शिक्षामा पठनपाठनका विभिन्न विधि-आयाम विद्यार्थीको उन्नयन खातिर प्रयोग भएको पाइन्छ। जसलाई समयानुकूल परिमार्जन गर्दै लानु आवश्यक हुन्छ। यस लेख वर्तमानमा चलिरहेको जल्दोबल्दो शैक्षिक प्रणाली ’सेमेस्टर’ कै सेरोफेरोमा रहनेछ। जसले वार्षिक प्रणालीलाई लगभग किनारीकृत गरिसकेको छ।
वार्षिक प्रणालीमा विद्यार्थीको मेहनत, सिकाइ र दक्षताको मापन वार्षिक परीक्षाका रूपमा लिइने तीनघण्टे परीक्षा प्रणालीले मात्र निर्धारण गर्छ जहाँ विद्यार्थी अव्यवहारवादी (घोकन्ते, रटन्ते, अप्रायोगिक, निरस आदि) शिक्षाले ग्रस्त हुन पुग्छन्। त्यसका दुर्गुणलाई धेरै हदसम्म निर्मूल पार्न संसारभर प्रचलित सेमेस्टर प्रणाली नेपालका विश्वविद्यालयले पनि अवलम्बन गरिरहेका छन्। तसर्थ यो प्रणाली विद्यार्थीको सर्वाङ्गीण विकास खातिर अति उत्तम शैक्षिक अभ्यास मानिँदै आएको छ। मूलतः विद्यार्थीको कठिनाइपूर्ण सिकाइलाई ज्ञान–विज्ञानको अधिक प्रयोगमार्फत गुणात्मक तथा व्यवहारिक शिक्षा (तार्किक, विवेकशील, आलोचनात्मक चेत, प्रायोगिक, प्रतिस्पर्धी, अनुसन्धानात्मक आदि) को अभिवृद्धि गराउन यस प्रणालीको विकास भएको मानिन्छ।
नेपालको सन्दर्भमा सबै भन्दा पुरानो, ठूलो र प्रतिष्ठित त्रिभुवनविश्वविद्यालय (त्रिवि) २०१६ सालमा स्थापना हुँदा वार्षिक शैक्षिक क्यालेन्डरमा आधारित रहेर सञ्चालन भएको थियो। तर यसले सेमेस्टर प्रणाली २०३० सालमै लागू गरे तापनि त्यसको ६ वर्षपछि हठात् बन्द गर्यो। पुनः सञ्चालन निर्देशिका–२०७० जारी गरी सोही वर्षदेखि सबै अनुबन्धित संस्था र संकायमा थालनी गरेको देखिन्छ। यद्यपि चिकित्सा, इन्जिनियरिङ्ग, वन तथा कृषि जस्ता केही संकाय सुरुदेखि नै सेमेस्टर प्रणालीमा छन्।
२०५० सालमा स्थापित काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेज्मेन्ट (कुसोम) ले अन्तर्राष्ट्रिय स्तरमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) सेमेस्टर प्रणालीमा पठनपाठन गराइ यस्तो गराउने नेपालको पहिलो विश्वविद्यालय जस पाएको छ। यसको शैक्षिक गुणस्तर तथा चुस्त प्रशासनिक अभ्यासले गर्दा आजको मितिसम्म पनि स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको प्रमुख आकर्षण रहिआएको हो। त्यसैले अन्य विश्वविद्यालयले पनि यसको शिक्षण पद्धति अनुशरण गरेका छन्।
नेपालको सन्दर्भमा सबै भन्दा पुरानो, ठूलो र प्रतिष्ठित त्रिभुवनविश्वविद्यालय (त्रिवि) २०१६ सालमा स्थापना हुँदा वार्षिक शैक्षिक क्यालेन्डरमा आधारित रहेर सञ्चालन भएको थियो। तर यसले सेमेस्टर प्रणाली २०३० सालमै लागू गरे तापनि त्यसको ६ वर्षपछि हठात् बन्द गर्यो।
विद्यार्थीको सर्वपक्षीय सिकाइको गुणस्तर अभिवृद्धि खातिर बोधो वार्षिक प्रणालीलाई विस्थापन गरी विश्वमा स्थापित सेमेस्टर प्रणाली (६–६ महिने अक्षरांक-ग्रेडिङ मूल्यांकन पद्धति) मा पनि नेपालका विश्वविद्यालयले मनग्गे अनुभव संगालिसकेका छन्। तथापि यो प्रणाली मूलभूतरूपमा के हो भन्ने सवाल अझै पनि अधिकांश विद्यार्थी र सरोकारवालामाझ अज्ञात छ। सरल भाषामा भन्नुपर्दा यो यस्तो शैक्षिक प्रणाली हो जसअन्तर्गत शैक्षिक वर्षलाई दुई सेमेस्टर– फल र स्प्रिङमा विभक्त गरिएको हुन्छ।
