१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

गठबन्धनको प्रयोग र परिणाम

राजधानी काठमाडौँमा हुने सामाजिक जमघटमा सामान्य भलाकुसारीपछि राजनीतिबाहेक अरु कुनै विषयले चर्चा पाउँदैन । हिजोआज स्वाभाविकरूपले निर्वाचन परिणाम कसको पक्षमा कति जाला भनी अड्कडवाजीले चर्चामा प्राथमिकता पाउने गरेको छ । गत साता एउटा जमघटमा केही पृथक कुरा भयो । र, यो विषय मेरा लागि आश्चर्यमा पार्नेखालको थियो ।

नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धनबाट देशमा अधिनायकवाद आउँछ भनी त्रास बोकेर निर्वाचन अभियान सञ्चालन गर्दा  परिणामपूर्व नै पराजय स्वीकारेको सन्देश जाँदैन र ?


नयाँ बानेश्वरस्थित आफन्तको घरमा पूर्वी तराईबाट आएका एकजना वुज्रुकले यो पटक नेपालीहरूसँग ‘चीनका राष्ट्रपति सि जिङ पिङलाई भोट दिने कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई’ भनी यी दुईबीच छनोटको विकल्प रहेन भने । कांग्रेस पृष्ठभूमिका ती वुजु्रकको कुरा सुनी एकछिन त म हत्प्रभ नै भएँ । के नेपाल नयाँ ढंगले ‘शीतयुद्ध’ को चपेटामा पर्दैछ ? के नेपालका राजनीतिक दलले देशभित्रका सबै समस्या अलपत्र राखी भूराजनीतिक संवेदनशीलतासमेत बिर्सेर नेपाली कांग्रेसलाई भोट दिन्छौ कि कम्युनिस्टहरूलाई भनी देशलाई दुई धु्रवमा विभाजित गर्दैछन् ?
निर्वाचनमय नेपाल
नेपाल यतिखेर निर्वाचनमय भएको छ । २०७४ साललाई नेपालको निर्वाचन वर्ष भन्दा हुन्छ । अब सबै कुरा संविधानवादबाट अगाडि बढे पाँच वर्षपछि अर्थात वि.सं. २०७९ मा फेरि यस्तै निर्वाचनको वातावरण होला भनी नेपाली विश्वस्त हुन चाहिरहेका छन् । किनकि अहिलेको निर्वाचन वातावरण ल्याउन राजनीतिक दलहरूले झण्डै सात दशक अथक प्रयत्न गरे । अनेकन युवा र योद्धाले आफ्नो जीवन र जवानी अर्पण गरे । यस्तो ऐतिहासिक निर्वाचनमा दलबीच भएका गठबन्धन, भावी स्थिर सरकार र समृद्धिको बाटो अत्यन्त स्वाभाविक प्रक्रिया हुनुपर्ने हो तर किन हो निर्वाचनसँगै वातावरणमा एउटा सन्त्रास छ, तनाव छ ।
निर्वाचन वातावरणलाई सन्त्रास र तनाव दलहरूले जित्नैका लागि गरेको अराजनीतिक सम्झौताका कारण बढेको छ । ठेकेदार, डन, अपराधी र देशबाट पलायन भएका अनेकन् अराजनीतिक समूहलाई टिकट दिएका कारण समाजमा राजनीतिक छवि बनाएकाहरू विस्तारै अराजनीतिक गतिविधिमा सीमित हुन पुगेका छन् । वर्टेन्ड रसेलले लेखेका छन्– ‘जब राजनीतिज्ञले अराजनीतिक व्यक्तिका लागि कुर्सी छाड्न बाध्य हुन्छ तब निर्वाचनमा उत्साह र सन्त्रास दुवै फैलन्छ ।    
नेपालको संविधान जारी भएपछि पहिलो पल्ट प्रदेश र केन्द्रको निर्वाचन हुन गइरहेको छ । अर्थात प्रदेश र केन्द्रको सत्ता आरोहणका लागि हुने यो निर्वाचनले नेपाल र नेपालीको राजनीतिक मात्र होइन, आर्थिक र सामाजिक भविष्य पनि निर्धारण गर्दैछ । यो अवसरमा सत्ता प्राप्त गर्न सबै दलका विभिन्न रणनीति हुनु अस्वाभाविक होइन । यही रणनीतिअन्तर्गत यतिखेर नेपालमा वैचारिक विभाजन भएको छ । बिर्सिएको ‘शीतयुद्ध’ को स्मरण गरिँदैछ । यस्तो वैचारिक र दार्शनिक विभाजन हुनुपर्ने कारण अरु केही नभएर नेपाली समाज कांग्रेस र कम्युनिस्ट नामधारी राजनीतिक दलहरूको छातामुनि कहाँ बस्ने भनी विकल्पहीन छनोटमा पुगेकोझैँ अवस्था छ । यो अवस्थाले नेपालमा वैकल्पिक राजनीतिको प्रयोग अगाडि ल्याउने अभियन्ताहरूलाई ठूलै चुनौती थपिएको देखिन्छ ।
