२५ असार २०८१ मंगलबार
image/svg+xml
विचार

यसरी गरौं मुटुलाई माया

मुट्ठी आकारको मुटु मानव शरीरको सबैभन्दा परिश्रमी अङ्ग हो। मुटुले रक्त नलीमार्फत रगतलाई शरीरको प्रत्यक अङ्ग प्रत्यङ्गमा पुर्याउने काम गर्छ। प्रत्येक ढुकढुकीमा मुटुले अक्सिजन र पोषण पदार्थसहितको स्वच्छ रगत आपूर्ति मात्र गर्दैन, बरु शरीरका विभिन्न भागमा जम्मा भएका कार्बनडाई अक्साइड ग्यासलगायतका खराब पदार्थको बहिर्गमनमा समेत सहयोग गर्छ। जन्मेदेखि मृत्यु नहुन्जेलसम्म मुटुले दैनिक रूपले एक लाख पटकको ढुकढुकीमार्फत करिब ८ हजार लिटर रगत शरीरभर पु¥याउँछ। थकान र जीर्णताका कारण मुटुले पूर्ण काम गर्न नसके तथा रक्त नलीमा अवरोध आएको खण्डमा शरीरका कोष (सेल)हरूले आवश्यक मात्रामा अक्सिजन तथा पोषण पदार्थ पाउन सक्दैनन्। ऊर्जाको अभावमा शरीर शिथिल हुन गई व्यक्ति बिमारी हुन्छ, मर्न पनि सक्छ।

मुटु र रक्त नलीमा आउने खराबीका कारण लाग्ने रोगको समूहलाई समष्टिगत रूपमा मुटु रोग तथा कार्डियो भास्कुलर डिजिज भनिन्छ। उच्च रक्त चाप, मधुमेह, मृगौला रोग, अस्वस्थ खान्की, आकासिँदो कोलेस्ट्रोल, मोटोपन, सोमरस तथा धुमपान, वायुप्रदूषणलगायतका आनीबानी, वातावरण, आर्थिक र सामाजिक परिवेशले मुटुरोगको आँकडालाई उकासेको देखिन्छ। त्यस्तै आफ्नो काबुभन्दा बाहिरका आणुवंशिक बनोट, जाति तथा वर्ण र व्यक्तिको लिङ्गले समेत मुटुरोगलाई हौस्याउँछ। तसर्थ, आफ्नो वशमा रहेका तत्वहरूलाई नियन्त्रण गरी मुटुरोगबाट बच्नुपर्छ। नेपाल अनि संसारमै सबैभन्दा बढी मरण हृदयरोगका कारण हुने भएकाले ‘कार्डियो भास्कुलर डिजिज’ नियन्त्रणमा अत्यधिक महत्व दिनुपर्छ।  

पुराना पार्टपुर्जालाई नयाँ उपकरणले प्रतिस्थापन गरी पुरानो कारलाई सडकमा गुड्न योग्य बनाउन सकिन्छ तर शरीरका केही अङ्गहरू एकपल्ट ड्यामेज भएपछि त्यसको भरणपोषण सहज हुँदैन, बरु जीर्ण ‘भाइटल अर्गेन्स’कै सहारामा जीवन चलाउनु बाध्यता बन्छ।

विश्व स्वास्थ संगठनको आँकडाअनुसार पृथ्वीमा प्रत्येक वर्ष झन्डै २ करोड मानिस मुटुरोगका कारण मर्ने गरेको पाइन्छ। त्यस्तै हृदयरोगको विश्व अवस्थालाई दशकौंदेखि नियालिरहेको जेनेभास्थित अन्तर्राष्ट्रिय संस्था वल्र्ड हेल्थ फेडरेसनले (डब्लुएचएफ) २ महिना अघि सार्वजनिक गरेको तथ्याङ्कले मुटुरोगीको संख्या विश्वभर आकासिएको देखायो। सन् १९९० मा मुटुरोगका कारण १ करोड २१ लाख मानिस मरेकामा सन् २०२१ मा उक्त संख्या बढेर २ करोड ५ लाख पुगेको डब्लुएचएफको रिपोर्टले देखाउँछ। यसरी पृथ्वीमा पछिल्लो ३ दशकमा हृदयरोगीको संख्या झन्डै ७० प्रतिशत बढ्नु आपैmमा कहाली लाग्दो अवस्था हो। त्यसमाथि पनि नेपालजस्ता गरिब मुलुकमा ‘कार्डियो भास्कुलर डिजिज’का कारण मर्नेको संख्या विश्वको दाँजोमा अझ भयावह देखियो।

