२८ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

किसिन्जरको बेइजिङ किस्सा

५२ वर्षअघि सन् १९७२ फेब्रुअरीमा चीनको राजधानी बेइजिङस्थित ड्योयुताई सरकारी पाहुनाघरमा चिनियाँ नेताहरू माओ त्से तुङ र चाओ एन लाईले संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरलाई भेट्दा विश्व राजनीति नितान्त भिन्न थियो। तिनताक भियतनाम युद्ध संयुक्त राज्य अमेरिकाका लागि ‘नखाऊँ दिनभरको सिकार, खाऊँ कान्छा बाउको अनुहार’ जस्तै थियो।

तत्कालीन सोभियत संघसँगको शीतयुद्ध न जित न हारको अकरिलो परिस्थितिमा अमेरिकालाई निल्नु न ओकल्नु भएको थियो। क्यारिबियाली मिसाइल संकटले उसलाई शीतयुद्ध समाप्त गर्न अब विलम्ब गर्न नहुने निष्कर्षमा पुर्‍याएको थियो। अर्कोतिर चीनसँग सोभियत संघको सैद्धान्तिक मतान्तर सैनिक र आर्थिक मनमुटावमा परिणत भइसकेको थियो। सोभियत संघको ठुलो छातामुनि बस्न चिनियाँहरूले अस्वीकार गर्दा चीनमा बन्दै गरेका पुल र भवनका नक्सासमेत अगेनामा झोसेर सोभियत प्राविधिक स्वदेश फर्केका थिए। अङ्कुराउँदै गरेको चिनियाँ नयाँ जनवादी व्यवस्था र चिनियाँ सार्वभौमिकता रक्षाका निम्ति चिनियाँ नेताहरूलाई पनि ठुलै हाँगो समात्नुपर्ने बाध्यता थियो।

इतिहासमा बिरलै आइलाग्ने त्यो अन्तर्राष्ट्रिय परिस्थितिमा निक्सन ‘निदाइरहेको सिंह’ सँग मित्रताको हात अघि बढाउनुपर्ने निष्कर्षमा पुगे। त्यसका निम्ति उनले आफूलाई राष्ट्रपति पदमा निर्वाचित गरेको चुनावमा प्रमुख प्रतिस्पर्धीका सल्लाहकार हेनरी किसिन्जरको बुद्धिमत्ता उपयोग गर्ने निधोमा पुगे। ‘फोरेन पोलिसी’ नामको अमेरिकी अखबारमा प्रकाशित किसिन्जरको ‘अमेरिकाले चीनसँग सुमधुर सम्बन्ध जोड्नुपर्ने’ आसयको लेख नै यो काममा उनलाई परिचालन गर्ने प्रस्थानबिन्दु बन्यो।

तत्कालीन सोभियत संघसँगको शीतयुद्ध न जित न हारको अकरिलो परिस्थितिमा अमेरिकालाई निल्नु न ओकल्नु भएको थियो। क्यारिबियाली मिसाइल संकटले उसलाई शीतयुद्ध समाप्त गर्न अब विलम्ब गर्न नहुने निष्कर्षमा पुर्‍याएको थियो।

इतिहास फर्केर हेर्दा उदाउँदो ‘साम्यवादी देश’ चीनसँग मित्रताको हात जोडेर अमेरिकाले केही उपलब्धि हासिल गर्नुका साथै केही गुमायो पनि। पहिलो उपलब्धि त चीनसँग अमेरिकी मित्रताले शीतयुद्धको रणनीतिक बिन्दु बिथोलियो। फलतः सोभियत संघले शीतयुद्ध मात्र हारेन, बरु सोभियत व्यवस्था ढल्यो। भियतनाम युद्धबाट ‘लाज जोगाउन’ अमेरिकालाई चीनसँगको सम्बन्धले मद्दत गर्‍यो। तर, उसले स्वाभाविक रूपमा केही गुमायो पनि। पाँच दशकअघि अमेरिकाले मित्रता गाँसेको देश नै आज आफ्नो सबभन्दा प्रखर प्रतिस्पर्धी बनेर विश्व मञ्चमा उभिएको छ।

सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाट मात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ। संयुक्त राष्ट्र संघमा चीनको खास प्रतिनिधि मूलभूमि चीन वा ताइवानमध्ये कसलाई मान्ने भन्ने प्रश्नमा अमेरिकाले मूलभूमिलाई साथ दिएपछि जनवादी गणतन्त्र चीनले विश्व मञ्चमा आफ्नो स्थान सुरक्षित बनायो। अमेरिकाको मित्रताले चीनलाई प्राविधिक तथा वैज्ञानिक विकासमा धेरै मद्दत पुग्यो। चीनको आजको विकास र समृद्धिको एउटा आधार अमेरिकासँगको सुध्रिएको सम्बन्ध थियो।

माओ–निक्सन भेटको झन्डै ५२ वर्षपश्चात तत्कालीन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरले पचास वर्षअघि माओ र चाओ एनलाई भेटेकै पाहुनाघरमा चीनका राष्ट्रपति सी चिनफिङलाई भेटे। जुलाई २० मा सीसँग किसिन्जरको भेट पाँच दशकअघिको भेटजस्तो विश्व राजनीतिको प्रवाह बद्ल्ने खालको त थिएन, न त पाकिस्तानमा ‘आराम गर्न’ गएका उनी अचानक बेइजिङमा देखा परेका थिए।

किसिन्जर आज उमेरले एक सय वर्ष नाघिसकेका छन्। सन् १९७२ मा उनी ४९ वर्षका थिए। उनको उमेरसँगै संसारको राजनीतिक परिस्थिति र अमेरिका–चीन सम्बन्धमा धेरै परिवर्तन भइसकेको छ। यसबीच चीन र अमेरिकाबीच सन् १९७२ फेब्रुअरी २७ मा हस्ताक्षर भएको वक्तव्य ‘साङ्घाइ कम्युनिकी’ कहिले सङ्कटग्रस्त बन्यो भने कहिले दुवै देशबाट इमान्दारी साथ पालनामा सहमति हुँदै गयो। अमेरिकाका अनुदार अधिकारीले त्यो वक्तव्यको मूल मर्मलाई मास्ने प्रयत्न गरे भने ‘किसिन्जरको बुद्धिमत्तापूर्ण कूटनीति’ का पक्षधरले त्यसको कम्तीमा बाह्य आवरणमा भए पनि पालना गरे।

सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाट मात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।

उमेरले एक सय वर्षका किसिन्जरको एक सयभन्दा बढी पटकको चीन भ्रमणको शिलशिलामा उनले राष्ट्रपति सी, विदेश मन्त्री वाङ यी र रक्षामन्त्री ली साङ्फुसँग भेटे। अमेरिकी सरकारले उनको चीन भ्रमण आफ्नो जानकारीमा भए पनि किसिन्जर अमेरिकी सरकारी प्रतिनिधि नभएको बताइसकेको छ। सन् १९७० को दशकका शक्तिशाली अमेरिकी अधिकारी किसिन्जरले चीन–अमेरिका सम्बन्धमा उतिबेला जस्तो प्रभाव पारेका थिए, आज त्यसरी प्रभावित गर्ने क्षमता र ओहदामा छैनन्। तथापि, इतिहासको दिशा बदल्ने घटनाका नायकका रूपमा किसिन्जरको छविले भने अझै पनि चीन–अमेरिका सम्बन्धमा धेरै अर्थ राख्छ।

किसिन्जरको यो भ्रमण आजको विश्व परिस्थिति र चीन–अमेरिका सम्बन्धको सन्दर्भमा अर्थपूर्ण छ। किसिन्जर पहिलो पटक चीन पुग्दा अमेरिका भियतनाम युद्धमा फसेको परिस्थिति थियो भने आज युक्रेन अमेरिका नेतृत्वको पश्चिमा मोर्चाका लागि ‘भालुको कम्पट’ बनेको छ।

रुसलाई सहजै पराजित गर्न सकिने सोचका साथ अघि बढेको नाटो एक वर्षसम्म पनि युक्रेन युद्धले कुनै निष्कर्ष दिन नसक्दा लडाइँको भारी कतिन्जेल बोक्ने भन्ने प्रश्न उठ्न थालिसकेको छ। यस्तो विशिष्ट परिस्थितिमा फेरि पनि उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा चीनको भूमिका बढेको छ। रुसलाई युक्रेनमा पछार्न चीनको आवश्यकता फेरि अमेरिकालाई बोध भएको छ। निक्सनले तत्कालीन सोभियत संघलाई माथ खुवाउन चीनसँग मित्रताको हात बढाएजस्तै अहिले पुटिनलाई कमजोर बनाउन बाइडेनले सी चिनफिङसँग हात मिलाउन खोजिरहेको घटनाक्रमले संकेत गरिरहेका छन्।

