७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

माटो नै जीवन

धेरैले कृषिलाई तुच्छ पेसा ठान्छन्। किसानलाई दुःखी मान्छन्। किसानलाई गरिब भन्छन्। तर म किसानको छोरो भएकामा गर्व गर्छु। किनकि मेरा बा–आमाले माटोलाई माया गरेका छन्। माटो र प्रकृतिलाई बचाएका छन्।

मेरा लागि बा–आमा, जन्मदाता मात्र हैनन्। जीवनदाता पनि हुन्। उनीहरूले माटो, बिरुवा र प्रकृतिलाई जीवन दिएका छन्। परिवारलगायत मानवलाई जीवन दिन योगदान गरिरहेका छन्। बा–आमा छन् त घरमा अन्न छ। अन्न छ त, हाम्रो जीवन छ। त्यसैले बा–आमा अन्नदाता र जीवनदाता दुवै हुन्।

म सानो छँदा बा–आमाले खेतका ढिस्काहरूमा माटो राखेर भटमास र बारीकाकान्लामा समेत बोडी र सिमी लहलह बनाउँथे। अहिले पनि घर वरिपरि कतै खाली हुँदैन। केही न केही अन्न र तरकारी झुलेकै हुन्छन्। एक मुठी पनि माटो खेर फाल्नुहुँदैन भन्नेमा दृढ छन् उनीहरू। आफ्नो जीवन धान्ने माटोलाई माया गर्नुपर्छ भन्ने मान्यता छ। त्यसैले मेरा बा–आमा, माटोलाई माया र स्याहार गर्ने भूमिपुत्रपुत्री पनि हुन्।

बा–आमा माटोसँगै अन्नलाई पनि असाध्यै माया गर्छन्। घरको निदाल, दलिन, तखता, खोपा, खटप्वाल सबै ठाउँमा कुनै न कुनै अन्नका दाना हुन्छन्।

बाहिर दलिनमा सिउँरिएका कोदोको बाला, थाममा झुण्ड्याइएको मकैका झुत्ता, निदालमा सिउँरिएको गहुँ र धानका बालाले उनीहरूलाई सारै आनन्द मिल्छ। त्यो किसानको पहिचान र संस्कृति हो। बा–आमा भन्थे-‘यसैमा त जीवन अडेको छ। यही हाम्रो उपलब्धि हो।’

उनीहरूको त्यो अन्नप्रतिको माया र खुसी कुनै डाक्टरले अपरेसन सफल हुँदा, कुनै पाइलटले प्लेनलाई सफल अवतरण गराउँदा, कुनै इन्जिनियरले संरचना ठड्याउँदा भएको खुसीभन्दा कम छैन। अनि आफैँलाई गर्व गर्छु। र, निर्धक्क भन्छु-म किसानको छोरो।

वर्षको पहिलो उत्पादन नचढाइ खान दिँदैनन्। विशेष गरेर धान, मकै, कोदो र गहुँ चढाउनु पर्छ। मंसिर १ गते न्वागी गरेर मात्र नयाँ धानको भात खाने र साउने संक्रान्तिमा  मकै चढाएर मात्र खाने चलन छ। हरेक वर्ष जेठमा भूमिपूजा हुन्छ। यसलाई अन्न र माटो उपयोग गर्ने अनुशासन, संस्कृति र संस्कारका रूपमा लिन्छन्।

बा वृद्धभत्ता लिने उमेरका भए तर माटो र अन्नप्रति गर्ने माया, संस्कार र संस्कृति भने रत्तिभर घटेको छैन। बुढ्यौलीले छोए पनि माटो खेलाउँदा जति आनन्द अरूमा छैन। जति सक्छन् त्यति अन्न फलाउनुपर्छ भन्ने मान्यता उनको अहिले पनि छ। र, आफूलाई पुग्ने अन्न आफैँ फलाउँछन्।

आज बा चिन्तित छन्। उनको चिन्ता उमेर बढेकामाभन्दा पनि आफूले लगाएको अन्न घरमा भित्र्याउन नपाएकोमा छ। मकै लगायो ढोड मात्र, कोदो लगायो नल मात्र। मान्छेका लागि भन्दा पनि बाख्रावस्तुको लागि मात्र खेती गर्नुपरेकामा चिन्ता छ। खेती नगरौँ माटो बिग्रन्छ, बोट बिरुवा हुर्कन्न। खेती गरौँ जनावरले खान दिँदैन।

