हाम्रो सरकारले २०६३ सालयता राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छैन। यसबारे हरेक वर्ष अनेक तर्क, वितर्क चलिरहन्छन्। पूर्वराजादेखि राजावादी राजनीतिज्ञ हुँदै केही जनसाधारणसमेतले यस दिनको महत्वबारे स्वरमा स्वर मिलाउने गर्छन्। भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको उल्लेख गर्दै पृथ्वी जयन्तीको अवसरमा गत वर्ष पनि पूर्वराजा ज्ञानेन्› शाहले शुभकामना वक्तव्य जारी गरेका थिए। तर यसपछिका सात महिना बितिसक्दा यसबारे न त सरकारले केही निर्णय गर्न सकेको छ, न त यसको माग गर्नेहरूकै ध्यान गएको छ।
अहिलेका हाम्रा समस्या पृथ्वीनारायण शाहको एकीकरण–अचेतनाका कारण सिर्जना भएका होइनन्।
राजनीतिक सहमतिबिना सरकारले यस सम्बन्धमा कुनै भूमिका खेल्न नसक्ने बताउँदै आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वी जयन्तीको अघिल्लो दिन एक सार्वजनिक कार्यक्रममा पृथ्वीनारायण शाहको भूमिकाप्रति गौरव गर्नुपर्ने र उनले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने बताएका थिए। पुस २७ गते सार्वजनिक बिदा दिनुपर्नेमा सैद्धान्तिक सहमतिका आधारमा अर्को बैठकबाट निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्कै सामाजिक समितिलाई दिइएको थियो। यसै सहमतिलाई सञ्चार माध्यमहरूले पुस २७ सरकारले सार्वजनिक बिदासहित पृथ्वी जयन्ती मनाउने निर्णय गर्यो भन्दै समाचार सार्वजनिक गरे। तर त्यसपछि तत्कालीन गृहमन्त्री विमलेन्› निधिको अध्यक्षतामा बसेको समितिको बैठकमा यो विषय नै प्रवेश गराइएन। यसै विषयलाई राष्ट्र र जनताप्रति गम्भीर धोका र अपमान भएको बताउँदै तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री दिलनाथ गिरीले समितिको बैठक नै बहिष्कार गरेका थिए। राप्रपाका केन्›ीय सदस्यसमेत रहेका गिरीकाअनुसार यही साउनको पहिलो हप्ताको पार्टीको बैठकले पृथ्वीनारायण शाहको फोटो अंकित नोट प्रचलनमा ल्याइनुपर्ने माग सरकारसँग गर्ने निर्णय गरेको छ।
पृथ्वीनारायणको नेतृत्वमा एकीकृत यो भूगोलमा उनको सम्झना र सम्मान राज्यले गर्न छोडिसकेको अवस्थामा सामान्यजनको परिचय आफ्नो अनुकूल जसरी पनि दिन स्वतन्त्र छौँ, हामी। पृथ्वीनारायण शाहयता १२ राजा र ३९ प्रधानमन्त्रीले सत्ताको बागडोर सम्हालिसकेको वर्तमान नेपाल राज्य अहिले इतिहासको सर्वाधिक महत्वपूर्ण मोडमा उभिएको छ। यो मोड २५० वर्ष लामो राजसंस्थाबाट गणतन्त्रमा रूपातन्तरणको संक्रमण कालको पनि हो।
हिजोसम्म नेपालको अन्तर्राष्ट्रिय परिचयमा हिन्दू राज्य, राजतन्त्र, सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मस्थल प्रमुख थिए। यी प्रमुख मानिएकामध्ये पहिलो दुई परिचय अब बाँकी रहेनन्। यस पंक्तिकारले नेपालबाहिर हुर्कंदै गरेका हाइस्कुलभन्दा तल अध्ययनरत ११—१७ उमेरका तीन जना नेपाली मूलका र एक जना अमेरिकीलाई नेपालबारे जुनसुकै माध्यम प्रयोग गरेर १० वटा प्रमुख तथ्य सोधेको थियो। उनीहरूले आधा घन्टाभित्र