२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

क्यान्सर ओखतीको विश्वव्यापी बेथिति

अर्बुद रोग (क्यान्सर) को पीडा सामना नगर्ने परिवार भेट्न कठिन छ। लाखौँ रुपियाँ खर्चिएर इलाज गर्दासमेत क्यान्सर भने ठीक नभएर परिवार सडकमा पुगेको परिदृश्य नयाँ होइन। डाक्टरको सल्लाहमुताबिक भर्खरै प्रचलनमा आएको ओखती अमेरिकाबाट ल्याएर दिँदा पनि सञ्चो भएन भन्ने क्यान्सरपीडितका गुनासो पनि सुनिन्छ। भर्खरै प्रयोगको अनुमति पाएको अत्याधुनिक ओखती दिँदासमेत किन रोगीको आयु  

२–४ महिनाभन्दा बढाउन सकिएन त? उत्तर उपचारमा संलग्न चिकित्सकसँग पनि हुँदैन। केबल भगवान याचना परिवारको नियति बन्छ। महारोगको इलाजका लागि अनुमति पाएका धेरै ओखती किन प्रभावकारी छैनन् त भन्ने प्रश्नको वैज्ञानिक विश्लेषण र कानुनी पाटोको उत्खनन् यो आलेखको उद्देश्य हो।  

सन् १९८० को दशकमा एचआइभी र एड्सका कारण संसार आक्रान्त थियो। संसारभरका हजारौँ वैज्ञानिकले वर्षौँसम्म अहोरात्र खट्दासमेत एड्सको कुनै ओखती पत्ता लागेन। रोगीका लागि मृत्युवरणभन्दा अर्को विकल्प थिएन।  

एड्सका कारण मृत्युशैय्यामा पुगेका व्यक्तिहरू बाँच्ने आशामा आफू कुनै पनि नयाँ परीक्षणको ‘गिनी पिग’ बन्न तयार रहेको सन्देश दिन संसारभरका प्रदर्शनमा होमिए। अधिकारकर्मीहरू एड्सपीडितको अधिकार रक्षाको वकालत गर्न थाले। सर्वत्रको दबाबपछि अमेरिकाले सन् १९९२ मा ‘एक्सिलिरेटेड एप्रुभल प्रोग्राम’ सुरु गर्यो। यो प्रोग्रामअन्तर्गत अन्य कुनै स्पष्ट उपचार विधि उपलब्ध नभएका रोगीमा नयाँ ओखती परीक्षण गर्ने बाटो खुल्यो। एड्स प्रोटोकलका रूपमा प्रारम्भ भएको यो विधिले पछि क्यान्सर, अटो इम्युन श्रेणीका रोग तथा रेयर डिजिज इलाजको अवसर पनि बन्यो।  

क्यान्सरका एक्सिलिरेटेड एप्रुभल प्रोग्राममार्फत  स्वीकृति पाएका ओखती इलाजमा प्रभावकारी नहुने सम्भावना ५० प्रतिशतसम्म हुने हेक्का राख्नुपर्छ ।  

सामान्य ओखतीलाई बजारसम्म पुग्न प्रि–क्लिनिकल ट्रायल अनि तीन चरणका क्लिनिकल परीक्षणमा अब्बल सावित गर्न झण्डै एक दशक लाग्छ भने यो द्रुत विधिअन्तर्गत पर्ने केमिकल बिरामीको पाखुरामा पुग्न केही वर्षमै सफल हुन सक्छ। यो श्रेणीमा परेको रासायनिक पदार्थले बिरामीलाई संगिन जटिलता नदिएको अनि ओखती नखाने समूह भन्दा रोगीको अवस्था सुधारोन्मुख देखिएको प्रारम्भिक नतिजालाई पर्याप्त ठान्छ। स्पष्ट भन्नुपर्दा सानो संख्याका बिरामीमा परीक्षण गर्दा भाइटल गर्नेन्सलाई कुनै प्रतिकूल प्रभाव नपारी क्यान्सरजन्य ट्युमरको साइज घटेको भन्ने प्रमाण नै ड्रग्सको प्रिलिमिनरी एप्रुभलका लागि यथेष्ट हुन्छ। यद्यपि औषधि उत्पादक कम्पनीले पछि रोगीको जमातमा उक्त औषधिले कस्तो प्रभाव देखायो भन्ने जानकारी भने गराउनुपर्छ। ठूलो संख्यामा सकारात्मक परीक्षण देखिए उक्त ओखतीले बेरोकतोक प्रयोगको अनुमति पाउँछ भने अन्यथा भएमा त्यस्ता औषधिलाई बन्देज गरिन्छ। साथै, उक्त तथ्यांक संकलनका लागि उत्पादक कम्पनीले लामै समय पाउँछ।  

