समाज परिवर्तनशील हुन्छ र यसका परिवर्तनका आधार अनि स्वरूप विविध हुन्छन्। विश्व परिवेशदेखि लिएर व्यक्तिको प्रयासले समेत कुनै न कुनै स्वरूपमा समाजिक परिवर्तनका लागि भूमिका खेलेको हुन्छ। त्यसैले समय समयमा समाजको मनोवृत्तिमा आएको फरकपनाको अनुभूति गर्न सकिन्छ।
विश्व परिप्रेक्ष्यमा आएका विविध प्राविधिक र अप्राविधिक परिवर्तनहरू तथा नेपालमा भएका राजनीतिक परिवर्तनहरूले सामाजिक चेतमा ल्याएको परिवर्तनबाट नेपाली समाज अप्रभावित रहने कुरै भएन। जब समाज र राज्य ती परिवर्तित सोच र अपेक्षा सँगसँगै हिँड्न सक्दैनन् जसले गर्दा समाजमा निराशा बढ्न थाल्छ। त्यतिबेला अतिवादले जन्म लिन्छ र समाजमा अराजकता फैलाउन विविध अवसरवादी पक्षले समेत भूमिका खेल्न थाल्छ।
समाजमा जब अतिवाद हावी हुन्छ त्यतिबेला समाजका बुद्धिजीवी तथा राजनीतिक नेतृत्व तह थप सजग र सम्वेदनशील बन्न आवश्यक हुन्छ किनकि त्यतिबेला अरूको नेतृत्व नस्वीकार्ने र आफू नेतृत्व गर्न नसक्ने प्रवृत्तिका साथै नेतृत्व तहमा बसेकाहरू आफ्नो सीमिततालाई नकार्दै ‘म’ तन्त्रलाई स्थापित गराउन खोज्छ अनि समाजमा अविश्वास तीव्रताका साथ यसरी गतिशील हुन्छ कि हरेक सामाजिक सम्बन्धलाई विगतका कटु अनुभूतिहरूमाथि ठड्याउँदै ती सम्बन्धलाई कमजोर बनाउन प्रयासरत भैदिन्छ।
समाजमा जब अतिवाद हावी हुन्छ त्यतिबेला समाजका बुद्धिजीवी तथा राजनीतिक नेतृत्व तह थप सजग र सम्वेदनशील बन्न आवश्यक हुन्छ।
अहिलेको नेपाली समाजमा देखिएको विविध अवस्थामध्ये तीव्रताका साथ फैलिने गरेको यही अतिवाद हो जसको विविध कारणमध्ये एक प्रमुख कारण भनेको राज्यको समाजसँगको सम्बन्धमा आएको जीर्णता हो। समाजको शक्ति भौतिक र अभौतिक दुवै स्रोतमाथि निर्भर रहने हुँदा जब जब नेतृत्व तहले लामो समयसम्म समाजका अभौतिक तत्वहरूको निर्माण र संरक्षणप्रति उदासीन बनिदिन्छ तब तब समाजको स्वास्थ्यमा गहिरो असर पर्छ जुन अहिलेको अवस्थामा प्रष्ट भेटिन्छ।
नेपाली समाजको सांस्कृतिक फेब्रिकले गर्दा राज्यका हरेक निकायसँगको सामाजिक सम्बन्धहरू अझैसम्म पूर्णरूपमा टुटिसकेको त छैन तर विभिन्न घटना/परिघटनाले बहुसंख्यक सर्वसाधारणको दैनिकीसँग जोडिएको सकस र सहजताका आधारमा सरकारको चित्र सर्वसाधारणको मानसपटलमा कोरिने हुन्छ। जस्तो कि प्रहरीले गर्ने व्यवहार, सरकारी निकायले सेवा दिँदा गराउने अनुभूति, समाजमा अग्रणी भूमिकामा रहेकाहरूको रातारात फेरिएको जीवनशैली, अनि विभिन्न माध्यमबाट बाहिर आउने विभिन्न घातक काण्डहरू र त्यसलाई गरिएको प्रक्रियागत व्यवस्थापनको अवस्था र परिणाम, यी सबैमा समाजले बुझ्ने भनेको उदाहरणहरूबाट नै हो।
