जनवादी गणतन्त्र चीनको १९ औँ पूर्ण बैठकले कम्युनिस्ट पार्टीको महासचिवमा राष्ट्रपति सी चिनफिङलाई चयन गरेपछि विश्वको राजनीतिमा ठूलो तरंग देखापरेको छ । चीनको कम्युनिस्ट पद्धतिमा महासचिव पद सबभन्दा शक्तिशाली हुने अहिलेको व्यवस्था छ । स्थापनाकालमा पार्टी अध्यक्ष सर्वेसर्वा हुने परम्परालाई तोडेर पछि महासचिव पदलाई प्रमुख बनाउने व्यवस्था भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको नेतृत्व नै मुलुकको प्रमुख नेतृत्व रहने परम्परा स्थापित हुन आएको हो । जसअनुसार सी चिनफिङ २०१२ नोभेम्बर १५ मा चीनको केन्द्रीय तहको पूर्ण बैठकद्वारा महासचिवमा निर्वाचित भएका थिए भने पाँच वर्षपछि पुनः उनी उक्त पदमा चुनिएका छन् ।
नेपालको वर्तमान पार्टी नेतृत्वले चिनियाँ नेता सी चिनफिङले चलाएको भ्रष्टाचारविरुद्धको अभियानबाट सिक्नुपर्ने हो । तर...।
स्वाभाविक हो चीनमा हुने राजनीतिक परिवर्तनले विश्व राजनीतिमा तरंग उत्पन्न हुनु । विश्वको सबभन्दा ठूलो जनसंख्या भएको र अर्थ व्यवस्थामा पनि पहिलो हुने बाटोमा अग्रसर भएको चीनको बढ्दो प्रभावले अमेरिका, बेलायतलगायतका विश्व अर्थतन्त्रमा आफ्नो सम्प्रभुता कायम गर्दै आएका पाश्चात्य मुलुकहरूसमेत भय र आशंकाको भुमरीमा परेपछि अबको विश्वको आर्थिक, राजनीतिक मानचित्रको स्वरूप कस्तो हुने हो भन्ने प्रश्न उठ्नु पनि त्यतिकै स्वाभाविक हो । सीकै विगतको कार्यकालमा चीनको बजार अर्थतन्त्रले विश्वलाई छपक्कै ढाक्दा पाश्चात्य मुलुकहरूमा कम्पन आइसकेकै हो र तिनै सीले पुनः दास्रो पटकको कार्यकालको नेतृत्व लिँदा र उनीपछिको चिनियाँ नेतृत्वको उत्तराधिकारको निर्धारण नहुँदा उनको प्रबलतम चिनियाँ राजनीतिक पकडले विश्वलाई आश्चर्यचकित तुल्याएको छ र यसरी अबको पाँच वर्षपछिको चिनियाँ नेतृत्व पनि सीकै हातमा पुग्ने स्थिति देखापर्नुले सीको स्थान गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओ चतुङपछि रहेको अनुभूति वर्तमान चीनले गरेको पाइन्छ । आधुनिक चीनको इतिहासको प्रमुख कालखण्डलाई विभाजन गर्ने हो भने यसलाई माओ चतुङ, तङ सियाओ फिङ र सी चिनफिङ गरी तीन कालमा विभाजन गरिएको पाइन्छ । इतिहासको प्रमुख कालखण्डमध्ये माओ चतुङको कालले चिनियाँ समाजवादको विकासका लागि पूर्वाधार तयार गरेको र तङ सियाओफिङको कालले चिनियाँ समाजवादको विकासलाई नयाँ युगमा प्रवेश गराएको अर्थमा व्याख्या गरिन्छ भने वर्तमान कालमा आएर सी चिनफिङलाई चिनियाँ विशेषतासहितको नयाँ समाजवादी युगको विकासका सूत्रधारका रूपमा स्वीकार गरेको पाइन्छ । उपर्युक्त तीनै कालमा चीनले विकासको फड्को जसरी पार गर्दै आइरहेको छ । यसले विश्वको पुँजीवादी अर्थव्यवस्थालाई त चेतावनी दिएकै छ । त्यसबाहेक बाँकी तेस्रो विश्वलाई विकासको नमुनाको पाठसमेत पढाएको छ । एउटा प्राचीन सभ्यताको केन्द्र भईकन पनि सामान्तशाही उत्पीडन र चरम आर्थिक शोषणको चपेटामा शताब्दियाँैदेखि थिचिएको मुलुकले अविकसित, अल्पविकसित, अर्धविकसित अवस्थाहरू पार गर्दै आज विश्वको विकसित मुलुकको स्थानमा पुग्नुले हामीजस्ता पछाडि परेका विपन्न मुलुकहरूका निम्ति उदाहरणीय मार्गसमेत देखाएको छ ।