हरेक सेमेस्टरको पाठ्यक्रमलाई ६–६ महिनामा छुट्याइएको हुनाले वर्ष दिनभरी विद्यार्थी उत्साहपूर्वक पढाइ–लेखाइलगायतका क्रियाकलापमा जुट्छन्। सन्तुलित पाठ्यभार, गहिरो अन्वेषण, विषय छनोटमा असाध्यै लचिलोपन, पढाइ–लेखाइलाई सेमिनार, गोष्ठी, छलफल, वादविवाद, स्थलगत अध्ययन जस्ता क्रियाकलापद्वारा सिकाइको निरन्तर मूल्याङ्कन गर्ने अनि समयावधिभित्रै अध्ययन–अध्यापन सकिनु, परीक्षा हुनु, नतिजा प्रकाशन हुनुका साथसाथै समयमै सुझावमार्फत कमजोरी सच्याइ विद्यार्थीमा निखारता ल्याउनु यस प्रणालीको मूलभूत विशेषता मानिन्छन्।
साथै आजकल यस प्रणालीअन्तर्गत विद्यार्थीले विभिन्न प्रविधिगत स्रोतबाट नयाँ कुरा सिक्ने र त्यस्ता सिकाइलाई कक्षाकोठाभित्र-बाहिर मल्टिमिडियामार्फत समूहमा प्रस्तुत गर्ने गर्छन्। जसले गर्दा विद्यार्थीको निर्धक्क आफ्ना कुरा भन्न सक्ने सिप विकास हुने हुनाले आत्मविश्वासको स्तर पनि बढेको पाइएको छ। यस्ता अनेकानेक क्रियाकलापले गर्दा विद्यार्थीको शैक्षिक भार सन्तुलित हुनुका साथै सिकाइ विद्यार्थीकेन्द्रित, सरल, सहज, चाखलाग्दो, नतिजामुखी र स्तरीकृत हुन पुग्छ। साथै उच्चशिक्षाको आधारहरू पनि दरिलो हुन पुग्छ। त्यसैले यसैलाई अहिलेसम्मकै सबै भन्दा बढी व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रणाली मानिएको छ।
स्नातक तह सिध्याउन आठवटा सेमेस्टर (४ वर्ष) अध्ययन गर्नैपर्ने हुन्छ भने स्नातकोत्तर तहका लागि चारवटा सेमेस्टर (२ वर्ष) अध्ययन गर्नैपर्ने हुन्छ। तथापि यस प्रणालीमा संसारभर विभिन्न विश्वविद्यालयले आ–आफ्नै ढाँचा अपनाइ विद्यार्थीको समग्र मूल्यांकन गर्ने गरेको पंक्तिकारद्वयको अनुभव छ। खासगरी आन्तरिक र बाह्य मूल्यांकनको गठजोडबाट विद्यार्थीको पढाइ–लेखाइको नतिजा गणना गर्ने गरिन्छ। त्यसमा पनि कुनै कुनै विश्वविद्यालयले त झन् ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म आन्तरिक मूल्यांकनका लागि अंकभार छुट्टयाइएको पाइएको छ।
सेमेस्टर प्रणालीअन्तर्गत अभ्यास गरिने शैक्षिक पद्धतिले शिक्षकमाथि पनि सिर्जनशील प्रश्नपत्र बनाउन, उत्तरपुस्तिकाको गहन मूल्याङ्कन गर्न र पठनपाठनका क्रियाकलापमा सक्रिय रहिरहन केही दबाब दिनुका साथै जिम्मेवारी बहन गर्न अग्रसर गराउँछ। एकातिर हरेक शिक्षक हरेक विद्यार्थीको शैक्षिक क्रियाकलापप्रति निरन्तर अन्तरक्रिया तथा मूल्याङ्कनमा सक्रिय रहने हुनाले सिकाइ अब्बल हुन पुग्छ भने अर्कोतिर शिक्षक दैनिकजसोको अध्ययनले तरोताजा खुराकसहित अध्यापनमा नगइ धर पाउँदैनन्। फलतःशिक्षक र विद्यार्थीबीच सामाजिक र भावनात्मक निकटता कायम हुन पुग्छ भने शिक्षक धेरै हदसम्म विद्यार्थीको सिकाइ र नतिजाप्रति उत्तरदायी हुनुपर्ने हुन्छ।
यस्ता अनेकानेक क्रियाकलापले गर्दा विद्यार्थीको शैक्षिक भार सन्तुलित हुनुका साथै सिकाइ विद्यार्थीकेन्द्रित, सरल, सहज, चाखलाग्दो, नतिजामुखी र स्तरीकृत हुन पुग्छ।
