काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अकर्मण्यताले यतिबेला सम्पूर्ण मतदाताको शिर निहुरिएको छ । निर्वाचनका बेला योग्य उम्मेदवार नछानी पार्टीले जस्तो व्यक्ति उठायो त्यस्तैलाई जिताउँदाको परिणाम यस्तो हुन्छ । काठमाडौँ महानगरपालिका देशका सम्पूर्ण ७ सय ५३ स्थानीय तहका निम्ति मानक हुनुपर्नेमा लज्जास्पद अवस्था सिर्जना भएको छ ।
राम्रा मान्छे जुन दलका भए पनि मत दिएर विजयी गराउनुपर्ने रहेछ भन्ने पाठ काठमाडौँ महानगरपालिकाको असफलताबाट प्राप्त भएको छ ।
निर्वाचनका बेला असल उम्मेदवार छान्न सकिएन भने त्यसलाई सच्याउन सकिने कानुनी व्यवस्था छैन । वास्तवमा सही प्रतिनिधित्व नभएको खण्डमा त्यस्ता निर्वाचित व्यक्तिलाई फिर्ता बोलाउने (रिकल) व्यवस्था गर्नुपर्ने धारणा यदाकदा व्यक्त भए पनि त्यसलाई कानुनी व्यवस्था बनाउन सकिएको छैन । कहिलेकाहीँ लहडका भरमा पनि गलत व्यक्तिले निर्वाचन जित्न सक्छन्, त्यस्तो बेलामा फिर्ता बोलाउने व्यवस्था भए गल्ती सच्चिन सक्छ । दलहरूलाई अहिले लठ्ठी उठाए पनि निर्वाचन जितिन्छ भन्ने लागेको छ । तर, गलत व्यक्ति उम्मेदवार बनाउँदा अन्ततः त्यसले दलकै छवि बिग्रन्छ भन्ने हेक्का हुनुपर्छ । यतिबेला एमालेको हकमा काठमाडौँमा यही स्थिति देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा काठमाडौँ महानगरपालिकामा एमालेका तर्फबाट निर्वाचित शाक्यको कार्यक्षमतासम्बन्धी प्रश्नले पक्कै पनि अप्ठ्यारोमा पारेको छ । र, यो स्थितिको निराकरणबारे एमालेले सोच्नु आवश्यक छ । दलभित्रै यस विषयमा आवाज उठ्न थालिकेपछि कम क्षति हुने बाटो पहिल्याउनु पनि त्यतिकै जरुरी छ ।
झन्डै दुई दशक पुग्न लाग्दा पनि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काममा रिक्तता अनुभव भएको हो । स्थानीय तह निर्वाचन भएपछि जनप्रतिनिधिले स्थानीय जनताका विकासप्रतिका भावनालाई समेट्न सक्ने अपेक्षाले निर्वाचनमा उत्साहपूर्ण सहभागिता रहेको हाम्रो सम्झनामा ताजै छ । निर्वाचनका बेला काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले एकसय एक प्रतिबद्धता सार्वजनिक गर्दा मतदाताको सकारात्मक दृष्टि उनीमाथि परेको पनि हो । उनले सय दिनमा राखेका प्रतिबद्धता पूरा हुन सकेनन् । नयाँ संविधानको नयाँ संरचनाअनुसार काठमाडौँ महानगरपालिका अहिले मात्र बनेको होइन । काठमाडौँको महानगरपालिका राजधानी हुनु अर्थपूर्ण र महत्वपूर्ण छ । त्यति मात्र होइन यसको आफ्नै ऐतिहासिक उपस्थिति छ । अझ पिएल सिंह र केशव स्थापितजस्ता दुई नगरपिताले यसको स्वरूप र स्वभाव परिवर्तन गर्न भूमिका निर्वाह पनि गरेका हुन् । जनपक्षीय उम्मेदवारका रूपमा हरिबोल भट्टराई काठमाडौँ नगरपञ्चायतको उम्मेदवार हुँदा त्यसको आफ्नै ऐतिहासिकता र महत्वसमेत रहेको थियो । परिवर्तनको उत्कट इच्छाले घेरिएका सर्वसाधारणका निम्ति तिनी एउटा आन्दोलनजस्ता देखिन पुगेका हुन् । काठमाडौँ महानगरपालिकामा यसपटकको निर्वाचनबाट आएका व्यक्तिबाट यहाँको धुवाँ, धुलो र कोलाहलबाट मुक्ति पाउने अपेक्षामा तुषारापात हुन पुगेको छ । एउटा अकर्मण्यताको सिकार भएका व्यक्तिबाट राजधानीका सपना पूरा हुन सक्ने विषय नै भएन ।
यतिबेला मेयर शाक्यको ध्यान यहाँका नागरिकले पाएका दुःख निवारणभन्दा पनि बागदरबारजस्ता पुराना सम्पदा मासेर गरिने नयाँ निर्माणको कमिसनतर्फ बढ्ता गएको छ । महानगरपालिकाको नाकैमुनि रहेको एउटा खुला स्थान टुँडिखेल यतिबेला सम्पूर्णरूपमा हस्तक्षेपमा परेको छ । भूकम्प आएका बेला सर्वसाधारणले आश्रय लिएको यो खाली ठाउँ यतिबेला कंक्रिटको जंगलले घेरिँदै छ । पुरानो बसपार्कमा आलिसान भवन बनाउने लहडबाजीले खुलामञ्चसमेत मासिएको छ । यस्तो बेलामा उनले ध्यान पु¥याउन सकेनन् । महानगरभित्रका खाली जग्गाको व्यवस्थापन अहिलेको महानगरपालिका व्यवस्थापनबाट हुने अपेक्षा गर्न सकिएन । अहिले महानगरपालिका बसिरहेको सय वर्षभन्दा पुरानो बागदरबारलाई ‘हरि दरबार’ नामकरण गरेर भत्काउने मेयर शाक्य उद्यत भएको देखिएको छ । उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रकट गरेका अभिव्यक्तिले महानगरबासीलाई आश्चर्यमा पारेको छ । तथ्य बंग्याएर त्यसैका आधारमा काम गर्न खोज्ने उनको प्रवृत्ति रहेको देखिएको छ । रानीपोखरीको अवस्था देख्दा रुनु न हाँस्नुको अवस्थामा यहाँका नागरिक रहेका छन् । महानगरपालिकाको बजेट र क्षमताका आधारमा पनि गर्न सकिने काम धेरै छन् । तर, त्यतातिर महानगर नेतृत्वको ध्यान जान सकेको छैन । एउटा गलत व्यक्ति निर्वाचित हुँदा सम्बन्धित दलले जिते पनि मुलुक हार्ने अवस्था आउँछ । काठमाडौँ महानगरपालिकामा एमाले जित्यो तर यहाँका बासिन्दा हारेका छन् । यो घटनाबाट पाठ सिक्दै आगामी निर्वाचनमा कुनै पनि दलले उठाएका गलत मानिस जित्ने अवस्था आउनु हुँदैन । राम्रा मान्छे जुन दलका भए पनि मत दिएर विजयी गराउनुपर्ने रहेछ भन्ने पाठ काठमाडौँ महानगरपालिकाको असफलताबाट प्राप्त भएको छ ।
प्रकाशित: १६ कार्तिक २०७४ ०४:३९ बिहीबार