बताएका १० तथ्यहरूमा सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थान, नेपालको त्रिकोण आकारको झन्डा, धर्म निरपेक्षता र स्वाधीनता अर्थात् कहिल्यै कसैको उपनिवेश नभएको कुरामा समानता रह्यो। त्यसबाहेक नेपालको आफ्नै साल प्रचलनमा रहेको, उच्च हिम शृंखला र जलस्रोत पनि छन्। अमेरिकी बालिका राइली हेन्नाले नेपाली भाषा र शिष्टाचार शब्द नमस्ते पनि प्रमुख १० परिचयमा राखिन्। क्यानडामा हुर्केका अल्बर्ट बस्ताकोटीले प्रतिव्यक्ति नेपालीको आय १ डलर थपे। अमेरिकामा हुर्केकी सुलेखा भण्डारीका थप तथ्यमा ८० प्रतिशत नेपाली ग्रामीण इलाकामा बस्छन् भने यहाँ १ सयभन्दा बढी भाषा बोलिन्छन्। अस्ट्रेलिया बसोबास गर्दै आएकी अबिशा पौडेलले जीवित देवी, भूपरिवेष्ठित देश र एक सिङ्गे गैंडाको बासस्थान पनि समेटिन्।
नेपालमा गणतन्त्र स्थापनापछि राज्यले उनको सम्झना र सम्मान गर्न छोडेको विषयलाई लिएर अमेरिकी नेपाली समाजका केही अगुवा प्रतिनिधिहरूसँग पनि यो पंक्तिकारले प्रतिक्रिया लिएको थियो। राजसंस्थाको समर्थन वा विरोध नै गरे पनि राज्यले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको श्रेय, सम्मान र स्मरण गर्न कन्जुस्याइँ गर्न भने नहुने अभिमत उहाँहरूको छ।
एनआरएन अमेरिकाको पूर्वअध्यक्ष तथा नेपालको परराष्ट्र मन्त्रालयका गैरआवासीय नेपाली अवैतनिक सल्लाहकार खगेन्› जीसीकाअनुसार पृथ्वीनारायण नेपालको राष्ट्रियताको पहिलो मानक हुन्। राष्ट्रियता वा इतिहासका धरोधरहरूमा राजनीतिक प्रतिशोध राख्नुहुँदैन। नेपालको अस्तित्वसँग जोडिएको इतिहास मेटेर म नै सर्वेसर्वा भन्नु मेरा बाजे बराजु वा पुर्खा कोही थिएनन् र म आकाशबाट सीधै धर्तीमा आएको हुँ भन्नु उस्तै हो।
भर्जिनियास्थित नोभा कम्युनिटी कलेजमा प्राध्यापन गर्ने सुखदेव साह अहिलेको नेपाल पृथ्वीनारायणकै नेतृत्वमा एकीकृत भूगोलभित्र कायम रहेकाले उनको भूमिकाको राज्यले स्मरण गर्नुपर्ने बताउनुहुन्छ। साहकाअनुसार पृथ्वीनारायणपछिका शासकहरूले सबै समुदायका जनताबीच भावनात्मक एकता भने कायम गर्न सकेनन्। आजको सन्दर्भमा सबै भूगोल र समुदायका जनताको स्वामित्व हुनेगरी राष्ट्रिय एकता दिवस मनाउन सके यसको सार्थकता हुन्छ।
राजनीतिशास्त्रका प्राध्यापक महेन्› लावती पृथ्वीनारायण शाहले नेपाल एकीकरण वा गोर्खा राज्यको विस्तार गरेका हुन् भन्ने प्रश्न उठ्ने गरेको बताउनुहुन्छ। प्राध्यापक लावतीकाअनुसार लडाइँमा जितहार र मारकाट हुन्छ तर पृथ्वीनारायणले तत्कालीन समयको लडाइँको नियम पालना गरेका थिएनन्। लावतीको थप टिप्पणी छ, भौगोलिक मात्र नभएर सांस्कृतिक आर्थिक र भाषिक विभेद उनकै पालाबाट सुरु भएर आज पर्यन्त राज्यले सबै क्षेत्र समुदायका जनतामा समान व्यवहार गर्न सकिरहेको छैन।
प्राध्यापक लावती थप्नुहुन्छ, अमेरिकामा पनि लामो समयसम्म आदिवासीहरूमाथि दमन थियो। तर धेरैपछि सन् २००९ मा राज्यले उनीहरूसँग माफी माग्यो। भूलहरूप्रति मागिने माफी पनि मेलमिलापको एउटा पाटो हुनसक्छ।