जंगली जनावरले उत्पादन भित्र्याउन नदिएपछि टाढाको बारी बाँझो भयो। खेती लगाउन छाडेपछि बारीमा भएको घाँसका रुखहरूमा कीरा लागे। बोटबिरुवा मर्न थाले। घाँसका लागि समस्या भएकाले बा, घाँसको बिरुवा जोगाउन भए पनि ती बारीमा वस्तुको मल हाली खनजोत गर्न थाले। बारीमा सुन्तला, कागती, टिमुर, मकै र कोदो लगाए। पुनः खेती सुरु गरेपछि घाँसका बोटबिरुवा राम्रो भयो। वस्तुको मलले कान्लाको घाँस सप्रन थाले। त्यसैले माटो र खेतीका लागि मेरा बा–आमा कृषिविज्ञ हुन्।

आजसम्म बा–आमा, बिउका लागि बजार धाउँदैनन्। सकेसम्म आफूलाई चाहिने बीउ आफैँ जोहो गर्छन्। नपुग बीउ अ‍ैँचोपैँचोले टार्छन्। बीउलाई कीराबाट जोगाउन रसायन विषादी प्रयोग गर्दैनन्। तीतेपाती, निमको पात, विभिन्न झार र पिना मिलाएर बीउ राख्ने भाँडोमा प्रयोग गर्छन्। त्यसैले मेरा बा–आमा बीउविज्ञ पनि हुन्।

बाले मलाई कोदो र धानको बीउ उखेल्न सिकाए। खेतमा आली लगाउन र बाउसे गर्न सिकाए। बारीको कान्ला ताछ्न र कोदोबारी खन्न सिकाए। गोरु नार्न, अनौ समाउन र हलोमा ठेडी ठोक्न सिकाए। हल्लुडोमा हरिष छिराउन र गोरुको काँधमा जोतारो बाँध्न सिकाए। त्यसैले मेरा बा, अभिभावक मात्र हैनन् कृषि गुरू पनि हुन्।

बा, खेतबारीमा काम गर्दा भन्ने गर्थे-‘माटो सबैभन्दा ठूलो आस्था हो। पूजा हो। माटो जीवन हो। संस्कार, संस्कृति र शक्ति हो। माटो धन हो। हाम्रो शरीर माटो नै हो। माटोको चमत्कार यस्तो छ कि यसले मृत्युलाई जीवनमा बदल्छ।’

हरेक किसानको खेतमा पुग्दा, मेरा बा–आमा जस्तै मेहनती, माटोलाई माया गर्ने, जोगाउने र पूजा गर्ने लाखौँ किसान बा–आमाहरू पाउँथे। आज सन्सारभरका किसान बा–आमाले माटो, प्रकृति, जीव जनावर र मानवको जीवन धानेका छन्। तर तिनै किसान बा–आमाले अन्याय र अवहेलना भोगिरहनुपरेको छ।

मेरा बा–आमा जस्तै बीउ जोगाउने किसानहरूले बीउ जोगाएबापत राज्यबाट पाउने कृषि अनुदान पाएका छैनन्।

बरू राज्य करोडौँ खर्चेर बिकासे बीउ खरिद गर्न तत्पर छ तर गाउँका अनुभवी किसानहरूलाई स्थानीय बीउ उत्पादन गर, हामी किन्छौँ भन्दैन। किसानले जोगाएको बीउको अनुदान पाउँदैनन्।

यसै वर्ष हेलम्बुका किसान बा–आमा सरकारले अनुदान दिएको बीउबाट धान नफलेपछि अब कसरी परिवार पाल्ने भन्नेमा चिन्तित छन्। ती किसानलाई मेरा बा–आमाले जस्तै, कस्तो माटो र कुन हावा पानीमा कुन प्रजातिको धानको बीउ लाग्छ भन्ने ज्ञान थियो होला, उनीहरूसँग भएको ज्ञानलाई तिलाञ्जली दिएर उत्पादन बढाउने नाममा पढेलेखेका कृषि विज्ञको मात्र कुरा सुनेर धानको बीउ सिफारिस भयो। अब राज्यले ती किसानले अघिल्लो वर्ष फलाए बराबर धानको क्षतिपूर्ति दिन्छ?

प्रकाशित: १० मंसिर २०८० ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App