पुराना गाडीका पार्टपुर्जा जीर्ण हुँदै गएझैं उमेर ढल्कँदै गएपछि मानवीय अङ्गहरूमा खराबी आउनु अस्वाभाविक होइन। पुरानो तन्त्रलाई नयाँ उपकरणले प्रतिस्थापन गरी पुरानो कारलाई सडकमा गुड्न योग्य बनाउन सकिन्छ। तर, शरीरका केही अङ्गहरू एकपल्ट ड्यामेज भएपछि त्यसको भरणपोषण सहज हुँदैन, बरु जीर्ण ‘भाइटल अर्गेन्स’कै सहारामा जीवन चलाउनु बाध्यता बन्छ। मुटु, कलेजो, मृगौला त्यस्तै अफ्ठ्यारा अङ्ग हुन्। तर कलेजो, मृगौलाजस्ता अङ्गहरू निकम्मा भएपछि ‘अर्गेन ट्रान्सप्लान्ट’मार्फत रोगीले पुनर्जन्म पाउँछ। उदाहरणका लागि २ पटक किड्नी फेरेका केपी ओलीको राजनीतिक क्रियाशीलता हेर्दा पुग्छ तर मुटुको अवस्था भने फरक छ।

भातको मात्रा कम गरी परम्परागत नेपाली खान्की खाने, नुनको सेवन कम गर्ने, शारीरिक परिश्रम गर्ने, चुरोट र रक्सीको सेवन नगर्ने, कोलेस्ट्रोल, उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रणमा राख्ने अनि मुटुको आवधिक जाँच गरेको खण्डमा हृदयरोगबाट बच्न सकिन्छ।  

सन् १९६७ मा साउथ अफ्रिकाको केप टाउनमा हार्ट सर्जन क्रिस्टियन बर्नाडले मानिसमा पहिलो पटक हार्ट ट्रान्सप्लान्ट गरेर देखाए। मानिसमा रहेको एउटा मुटु अर्कोलाई दिँदा ‘डोनर’को मृत्यु अपरिहार्य भएकाले यसरी गरिने इलाजले मूर्तरूप लिन सक्ने कुरा भएन। गत वर्ष मात्रै आणुवंशिक रूपले परिमार्जित सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेर विज्ञानले सांकेतिक सफलता पाएको सन्देश दियो। तर, उक्त आविष्कारले पूर्ण सफलता पाउन केही दशक लाग्छ नै। अन्य जीवमा उत्पादित मुटु मानिसको शरीरले स्वीकार गर्ने अवस्था आएको खण्डमा हृदय फेर्ने काम ‘किड्नी ट्रान्सप्लान्ट’ भन्दा फरक हुन्न।  

मुटुमा आउने समस्या र उपचार चुनौतीको वर्तमान अवस्था हेरौं। हातखुट्टामा चोटपटक लाग्दा केही दिनको विश्रामपछि मांसपेशी भरण भई व्यक्ति पूर्वावस्थामा फर्किएझैं सजिलो छैन मुटुमा आएको खराबीको इलाज। मुटुका मांसपेशीमा कुनै पनि जटिलता आएको खण्डमा शरीरको बायोलोजिकल संयन्त्र र मेडिकल साइन्सले हालसम्म विकास गरेका ओखतीले मुटुको क्षतिपूर्ण कोषलाई प्रतिस्थापन गर्न सक्दैन। 

