सुन्तला नेपालको मध्यपहाडी क्षेत्रलाई उत्पत्तिस्थल बनाएको मौलिक फलफूल हो । हाल ५५ भन्दा बढी जिल्लामा सुन्तला खेती गरिन्छ । यसमा भिटामिन–ए, भिटामिन–सि, पोसियमलगायत अन्य गुनिला पोषण पदार्थ पाइन्छ । मध्यपहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिने र अन्य छिमेकी देशको भन्दा रसिलो र स्वादिलो सुन्तला नेपालको मौलिक र राष्ट्रिय फलका रूपमा पहिचान बनाइने पर्खाइको खोजीमा छ ।
नेपालमा पाइने विभिन्न जातका फलफूलमध्ये सुन्तलाको उत्पत्तिस्थल नेपाल पनि पर्छ । त्यसैले सुन्तलालाई राष्ट्रिय फलका रूपमा अङ्कित गर्न सके राज्यलाई लाभ नै हुने देखिन्छ ।
नेपालमा सुन्तला फलको परिचय दिइरहनु पर्दैन । उत्पत्तिको हिसावले नेपालको हिमालयन फुट–हिल पनि सुन्तलाको उत्पत्तिस्थल क्षेत्रअन्तर्गत पर्छ । हाल नेपालमा व्यावसायिक तथा जङ्गली अवस्थाका फलफूलका रूपमा उपभोग गरिने फलफूलमध्ये सुन्तलाले प्रमुख स्थान ओगटेको छ । एकातर्फ भौगोलिक हिसावले मध्यपहाडी क्षेत्र सुन्तला खेतीका लागि अनुकूल छ भने अर्कोतर्फ हावापानीको हिसावले उत्पादित फलको गुणस्तर पनि अति उत्तम मानिन्छ । बर्सेनि आन्तरिक तथा बाह्य बजारमा सुन्तला फलको माग पनि वृद्धि हुँदै गइरहेको देखिन्छ ।
नेपालमा खेती नगरिएको तर विदेशबाट भित्रिएका केही नौला जातका फलफूल पनि फलफूल बजारमा पाइन थालेका छन् । नेपालीहरूको औषत आम्दानी स्तर पनि वृद्धि हुंदै गएको र वैदेशिक रोजगारीमा देश–विदेश घुम्दा, काम गर्दा देखे–भेटेसम्मका फलफूल खाने र मिलेसम्म बेर्ना पनि साथै लिएर आउने गर्छन् । यी विभिन्न किसिमका फलफूलमध्ये सबैले मन पराउने, खाएर कहिल्यै नअघाउने, नमात्ने, जतिबेला पनि खाउँखाउँ लाग्ने, धेरै खाए पनि शरीरमा कुनै असर नपर्ने सदाबहार फलफूल हो सुन्तला ।
गाउँघर, सहर–बजार जताततै केटाकेटी, युवा युवती, महिला पुरुष, ज्येष्ठ नागरिक सबैले उत्तिकै रुचाएर खान्छन् । बिरामी हुँदा यसको फल खान र पचाउन सजिलो हुन्छ । पौष्टिक हिसावले भिटामिन–ए, भिटामिन–सि, पोटासियमलगायतका मानव स्वास्थ्यजनक लाभदायी तŒवहरू प्राप्त हुन्छ ।
सुन्तलाको उत्पत्तिस्थल हिमालय पर्वत शृंखलाको फेंदीतिर भएको मानिन्छ । बुटवल परापूर्वकालदेखि नै पश्चिमाञ्चल क्षेत्रको भारत वर्ष र नेपाल हुंदै ल्हासासम्मको व्यापारिक नाकामा पर्ने बजार थियो । यहाँ स्याङ्जा, पाल्पा, गुल्मी, बाग्लुङ, अर्घाखाँची क्षेत्रबाट सिजनमा नून÷तेल बेसाउन जाँदा साथमा सुन्तला पनि लैजाने गर्थे । त्यसो हुँदा सिजनमा बुटवल बजारमा सुन्तला प्रशस्त पाइन्थ्यो । जापानी सिट्रस वैज्ञानिक डा.तानाका विश्व भ्रमणको क्रममा करिब २०० वर्षअघि घुम्दै बुटवल आइपुग्दा यहाँको बजारमा सुन्तला देख्नुभयो । फलको अध्ययन, अवलोकन र स्वाद लिंदै यसको बारेमा विश्लेषण गर्नुभयो । अनि बुटवल सुन्तलाको बारेमा वर्णन गर्दै आफ्नो कितावमा उल्लेख गर्नुभयो ।
