७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

आनुवांशिक उपचार कति खतरामुक्त?

यही नोभेम्बरमा संयुक्त अधिराज्यको युके बायोबैंकले पाँच लाख स्वयंसेवकको आनुवांशिक पदार्थ (डिएनए) को पूर्ण स्वरूप सार्वजनिक गर्‍यो। उक्त विवरणमा प्रत्येक व्यक्तिको ६ अर्ब एकाइले बनेको डिएनएको ढाँचा मात्र संलग्न छैन बरु मानिसको खानपिन, जीवनशैली तथा रोगको विवरणलगायतका तथ्यांक पनि समावेश छ।

बाह्य परिस्थितिले व्यक्तिको डिएनएलाई कसरी परिमार्जन गर्‍यो अनि अणुवांशिक परिवर्तनले मानिसमा के÷कस्ता रोगहरू लागे त भन्ने अनुसन्धानका लागि युके बायोबैंकको आकडा सहयोगी हुने देखियो। खानपिन, वातावरण, आनुवांशिक परिमार्जन र रोगबीचका अन्तरसम्बन्ध सापनाका लागि यस्ता आकडा सदैव लाभप्रद हुन्छन्।

डिएनएका ससाना खण्डलाई जिन भनिन्छ। मानिसमा झण्डै ३० हजार जिनहरू छन्। प्रायःजसो एउटा जिनले एउटा प्रोटिन अथवा इन्जाइम बनाउँछ।

यसरी हजारौँ प्रोटिनहरू शरीरका बायोलोजिक प्रक्रियामा संलग्न हुन्छन, मानवीय आकृति बन्छ। आनुवांशिक पदार्थ मानवीय विकासको उद्गम तत्त्व हो।

जिनमा खराबी आउँदा कमसल प्रोटिनको बन्छ। खराब इन्जाइमले बायोलोजिक प्रक्रियालाई बाधा पर्छ। आन्तरिक संयन्त्रमा त्रुटि आउँदा मानिस बिरामी हुन्छ। झण्डै झण्डै सबै किसिमका क्यान्सर, मुटुका समस्या लगायत धेरै किसिमका दुर्लभ रोग लाग्नुको एक मात्र कारण डिएनएमा आउने खराबी हो भन्ने एकिन भएको दशकौँ भए पनि लक्षणको इलाजमा प्रगति भएन।

डिएनका कैफियतलाई ठीक गर्ने भरपर्दो वैज्ञानिक विधि स्थापित हुन नसक्दा धरै किसिमका आनुवांशिक रोगको दीर्घकालीन उपचार सम्भव थिएन। र, अहिले पनि छैनभन्दा हुन्छ। विगतमा डिएनएसँग सम्बन्धित रोगहरू मध्य केहीको रोकथाम विधि स्थापित थियो।

जस्तै–इन्सुलिन उत्पादन नहुँदा अथवा कैफियत पूर्ण इन्सुलिन बन्दा प्रयोगशाला निर्मित ओखती दिइन्छ चिनीका रोगीलाई। त्यस्तै जटिल र खर्चिलो उपचारले क्यान्सरका बिरामीको आयु केही लम्बियो। तर अर्वुद रोग बिसेक हुन सकेन।

अघिल्लो दशक क्यान्सरलगायतका आनुवांशिक रोगको इलाजमा वरदान सावित हुने क्रिस्पर कास विधि विकास भयो। उक्त टेक्नोलोजीमा आधारित उपचार विधिलाई जिन थेरापी भनिन्छ।

हजारौँको संख्यामा रहेका जिनका एकाइमध्ये अमिल्दो एकदेखि दर्जनौँ एकाइलाई सच्याउने धेरै किसिमका जिन थेरापी अनुसन्धानमा छन्। विभिन्न किसिमका जिनको बनोट सच्याउन फरक फरक प्रविधि लाभप्रद हुन्छ। यस उपचारमा जिनको कैफियतपूर्ण भागलाई काटेर हटाइ नयाँ खण्ड जोडेर डिएनएको संरचना सुधारिन्छ।