हर्टअट्याक अथवा अन्य कुनै कारणले मुटुका कोषहरू निकम्मा भए पनि त्यही अशक्त अङ्गको सहारामा बाँच्नुपर्ने अहिलेको बाध्यता हो। यद्यपि मुटुका भल्ब परिवर्तन तथा रक्त नलीको रोकावट खोल्न विज्ञानले उल्लेख्य सफलता पाएको अनि उक्त प्रविधि नेपालले समेत लामो समयदेखि उपयोग गर्दै आएको यथार्थ बिर्सनु हुँदैन। इलाजको वर्तमान अवस्थालाई नियाल्दा आफ्नो काबुमा रहेका सबै स्रोतको उपयोग गरी मुटुलाई स्वस्थ राख्नु अहिलेको आवश्यकता भयो। पुराना साधनमा खराबी देखिनुलाई स्वाभाविक मानिएझैं सत्तरी वर्ष नाघेका मानिसमा मुटुको समस्या देखिनुलाई विज्ञहरू सामान्य मान्छन् भने युवामा ‘हार्ट प्रोब्लम’ देखिनुले वैज्ञानिकहरूलाई चिन्तित बनाउँछ।  

मुटुले पम्प गरेको ब्लड रक्त नलीमार्फत शरीरका प्रत्येक अवयवसम्म पुग्छन्। मस्तिष्कमा रगत पु¥याउने आर्टरीको प्वाल आशिंक तथा पूर्ण ब्लक भए अथवा रक्त नली फुटेको खण्डमा दिमागमा अक्सिजन पुग्दैन। त्यस्तो अवस्थालाई मेडिकल भाषामा ‘स्ट्रोक’ भनिन्छ। ४ मिनटसम्म मस्तिष्कले अक्सिजन नपाएको खण्डमा ‘ब्रेन ड्यामेज’ हुन्छ। त्यस्तै मुटुले पम्प गरेको ब्लड हार्टमा पुर्याउने काम कोरोनरी आर्टरिजको हो। उक्त आर्टरिज आशिंक तथा पूर्ण रूपले ब्लक भएको खण्डमा निरन्तर काम गर्नुपर्ने मुटुका कोषहरूले अक्सिजन अनि ऊर्जाका लागि अत्यावश्यक ग्लुकोज पाउन सक्दैनन्। 

आवश्यक पदार्थ नपाएपछि हृदयका कोषहरू मर्छन्। मुटुका कोषहरू मासिँदा त्यसको प्रत्यक्ष असर मुटुको कार्यक्षमतामा पर्छ। मुटुका धेरै कोषहरू निकम्मा भएको खण्डमा हार्टले काम गर्न सक्दैन, बिरामी मर्छ। कदाचित सानो भागले मात्र अक्सिजन पाउन नसके मुटुमा न्युन असर पर्छ। मुटुका कोषहरू मर्दा हार्टको ब्लड पम्प गर्ने क्षमता घट्छ। मरेका कोषहरूलाई पुनर्जीवन दिन नसकिने भएकाले व्यक्तिले आजन्म स्वास्थ्य सम्झौता गर्नुपर्ने हुन्छ। मुटुरोग लागेपछि पूर्ण निको पार्न नसकिने तर उपलब्ध उपचार विधिले रोगीलाई लामो समय बचाउन सकिन्छ भन्छन् संयुक्त राज्य अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका कार्डियो भास्कुलर मेडिसिनका प्राध्यापक स्टिभेन निसेन।  

वाटर सप्लाईका पुराना पाइपहरूमा काठमाडांैमा लामो समय सरसफाइ नगरी लेदो पानी वितरण गरिएका कारण आंशिक रूपले ब्लक भएजस्तै हाम्रो शरीरमा रगत वितरण गर्ने आर्टरिजहरू ब्लडमा रहेका फ्याट, कोलेस्ट्रोल, क्याल्सियमजस्ता पदार्थहरू रक्त नलीमा जम्मा हुन पुग्छन्। यसरी जम्मा भएका खराब तŒवले रक्त सञ्चारको जालोलाई आंशिक तथा पूर्ण रूपमा बन्द गर्छन्। ब्लड शररिभरि सञ्चार हुने भएकाले ब्लडमा रहेका खराब तŒवका कारण हाम्रा शरीरका सबै ‘आर्टरिज तथा भेन’हरूमा काई जम्मा हुन्छन्। यसरी ब्लड सप्लाई गर्ने नलीहरू बन्द हुने अवस्थालाई ‘यथरोसक्लोरोसिस’ भनिन्छ। मानव शरीरमा रहेका हजारांै किलोमिटर लामो रक्त सञ्चारको पाइपमा जम्मा भएको फोहोर सफाइ गर्ने प्रभावकारी ओखती नबनेका कारण रगतमा फ्याट तथा कोलेस्ट्रोजजस्ता पदार्थको मात्रा न्यून गर्नुपर्ने हुन्छ। अनि ‘यथरोसक्लोरोसिस’का कारण संसारमा अत्यधिक मानिस मर्ने भएकाले त्यसको सम्बोधन पहिलो प्राथमिकता भयो।  