सी चिनफिङले चीनको विकासको मुलभूत तत्वका रूपमा चिनियाँ विशेषतासहितको समाजवादलाई लिने गरेको पाइन्छ । त्यो समाजवाद माओ चतुङको युगमा नौलो जनवादका रूपमा थियो । तङ सियाओफिङको नेतृत्वकालमा चीनको आधुनिकीकरणका सिद्धान्तका रूपमा व्याख्यायित भयो र अहिले सी चिनफिङको युगमा आएर नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादलाई निर्देशक सिद्धान्तका रूपमा लिइएको छ र यस सिद्धान्तले चिनियाँ विकासको लामो कालखण्डलाई प्रभावित तुल्याउने संकेत पनि दिएको छ । सम्भवतः सी चिनफिङको कालखण्डमा चीनको सम्पूर्ण भू–भागमा भौतिक विकासका पूर्वाधार निर्माण भइसक्ने अनुमान पनि यसबाट गर्न सकिन्छ ।
एसियाका दुई विशाल मुलुकका बीचमा रहेको नेपालले चीन र भारत दुवैले स्वाधीनता पाएकै अवधिको हाराहारीमा एकतन्त्र शासन व्यवस्थाबाट उन्मुक्ति पाएको हो । बितेका यी वर्षहरूमा चीन र भारतले आ–आफ्नै राजनैतिक पद्धतिबाट मुलुकलाई अघि बढाए र अहिले यी दुवै हाम्रा सन्निकट मित्रराष्ट्र विकासको दु्रत गतिमा छन् । तर पनि यी दुई मुलुकबाट हामीले विकास निर्माणको उचित मार्गमा लाग्ने पद्धतिको रेखासम्म पनि तयार गर्न सकेका छैनौँ । हामी अहिले पनि राजनीतिको ट्रायल एन्ड एररकै अवस्थामा छौँ र हाम्रो अर्थनीति अहिले पनि संकटकै स्थितिमा छ ।
कुनै पनि मुलुकको निर्माण गर्ने सोचाइ लिएको नेताले आफ्ना पुर्खाले निर्माण गरेका असल कामहरूबाट पछिका लागि सिक्छ र तिनलाई पूर्वाधारका रूपमा लिएर विकासको गतिलाई अगाडि बढाउँछ । चीनले लिएको विकास–निर्माणको सिद्धान्तमध्येको पहिलो निर्देशक सिद्धान्तका रूपमा यसलाई बुभ्mन सकिन्छ । सी चिनफिङले चीनको विकास निर्माणको शृंखलालाई माओ चतुङको चिनियाँ नौलो जनवारसँग जोडेर हेरेको कुरामा कुनै शंका छैन । जुन सिद्धान्त चीनको निर्माणका लागि उपयुक्त ठहरियो यो आधुनिक युगका लागिसमेत ठीक ठह¥याइयो । यसैले आधुनिक चीनको पूर्वाधारका सूत्रधार माओ चतुङ चिनियाँ निर्माणका प्रतीक बन्न पुगेका छन् । अहिले पनि यसै शृंखलाबद्ध विकासलाई चिनियाँ विशेषतासहितको समाजवाद भन्ने गरिएको छ । यसबाट कुनै पनि मुलुकको निमार्णमा त्यस मुलुकको विशेषता झल्किनुपर्छ र त्यसले नै मुलुकलाई विकास निर्माणमा अग्रगति दिन सक्छ भन्ने पाठ चिनियाँ निर्माणको इतिहासले देखाउँछ ।