सत्ता प्राप्ति नै अभीष्ट    
नेपालको सुदूर भविष्यसम्म प्रभाव पार्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय अजेन्डा अगाडि बढाउन सकिने सम्भावना भावी निर्वाचन परिणामले दिनेछ भनी दलहरूले पक्कै अनुमान लगाएका होलान् । तसर्थ, अगाडिको निर्वाचन परिणामको सुदूर प्रभावसम्मलाई बुझेर अनेकन् गठजोडमात्र गरेका छैनन् दलले, अनेकन् हुने÷नहुने आश्वासन र कार्यक्रम अगाडि सारेर जनताको मत आकर्षित गर्न पनि लागिपरेका छन् । तसर्थ निर्वाचनमा भइरहेको विभिन्न दलको गठजोडको औचित्य, प्रभाव, परिणाम र नेपालको भविष्यबारे यतिखेर चर्चा चल्नु र छलफल हुनु अत्यन्त सामान्य र सान्दर्भिक विषय हो ।
देशमा भइरहेको निर्वाचनलाई चीन र भारतबीचको छनोट हो, अधिनायकवाद र लोकतन्त्रबीचको छनोट हो जस्तो अभियान चलाउँदा माथि भनेझैँ यसले विपत्तिमात्र होइन, महाविपत्ति नेपाली समाजमा निम्त्याउने पक्का छ । महाविपत्ति बेहोरेका मध्यपूर्वका, अफ्रिका र युरोपका देशहरूको इतिहास हेरौँ । देशभित्रको सामान्य राजनीतिक प्रक्रियालाई अतिरञ्जित गरी अगाडि बढाउँदा तिनले दशकौँसम्म गृहयुद्धमा फस्नुप¥यो । कांग्रेसले यसमा सद्बुद्धि पु¥याउन सक्छ ।  
नेपालमा अहिले भइरहेको नयाँ राजनीतिक प्रयोग देशको संविधानसम्मत छ र यसलाई स्वीकारेर अगाडि बढिरहेका राजनीतिक दलहरूको अनेकन् गठजोडको जय र पराजयले नेपालमा संविधानवाद र लोकतन्त्रको हरण हुने सम्भावना छैन भन्दा नै चुनावी वातावरण अत्यन्त हलुको हुन्छ, स्वतन्त्र र स्वस्थ हुन्छ । अझ खासगरी नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धनबाट देशमा अधिनायकवाद आउँछ भनी त्रास बोकेर निर्वाचन अभियान सञ्चालन गर्दा  परिणामपूर्व नै पराजय स्वीकारेको सन्देश जाँदैन र ? ठन्डा दिमागले कांग्रेस नेताहरूले सोचून् त, हामीमात्र लोकतन्त्रको रक्षा गर्ने दल हो भन्दा काठमाडौँको जनताले पत्याउँछन् कि हाँस्छन् ? अनि यहीमात्र राग अलापेर भोट बटुल्नुपर्ने बाध्यता कतिञ्जेल सुविधा होला कांग्रेसलाई ? यो त अति नै भयो । अब त सप्तरी जिल्ला पिप्रपूर्वमा बस्ने मुसहर पनि कांग्रेस लोकतन्त्र रक्षार्थ भोट माग्ने आए विश्वास नगर्ने अवस्थामा पुगिसक्यो ।
कम्युनिस्ट गठबन्धन  