राजनीतिक विश्लेषक सुरेन्› देवकोटा पृथ्वीनारायण शाहको योगदानलाई राज्यले सम्झना नगर्नु गणतन्त्रपछिको सरकारको बदमासी भएको बताउनुहुन्छ। नेपालको एकीकरण भएदेखि नै ब्रिटिस इन्डिया कम्पनीले नेपालप्रति कुदृष्टि राख्दै आएको थियो। ब्रिटिस इन्डिया कम्पनीले पृथ्वीनारायणको एकीकरणलाई राम्रो मानेन र उनलाई नकारात्मक छविका रूपमा प्रचार गर्दै आयो। उनीहरूको त्यही दुराशय गणतन्त्रपछिको सरकारले पूरा गरिदियो। इतिहासको तथ्यलाई बंग्याउन कसैले पाउँदैन, राज्यले गलत गर्नेलाई दण्डित गर्दै गल्ती सच्याउनुपर्छ।
अढाई सय वर्ष पहिलेको समयमा हुने राज्य–राज्यबीचका लडाइँहरूमा भएका कमीकमजोरीलाई लिएर एक्काइसौँ शताब्दीका नयाँ दृष्टिकोणसँग तुलना गर्न मिल्दैन। इरानी बादशाह नदेर शाहले दिल्ली आक्रमण गर्दा दिल्लीका नालाहरूमा पानी होइन, रगत बगेको इतिहास छ। यस्तो हुनु राम्रो थिएन तर त्यस बेलाका मानिसले त्यस्तै गरे। हामीले पनि नयाँ परिस्थितिमा पृथ्वीनारायणलाई राष्ट्र निर्माताका रूपमा सम्मान गर्नुपर्छ।
राज्यको शक्तिको सिद्धान्त हुन्छ र यसले शक्तिको निरन्तरता माग गर्छ। शक्ति खण्डित अवस्थामा राज्यको अखण्डता, अस्तित्व वा सार्वभौमसत्ता रहन्न। उदाहरणका लागि, विद्युत् शक्तिको कुरा गरौँ। विद्युत् जुन धातुमा प्रवाह भइरहेको हुन्छ, त्यो धातु बीचमा कुनै कारणले काटियो भने प्रवाह बन्द हुन्छ। राज्यको शक्तिको सिद्धान्त पनि यस्तै हो।
राष्ट्र एकीकरण र राजतन्त्र एकै होइनन्। राष्ट्रकवि माधव घिमिरे लेख्छन् :
पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड?
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट
पृथ्वीनारायणले तत्कालीन आन्तरिक वा बाह्य परिवेशमा जुन कदम चाले त्यो गोर्खा राज्यको विस्तार वा साना राज्यहरूमाथिको अतिक्रमण मात्र ठान्नु एकीकृत नेपालको अस्तित्व अस्वीकार गर्नु हो। निधन हुनुभन्दा केही दिन पहिले मात्र उनले भारदारीसभा बोलाएर 'नेपाल दुई ढुङ्गाबीचको तरुल हो' भन्ने सन्देश दिए, त्यसको अध्ययनले पनि पृथ्वीनारायण उद्देश्य र योजनासहित एकीकृत राज्य निर्माणमा अग्रसर भएको पुष्टि हुन्छ।
पृथ्वीनारायण शाहले बसालेको जगमाथि टेकेर नेपाल राज्यको अस्तित्व स्वीकार गर्ने हो भने उनी नेपाल राष्ट्रका एकीकरणकर्ता हुन्। यस भूभागभित्रका आन्तरिक समस्या त्यसपछिका विषय हुन्। उनीसँग राष्ट्रनिर्माण र व्यवस्थापनको पूर्ण ज्ञान नहुन पनि सक्छ, तर एउटै व्यक्तिले राष्ट्रनिर्माणका सबै प्रक्रियाका काम गर्ने होइन र गर्न पनि सक्दैन। अहिलेका हाम्रा समस्या पृथ्वीनारायण शाहको एकीकरण–चेतनाको कमीले सिर्जना भएका होइनन्।
२०४६ सालको परिवर्तनपछि पनि थुप्रै राजनीतिक विषयको उचित सम्बोधन गर्नु सट्टा झन्झन् बल्झाइरहेका छौँ। तर पनि हामी पछाडि फर्केर जान सक्दैनौँ र त्यो समस्याको समाधान पनि होइन। हाम्रा रुचि र आवश्यकताको उचित व्यवस्थापन नै हाम्रो समस्याको निदान हुनसक्छ।
प्रकाशित: १६ श्रावण २०७४ ०३:२५ सोमबार