमा अगाडि बढाउँदै लगेको अवस्थामा समावेशी विद्यालयहरूमा अध्यापन गराउने शिक्षकहरूले अपांगता भएका बालबालिकाहरूको व्यवहार व्यवस्थापन गर्ने तरिकाहरूको महत्व अझै बढ्दै गएको छ । कक्षाकोठामा शिक्षकले अध्यापन गराइरहेको अवस्थामा चिच्याउने, कराउने, रुने, शिक्षकले भनेको नमान्ने आदि अस्वाभाविक गतिविधि गरी शिक्षण सिकाइ क्रियाकलापमा व्यवधान ल्याउने गरेमा, शिक्षकले तल दिइएका चार उपाय अवलम्बन गरी कुशलतापूर्वक कक्षाकोठा व्यवस्थापन गर्न–गराउन सकिन्छ : १) बालबालिकाले देखाइरहेको अस्वाभाविक व्यवहारको कारण पत्ता लगाउने । २) विशेष आवश्यकता भएका बालबालिकालाई प्रोत्साहित गर्ने । ३) समावेशी कक्षामा उच्च अपेक्षा राख्न लगाउने । ४) समावेशी कक्षाका निम्ति लक्ष्य निर्धारण गर्ने।
सर्वप्रथम हामीले बालबालिकाले किन यस्ता अस्वाभाविक व्यवहार कक्षा कोठामा देखाइरहेका छन् भनेर त्यसको कारण पत्ता लगाउनुपर्छ । सम्भावित कारणहरूमा बालबालिकाको पढाइमा रुचि नहुनु, विद्यार्थीको संज्ञानात्मक विकास र उसले अध्ययन गरिरहेको कक्षाबीच तालमेल नहुनु, शिक्षक र विद्यालय प्रशासनप्रति बालबालिकाहरूको सम्मान नहुनु, विद्यार्थीहरूले आफ्ना सहपाठीमार्फत कक्षामा हल्ला मच्चाउनु, शारीरिक, संज्ञानात्मक एवं जैविक–रासायनिकका साथमा अन्य अपांगताका कारणले गर्दा पनि बालबालिकाहरूले कक्षा कोठामा अस्वाभाविक व्यवहार देखाइरहेका हुन सक्छन् तसर्थ शिक्षकले यी कारण पत्ता लगाई समयमै समाधानको बाटो पहिल्याउनुपर्छ।
विशेष आवश्यकता भएका विद्यार्थीहरू छिट्टै रिसाउने एवं हतोत्साही हुने गर्छन् जसले गर्दा उनीहरूमा संवेगात्मक समस्या पनि आउन सक्छ । विशेष आवश्यकता भएका बालबालिकाहरू मध्यमा पनि अटिजम स्पेकट्रम डिसअर्डर भएका बालबालिकाहरूमा यस्ता खालका समस्या आएको पाइन्छ । तसर्थ शिक्षकले बालबालिकाहरूसँग गहिरो सम्बन्ध गाँस्न जरुरी छ । उदाहरणका निम्ति, कक्षाकोठामा प्रवेश गर्दा होस्, पढाउँदा होस् वा विद्यालय हातामा भेट्दा ऊसँग बोल्ने, स्नेह जनाउने गरेमा उसमा के विचार आउन सक्छ भने मलाई सरले अत्यन्तै माया गर्नुहुन्छ र त्यस विचारले उसमा सकारात्मक परिवर्तन हुन सक्छ ।
शिक्षकले कक्षाकोठामा बालबालिकाको अस्वाभाविक व्यवहारमा परिवर्तन ल्याउनमा सबैभन्दा ठूलो भूमिका सकारात्मक अपेक्षा राख्न लगाउनु नै हो । प्रायः अपांगता भएका बालबालिकाहरूमा कमजोर आत्मविश्वास भेटिन्छ त्यसमाथि परिवार एवं नातागोतामा पनि यी बालबालिकाहरूले समाजका निम्ति योगदान गर्न सक्छन् भन्ने विषयमा विश्वास गरेको पाइँदैन । समाजमा रहेका गलत प्रवृत्तिलाई चिर्न बालबालिकाहरूमा आत्मविश्वास बढाउनका खातिर शिक्षकले सकारात्मक अपेक्षालाई जागृत गराई त्यस्ता सोचमा पुनर्बल प्रदान गर्नुपर्छ । यस्ता विचारले उक्त कक्षामा अध्ययन गर्ने सबै बालबालिकाका लागि सकारात्मक वातावरणको निर्माण गर्नेछ ।
असल शिक्षकको दायित्व के हो भने उनीहरूले कक्षालाई सधँै अनुशासित एवं कार्य सम्पादनतर्फ उन्मुख गराउन सक्नुपर्छ । जसरी कार्यक्रम प्रस्तोताले आफ्नो श्रोतालाई प्रस्ट बुझिने गरी कार्यक्रमबारे बुझाउन सक्छ । त्यसरी नै शिक्षकले कक्षाकोठामा आफूले के सिकाउँदै छु भन्नेबारे बताउनुपर्छ । त्यसपश्चात् शिक्षकले पाठ्यवस्तुको सम्बन्धमा अध्यापन गराउनुपर्छ अनि पाठको अन्त्यसँगै शिक्षकले बालबालिकाको सिकाइ उपलब्धिको मूल्यांकन गर्नका लागि बालबालिकालाई प्रश्न सोध्नुपर्छ । यस विधि अपनाउनाले समावेशी कक्षाको सिकाइ उपलब्धि सही दिशातर्फ उन्मुख हुन्छ । विद्यार्थीहरूलाई के विषयवस्तु पढाउँदै छु भन्ने सम्बन्धमा बताउँदै र सिकाइ उपलब्धि हासिल गरेमा शिक्षक र विद्यार्थीहरूबीच मजबुत सम्बन्ध कायम हुन सक्छ । विशेष आवश्यकता भएका विद्यार्थीहरूले गलत व्यवहार देखाउने सम्भावना कम हुन्छ यदि उनीहरूबाट शिक्षकद्वारा अपेक्षित व्यवहारको बारेमा स्वयं उनीहरू जानकार हुन्छन् । यस्ता बालबालिकाहरूले गौरवान्वित महसुस गर्छन् जब आफ्ना सबलांग दौँतरीसरह कक्षामा राम्रो प्रदर्शन गर्न सक्छन्।
नेपाल सरकारले समावेशीकरणतर्फ पाइला चाले तापनि त्यसअनुरूप शिक्षकहरूलाई तालिम पर्याप्त दिइएको पाइँदैन। जसले गर्दा विद्यालयहरूमा अध्ययनका लागि भर्ना भएका अपांगता भएका बालबालिकाहरूले गुणस्तरीय शिक्षा ग्रहण गर्न सकिरहेका छैनन् । फलस्वरूप उनीहरू शैक्षिक सत्रको बीचमै स्कुल छोडेका उदाहरण भेटिन्छ । त्यसैले माथि उल्लिखित विधि सरोकारवालाहरूले अपनाएमा वास्तवमै हाम्रा समावेशी विद्यालयका कक्षा कोठा सबै प्रकृतिका क्षमता भएका बालबालिकामैत्री हुने थियो।
प्रकाशित: ९ माघ २०७४ ०३:११ मंगलबार