३२ श्रावण २०७७ आइतबार
विचार

यो अधिनायकवाद हो, रुन नपाई !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली कांग्रेस राजनैतिक हाटमा तङ्ग्रिन सकेको छैन । दुई ठूला वाम पार्टीले अचानक गठबन्धन गरेर (पार्टी एकीकरण गर्ने सहमतिसहित) निर्वाचनमा भाग लिएपछि नेकांले पनि लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचनको परिणाम प्रत्यक्षतर्फ नेकांको विपक्षमा आयो । समानुपातिक निर्वाचन प्रणाली नहुँदो हो त कांग्रेसको साइज निकै ओह्रालो लागेको हुन्थ्यो । समानुपातिक पद्धतिले जसरी पहिलो संविधानसभामा कांग्रेसलाई जोगाएको थियो । यसपटक भने कांग्रेसलाई समानुपातिकले पुनर्जलीय उपचार नै ग¥यो । तर ऊसँग गठबन्धन गरेका राप्रपालगायतका दलको चैँ पत्तासाफ नै भयो ।

कांग्रेससँग गठबन्धन गर्ने दलको पराजय त निर्वाचन अगाडि नै निश्चित थियो । कांग्रेसको पराजयका कारणहरूमा धेरै बहस पैरवी गर्न सकिन्छ । कांग्रेस खुदैले पराजयपछि पनि औपचारिक समीक्षा गरेको छैन । कांग्रेस पार्टीले समीक्षा गर्दैमा पराजयको कारण पत्ता लागिहाल्ने पनि होइन । उसले गर्ने समीक्षामा घटना प्रधानले प्राथमिकतामा पाउने छ, विषय प्रधानले होइन । जुन कुरो अहिले नै तिनका नेताले बताउँदै आएका छन् । वामपन्थीहरू मिलेको, भोट नआएको, उम्मेदवारको छनोटमा लापरबाही, अन्तर्घात भएको आदिइत्यादि कुरामा पराजयको समीक्षा जिम्मा लगाइनेछ । यसरी कांग्रेसको पराजय विषय प्रधान हुनेछैन।

कांग्रेसले समानुपातिकतर्फ पाएको मत सैद्धान्तिक हुनसक्छ । उसले प्रतिनिधित्व गरेको वर्ग समुदायले वर्तमान नेतृत्वलाई खारेज गरेर उसको नीतिलाई समर्थन गरेका हुनसक्छन् । यो मतमार्फत नेतालाई अन्तिम गृहकार्य दिएको पनि हुन सक्छ  । मतदाताको यो मनोविज्ञान पनि विषयगत चैँ होइन । वैकल्पिक दलको खोजीमा विकल्पको अभावमा आएको मतसंग्रह हो । दुई नम्बर प्रदेश र राजधानीलगायतका सहरमा यो मत विभाजित भएको आधारमा यसै कुरातर्फ यसको संकेत हो । विगत दोस्रो संविधानसभामा पनि यस्तो मत विभाजित भएको थियो । कांग्रेसको रूपमा होइन, सारसँग यो मत सम्बन्धित छ । अब पनि सार ठीक नभए यो मत कांग्रेसको बही खातामा रहिरहँदैन् । यथार्थमा ०४८ सालपछि कांग्रेसले लोकप्रिय मत गुमाउँदै आएको छ । कांग्रेसले उसको सिद्धान्तनिष्ठ रूपरेखाको आधारमा समसामयिक राजनीतिको सार खिच्न नसक्दा निरन्तर तेजोवध हुँदै गएको परिस्थिति हो। कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अपव्याख्या र व्यवहारमा उल्टो अनुवाद गरेको फलस्वरूप कांग्रेसको यो हबिगत भएको हो । यतिको दशक वामपन्थी फुट्दा कांग्रेसलाई चिट्ठा परेको मात्र साँचो हो।

मुद्दाविहीन कांग्रेस 

निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले निकालेको निर्वाचन घोषणापत्रमा कुनै नौलो कुरा थिएन । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको राजनैतिक व्यवस्थाको रेशम मार्गमा उसले लिने अर्थ–राजनैतिक अवधारणाको कुनै खास ढाँचा प्रस्तुत गर्न सकेन । नयाँ राजनैतिक संरचनाभित्रको अर्थपूर्ण उपयोगको खास योजना थिएन । कुनै लामो समयदेखि चलेको व्यवस्था अनुसारको आवधिक निर्वाचनझँै उसले यो निर्वाचनलाई लियो । संघ, प्रदेश तथा स्थानीय तहको नयाँ व्यवस्थामा उसको कुनै योजना तथा कार्यक्रम थिएन । प्रजातान्त्रिक समाजवादको आधारमा उसले आपूर्ति गर्नुपर्ने कार्यक्रम जनसमक्ष पुर्‍याएन।  