शब्दले संसार दिए पनि त्यसका उदाहरण समाजलाई दिन सकिएन भने त्यसले प्रभावकारीरूपमा कार्य गर्न सक्दैन। त्यसमाथि पनि जब समाजमा अतिवादको तुवाँलो लागेको हुन्छ जहाँ स्पष्टताको चरम अभाव हुन्छ र धमिलो पानीमा माछा मार्नेको वर्चस्व अत्यधिक बढ्छ त्यतिबेला सरकारले टुकी बाल्ने कार्य र विधिको शासनको अनुभूति समाजलाई विविध वास्तविक उदाहरण दिएर गर्नुपर्ने हुन्छ।
अहिलेको समयमा व्यक्तिदेखि विश्वसँगको सम्बन्धलाई सन्तुलित राख्दै मुलुकको हितलाई केन्द्रमा राखी नेतृत्व गर्नु सहज छैन किनभने समूहमा कार्य गर्दा आवश्यक पर्ने सामूहिक इमानदारिता, नैतिकता र उच्च मनोबलको सन्तुलन चाहिन्छ जसलाई नाप्ने कुनै यन्त्र विकसित भएको छैन। यस्तो अवस्थामा नेतृत्व तहले लिने निर्णयहरूदेखि लिएर कार्यान्वयनसम्मको समीक्षा समाजले सूक्ष्म रूपले गरिरहेको हुन्छ। अनि त्यसैका आधारमा राजनीतिक दलका सामाजिक सम्पदाको निर्माण र क्षयीकरण भैरहेको हुन्छ।
नेपाली समाजको सांस्कृतिक फेब्रिकले गर्दा राज्यका हरेक निकायसँगको सामाजिक सम्बन्धहरू अझैसम्म पूर्णरूपमा टुटिसकेको त छैन तर विभिन्न घटना/परिघटनाले बहुसंख्यक सर्वसाधारणको दैनिकीसँग जोडिएको सकस र सहजताका आधारमा सरकारको चित्र सर्वसाधारणको मानसपटलमा कोरिने हुन्छ।
नेपाली समाजको एक विशेष विशिष्टता नै भन्नुपर्छ, यो अत्यन्तै क्षमाशील छ र प्रगतिलाई अपेक्षा गरेको हुन्छ। वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने वर्तमान सरकारले देखाएका केही झलकले समाजको सरकारप्रतिको आशा र अपेक्षा बढेको देखिन्छ तर विश्वासको संकट अझै यथावत नै छ। समाजले गरेको अपेक्षा भनेको सरकारका भनाइलाई पुष्टि गर्न सक्ने यथेष्ट उदाहरण र पारदर्शिता हो जुन विगतका कार्यशैली र अभ्यासको निरन्तरताले सम्भव छैन र त्यसको वैकल्पिक संरचनाको निर्माण भएको देखिन्न। अहिले पनि विकासका लागि कस्तो जनशक्ति आवश्यक छ? किन विद्यालय तहदेखि नै विद्यार्थीहरू विदेशिन थाले? किन समाज भ्रष्टाचारले आक्रान्त छ? यस्ता प्रश्नप्रति सरकार जति सजग हुनुपथ्र्याे त्यति भएको संकेत भेटिन्न।
अहिलेको समयमा बहुसंख्यक सर्वसाधारणको मनमा उब्जिएको ताजा प्रश्न भनेको जुन किसिमले सरकारका शब्द र निर्देशनहरू सुनिँदैछ साँच्चै त्यही अनुरूपका उदाहरण समाजलाई दिन सक्लान्? पछिल्लो समयमा बाहिर आएका केही काण्ड जो अन्तर्राष्ट्रिय स्तरमै छताछुल्ल भएका छन्, तिनमा संलग्न सम्पूर्णलाई विधिको शासनको अनुभूति गराइएला? सरकार त्यति सशक्तरूपमा कार्य गर्न सक्ला ? समाजसँग शंका छ र सरकारसँग क्षमता अभाव यो अर्थमा कि सरकारले राज्यका सम्पूर्ण निकाय, नीति तथा आन्तरिक र बाह्य विविध शक्ति सन्तुलन गर्दा भैपरी आउने अवस्थालाई थेग्न सक्ने आधार कमजोर छ। नैतिक बलका लागि आवश्यक पूर्वाधारहरूको निर्माणसमेत गरेको देखिन्न। अहिलेको अवस्थालाई आधार मानी वर्तमान सरकारका सकसहरू नियाल्ने हो भने यसप्रकार देखिन्छ-