नेपालको विकास निर्माणमा नेपाली विशेषता रहेको सूत्रबद्ध योजनाका रूपमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई लिन सकिन्थ्यो । त्यो दिव्योपदेशलाई गुरु योजनाका रूपमा लिई पछिल्ला शासकहरूलाई नेपाललाई आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, वैदेशिक आदि नीतिगत सैद्धान्तिक आधारमा अगाडि बढाउने अनुकूल अवसर थियो तर राणाकालीन जहानियाँ शासनले त्यसलाई समयानुकूल अगाडि बढाउने कुरा त परै जाओस् नेपालको आर्थिक समृद्धिलाई आफ्नो परिवारिक इच्छा अनुकूल प्रयोग ग¥यो । एकतन्त्री राणाशासनपछि नेपालको लगभग एक दशक मुलुकमा राजनीतिक अस्थिरता रहनाले नेपालको योजनाबद्ध विकास पनि अलपत्र प¥यो ।
नेपाललाई आफ्नै विशेषतासहितको व्यवस्थाद्वारा मुुलुकमा राजनीति र अर्थतन्त्रको विकास गर्ने प्रयत्न राजा महेन्द्रको शासनकालमा भएको हो । पञ्चायती व्यवस्थालाई देशको माटो सुहाउँदो व्यवस्थाका रूपमा स्थापित गर्ने कार्यले गति लिन नपाउँदै महेन्द्रको निधन हुँदा त्यो योजना पनि त्यसै तुहिएर गयो । तर उनकै शासनकालमा बनेको र राजा वीरेन्द्रको शासनकालमा आएर क्रियाशील रहेको नेपाललाई पाँच विकास क्षेत्रका आधारमा समृद्ध बनाउने योजनाले सकारात्मक गति लिन सक्दा नसक्दै पञ्चायतको अन्त्यसँगै पाँच विकास क्षेत्रको समानुपातिक विकास योजना पनि लथालिंग भयो । राजा वीरेन्द्रकै शासनकालमा नेपाललाई शान्तिक्षेत्र बनाउन अन्तर्राष्ट्रिय समुदायसामु पुग्ने तरखरमा रहेको प्रस्ताव पनि भारतको असहमतिका कारण तुहिएर गयो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्मको कार्यकालमा भएका ती योजना नेपाली विशेषतासहितको राष्ट्रनिर्माणसँग नै सम्बन्धित थिए । तर ती समयमा उठेका ती योजनाहरू कुनै आन्तरिक विग्रहका कारण त कुनै बाह्य हस्तक्षेप र दबाबका कारण असफल भए । तत्कालीन भारतीय समाजवादी नेता जयप्रकाश नारायण, राममनोहर लोहिया आदिबाट उत्प्रेरित रहेको बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको नारा नेपाली कांग्रेसको पछिल्लो पिँढीलाई ठगी खाने गफ मात्र बन्यो । अनि मदन भण्डारीको जनताको बहुदलीय जनवादको अजेन्डा एमालेको फोहोर फाल्ने कन्टेनरमा पुरियो । यसरी नेपाली विशेषता झल्किने राष्ट्रिय अजेन्डाहरू केही बाँकी रहेनन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नेपालको आन्तरिक द्वन्द्वको कारण नेपाललाई विश्वसामु चिनाउने नेपालको एकीकरण र समुन्नतिका कारक तत्वहरूमाथि नै आक्रमण गरियो । नेपालको अखण्डता, सम्प्रभुता, धर्म, संस्कृति आदि माथि नै प्रहार गर्ने प्रक्रिया त्यहीँदेखि सुरु भयो र अहिलेसम्म पनि त्यस प्रक्रियाले निरन्तरता पाइरहेकै छ । देशलाई संघीयताका नाममा टुक्र्याउने षड्यन्त्र अहिले पनि चलिरहेकै छ । यसले कतै राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई नै समाप्त पार्ने त होइन भन्ने त्रास मुलुकमा व्याप्त भएको छ ।
