नेपाली कांग्रेसको अबको बाटोबारे खोजी गर्दा आजको अवस्थामा किन र कसरी आइपुग्यो भनी निर्मम समीक्षा जरुरी छ । त्यसपछि कुनै पनि राजनीतिक दल निर्माणको तीन आयाम विचारदर्शन, संगठन र जनता र नेतृत्वलाई सूक्ष्मरूपमा केलाउन पनि त्यत्तिकै जरुरी छ । यो लेखमा सबै कुरा विस्तारसाथ उल्लेख गर्न सम्भव छैन । कांग्रेसको निर्वाचनमा भएको पराजयको समीक्षा र विचार दर्शनमाथि मात्र संक्षिप्त कुरा राख्ने प्रयत्न गर्छु ।
कांग्रेसका संस्थापकहरूले पार्टीलाई समाजवादको ट्याग लगाइदिएकाले कल्याणकारी राज्यतर्फको सीमित यात्रा लिन कांग्रेस बाध्य भएको कारण नै कम्युनिस्टले पूर्णतः टेकओभर गर्न सकेनन् नेपालमा ।
विचार दर्शनको यात्रा
सर्वप्रथम विचारबाटै कुरा सुरु गरौँ । नेपाली कांग्रेसले बोकेको विचार नेपालमा मात्र होइन, विश्वमै संकटमा छ । के हो त्यो कांग्रेस विचार दर्शन विगत तीन दशकको ? कांग्रेसको विचार पुँजीवाद, खुकुलो राष्ट्रवाद, कमजोर राज्य र खुला बजार नीति यिनै चार तŒवबीचको सम्बन्ध र त्यसैका आधारमा निर्माण भएका संस्थाहरू कांग्रेसको विचार र कार्यक्रम भए । यिनका सम्बन्धमा समस्या आयो । यी आमनेपाली जनताबाट टाढिए । र, देशमा समानान्तर राज्य निर्माण भयो आर्थिक अपचलनबाट । सबैभन्दा ठूलो समस्या कांग्रेसको राजनीतिक दर्शनमा कति कांग्रेसजन इन्गेज भए विगतमा भनी प्रश्न गर्ने ठाउँ भयो, अझै छ । अर्थात कांग्रेसको विचार दर्शनमा कांग्रेसजन नै संलग्न हुन चाहेनन् वा सकेनन् विगतमा ।
खासगरी कांग्रेसको विचारमा प्रत्येक व्यक्तिले आफ्नो क्षमता र स्वतन्त्रताबाट समाज र राष्ट्र निर्माणको आधार तय गर्छ भन्ने विश्वास गरियो । तर त्यसो हुन सकेन, सम्भव नै थिएन । नेपाली समाज सामन्ती युगको प्रभावबाट निर्माण भएको थियो । सामाजिक धरातलमा व्यापक असमानता, अभाव र वञ्चना थियो । व्यक्ति र समाज, व्यक्ति र प्रकृति र व्यक्ति र व्यवस्थाबीच अन्तरसम्वन्ध नभएर सबैले आफ्नो छुट्टै टापु निर्माण गरिबसेका थिए । धेरै थोरै मानिसले समाज, प्रकृति र व्यवस्थामाथि नियन्त्रण गर्दा आमनेपाली जनता कांग्रेससँग मात्र टाढिएनन्, कांग्रेसको विचार दर्शनसँग पनि असहमत भए । तर पनि कांग्रेसका संस्थापकहरूले पार्टीलाई समाजवादको ट्याग लगाइदिएकाले कल्याणकारी राज्यतर्फको सीमित यात्रा लिन कांग्रेस बाध्य भएको कारण नै कम्युनिस्टले पूर्णतः टेकओभर गर्न सकेनन् नेपालमा ।
नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि लोकतान्त्रिक संवाद पार्टीभित्र भएन । राजनीतिक परिवर्तन एकै रातमा पनि सम्भव हुन्छ तर दलको विचार दर्शन परिवर्तनका लागि व्यापक र घनिभूत मन्थन चल्नुपर्छ । त्यही मन्थनबाट अमृत मन्थन हुन्छ र राजनीतिक दलको विचार दर्शन पनि निर्माण हुन्छ । बिपीले कांग्रेसको विचार दर्शनको मन्थन गर्नुभएको थियो, तत्कालीन समयमा बिपीसँग भएका सुविधा र स्रोत सीमित भए पनि बिपीले आफ्नो लोकतान्त्रिक संवादलाई विम्बका रूपमा सबै कांग्रेसजनबीच मात्र होइन, आमनेपालीबीच पु¥याउन सफल हुनुभयो । त्यसमा दुईवटा विम्ब थिए । एउटा, हलो बोकेको किसानको फोटो नीति निर्माणमा राख्ने विम्ब थियो भने अर्को आफ्नो जस्तो निम्नमध्यम वर्गीय परिवार दश वर्षमा निर्माण गर्ने सपना बिपीको अर्को विम्ब थियो । कांग्रेस बिपीको अर्थराजनीतिबाट धेरै नै टाढियो भन्ने आमसोचाइ कांग्रेसजनबीच अद्यावधि यही कारण छ ।
आजका कांग्रेस नेताहरूले यस्तै लोकतान्त्रिक संवाद समाजको धरातलमा उभिएर आफ्ना कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग नैतिक श्रेष्ठताको जगमा टेकेर गर्न सक्नुपर्छ । कांग्रेसको विचार दर्शन यहीँबाट सुरु गर्न सकिन्छ । को छ त्यस्तो नैतिक श्रेष्ठताको धरातलमा जो आफ्नो जस्तै परिवार सबै नेपालीलाई दश वर्षमा पु¥याउने सपना बोकी राजनीति गर्ने कांग्रेस नेता ? कोही नभए बिपी परिवारसँग नै यो नैतिक धरातल छ ? छ भने नेतृत्व लिन अग्रसर भए हुन्छ । बिपी विचार दर्शनको यात्रामा नेपालको विविध जाति, जनजाति, आदिवासी, दलित र महिलाबीच समाज, प्रकृति र व्यवस्थासँगको अर्थराजनीतिक सम्बन्धलाई लोकतान्त्रिक संवादबाट अमृत मन्थन गर्न सकिन्छ । विचारको यो यात्रा कम्तीमा पनि कांग्रेसले दुई वर्षसम्म खुला र लोकतान्त्रिक ढंगले अगाडि बढाएमा बिपी कोइरालाले भेटेझँै नयाँ विम्बहरू निर्माण भएर नयाँ विचार दर्शन कांग्रेससामु आउनेछ ।
संगठन र नेतृत्वबारे धेरै पक्षबाट कांग्रेसले खुला आलोचना र अक्षमताको ट्याग भिर्ने गरेको छ । यसबारे संविधानले तय गरेको राजनीतिको नयाँ नक्शाबमोजिम कांग्रेसको संगठन धेरै पहिले नै परिवर्तन भइसक्नुपर्ने थियो, भएन । तर बुझ्नुपर्छ, जब विचार दर्शनमा नै त्रुटि हुन्छ र त्यो समाजको वास्तविक धरातलसँग अनमेल हुन जान्छ तब कुनै पनि संगठन र नेतृत्व भुत्ते हुनु स्वाभाविक हो । हो, कांग्रेसको निर्वाचनसम्बन्धी रणनीतिहरूमा अनेकन् त्रुटि भए यो पटक र कांग्रेस यतिखेर त्यही शृंखलाबद्ध डिप्रेसनको आक्रमण झेल्दैछ ।
डिप्रेसनको शृंखला
प्रम शेरबहादुर देउवाको बालुवाटार परिसरमा स्थानीय निर्वाचनपछि वाम गठबन्धन भएसँगै वेचैनी थियो भावी निर्वाचनमा कसरी जाने भनेर । विभाजित वाम मतको अवस्थामा पनि कांग्रेसले स्थानीय निर्वाचनमा एमालेसँग मात खानुपरेको ‘पहिलो डिप्रेसनबाट’ जिल्ला जिल्लामा मात्र होइन, काठमाडाँै र पोखरा जस्ता सहरमा पनि कांग्रेसजनमा भावी निर्वाचनलाई लिएर भयमिश्रित अनिश्चय थियो ।