कम्युनिस्ट गठबन्धन मूलतः नेकपा एमाले र माओवादी केन्द्रबीच भयो । यो  गठबन्धन किन भयो ? र, कसले गरायो ? भन्ने विषयमा राजनधानीमा धेरै राजनीतिक पण्डित र विज्ञ समूहले अनेकन् कोणबाट माथापच्छी गरेको देखिन्छ यतिखेर । अत्यन्त सरलरूपमा हेर्दा समान विचार, आदर्श र छविहरूप्रति नतमस्तक एउटै विश्वविद्यालयका पण्डितहरू एउटै छातामुनि पुग्ने क्रममा छन् भनी निष्कर्ष निकाल्न सकिन्छ । यो निष्कर्ष नै  स्वाभाविक हुनुपर्ने हो । फेरि बहुमतको सरकार निर्माणका लागि नेपालको संविधानले असहज स्थिति निर्माण गरेको छ र यसको पुस्टि केही साताअगाडि भएको स्थानीय निर्वाचनले गरेकै हो । तसर्थ भावी सरकारलाई स्थायित्व दिन वाम गठबन्धन त्यति अस्वाभाविक रणनीति नहोला ।  
सम्भवतः विश्व मानचित्रमा लोकतन्त्र भएको देशमा दुई ठूला कम्युनिस्ट शक्ति भएको देश नेपालमात्र होला । दुई ठूला कम्युनिस्टमध्ये एउटाको धराशायी हुने खतरा धेरैले अनुमान गरेको विषय हो । ठूला दुई कम्युनिस्ट पार्टीहरू नेपाली राजनीतिमा पृथक बाटोबाट अगाडि बढ्दा एउटाले अर्काविरुद्ध विष वमन गर्नेमात्र नभई सत्तामा पुग्ने बाटो पनि सधैँ अवरोध हुने अड्कल सामान्य गणितको विषय थियो । सम्भवत एमाले र माओवादी केन्द्रका नेतालाई यसबारे ढिलै भए पनि सद्बुद्धि आयो र दुवैले आफ्नो अहम् त्यागी गठजोड र क्रमशः एकीकरणसम्मको यात्रा घोषणा गरे । फेरि नेपालको राजनीतिक इतिहासले २००७ साल राजा र कांग्रेस, २०४७ साल कांग्रेस र कम्युनिस्ट र २०६३ साल सात दल र माओवादी केन्द्रबीचको सहकार्यले देशको राजनीतिक नक्शा नै परिवर्तन गर्न सफल भएको उदाहरण अगाडि छ । सम्भवतः यिनै पृष्ठभूमि र संवैधानिक जटिलताबीच नेपालको वाम गठबन्धन अगाडि आयो ।
 लोकतान्त्रिक गठबन्धन
नेपाली कांग्रेसको छातामुनि आउने र लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने अवसर अत्यन्त सीमित छ देशमा । वास्तवमा कांग्रेसले यो पटकको निर्वाचनमा जय÷पराजयको वास्ता नगरी देशभर रुख चुनाव चिह्नमा उम्मेदवारी दिन सक्नुपथ्र्यो । यसो गर्दा नयाँ संविधानअनुसार यो पार्टीको संगठन निर्माण प्रक्रिया सोहीअनुरूप विस्तारित भएर जग निर्माणको नयाँ थालनी हुन्थ्यो । तर कांग्रेसका छोटे÷बढे नेताहरूसँग त्यो साहस थिएन । नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने कुनै नेता अब कांग्रेसमा रहेनन् । यतिखेर कांग्रेसभित्र नेतामात्रको अभाव होइन, रणनीतिकार र राजनीतिक खेलाडी पनि नभएको भान हुन्छ ।
कांग्रेस एक्लैले साहस नगर्दा लोकतान्त्रिक गठबन्धनमा स्वाभाविकरूपले पूर्व कांग्रेसी नेताले नेतृत्व गरेको राष्ट्रिय जनता दलसँग यो पार्टीको स्वाभाविक चुनावी गठबन्धन हुनुपर्ने थियो । तर कांग्रेस माओवादी केन्द्रलाई सत्तामा राखेर वाम मत विभाजन गरी निर्वाचनमा जाने सोचमा थियो । कांग्रेस नेताको यस्तो सोच एमाले नेता खड्ग ओली जस्ता चतुरले नबुझ्ने कुरै थिएन । उनी ‘गेम चेन्जर’ भए र नेपालको राजनीतिक नक्शा नै परिवर्तन हुनेगरी वाम गठबन्धन गर्न अगाडि आए । फेरि कांग्रेसले उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमसँंग अनावश्यक तालमेल गर्न समय खेर फाल्यो । यादवको पृष्ठभूमि वामपन्थी हो । उनी सधँै प्रचण्डसँग कम्फोर्ट फिल गर्छन् भनी सहज अनुमान लगाउन सकिन्छ । कांग्रेस पृष्ठभूमि भएका जयप्रकाशप्रसाद गुप्ता र विजय गच्छदारसँंग सोधपुछ गर्दा कांग्रेस नेताहरूले थाहा पाउँथे कि यादवसँग सहकार्य गर्न किन र कति अप्ठ्यारो छ भनी । कांग्रेसका रणनीतिकारहरूले सामान्य कुरामा पनि ध्यान नपुगाउँदाको छटपटी अहिले देखिन्छ ।