पूर्वीदेखि सुदूरपश्चिमका मध्य पहाडी जिल्लाहरूका अधिकांश कृषकका लागि सुन्तला आयआर्जनको गतिलो माध्यम बनेको छ । तराईका समथर फाँटका लागि आँप भनेझैँं सुन्तला पहाडी जिल्लाको पहिचान नै बनेको छ । हाल हामीसंँग ५४ भन्दा बढी विभिन्न किसिमका फलफूल छन् । यीमध्ये एकथरी फलफूल छन् जो व्यावसायिकरूपमा खेती गरिन्छ । अर्काथरी आगन्तुक जातिका फलफूल छन् जो आजकल विदेशबाट भित्रिरहेका छन् । ती विभिन्न जातका फलफूलमध्ये सुन्तला नेपालको आफ्नै फल हो । करिब वि.सं. २०२०÷३० को दशकसम्म संखुवासभा जिल्लाको माङ्तेवाका कृषकले वरपरका जङ्गलबाट सुन्तलाका बेर्ना खोजेर ल्याई कोठेबारीमा लगाउने गर्थे । यसका साथै देशभर सुन्तला उत्पादन हुने विभिन्न पकेट क्षेत्रमा विभिन्न गुणस्तरका सुन्तला भेटिन्छन् । तसर्थ नेपालमा पाइने विभिन्न जातका फलफूलमध्ये सुन्तलाको उत्पत्तिस्थल नेपाल पनि पर्छ । त्यसैले सुन्तलालाई राष्ट्रिय फलका रूपमा अङ्कित गर्न सके राज्यलाई लाभ नै हुने देखिन्छ ।
सुन्तला नेपालको मध्यपहाडी क्षेत्रको करिब ९०० देखि १५०० मिटर हाराहारीसम्मको उचाइमा व्यावसायिक खेती गर्न सकिन्छ । तर कतिपय स्थानविशेषको सूक्ष्म हावापानीले गर्दा त्योभन्दा केही तल वा माथिसम्म पनि सुन्तला बगैँचा फष्टाएका छन् । सर्सर्ती हेर्दा नेपालको पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडी क्षेत्र सुन्तला खेती गर्न सकिने क्षेत्रअन्तर्गत पर्छ । र, देशभर सुन्तला बगैँचाका गतिला पकेट क्षेत्र विकास भइसकेका छन् । साथै ती जिल्लामा ९०० भन्दा बढी पकेट क्षेत्रमा गुनिला सुन्तला फलिरहेका छन् ।
चहकिलो सुन्तला रङ्गको पातलो बोक्रा, रसिलो फल, मध्यम आकार अनि अमिलो र गुलियो मिश्रित तिख्खर स्वाद नेपाली सुन्तलाको विशेषता हो । पाकेको सुन्तला स्वस्थ, बिरामी, बालबालिका, युवायुवती, वृद्धवृद्धा जसले जतिबेला पनि खान सकिन्छ । त्यसैले सम्पूर्ण फलमध्य सुन्तलालाई विशिष्ट फल मानिन्छ ।
प्राचीन समयमा पारिवारिक उपभोग र धार्मिकरूपमा प्रसादका रूपमा प्रयोग हुँंदै आएको सुन्तलाले आज संसारभर व्यावसायिक रूप लिएको छ । नेपालमा पनि अन्य फलको तुलनामा यसको व्यावसायिक महŒव, उत्पादन क्षेत्रफल र फलोत्पादन सबभन्दा बढी छ । हरेक वर्ष उत्पादन तथा क्षेत्रफल विस्तार भइरहेको छ । र, आन्तरिक तथा बाह्य बजारमा यसको माग पनि वृद्धि भइरहेको छ ।
उल्लिखित कारण र महत्वले गर्दा सुन्तलाले एउटा विशिष्ट पहिचान बनाएको छ । यसले नेपाली जन÷जनको जिब्रोमा बेग्लै स्वाद र सन्तुष्टि बोकेको छ । साथै हाम्रै देशको हावापानी र भौगोलिक क्षेत्रमा उत्पत्ति भएका कारणले पनि सुन्तलालाई देशको राष्ट्रिय फलका रूपमा पन्जिकृत गर्न अति आवश्यक देखिन्छ । तसर्थ सुन्तलाले राज्यको तर्फबाट राष्ट्रिय फलका रूपमा नामाङ्कन हुने दिनको प्रतीक्षा गरिरहेको छ ।
(वरिष्ठ वागवानी विकास अधिकृत)
प्रकाशित: ४ मंसिर २०७४ ०२:३९ सोमबार