– अतिवादमा आधारित समाजमा गहिरो जरो गाडेर बसेका भाष्यहरू,
– समाजलाई निरन्तर अशक्तीकरण गर्न उत्साहित दलीयकरणमा गाँजेका सञ्चालित विज्ञहरू, – परिवर्तन गर्दा हुन सक्ने जोखिमबाट डराउने प्रवृत्ति,
– सहजताकै निरन्तरता रुचाउने प्रवृत्ति बोकेका ठूलो समूह,
– सिंहदरवारमा सहज पहुँच स्थापित गरेका छद्म सामाजिक विज्ञ समूह,
– समाजको प्राथमिकता भन्दा पनि अन्य विविध प्रभावले विचारमा सहजै विचलन हुने राजनीतिक नेतृत्व तहको प्रवृत्ति,
– समयसापेक्ष परिमार्जन गर्न नसकिएको राजनीतिक संस्कार,
– राज्यले उत्पादन गर्न नसकेको स्वतन्त्र निष्पक्ष बौद्धिक समूह,
यी त सरकारका केही सकस भए तर सधैँ सकस र समस्याको मात्रै व्याख्या/विश्लेष्णले पुग्दैन। जतिसुकै सम्भावित अवरोध भए पनि समाज र परिवेश सुहाउँदो समाधानतर्फ पाइला चाल्नैपर्ने हुन्छ। यसै क्रममा समाधानतर्फ नियाल्ने हो भने सर्वप्रथम भत्किएका सामाजिक विश्वासलाई आर्जन गर्न तहगत पहल गर्नुपर्छ। जसको ठोस सुरुवात अझैसम्म भएको देखिँदैन, आफ्नो बुझाइ लाद्ने, स्वस्थ सम्वादको अभाव, आत्मरतिमा रमाउने धुपौरे प्रवृत्तिलाई प्रोत्साहन गर्ने निरन्तरताको अन्त हुन सकेको देखिन्न।
हुन त प्रमाणित गर्न नसकेसम्म कतिपय परिस्थितिलाई समाजले स्टन्टकै रूपमा हेर्नु स्वाभाविक हो। त्यसैले समाजको पिँधमा अनुभूति गर्न सकिने गरी दैनिकीको सहजता नै केन्द्रमा राख्ने गरी सुरुवात गर्न ढिलो गरिनु हुँदैन। यसका लागि विगतदेखिका स्थापित अभ्यास भन्दा पृथक अभ्यासको सुरुवात गरिनुपर्छ। अतिवादको अन्त गर्न आफ्नै परिधिबाट सुरुवात गरिँदा बढी प्रभावकारी हुन्छ। समाजलाई सशक्तीकरण गर्ने विचार, कार्य र उदाहरण समाजकै गाउँघर बुझेका, समाजका विविध पृष्ठभूमिका भावनालाई सम्मान गर्न सक्ने क्षमता भएकाहरूमार्फत समाजका जराजरासम्म पुर्याउने सुरुवात गरिनुपर्छ। राजनीतिक भागबन्डाले आश र त्रासमा बाँचेकाहरूलाई विकल्पसहितको क्षमतामा आधारित अवसरहरूसँग जोड्ने अभ्यासको पनि उत्तिकै खाँचो देखिन्छ।
हुन त प्रमाणित गर्न नसकेसम्म कतिपय परिस्थितिलाई समाजले स्टन्टकै रूपमा हेर्नु स्वाभाविक हो। त्यसैले समाजको पिँधमा अनुभूति गर्न सकिने गरी दैनिकीको सहजता नै केन्द्रमा राख्ने गरी सुरुवात गर्न ढिलो गरिनु हुँदैन।
कागजका डिग्री र पुस्तक पढेकाहरूभन्दा समाजको धरातल बुझेकासँग रहेको ज्ञान, सूचना र अनुभूतिलाई समेट्दै सरकार र समाजबीच निर्मित खाडल पुर्ने सुरुवात गरिनुपर्छ। एउटा राष्ट्रिय स्तरको बौद्धिक समूह निर्माण गरिनुपर्छ जसलाई जुनसुकै राजनीतिक दल सत्तामा होस् वा प्रतिपक्षमा त्यसले कुनै असर नपारोस्, सधैँ स्वतन्त्र बौद्धिक चिन्तकका रूपमा स्वाभिमानका साथ मुलुकका लागि सोच्न केहिले पनि नछेकोस्।
-झा समाजशास्त्री हुन्।
प्रकाशित: १५ भाद्र २०८० ००:३१ शुक्रबार