२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।

साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्नेभन्दा बढी मानसिक आघात (ट्रमा) का कारण यदि व्यक्तिमा एक्कासि आघातको कहालीलाग्दो स्मृति, निरन्तर भय, छटपटी, आतंक तथा तनाव देखा पर्छ भने त्यसलाई पिटिएसडी भनिन्छ। यसलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ–एक्युट स्ट्रेस डिसअर्डर रपोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर।

एक्कासि र बारम्बार आघातपूर्ण घटनाका दृश्य मानसपटलमा आउने, अनि उत्तेजना र छटपटी एकदम बढ्ने र मुटुको धड्कन तथा श्वासप्रश्वासको गति बढ्ने, शरीर काप्ने तथा घबराहट बढ्ने र त्यो स्मृतिलाई हटाउन खोज्ने तर हटाउन पूर्ण रूपमा सफल नहुने जस्ता लक्षण यदि घटना भएको तुरुन्त वा एक महिनाभित्र देखापर्‍यो भने त्यसलाई एक्युट स्ट्रेस डिसअर्डर भनिन्छ।

तीन महिनापछि यस्ता लक्षण देखिए भने त्यसलाई चाहिँ पिटिएसडी भनिन्छ। एक्युट स्ट्रेस डिसअर्डरको समय अवधि एक महिनाको हुन्छ। एक महिनापछि पनि यस्ता लक्षण देखिएमा त्यसलाई पिटिएसडी मानिन्छ।

यस्तो विपद् र यसबाट सिर्जित भयले थुप्रै मानिसमा डिप्रेसन (अवसाद) तथा मनोत्रास जस्ता मानसिक समस्या पनि देखिने पक्का छ।

डिप्रेसनको मूल लक्षण भनेको उदासीनता तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैँ उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउ“छन्, केही समय रहन्छन् तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ। डिप्रेसनमा चाहिँ यस्तो हुँदैन। कडाखालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन्।

अतः उदासीस“गै अरूचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षण तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हुँदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरूमध्ये तीन–चार लक्षण देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ।

मनोत्रास दृश्चिंता विकृतिको एक अर्को रूप हो। बिनाकारण एक्कासि पूर्वसूचनाबिना डर लागेर आउने, मुटुको धड्कन तेज हुने, सास रोकिएला जस्तो हुने, हात खट्टा लगलग काम्ने, रिंगटा लाग्ने तथा पसिना आउने समस्यालाई मनोत्रास भनिन्छ।

मनोत्रासका बेला व्यक्तिलाई बेहोस भइ पल्टिने वा मर्ने वा कुनै भयानक घटना हुने भय हुन्छ र ऊ यसलाई नियन्त्रण गर्न नसकी कराएर मानिस एकत्रित गर्ने प्रयास गर्छ। मनोत्रासको यस्तो दौरा अचनाक देखा पर्छ र केही समयसम्म तीव्र भएर विस्तारै स्वतः शान्त हुन पुग्छ।

भूकम्पमा परी घाइते भएकाहरूको उपचार भईरहेको छ तर नेपाल जस्तो विकासोन्मुख देशमा उपचारका क्रममा केवल शारीरिक चोटपटकलाई मात्र ध्यान दिइने गरिन्छ। भूकम्पपीडतहरूको मनमा परेको चोटलाई जति ध्यान दिइनुपर्ने हो त्यति ध्यान दिएको देखिँदैन। परिणामस्वरूप भूकम्पपीडित व्यक्तिहरूमा माथि उल्लिखित मानसिक समस्या देखिने संभावना बढ्छ। यसप्रति नेपाल सरकार तथा उपचारमा संलग्न चिकित्सकको ध्यानाकर्षण हुन जरुरी छ।

समयमै मनको चोटमा मलम लगाउने कार्य भएन भने थुप्रै नागरिक पिटिएसडी, डिप्रेसन तथा मनोत्रास जस्ता मानसिक समस्याको शिकार बन्न सक्छन्। पिटिएसडी, डिप्रेसन तथा मनोत्रास जस्ता मानसिक रोगको उपचारमा औषधि भन्दा पनि मनोवैज्ञानिक पद्धतिहरू, जस्तै–बिहाभियर थेरापी तथा कग्निटिभ बिहाभियर थेरापी उत्तम मानिन्छन्।

यसका साथै सहयोगी समूह, आई मुभमेन्ट डिसेन्सिटाइजेसन एण्ड सिप्रोसेसिङ इएमडिआर तथा सम्मोहन आदि पनि अन्य उपयोगी चिकित्सा विधि हुन्। त्यसैले छिटो भन्दा छिटो भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक, मनोचिकित्सक तथा मनोवैज्ञानिक आदि सम्मिलित समूहसहितको पुनर्स्थापना केन्द्रहरू खोल्न र भूकम्पको भय हटाउन आवश्यक छ।

–लेखक साइकोथेरापिस्ट हुन्।

प्रकाशित: ७ मंसिर २०८० ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App