२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

किन आउँछ बाढी?

मनसुन सुरुवातसँगै बाढी पहिरोले जनजीवन आक्रान्त बनेको छ। असार पहिलो हप्ता पूर्वी नेपालको पहाडी जिल्लाबाट सुरु भएको बाढी, पहरोको प्रकोप साउनसम्म आइपुग्दा विकराल बनेको छ। बाढीले तराई डुबानमा परेको छ भने पहाडी भाग पहिरोले क्षतविक्षत भएको छ। साउन २२ गतेदेखि तीन दिन लगातारको वर्षाले बाढीको वितण्डा मच्चिएको छ।  

हुन त देशमा बाढीको प्रकोप देखा परी सहरी इलाकामा पस्नु नौलो कुरा होइन। तर प्रत्येक वर्ष मनसुन आगमनसँगै यस्तो प्रक्रिया बढ्न थालेपछि भने चिन्ताको विषय बनेको छ। जबकि पाका व्यक्ति यसरी खोला सहर पसेको जानकारी नभएको बताउँछन्। उनीहरूका अनुसार खोला स्वतन्त्ररूपले आफ्नो बाटो लाग्थ्यो भने घर पनि खोलाका छेउमा देखिँदैनथ्यो।  

खोलाले सहरमा डेरा जमाउन थालेपछि जनगुनासो पनि बढ्न थालेको छ। उनीहरू बाढी आउनुको कारण खोज्दै मनको बह पोख्न थालेका छन्– ‘खोला सहर पसेको हो कि सहर खोला पसेको हो?’ वास्तवमा दुइटै कुरा मनन योग्य छन्। विगत केही दशकदेखि आधुनिकीकरणका नाममा उपत्यकाका विभिन्न नदी, खोला अतिक्रमण गरी भौतिक संरचना निर्माण भएका छन्। खोला मिच्न थालेपछि खोलाको बाटो साँघुरिन थालेको छ। घर–घरबाट निस्कने फोहोर तथा अन्य ठोस पदार्थ नदी, खोलामा फाल्नाले खोलाको बहावमा अवरोध खडा भई वैकल्पिक मार्ग खोज्दै खोला सहर पस्न थालेको छ।  

बाढीले तराई डुबानमा परेको छ भने पहाडी भाग पहिरोले क्षतविक्षत भएको छ। साउन २२ गतेदेखि तीन दिन लगातारको वर्षाले बाढीको वितण्डा मच्चिएको छ।  

घर–घरमा खोलाको अतिक्रमण हुनुको अर्काे कारण उपत्यकामा बढ्दो जनसंख्याले सिर्जिएको नदी तथा खोलाछेउ अव्यवस्थित भौतिक संचना तथा बस्ती निर्माणलाई लिन सकिन्छ। जनसंख्या वृद्धिको चापसँगै नदी, खोलाले छाडेको स्थानमा घर, टहरा निर्माण भएपछि घर–घरमा बाढी पस्नु स्वाभाविक मानिन्छ। उपत्यकामा मात्र नभई देशको अन्य भागमा पनि यो समस्या रहेको स्पष्टरूपमा देख्न सकिन्छ।  

यसै सन्दर्भमा बाढीसम्बन्धी अध्ययनलाई दृष्टिगत गर्दा मानव बस्तीहरूमा बाढी पसी जनधनको क्षति हुनुमा स्वयम् मानिसका क्रियाकलाप त्रुटिपूर्ण रहेका पाइन्छ। तर विश्वव्यापीरूपमा बाढीको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दा यसमा प्रकृतिको बदलिँदो स्वरूपको पनि अहम् भूमिका देखिन्छ। अहिले विश्वव्यापीरूपमा देखा परेको जलवायु परिवर्तन बाढी निम्त्याउने प्रमुख कारण बन्दै गएको वैज्ञानिकहरूको ठहर छ। वैज्ञानिक अध्ययनअनुसार जलवायु परिवर्तनले वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ। ऊर्जा सन्तुलनमा देखिने प्रक्रियाले यस्तो बेला संवाहन प्रक्रिया मजबुत हुन थाल्छ। साथै मनसुनकालमा देखिने गर्मी र तेजिलो घामले आकाशमा एक किसिमको पानी पार्ने बादल निर्माण प्रक्रिया तीव्र हुन थाल्छ।  