खराब इन्जाइम बनाउने जिन सद्दे भएपछि त्रुटिपूर्ण प्रोटिन उत्पादनका कारण लागेको रोग स्थायीरूपले निको हुन्छ। त्यस्तै क्यान्सरको कारकका रूपमा रहेको जिनलाई जिन थेरापीमार्फत प्रहार गरेपछि क्यान्सर ठीक हुने नै भयो।

प्राविधिक हिसाबले भन्नुपर्दा मानिसका सबै जिनमा आउने खराबीलाई जिन थेरापीको माध्यमबाट हल गर्न सकिन्छ। तर सैद्धान्तिक सहमतिलाई व्यवहारवादी विज्ञानमा रूपान्तरण गर्न लामो अध्ययन जरुरी पर्छ।

आँखाले सजिलै देखिने चिरफारमा त चिकित्सकले कहिलेकाहीँ सर्जरी बिगारेको देखिन्छ भने माइक्रोस्कोपले समेत नदेखिने जिनको भंगटी कति कठिन होला?

रगतमा पाइने रेड ब्लड सेल (आरबिसी) गोलाकार हुन्छ। तर प्रोटिन हेमोग्लोबिनमा कुनै किसिमको विसंगति आए आरबिसीको आकृति फेरिएर हँसिया जस्तो बन्छ, व्यक्तिलाई सिकल सेल रोग लाग्छ। रोगीले धेरै समस्या बेहोर्नुपर्छ अनि बिरामीको आयु छोटिन्छ। यस्तो खराब रोगीलाई जिन थेरापीमार्फत पूर्वावस्थामा फर्काउन सफल भयो विज्ञान। विषाक्त हेमोग्लोबिन बनाउने जिनलाई सद्दे डिएनएले प्रतिस्थापन गरेपछि रोग निको भयो।

क्लिनिकल ट्रायलमा उपचार विधि सफल भएको देखेपछि बेलायतले गत महिना आफ्नो सरहदभित्र यो ओखती बेरोकटोक बिरामीमा प्रयोग गर्न अनुमति दियो। अमेरिकाले पनि यसै महिनादेखि यो उपचार विधि खुला गर्‍यो। एकपल्टको इलाजपछि बिरामी सिकल सेल रोगबाट सदाका लागि मुक्त हुन्छ।

अमेरिका र बेलायतमा प्रयोग सुरु भएपछि यो उपचार विधि संसारभर छिटै पुग्छ नै। दबाइ उत्पादक कम्पनीले दिएको जानकारीअनुसार इलाजका लागि प्रतिरोगी २२ लाख अमेरिकी डलर खर्च लाग्छ।

धेरै देशमा पहिलेदेखि जिन इडिटिङ विधि इलाजमा प्रयोग भए पनि अमेरिकाले भने यसै महिनाको ८ तारिखमा मात्र पहिलो पटक यो पद्धतिमार्फत सिकल सेलका रोगीको इलाज गर्न अनुमति दियो।

उत्पादक कम्पनीले संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय (एफडिए)मा प्रस्तुत गरेको तथ्यांकले सिकल सेल रोगका २९ रोगीमा गरिएको दबाइ परीक्षणले ड्रग्स प्रयोगपछि ९७ प्रतिशत रोगी सन्चो भएको भन्यो। त्यस्तै औषधि सेवन गरेका रोगीलाई १८ महिनासम्म निगरानी गर्दा जिन थेरापीपछि बिरामीमा कुनै पनि किसिमको थप जटिलता नदेखिने अकाट्य आकडा देखायो औषधि बनाउने कम्पनीले।

९७ प्रतिशत रोगीलाई निको पारेको अनि इलाजपछिका १८ महिनासम्म पनि कुनै खराब लक्षण नदेखिएका कारण एफडिएले जिन एडिटिङमार्फत सिकल सेल डिजिजको उपचार गर्न अनुमति दियो। सन्चो भएका बिरामीहरूमा आउँदा वर्षहरूमा यो उपचारका कारण कुनै थप रोग लाग्छ त भन्ने प्रश्नको उत्तर हालका लागि कसैसँग पनि छैन।