स्थानीय निर्वाचनमा प्राप्त नेकपा एमाले र माओवादी केन्द्रको मत जोड्दा कांग्रेसले जित्ने क्षेत्र अत्यन्त न्यून देखियो प्रतिनिधिसभा र प्रदेशसभामा । तर पनि एमाले र माओवादीबीच रहेको विगतको तिक्तता र असहिष्णु सम्बन्धका कारण केन्द्रको वाम गठबन्धनले यसका मतदातालाई आकर्षित गर्ने छैन र यही अन्तरविरोधबाट कांग्रेस फेरि एक नम्बर पार्टी भएर आउनेछ भन्ने सोच बालुवाटार परिसरभित्र थियो । वास्तवमा जतिखेर वाम एकताले प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचनमा तालमेल गरी अगाडि बढ्ने घोषणा ग¥यो, कांग्रेससँग यी दुई कम्युनिस्ट पार्टीबीच हुने अन्तरविरोधबाट फाइदाकोे कामना गर्नुबाहेक अरु विकल्प नै कम भइसकेका थिए ।
कांग्रेस मास पार्टी हो । नेपालका वाम दल कार्यकर्ता आधारित दल हुन् । यही बुझाइको अन्तरले भावी निर्वाचन परिणामलाई निर्देशित गर्ने थियो र भयो पनि त्यस्तै । वाम नेताहरूले आफ्ना कार्यकर्तालाई जारी गरेको ‘फर्मान’ अपवादबाहेक तल–माथि हुने सम्भावना थिएन, भएन । कांग्रेस मतदातासँग पार्टीले दिएको उम्मेदवारलाई ‘छान्ने कि छाड्ने’ भन्ने स्वतन्त्र निर्णय लिने छुट थियो, छ । वाम एकताका कारण उत्पन्न मनोवैज्ञानिक पक्षले तिनका मतदातालाई पारेको सकारात्मक प्रभाव र वेभ बुझ्न नसक्नु र कांग्रेसमा पटक–पटक एउटै व्यक्तिको उम्मेदवारीले दलका मतदातालाई दिएको मनोवैज्ञानिक खिन्नताबीचको अन्तर सानो थिएन, ठूलो थियो ।
स्थानीय निर्वाचनको परिणामपछि प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन भएर कांग्रेस ‘दोस्रो डिप्रेसन’ जानुप¥यो । वाम गठबन्धनपछि म केही जिल्ला घुम्दा कांग्रेस कार्यकर्तामा व्यापक निराशा र भविष्यप्रति अनिश्चितता प्रस्टसँग देखिन्थ्यो । तर पनि निर्वाचन अगाडि बढ्दै जाँदा डिप्रेसनबाट तंग्रिने काम कांग्रेस कार्यकर्ताबाट नभएको होइन, भएकै थियो । तर पुगेन । भोटै थिएन ।
अब आउने डिप्रेसन
अब वाम सरकार बन्ने करिव निश्चित छ । सरकार निर्माणसँगै कांग्रेससामु ‘तेस्रो डिप्रेसन’ आउनेछ । कांग्रेसबाट धेरै अवसरवादी, स्वार्थी र निजी फाइदाका लागि नेताको नजिक पुगेकाले पार्टी छाड्नेछन् । अझ खासगरी नेपालको नोकरशाही, व्यापारी, पेशागत संगठनमा आबद्ध समूह र भल्नेरेबल जनताको पार्टी छाड्ने गति तीव्र हुनेछ । प्रदेश सरकार गठनपश्चात गाउँ र जिल्लामा कांग्रेस संगठनमा व्यापक पहिरो जानेछ । प्रदेश नम्बर दुईमा मधेसीहरू सरकार बनाउन सफल भएमा तिनले पनि केन्द्रको वाम सरकारसँग सामीप्यता राखेर फाइदा उठाउने रणनीति लिनु अस्वाभाविक हुँदैन । कांग्रेस यहाँ पनि मधेसकेन्द्रित नेताहरूलाई जिताएकामा खाली हात नै बस्नेछ ।