अब केही एक्सिलिरेटेड एप्रुभल पाएका ओखतीको वास्तविक तथ्यांक हेरौँ। अमेरिकाको औषधि अनुगमन निकाय युएसफुड एन्ड ड्रग्स एजेन्सी (एफडिए) ले स्विट्जरल्यान्डको औषधि उत्पादक कम्पनी रोसले आविष्कार गरेको मोनोक्लोनल एन्टिबडीको श्रेणीमा पर्ने एटेजुलिम्याब भन्ने ओखती ब्लाडर क्यान्सरका बिरामीमा प्रयोग गर्ने गरी सन् २०१६ मेमा द्रुत परीक्षणको स्वीकृति गर्यो। ठूलो जमातमा परीक्षण गर्दा उक्त ओखतीले बिरामीलाई सन्चो पारेको कुनै संकेत देखिएन। संलग्न वैज्ञानिकहरूले ओखतीले बिरामीमा पारेको नकारात्मक असरको फेहरिस्त तयार गरी सन् २०१८ फेब्रुअरीमा अनुसन्धानात्मक रिपोर्ट प्रकाशित गरे। सामान्यतः उक्त नकारात्मक नतीजा बाहिरिनेबित्तिकै ओखतीको प्रयोग तुरुन्त बन्द हुनुपर्ने थियो। तर एफडिएले उक्त ओखतीमा बन्देज लगाएको विज्ञप्ती निकाल्न तीन वर्ष लगायो। सन् २०२१ मार्चमा बल्ल उक्त ओखतीमा बन्देज लाग्यो।  

डाक्टरहरूको अज्ञानता, देशको औषधि अनुगमन संयन्त्र तथा औषधि उत्पादकको पैसाप्रतिको आशक्तिमध्ये कुन कुराले चिकित्सा क्षेत्रलाई त्यस्तो विसंगतिको दोसाँधमा उभ्यायो? बहस जरुरी भइसकेको छ।

सन् २०१८ देखि २०२१ को बीचमा ब्लाडर क्यान्सरका बिरामीले एटेजुलिम्याब सेवन गरी बेहोरेको धनजनको क्षतिको कसले लेखाजोखा राख्ने? कति नेपाली त्यसको सिकार भए होला? एउटा रोग निको पार्न बनाएको औषधि अर्को लक्षण ठीक गर्न मद्दत गर्छ भनी गरिने परीक्षणलाई ‘रिपर्पस’ गर्ने भनिन्छ। रोसले ब्लाडरको क्यान्सरका लागि बनाएको त्यही औषधि एटेजुलिम्याबले स्तनको क्यान्सरसमेत सन्चो पार्ने लघु तथ्यांक प्रस्तुत गरी द्रुत स्वीकृतिका लागि निवेदन हाल्यो। नभन्दै एफडिएले २०१९ मार्चमा ब्रेस्ट क्यान्सर इलाजमा प्रयोग गर्न अनुमति दियो। सन् २०२१ मेमा उक्त ओखतीले स्तन क्यान्सरका बिरामीलाई सन्चो पार्न नसकेको नतिजा सार्वजनिक भयो। उक्त खबर आएको दुई महिनापछि मात्र उक्त ओखती अमेरिका प्रयोग गर्न नपाइने भयो।  