प्रम र कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा जम्बो चिनियाँ टोलीलाई उत्तरतिरबाट तिब्बत, केरुङ, काठमाडौँ, पोखरा र लुम्बिनीसम्म रेल जोड्ने नाटकीय अभियान गर्ने अवसर प्रदान गरे । निर्वाचनको मुखमा आएर चीनका सरकारी टोलीले गरेको यो नाटकबाट नेपालका छापा प्रभावित भए र खुबै प्रचारप्रसार पनि गरे । शंकारहितरूपमा भन्न सकिन्छ यो वाम गठबन्धनलाई निर्वाचनमा सघाउ पुगाउने उद्देश्यले रचिएको नाटक थियो । प्रम र पार्टी सभापतिले उदात्त भाव राखेर यी सबै कर्म गर्न छुट दिएका हुन् कि उनको हुस्सुपनले यस्तो अवस्था आएको हो निर्वाचनपछिमात्र कांग्रेस केन्द्रीय सदस्यहरूले त्यसको हिसावकिताव गर्लान् । कांग्रेसलाई नेपालमा धेरैले मन पराउँदैनन्, यसको पछाडि कांग्रेस नेताहरूको बोली, वचन  व्यवहार र हुस्सुपन जिम्मेवार छ । तर पनि धेरै नेपालीले भोट दिने भनेको कांग्रेसलाई नै हो विगतमा । किनभने कांग्रेसको सामाजिकीकरण व्यापक भएको छ ।  केही गर्न नसके पनि आमनागरिकलाई धेरै दुःख पनि दिँदैन भन्ने विश्वास यो पार्टीलाई गरिन्छ ।
अन्तमा,
निर्वाचन परिणाम कस्तो होला ? के नेपाली जनताले नाकाबन्दीका कारण माथि भनेझँै चीनमुखी अभिमत देलान् ? वा राजनीतिक, सामाजिक र सांस्कृतिक समानता भएको र समान सभ्यतामा बाँच्न अभ्यस्त भारतमुखी अभिमत जाहेर गर्लान् ? चुनावको धु्रवीकरण यसैगरी अगाडि बढ्दैछ । चुनावी वातावरणमा वाम गठबन्धनको उत्साह बढी छ । खासगरी प्रदेश सरकार निर्माणमा कांग्रेसले कुनै तयारी र रणनीति नगरेका कारण वाम गठबन्धनमा उत्साह बढी देखिएको हो ।
जतिसुकै लेखे पनि, बोले पनि भावी निर्वाचन लोकतन्त्र छान्ने कि कम्युनिस्ट अधिनाकयवादलाई मन पराउने भनी कांग्रेसले भन्ने नै छ । यो कांग्रेसको बाध्यता हो ।  त्यस्तै अस्थिरता र भारतसँगको निर्भरतालाई चुडेर स्वतन्त्र नेपाल निर्माणका लागि वाम गठबन्धनलाई भोट माग्ने काम पनि खड्ग ओलीको नेतृत्वमा अगाडि बढ्ने नै छ । यो वाम गठबन्धनको सपना हो । तर यी सबै चुनावी हत्कण्डाबीच दलहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने नेपाली समाज वैचारिकरूपमा भोटको समय ध्रुवीकरण भएर ठूलो नोक्सानी नहोला । किनकि सि जिङ पिङ र मोदीसमेत गला मिलेर विश्व राजनीतिमा भूमिका खेल्दैछन् । तर ६ दशकअगाडि लिओ रोजले ‘नेपाल स्ट्राटेजी फर सरभाइबल’ भूराजनीतिको संवेदनशीलता बुझेर लेखेका थिए, त्यसको औचित्य र सन्दर्भ अझै समाप्त भएको छैन । यतिचाहिँ सबै दलका नेताले स्मरण गरुन् ।

प्रकाशित: २८ कार्तिक २०७४ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App