हामीले खाएका वस्तुहरू रक्त सञ्चारमार्फत शरीरका विभिन्न भागमा पुग्ने भएकाले बोसोजन्य खान्की कम गर्ने। फ्याटबाट नै कोलेस्ट्रोल बन्ने भएकाले तेलजन्य पदार्थ घटाउने। तारेका खाना, चाउचाउ तथा चिप्सजस्ता जंक फुडमा पाइने ‘ट्रान्स फ्याट’ रक्त नलीमा सजिलै जम्मा हुने भएकाले त्यसको निषेध आवश्यक हुन्छ। एक हप्तामा एक किलो तेलजन्य खान्की खाने व्यक्तिभन्दा एक महिनामा त्यत्ति नै तेलहन सेवन गर्ने व्यक्तिमा लक्षण कम हुनु अस्वाभाविक होइन। मासुको बदला फलपूmल, तरकारी, दाल, गेडागुडीको सेवन स्वास्थका लागि हितकर भएकाले भोजनको ढाँचा परिवर्तन गर्ने।  

उच्च रक्तचाप र मधुमेहले हृदयरोगलाई हौस्याउने भएकाले त्यसलाई डाक्टरी परामर्शमार्फत अविलम्ब व्यवस्थापन गर्न जरुरी देखियो। उच्च रक्त चापले मुटुलाई भार पर्छ। चिनीरोगीको शरीरमा ग्लुकोजको मात्रा उकासिने हुँदा कालान्तरमा रक्त नली कडा हुन गई मुटुरोग हुने हो। दैनिक रूपले शारीरिक परिश्रम तथा व्यायाम गर्दा शरीरको बोसो व्यवस्थापनलगायत बजनसमेत घट्ने भएकाले मुटुरोगलाई पछि धकेल्न सकिन्छ।

शरीर अत्यधिक ठुलो हुँदा सबै अङ्गमा रगत पुर्याउन मुटुले अत्यधिक काम गर्नुपर्छ। धेरै खटिँदा मुटु लखतरान हुने भएकाले वजन घटाउँदा मुटुरोगबाट बच्न सकिन्छ। अल्कोहल र निकोटिनले मुटुको गति बढाउने मात्र नभई रक्त नलीसमेत ब्लक गर्ने भएकाले धुम्रपान र मद्यपान नगर्नुले मुटुरोगको रोकथाममा सहयोग पुर्याउँछ। रिस तथा डरले रक्त चाप बढाउने भएकाले आवेग नियन्त्रणका लागि ध्यान गर्नु, मठमन्दिरका भजन किर्तनमा सरिक हुनु हितकर देखिन्छ। गत महिना ‘साइन्टिफिक रिपोर्ट’मा प्रकाशित एक अनुसन्धानले सुत्नुअघि दाँत नमोल्दा मुटुरोगको सम्भाव्यता बढ्ने देखाएको यथार्थको स्मरणसमेत लाभप्रद देखियो। आँकडाले मुटुरोग लागेका पुर्खा, पाको उमेर अनि महिलाको दाजोमा पुरुषमा ‘हार्ट डिजिज’को सम्भाव्यता अत्यधिक देखाए पनि त्यसको सम्बोधन गर्न सम्भव छैन। तथापि, यथार्थको मननले अहित गर्दैन। 

प्रकाशित: ९ श्रावण २०८० ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App