२०४६ सालको जनक्रान्तिमा तत्कालीन प्रतिबन्धित कांग्रेसका युवा नेता र वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा त्यसबेला सुदूरका युवा बहुदलीय व्यवस्था माग गर्दैै दिनहूँ सडकमा उत्रिएका थिए। पछि नेका पार्टीको निर्देशनमा युरोपेली मुलुकको समर्थन जुटाउन देउवा बेलायत गए। टेकबहादुर चोख्याल, हिरादत्त भट्ट, बलदेव बोहोरा, तारिणीदत्त चटौत, सुरेश मल्ल, भरत खड्का, अर्जुनजंगबहादुर सिंह, ज्योतिप्रकाश जोशी, सुशीला स्वाँर, एनपी साउद, गोविन्दबहादुर शाह, पुष्कर ओझा, नारणदत्त मिश्र, रामजनम चौधरीलगायत त्यसबेलाका युवाले तराईदेखि हिमालसम्म बहुदलीय व्यवस्था स्थापनाका लागि ठूलो योगदान गरेको इतिहास छ। प्रेमसिंह धामी, भीम रावल, भोजराज जोशी, उर्वादत्त पन्तलगायतका वामनेतालाई पनि जनक्रान्तिमा भुल्न सकिन्न।
सुदूरको वर्तमान
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशका हालका जिल्ला समावेश गरी एउटै प्रान्त गरिएको थियो। सो कुरा सुदूरपश्चिमका र कर्णाली प्रदेशका जनतालाई पनि मान्य भएन। राजधानीमा सुदूरपश्चिम बेग्लै प्रान्त हुनुपर्छ भनेर हामीले आन्दोलन पनि गर्यौँ। केही दिनको दबाबपछि हाम्रो एकसूत्रीय माग पूरा भयो। अहिले सुदूरपश्चिम सरकार आफ्नै अस्तित्वमा छ। देशका हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको अवस्थामा सुपको सरकार यसबाट जोगिन जरुरी छ।
हाल संसद्मा चौथो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाछिटा आगामी चुनावमा सुदूरको भूमिमा पनि नपर्लान् भन्न सकिन्न। यहाँका जनताको माग दिन-प्रतिदिन बढेका बढ्यै छन्। सबैका माग गठबन्धन सरकारमा पूरा हुन सक्छन् भन्न पनि सकिन्न। कार्यालय सहयोगीको सरुवादेखि बिरामीको औषधी उपचार खर्चसम्मको कामका लागि राजनीतिक भेट गर्न सुदूरका र देशभरका सयौँ मानिस देउवा निवासमा प्रतिदिन जम्मा हुने गर्छन्। अरू पार्टीप्रति आस्था राख्ने कार्यकर्ता पनि कहिलेकाहीँ त्यहाँ पुगेका देखिन्छन्।
समयले कोल्टो फेरिसक्यो। कुनैबेला काँग्रेस पार्टीप्रति मात्र आस्था राख्ने व्यक्तिहरू अहिले अन्यत्र पनि आकर्षित हुन थालेका छन्। देशको दोस्रो ठूलो राजनीतिक नेकपा एमालेमा पनि यही गति देखिन्छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा भीम रावल परेका छन्। उनको राजनीतिक विरासत क्रमिकरूपमा ओझेलमा पर्दैछ। कुनैबेला किसुनजीले आर.एस.एस. (रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य) भनेर पदवी दिएकामध्ये राजनीतिको केन्द्रमा विगत वर्षहरूदेखि देउवा निर्णायक भूमिकामा छन्।
८० वर्षका शेरबहादुर देउवापछि सुदूरको माटोले कसलाई राजनीतिक विरासत हस्तान्तरण गर्ला ? जवाफ सहज छैन ।
काँग्रेस भित्रि दुई पटकसम्म सभापतिसमेत रहेका देउवाको टिकाटिप्पणी नभएको होइन। आफ्नो राजनीतिक अडानमा चट्टान भएर उभिने उनको युवा अवस्थादेखिको बानी अहिले पनि यथावत छ। परिणाम उनको विरोध गर्नेहरू पनि सामुन्नेमा सम्मान जनाउँछन्। देउवा देउडा खेलाडी मात्र होइनन्, राजनीतिका पक्का खेलाडी पनि हुन्। जसको पछिल्लो उदाहरण हो– गत पुस १० गते प्रम पदको समर्थनका लागि केपी ओली निवास बालकोट पुगेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस २६ गते संसद्मा काँग्रेसका तर्फबाट पार्टीका तर्फबाट विश्वासको मत दिलाउनु।
राजनीतिक विरासत
वर्तमानमा सुदूरपश्चिमको राजनीतिक एकनाशको छैन। कैलालीमा रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीको बोलवाला छ। कुनैबेला वामदेव गौतमलाई पराजित गरेको काँग्रसका काशी गौतम र वर्तमानमा सांसद सञ्जय गौतमको पकड मानिएको बर्दियामा यो पार्टीले एक सिट जित हात पारेको छ। कैलालीको टीकापुरमा नेकाको पकड मानिएको स्थानमा पनि ढकियाकै नागरिक उन्मिुक्तिकै बोलवाला छ। कैलाली कञ्चनपुरमा कुनैबेला देउवाको व्यक्तित्व हेरेर आस्थावान मतदाताहरू बिस्तारै अन्यत्र किन पलायन हुँदैछन् यस विषयमा अरू कांग्रेसीजनले पनि चासो राख्नु जरुरी छ।
देउवा ८० वर्षको हाराहारीमा पुगिसके। देशको भौगोलिक अवस्थाका कारण उनको सक्रियता अब सुपमा पहिलेको जस्तो नहुन सक्छ। राष्ट्रिय राजनीतिमा र विदेशमा समेत पार्टीका तर्फबाट उचो कद भएको व्यक्तित्व सुदूरको भूमिमा देउवाबाहेक कोही पनि देखिन्न। यो रिक्तता धेरै वर्षसम्म त्यहाँका जनताले भोग्नुपर्ने छ। ज्योतिषिमा विश्वास गर्ने राजरेखा परेका उनलाई पाँचपटक प्रधानमन्त्री पदमा आसीन गराउन नेतृ आरजु देउवाको पनि उत्तिकै साथ रहेको मानिन्छ। सभा÷समारोहहरूमा कम तर सटिक बोल्ने देउवाको बोली स्पष्टरूपमा नबुझ्नेहरूको ठूलै पंक्ति छ। प्रतिबन्धित कालमा उनको जिब्रोमा तत्कालीन सरकारले करेन्ट लगाएकाले त्यसो भएको हो भनिन्छ। पूर्वमन्त्री टेकबहादुर चोख्याल देउवापछिका कांग्रेसका भरपर्दा नेता थिए। अब उनी यो धरतीमा रहेनन्। यही कारण दोस्रो देउवा जन्माउन धेरै वर्ष कुर्नुपर्ने देखिन्छ।
प्रकाशित: ५ भाद्र २०८० ००:३४ मंगलबार