यस प्रणालीमा अध्ययन अवधिमै प्राप्त उपलब्धिलाई विदेशी विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी विदेशी डिग्री हात पार्ने मार्ग पनि प्रशस्त हुने र विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्यापन हुने शिक्षा पद्धति नेपालमै रहेर अनुभव गर्न पाउने भएकाले विद्यार्थी यो प्रणालीप्रति अझ बढी झुम्मिएका देख्न सकिन्छ।
नेपालमा स्थापित विश्वविद्यालयहरू सेमेस्टर प्रणालीको मर्मअनुरूपको कार्यपद्धतिमा विमुख भइदिनाले विश्व स्तरीयता कायम राख्न विभिन्न सरोकार पक्षहरूले गहन र मिहीन ढंगले समस्या पहिचान गरी समाधानतर्फ अत्यन्त तदारुकतापूर्वक लागिहाल्नुपर्ने देखिन्छ। पंक्तिकारद्वयले भोगेका र लागेका बुँदा निम्न छन् ः
– देशमा सञ्चालित विश्वविद्यालयहरूले समन्वयात्मक शैक्षिकपात्रो अवलम्बन गरेका देखिँदैन। कुनै एक विश्वविद्यालयभित्रकै संकायमा समान पात्रोलाई पछ्याउनुपर्ने हुन्छ जसले गर्दा शैक्षिक सत्रको लाभ विद्यार्थीगणले पाउँछन्।
– समय समयमा पाठ्यक्रम परिमार्जन गरी लागु गर्नाले मात्र समयानुकूल र युग सुहाउँदो शिक्षा विद्यार्थीले पाउँछन्। सो कार्यमा निकै सुस्तता र रिक्तता देखिँदै आएको छ।
– अघिल्लो सेमेस्टरको कति विषयमा उत्तीर्ण भए पछिल्लो सेमेस्टर उक्लिन पाइने भन्ने कुनै प्रावधान देखिन्न। फलतः सेमेस्टरको अन्त्यसम्ममा वार्षिक प्रणालीमा झैँ परीक्षाको भार एकैपल्ट विद्यार्थीमाथि थोपरिन पुग्छ।
– परीक्षा गराउने र परीक्षाफल निकाल्ने समयसारणीमा अहिलेसम्म पनि तादात्म्यता छैन।
– वार्षिक प्रणालीमा झैँ केही विश्वविद्यालयले केही विषयहरूको बोर्ड परीक्षामा सय पूर्णाङ्ककै प्रश्नपत्र बनाउन थालेबाट आन्तरिक मूल्यांकनका पाटा कचपल्टिन थालेका छन्।
– शिक्षकले उत्तरपुस्तिका घरै लगी परीक्षण गर्ने परिपाटी अन्त्य गरी केन्द्रीय स्थान तोकी सम्पन्न गर्न सकिन्छ। जसले गर्दा साधनस्रोत, समय र सामथ्र्यको अति उत्तम उपयोग त हुन्छ नै, साथै पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुन पुग्छ।
– विद्यार्थी गुगल तथा च्याटजिपिटीकै स्रोतमा अत्यधिक निर्भर हुँदै गएकाले लेखन तथा रचनात्मक क्षमता ह्रास हुँदै गएको देखिन्छ।
–प्रायः विश्वविद्यालयमा कक्षा कोठाको शिक्षण अनुभव नभएको तर उच्चशिक्षा हासिल गरेको जनशक्तिलाई मात्र विशेषज्ञको दर्जा दिइ पाठ्यक्रम निर्माणको जिम्मेवारी दिने परम्परा रहँदै आएको छ। स्मरण रहोस, सम्बन्धित विषयको विशेषज्ञ भन्नाले उक्त विषयमा उच्चशिक्षा हासिल गरेको मात्र नभई कक्षा कोठा शिक्षणमा धेरै वर्ष अनुभव हासिल गरेको जनशक्ति बुझ्नुपर्छ।
– त्रिवि जस्तो परिपक्व संस्था दातृनिकायको लैलैमा लागेर भनौँ लोभको पासोमा परेर तीन वर्षमा सकिने स्नातक (प्राविधिकबाहेक) लाई चार वर्ष पु¥याउँदा विद्यार्थीले आर्थिक–सामाजिक बोझ थेग्न नसक्नाले वैदेशिक पलायनको बाटो रोज्नुपरेको सज्ञान हुनुपर्ने हो।
(डा.निरज अनुसन्धाता तथा मेगा नेसनल कलेजका प्रा. र डा. उमेश काठमाडौँ विश्वविद्यालयका उपप्रा. हुन।)
प्रकाशित: १९ श्रावण २०८० ००:३० शुक्रबार