यसको ठीक विपरीत वाम गठबन्धनले पहिलोपटक संयुक्त घोषणापत्रमार्फत न्यूनतम साझा कार्यक्रम घोषणा गरेका थिए । बुझिने भाषामा स्थिर सरकार, समृद्धिको सोझो योजनाको लोकप्रिय नारा सार्वजनिक गरेका थिए । कम्युनिस्ट पार्टी एकीकरणको अर्को लोकप्रिय वाक्य पनि थपेका थिए । नेपालको यो स्वरूप बनेदेखि नेपालको अस्थिर राजनीति र पछौटेपनलाई सम्बोधन गर्ने आकर्षक नारा तय गरेका थिए । स्थानीय तह निर्वाचन परिणामको गणित पनि आइसकेको थियो । जुन गणितले वामहरूको वर्चस्व स्थापित हुने सोझो हिसाब संकेत गरिसकेको थियो । यस्तो बेला कांग्रेसको पराजय सोझै देखिन्थ्यो। 

तर कांग्रेसले परम्परागत कांग्रेसी राजनीतिक मद्दालाई त अगाडि सारेन–सारेन संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत समसामयिक राजनैतिक व्यवस्थामा उसको प्रस्ट धारणा पनि आउन सकेन । यी विषयमा अलग–अलग धारणामा कांग्रेसी नेता विभाजित थिए । केवल वामपन्थीले जिते ‘अधिनायकवाद’ आउने, ‘रुन पनि नपाउने’ जस्ता काल्पनिक थेगो हालेर सफल हुने सपना देख्यो । उसका निम्ति यी काल्पनिक सूत्र नै प्रत्युत्पादक बन्यो।

वामपन्थीले जिते अधिनायकवाद आउँछ भन्ने कुरा पहिलो त आममतदाताले बुझेनन् । जतिले बुझे तिनले अधिनायकवादलाई सकारात्मक रूपमा लिए । अस्थिरता खेपिरहेका आमसमुदायलाई कुनै न कुनै किसिमको अधिनायकवाद आओस् भन्ने चाहना आमसमुदायमा प्रभावित थियो । निर्वाचनको माध्यमबाटै स्थिरता दिन अधिनायकवाद आउने कुरामा पनि आमसमुदायको मनोविज्ञानले सम्मति दिएका थिए । रह्यो वामपन्थीले जिते रुन पनि पाइँदैन भन्ने त हास्यास्पद हुनु कुनै नयाँ कुरा भएन ।

कांग्रेसले वाम गठबन्धनको चुरो र यसको मुद्दा तथा कार्यसूची पहिचान गर्न सकेन । वाम र दक्षिण ध्रुवको राजनीतिको यो महाभारतमा उसले आफू दक्षिण फर्केको पत्तै पाएन । वाम ध्रुवमा कसरी लोकप्रियता छायो, दक्षिण बसेर व्याख्या गर्दा उत्तर यस्तै आउँछ।

यस्तै एउटा रमाइलो प्रसंग धरानमा प्रचलित छ । कुरो अघिकै हो । धरान नगरलाई वामहरूको गढ (जुन आजपर्यन्त छ) मानिँदै आएकाले यो सहरलाई चीनको सांघाइ र भारतको केरला उपनाम पनि दिइएको थियो । धरानमा धेरै अघि बसोवास गर्नेहरू कांग्रेस पक्षधरहरू हुन्थे । पछि बसोवास गर्न आउनेहरू वाम विचारसँग नजिक हुन्थे । यसरी २०१५ सालदेखि नै यो नगर वाम वर्चस्वमा पुगिसकेको थियो । त्यसयता यो नगरमा निर्वाचित हुने वाम विचारकै हुन्थे । स्ववियूमा पनि वाम प्रगतिशीलहरू नै विजयी हुन्थे । पञ्चायतमा समेत यो नगरमा वाम पृष्ठभूमि भएकाहरूले नै निर्वाचनमा जित्थे । पहिलो जनान्दोलनपछि त वाम वर्चस्वको प्रतिस्पर्धामा कोही आउन सकेका छैनन्, आजपर्यन्त।

वामपन्थीहरूले कोणसभा गरेर त्यही चोकमा अर्को घोषणा गरेछन्, ‘शिक्षा, ज्ञान दिने पुस्तक जलाउने कांग्रेसीहरू गोबर हुन् ।’ यसै प्रसंगका कारण धरानका बूढापाकाहरू आज पनि वामपन्थीलाई खरानी र कांग्रेसलाई गोबर भन्ने गर्छन् । एमाले नेता राधाकृष्ण मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’मा पनि यो प्रसंग उल्लेख छ ।

अन्ततः अधिनायकवाद आउँछ र रुन पनि पाइन्न भन्ने आरोपलाई खारेज गरेर वाम गठबन्धनलाई मतदाताले विजयी बनाए।  

प्रकाशित: २१ पुस २०७४ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App