राष्ट्रपति सी चिनफिङको नेतृत्वले देशभित्र र बाहिरी विश्वमा रहेका विद्यार्थी, मजदुर, उद्योगपति, व्यापारी आदि सबै वर्गका चिनियाँहरूलाई चीन फर्किएर आफ्नो मुलुक बनाउन र बाहिर बसेर पनि चीनको विकासमा आफ्नो बुद्धि र पुँजी लगाउनका लागि आह्वान गर्ने नीति लिएको पाइन्छ । वास्तवमा नेता तङ सियाओफिङले चीनलाई आधुनिकीकरण गर्ने अभियानको थालनी गरेदेखि नै यस नीतिमाथि जोड दिँदै आएका हुन् राष्ट्रको ठूलो जनशक्ति बाह्य विश्वमा छरिएर रहेको अवस्थामा बाहिरका चिनियाँहरूलाई स्वदेशमा रोजगारी दिने र बाहिर अर्जित सीप, दक्षता र पुँजीलाई राष्ट्रमा लगानी गर्न गरेको आह्वानको प्रतिफलका कारण पनि आधुनिक चीनको अर्थव्यवस्था यस स्थितिमा आइपुगेको हो । हामीले चीनको आधुनिकीकरण र उन्नत अर्थव्यस्थाबाट सिकेर विश्वमा छरिएर बसेको नेपाली समुदायलाई आफ्नो मुलुकमा आई सेवा गर्न आह्वान गर्ने कुरामा कन्जुस्याइँ मात्र गरिरहेका छैनौँ बरू विदेशतिर पलायन हुने शिक्षित र शारीरिक दृष्टिले सक्षम युवाहरूलाई रोकी स्वदेशमा रोजगारीको उचित अवसर दिने योजनाको कुनै संकेतसम्म पनि दिन सकेका छैनौँ । देश–विदेशमा बसोवास गर्ने सम्पूर्ण चिनियाँहरूको साझा सपनालाई मूर्त रूप दिने सी चिनफिङको नेतृत्व र समग्र चीनको विकास एक–अर्काको परिपूरक बनेको अवस्थामा हाम्रो मुलुकका पार्टी नेताहरूले पटक पटक चीनको भ्रमण गरेर पनि त्यसबाट मुलुकको उन्नतिका निम्ति कुनै पाठ नसिक्नु लज्जास्पद विषय बनेको छ । सीले चिनियाँ सपना साकार पार्ने अभियानमा ‘युवा सपनालाई उचाइमा पु¥याऔँ’ भन्ने आह्वान गरिरहँदा हाम्रो देशका युवाहरूले विदेशमा रगत–पसिना खर्चेर कमाएको सानो आयको रेमिट्यान्सलाई राष्ट्रिय अर्थोपार्जनको मुख्य स्रोतका रूपमा लिनुले हाम्रो मुलुकको आर्थिक धरातलको मापन गर्छ । यहाँका अर्थप्रशासक, योजनाकार र अर्थमन्त्रीहरूको शिर यसले निहु¥याएको छ ।
नेपालको वर्तमान पार्टी नेतृत्व पंक्तिले चिनियाँ नेता सी चिनफिङले चीनमा चलाएको भ्रष्टाचारविरुद्धको अभियानबाट सिक्नुपर्ने हो । तर ठीक विपरीत प्रायः ठूला पार्टीसँगको भ्रष्टाचारीको सम्बन्ध गहिरिँदै गएको दुखद अवस्था नेपालले भोगिरहेको छ । करोडौँ, अर्बौँ आर्थिक कारोबारका भ्रष्टाचारका काण्ड उच्च राजनीतिक प्रशासनिक नियकाहरूबाटै भइरहेका छन् । भ्रष्ट प्रशासन यन्त्र र तस्कर डनहरूसँगको मिलोमतोमा राजनीतिक क्षेत्र माफियाको जालोमा बाँधिएको अवस्था पाच्य बन्दै गएको छ । भ्रष्टाचारविरुद्ध कठोर र निर्मम बन्न आह्वान गर्ने चीनका सर्वोच्च नेता सी चिनफिङको आदर्श नेतृत्व हाम्रो मुलुकको नेतृत्व प्रंक्तिका व्यक्तिहरूका निम्ति प्रेरणादायी बन्न सकेको पाइँदैन । चीन भ्रमणमा पुगेका नेपालका कथित राजनेताहरूले सी चिनफिङसँगको भेटघाट र विचार आदानप्रदानबाट के सिकेर आउँछन् त्यसको सार्थकता नेपाली जनताका लागि नबुझिने पहेली बनेको छ ।