तेस्रो झट्काबाट कांग्रेस उठ्न नपाउँदै वाम सरकारले केही गति लिएपछि चिनियाँ राष्ट्रपतिको अप्रेलमा नेपाल भ्रमण हुने चर्चा छ । यो भ्रमणसँगै आउने विकासका प्याकेजले वामहरूलाई एकपटक हौसाउने र कांग्रेसलाई ‘चौथो डिप्रेसन’ मा पु¥याउने सम्भावना छ । यसरी कांग्रेसको ओरालो लाग्ने गति अझै केही समय तीव्र हुने लक्षण छ । र, यी सबै चुनौतीलाई अहिले नै स्वीकार्दै कांग्रेस नयाँ विचार, संगठन र नेतृत्वबाट अगाडि आउनेछ कि छैन ? चिन्ता र चासो कांग्रेसजनको यहाँ हुनुपर्छ ।
कांग्रेस चिन्ताको कुुरा स्वार्थवस होइन, नेपालको इतिहासमा यो पार्टीले ‘लोकतान्त्रिक सभ्यता’ को आन्दोलन गरेकाले गर्नुपरेको हो । तर यसको घर कहिले ठीक भएन । घर अर्डरमा नहुनुको पछाडि पार्टीका कार्यकर्ता ‘आसे र पाले’ भए नेताका । नेतृत्व विवेकशील र भविष्यद्रष्टा भएर नेता र नीति बनाउन अक्षम हुँदा कार्यकर्ता अगाडि आउनुपर्छ भनी तिनले बुझ्न जरुरी छ । कुनै पनि दल विचार दर्शन, कार्यक्रम, संगठन र नेतृत्वबाट चल्छ भन्ने हेक्का अब कांग्रेस नेताबाट होइन, कार्यकर्तास्तरबाट बुझ्न जरुरी छ ।
नेपाली कांग्रेसले डिप्रेसनका चार धक्कामात्र महसुस गरेको होइन, गठबन्धनको उट्पट्याङ अवस्था पनि झेल्नुप¥यो ढंग नपुगेर । प्रथमतः प्रचण्ड–देउवाबीचको गठबन्धन प्रचण्डको छोरीलाई जिताएर सकियो चितवनमा । यसको राजनीतिक प्रभावबारे गम्भीर छलफल र समीक्षा प्रतिनिधिसभाको निर्वाचनअगाडि नै हुनुपथ्र्यो, भएन । अब कांग्रेस केन्द्रीय कार्यसमितिमा पक्कै होला । दोस्रो, राप्रपासँगको कांग्रेस गठबन्धन लाजै लाग्दो भयो । कांग्रेसभन्दा एमाले स्मार्ट भयो र झापामा पचास हजारभन्दा बढी मत राप्रपाको एमालेमा गयो । तेस्रो, एकतर्फीरूपमा मधेसकेन्द्रित नेताहरूलाई समर्थन गर्न कांग्रेसले कञ्जुस्याइँ गरेन तर निर्वाचनभरी मधेसी नेताहरूको अभिव्यक्ति वामसँग प्रेम र कांग्रेससँग घृणाबाट प्रकट भयो । यसरी एकातिर डिप्रेसन र अर्कोतिर गठबन्धनमा पेन्डुलम स्थिति कांग्रेसको निर्वाचनमा देखियो ।
माथि कांग्रेसले निर्वाचनको सेरोफेरो गरेका गल्ती र पाएका झट्काको निर्ममतापूर्वक समीक्षा गर्नुको उद्देश्य अरु केही नभएर कांग्रेसको उपस्थिति देशको राजनीतिमा प्रभावकारी हुनुपर्छ र यसको सम्भावना छ भन्ने आशयबाट गरिएको हो । अझ नेतृत्वका त्रुटि, कांग्रेस नीति निर्माताको जनतासँग ‘चेट’ निसृत विचार, चुनावको समय रेलगाडी र हाइड्रो पावरको प्रचारप्रसारका साथै एकतर्फीरूपमा भूराजनीतिलाई असन्तुलन गर्न दिएको छुट यस्ता कैयन् उदाहरण छन् जसलाई कांग्रेस केन्द्रीय कार्यसमितिले छलफलको विषय बनाउन सक्छ । त्यस्तै पहिलो पल्ट हुन लागेको प्रदेशसभालाई किन कांग्रेसले ‘नोटिसमै नलिएको’ भन्नेबारे पनि गम्भीर छलफल गर्न सक्छन् ।