जिन थेरापीले अरबौँ एकाइहरूले बनेको डिएनएको एउटा सानो खराब भाग हटाएर आनुवांशिक पदार्थलाई सच्याउँछ। जटिल वैज्ञानिक प्रक्रियाका कारण उपचारका क्रममा डिएनएको एउटा सुक्ष्म एकाइमा सुधार ल्याउन खोज्दा बाँकी ठूलो हिस्सालाई नकारात्मक प्रभाव पार्दैन भनी ठोकुवा गर्न सक्ने अवस्था छैन।

असंख्य युनिटले बनेको डिएनएको संवेदनशील खण्डमा रहेको केवल एउटा एकाइ भत्किँदा क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने अनि डिएनएमा त्रुटि आएको लामो समयपछि मात्र अर्बुद रोगका लक्षण देखिने भएकाले केवल १८ महिनाको आकडाको आधारमा जिन थेरापीमार्पmत सिकल सेलको इलाज सतप्रतिशत सुरक्षित छ भन्न सक्ने अवस्था रहन्न। पूर्ण विवरणका लागि धेरै वर्षको तथ्यांक अनि ठूलो आकारको आकडा आवश्यक पर्छ।

लेखमा सिकल सेलको चर्चा गरिए पनि धेरै किसिमका जेनेटिक रोगहरू निको पार्ने जिन थेरापी विधि संसारका धेरै देशमा परीक्षण र प्रयोगमा छन्। ब्लड क्यान्सरका केही लक्षणलाई यो ओखतीलाई जितिसक्यो भने कलेजोमा लाग्ने जटिल रोग एम्वाइल्वाइडोसिस र पुर्खाबाट सर्ने उच्च कोलेस्ट्रोलको समस्या फामिलिएल हाइपर कोलेस्टेरोलेमियाको क्लिनिकल परीक्षण सकारात्मक दिशामा गएको देखिन्छ।

जिन टेलरिङको क्षेत्रमा भएको प्रविधि विकास र हालसम्मको सफलतालाई नियाल्दा कुनै पनि किसिमको आनुवांशिक रोग निको पार्न सकिने संभाव्यता देखियो। ओखती बन्न कति समय लाग्ला अनि कति पैसा खर्चनुपर्ला? त्यो भने आफ्नै ठाउँमा छ।

जिन थेरापीले मानव सभ्यतालाई नैतिक परीक्षणको दोसाँधमा उभ्याएको छ। व्यक्तिको उचाइ, वर्ण, बौद्धिक क्षमतालगायतका विभिन्न चरित्रका लागि पृथक जिनहरू जिम्मेवार भएको यथार्थ सार्वजनिक भएपछि आनुवांशिक हेरफेरमार्फत फरक व्यक्ति बनाउने अवस्था नआउला भन्न सकिन्न।

जिन परिमार्जनमार्फत सामान्य मानिसलाई ‘कुम्भकर्ण’ बनाउने अवस्था आए संसार कस्तो होला? ऊर्जा उत्पादनमा वरदान बन्न सक्ने आणविक पदार्थको दुरूपयोग भइ विध्वंसात्मक बम बनेझैं जिन थेरापीले मानव समुदायलाई दानव राज्यमा रूपान्तरण त गर्दैन भन्ने निश्चित छ र? महँगो औषधि खर्च हेर्दा कहीँ यो उपचार केवल धनी रोगीका लागि मात्र त हुँदैन भन्ने अर्को चिन्ता छ नै। धेरै किसिमका रोग बिसेक पार्न सक्ने तागत बोकेको जिन थेरापीलाई कसरी नैतिक रूपमा प्रयोग गर्दै केवल मानव सभ्यताको हितमा लगाउने भन्ने संसारकै ठूलो चुनौती देखिन्छ। 

प्रकाशित: २६ मंसिर २०८० ००:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App