सांस्कृतिक दृष्टिले झन्डै १४ सय वर्ष पुरानो नेपाल–चीन सम्बन्धले चीनमा गणतन्त्रको स्थापना र नेपालमा २००७ सालको पविर्तनपछि नै राजनीतिक रूपमा नयाँ आयाम पाएको हो । चीनका संस्थापक नेताहरू माओ चतुङ, चाओ अनलाई आदिले नेपालप्रति देखाएको आदर्श मैत्रीभावले आजको चिनियाँ नेतृत्वकालसम्म पनि निरन्तरता पाइरहेको छ । नेपालले पनि संयुक्त राष्ट्रसंघमा चीनको सदस्यताका लागि गरेको समर्थन र एक चीन नीतिप्रति देखाएको सदाशयताले नेपाल–चीन सम्बन्धलाई सृदढ बनाउँदै आएको हाम्रो अनुभव छ । असंलग्न राष्ट्रहरूको वाङडुङ सम्मेलनले पारित गरेको पञ्चशीलको सिद्धान्तप्रति दुवै देश प्रतिबद्ध छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीतिका कारण पनि दुई देशबीचको सम्बन्धमा कुनै विकार आउन नसकेको र नेपालका प्रत्येक राजनीतिक परिवर्तनहरूमा चीनको मित्रवत् व्यवहारले नेपालको राजनीतिक आरोह–अवरोहहरूमा चीन तटस्थ शुभेच्छुक सहयोगीका रूपमा रहँदै आएको छ र चीन नेपाललाई आर्थिक सहयोग गर्ने राष्ट्रहरूको अग्रपंक्तिमा रहँदै आएको पनि छ ।
चीनसँग हाम्रो असल छिमेकीको मित्रता हुँदाहुँदै पनि हामीले विगतका वर्षहरूमा चीनले गरेको आर्थिक प्रगतिबाट केही सिक्न नसक्नु हाम्रा लागि दुर्भाग्य बनेको छ । अहिले नेपालको चीनसँगको सम्बन्ध आर्थिक लेनदेनका विषयमा मात्र केन्द्रित बन्न पुगेको छ । पञ्चायतकालका ३० वर्ष सम्मको शासन व्यवस्थामा चीनसँगको नेपालको सम्बन्ध पारस्परिक समझदारी र मित्रताका आधारमा चलेको थियो । यद्यपि कम्युनिस्ट व्यवस्था राजतन्त्रको विपरीतधर्मी व्यवस्थाका रूपमा विश्वमा चिनिँदै आएको हो । २०६३ मा नेपाल गणतन्त्रात्मक पद्धतिको स्थापनातिर प्रवेशको प्रक्रियामा छँदाको अवस्थामा यस मुलुकको चीनसँगको सम्बन्ध झन् बढी कसिलो बन्नुपर्ने हो र नेपालले आफ्नो यस निकटतम छिमेकीबाट धेरै कुरा सिक्नुपर्ने हो । तर नेपालका नेता र सत्तासीनहरूले पटकपटक गरेका चीन भ्रमणका प्रक्रियाहरू औपचरिकता निर्वाहको स्तरभन्दा बढी हुन सकेका छैनन् । नेपालको विकासका लागि यो दुर्भाग्य नै हो ।
विगतका वर्षहरूमा चीन पहिले गुमेका हङकङ, मकाओ आदिलाई मूल भूमिमा समाहित गर्ने प्रयत्नमा सफल हुँदै छ । तर भौगोलिक रूपमा सानो राष्ट्र नेपाल संघीयताको नाममा विखण्डनको दिशामा आगडि बढ्दै छ । चीन विश्वलाई नै दिने हैसियतमा पुगेको छ तर नेपाल झोली थापेर विश्वसामु अझै मगन्तेको अवस्थामा नै छ । मूलकभित्रको भ्रष्टाचारलाई निर्मूल गर्ने अभियानमा चिनियाँ नेतृत्व सक्रिय छ । तर नेपाल भ्रष्टाचार, तस्करी र गुण्डागर्दीको दलदलमा फस्ने प्रक्रियामा अगाडि बढ्दै छ । चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत्याएर मुलुक चलाउने धन्दामा छौं । चीन विश्वमा छरिएको जनशक्तिलाई एक हुन आह्वान गर्दैछ । हामी देशमा भएको जनशक्तिलाई पनि विदेशतिर धकेल्दै छौँ ।
प्रकाशित: १६ कार्तिक २०७४ ०४:३३ बिहीबार