प्रदेशसभाको महत्व बुझेर तद्अनुरूप रणनीति तय नगर्दा सबै प्रदेशमा वामवर्चश्व भयो । र, यसकारण भन्नुपर्ने हुन्छ– नेपाली कांग्रेसले आगामी पाँच वर्षको कार्यक्रम र रणनीतिले होइन, दश वर्षको सोचबाट पार्टी नीति निर्माण गर्नुपर्छ । प्रतिनिधिसभाको मात्र पराजयलाई सामान्य मेहनतले पनि कांग्रेसले पाँच वर्षमा फर्काउन सक्ने अनुमान गर्न सकिन्छ तर प्रदेशसभामा कब्जा जमाएको वामलाई हराउन कांग्रेसलाई दश वर्षको समय जरुरी भयो । तर दश वर्षको सोचबाट पार्टी पुनर्निर्माण गर्दा दुई वर्ष कांग्रेसले वैचारिक लोकतान्त्रिक संवाद आफ्ना कार्यकर्ताबीच सघनरूपमा अगाडि बढाउनुपर्नेछ ।
अब कांग्रेसले कसरी रचनात्मक प्रतिपक्ष भएर नेपाली जनताको मन जित्ने भनी गहन चिन्तन गर्ने फुर्सद पाएको छ । यस्तो प्रतिपक्षको भूमिका काठमाडौँमा मात्र होइन, प्रदेशका सातैवटा राजधानीमा कांग्रेसबाट अपेक्षा गरिन्छ । प्रदेशमा नेतृत्व विकास गर्दा कुनै पनि स्थितिमा बढीमा पचास वर्ष ननाघेकोलाई अवसर दिँदा दश वर्षपछि उसको उमेर साठीमा पुग्छ । वास्तवमा सात प्रदेशमा प्रतिपक्षको नेता जनतालाई आकर्षित गर्ने व्यक्तित्व होस्, संवाद शैलीमा स्थानीय भाषा र नेपाली भाषामा प्रभावशाली होस्, प्रदेशको विकास र संगठनमा जिम्मेवारीपूर्वक नेतृत्व दिन सक्षम होस् र मिडियाबाट आफ्ना कुरा भन्ने क्षमता राखोस्, स्थानीय सरकारलाई पारदर्शी र उत्तरदायी बनाउन प्रदेशसभामा प्रभावकारी नेतृत्व दिन सकोस् । हेक्का राखे हुन्छ, कांग्रेसको नवनिर्माण गर्न र नेपालको राजनीतिमा यो दलको सान्दर्भिकता स्थापित गराउन केन्द्रलाई बलियो र सक्षम बनाउने होइन, प्रदेशलाई हरेक दृष्टिले सक्षम र सवल बनाउन जरुरी छ कांग्रेसले ।
अन्तमा, कांग्रेस नेतृत्वको दिमागमा पार्टी बचाउने होइन, पार्टीलाई जनताबीच स्थापित गराउने र विजयश्रीको माला पहराउने सोचबाट अगाडि बढ्न जरुरी छ । कहीँ पढेको अंग्रेजीको एउटा पंक्ति कांग्रेसको अवस्था देखेर यतिखेर सम्झना आयो ः
दिस इज नट दि इन्ड
दिस इज नट दि इन्ड अफ योर स्टोरी
दिस इज नट दि फाइनल च्याप्टर अफ योर लाइफ
इफ यु आर कमिटेड टु युजिङ दिस पेन
ब्युल्ड योर न्यु क्यारेक्टर
अर्थात्
यो नै अन्त्य होइन
यो नै तिम्रो कथाको अन्त्य होइन
यो नै तिम्रो जीवनको अन्तिम अनुच्छेद होइन
तिमी यो पीडालाई प्रयोग गर्न प्रतिवद्ध छौ भने
आफ्नो नयाँ चरित्र निर्माण गर ।
प्रकाशित: ११ पुस २०७४ ०४:२५ मंगलबार