अध्ययनअनुसार यस्तो बेला आकाशमा क्युमलोनिम्बस नामको बादल उत्पत्ति हुन्छ र, यो बादलको प्राकृतिक स्वभावअनुसार यसको उत्पत्ति सँगसँगै मेघ गर्जनका साथै अाँधीबेहरी चल्ने र छोटो समयमा भीषण वर्षा हुने गर्छ। आकाशको ठूलो भागमा यस्तो बादल निर्माणले त्यस क्षेत्रको वरिपरि भीषण वर्षा हुन थाल्छ। अनि एक्कासि भीषण वर्षाले बाढीको रूप लिन थाल्छ। जलवायु परिवर्तनका कारण विश्वमा अहिले क्युमलोनिम्बस बादलको उत्पत्तिमा वृद्धि भएको बताइएको छ। यसले तुलनात्मकरूपमा बाढीको प्रकोप बढ्न थालेको बताइएको छ।

घर–घरबाट निस्कने फोहोर तथा अन्य ठोस पदार्थ नदी, खोलामा फाल्नाले खोलाको बहावमा अवरोध खडा भई वैकल्पिक मार्ग खोज्दै खोला सहर पस्न थालेको छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले क्युमलोनिम्बस बादलको उत्पत्तिमा वृद्धि भई भारी वर्षा हुने क्रम बढेको भन्दै गरेका बेला मनसुनकालमा सिमसिम पानी पर्ने बादल निर्माणमा कमी आइ सिमसिम वर्षामा ह्रास आइरहेको भन्ने महत्वपूर्ण विषय पनि अगाडि सारेका छन्। मौसममा देखा परेको यस्तो परिवर्तनले वर्षाको स्वरूपमा बदलाव आएको स्पष्ट हुन्छ। महत्वपूर्ण कुरा यसले मनसुनकालमा दैनिक वर्षामा कमी आउन सक्ने सम्भावना बढेको छ भने छोटो समयमा भारी वर्षा भई बाढी निम्त्याउने डर बढेको छ।  

चालु मनसुनलाई दृष्टिगत गर्दा यस्तै मौसमी गतिविधि देखापरेको महसुस गर्न सकिन्छ। चालु मनसुन कमजोर रही वर्षामा ह्रास आएको छ। कमजोर मनसुनकै कारण देशको विभिन्न स्थानमा रोपाइँ हुन सकिरहेको छैन। तर अचम्मको कुरा मनसुनको सुरुवातसँगै देशको विभिन्न स्थानमा बाढीले जनधनको क्षति भइरहेको छ।  

बाढी मनसुनकालमा प्रत्येक वर्ष देखा पर्ने प्राकृतिक प्रक्रिया हो। मानवीय जीवनमा विनाशको कारण बन्न सक्ने त्रासले यसलाई नियन्त्रणमा राख्नु र यसबाट बच्नु आवश्यक छ। आधुनिक युगमा विज्ञान तथा प्रविधिको माध्यमले बाढीसम्बन्धी अध्ययन, अनुसन्धान गरी यसको पूर्वानुमान गर्न सक्ने र यसको प्रभावबाट बच्न सक्ने सम्भावना छ। तर मानवीय कारणबाट निम्तने बाढीको प्रकोपलाई पनि नियन्त्रण गरी जीवन सहज बनाउन उत्तिकै आवश्यक छ।

(पूर्वउपमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग) 

प्रकाशित: ३१ श्रावण २०८० ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App