अमेरिकामा प्रतिबन्धित भएको उक्त ओखती संसारका अन्य मुलुकमा के हँुदैछ त? भन्ने प्रश्न उठ्छ नै। त्यसै सन्दर्भमा भारतको नैयर मेडिकल हस्पिटल, बम्बइका क्यान्सर विशेषज्ञ अमोल अखाडेले दबाइ उत्पादक कम्पनी रोसका प्रतिनिधिले अमेरिका र युरोपमा प्रतिबन्ध लागिसकेपछि आफूलाई स्तन क्यान्सरका बिरामीलाई एटेजुलिम्याब प्रयोग गर्न सल्लाह दिएको बताए। दबाइ कम्पनीको प्रतिनिधिले उक्त ओखती अमेरिकामा प्रतिबन्धित भए पनि भारतको दबाइ अनुगमन निकाय सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले कुनै निर्णय नगरेका कारण प्रयोग गर्न दबाब दिएको जानकारी गराए उनले एउटा अन्तर्वार्तामा। भारतमा त त्यस्तो लज्जास्पद अवस्था छ भने नेपालमा क्यान्सरका ओखतीको अवस्था कस्तो होला?  

यसै महिना ‘नेचर’ जर्नलमा संसारका धेरै अविकसित देशमा प्रभावकारी छैन भन्ने जान्दाजान्दै पनि ओखतीहरू डाक्टरले बिरामीलाई सेवनका लागि सल्लाह दिने गरेका खबर सार्वजनिक गर्यो। क्यान्सरका दर्जनौँ ओखती विकसित देशका फार्मेसीहरूबाट हटाइएको वर्षौँपछि पनि गरिब मुलुकमा बिक्री वितरण हुने गरेको प्रमाण नेचरको उक्त रिपोर्टमा थियो। आखिर औषधि उपचार जस्तो संवेदनशील क्षेत्रमा समेत किन त्यस्तो हेल्चेक्र्याइँ हुन्छ? निकम्बा साबित क्यान्सरका ओखतीहरू कति पछिसम्म बजारमा रहे त भन्ने सम्बन्धमा ‘जामा अन्कोलोजी’ जर्नलमा सन् २०२३ फेब्रुअरीमा एक अध्ययन प्रकाशित भयो। अध्ययनमा प्रस्तुत आँकडाअनुसार बेकामे ठहर भएको चार वर्षसम्म पनि क्यान्सरको ओखती गरिब मुलुकमा प्रयोग भएको देखियो। डाक्टरहरूको अज्ञानता, देशको औषधि अनुगमन संयन्त्र तथा औषधि उत्पादकको पैसाप्रतिको आशक्तिमध्ये कुन कुराले चिकित्सा क्षेत्रलाई त्यस्तो विसंगतिको दोसाँधमा उभ्यायो? बहस जरुरी भइसकेको छ।

नेपालको औषधि व्यवस्था विभाग झैं संसारका सबै देशका औषधि अनुगमन निकायले आफ्नो दबाइ अनुगमनका लागि अमेरिकाको एफडिएको निर्देशन मार्गदर्शकका रूपमा मान्छन। अमेरिकाले मोडर्ना र फाइजरका कोभिड–१९ महामारीविरुद्धको खोपलाई इमर्जेन्सी प्रयोगका लागि अनुमति दिनेबित्तिकै कसरी संसारले ती खोपलाई स्वीकृति दियो भन्ने सबैको जानकारीमा छ नै। यसरी एफडिएले कुनै औषधिलाई अनुमति दिनेबित्तिकै संसारले आफ्नो मुलुकमा प्रयोगको स्वीकृति दिने तर उक्त औषधिमा बन्देज लाग्दा भने  ्आफ्नो निणयमा ढिलाई गर्ने गरेको देखिन्छ। त्यसमा औषधि उत्पादकको पैसाले कति भूमिका खेल्छ त्यो बेग्लै अध्ययनको पाटो बन्ला। 

प्रकाशित: ५ भाद्र २०८० ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App