किसिन्जरको चीन भ्रमण आफै पनि यो मिसनको हिस्सा हुन सक्छ। तर, चीनसँग मित्रता र सहकार्यको सन्देश बोकेर हालसालै बेइजिङ पुग्ने उनी पहिलो व्यक्ति होइनन्। किसिन्जर बेइजिङमा छँदै जलवायु परिवर्तनसम्बन्धी अमेरिकी राष्ट्रपतिका सल्लाहकार जोन केरी र यसअघि अमेरिकी विदेश सचिव एन्थोनी ब्लिनकेन चीन पुगेका थिए। विदेश नीतिका विश्लेषकहरू निकट भविष्यमा जो बाइडेन र सी चिनफिङबीच प्रत्यक्ष भेटवार्ता भए अन्तर्राष्ट्रिय सम्बन्धमा आश्चर्यको विषय नहुने बताउँछन्।

नाटोको पूर्वी विस्तारसम्बन्धमा किसिन्जरको मत अमेरिकाको अहिलेको संस्थापनभन्दा फरक छ। उनी नाटोको पूर्वी विस्तारको विपक्षमा छैनन्। तर, युक्रेनलाई नाटोमा सामेल गर्न नहुने र कदाचित गर्ने अवस्थामा रुसको सहमति आवश्यक पर्ने उनको धारणा छ। त्यसो त किसिन्जरको धारणाभन्दा घटनाक्रम निकै अघि बढिसकेको छ। तथापि, युक्रेन समस्याको समाधान खोज्न उनको मत प्रस्थानबिन्दु बन्न सक्छ। युक्रेन समस्या समाधानमा चीनले पनि उत्सुकता देखाएको छ भने पश्चिमा मुलुकहरू पनि युक्रेन समस्या समाधानमा चीनको संलग्नता चाहिरहेका छन्।

ट्रम्प सरकारदेखि अमेरिका र चीनबीचको सम्बन्ध दिनानुदिन तनावपूर्ण बनेको छ। बाइडेन सरकार गठनसँगै अमेरिकाले ट्रम्पकालीन आक्रामकता र सङ्कीर्णता त्याग्ने र चीनसँग सम्बन्धमा सुधार गर्ने अपेक्षा विपरीत अहिले दुई देशबीचको तनाव व्यापारबाट प्रविधिमा पुगेको छ।

अमेरिकाले आफ्नो कुनै पनि सानोभन्दा सानो प्रविधि प्रयोग भएको चिनियाँ सामानमा समेत रोक लगाउने निर्णय गरेको छ। विशेषतः उच्च स्तरीय प्रविधिमा दुई देशबीचको द्वन्द्वले उनीहरूको सम्बन्ध अझ खराब बनाएको छ।

रुसलाई सहजै पराजित गर्न सकिने सोचका साथ अघि बढेको नाटो एक वर्षसम्म पनि युक्रेन युद्धले कुनै निष्कर्ष दिन नसक्दा लडाइँको भारी कतिन्जेल बोक्ने भन्ने प्रश्न उठ्न थालिसकेको छ।

बाइडेनले ‘प्रजातन्त्र सम्मेलन’ को नाममा चीनलाई एक्ल्याउने प्रयास गरेका छन्। यस्तो परिस्थितिमा द्वन्द्वलाई नियन्त्रण बाहिर जान नदिन र सम्बन्धमा सुधार गर्न किसिन्जरले उल्लेखनीय भूमिका खेल्न सक्छन्। किसिन्जरको ऐतिहासिक भूमिकाका कारण चिनियाँहरू उनीप्रति ‘पुरानो मित्र’ भनी आदर गर्छन्। वाङ यीले किसिन्जरसँगको भेटमा भनेका थिए-‘अहिलेका अमेरिकी नेताहरूसँग निक्सनको जस्तो राजनीतिक हिम्मत र किसिन्जरको जस्तो कूटनीतिक बुद्धिमत्ताको खाँचो छ।’

किसिन्जरले आफ्ना धेरै लेख र अन्तर्वार्तामा जस्तै चिनियाँ नेताहरूसँगको भेटमा पनि चीन र अमेरिका आपसमा दुश्मनी मोलेर बस्दा दुवैलाई मात्र होइन, संसारलाई नै घाटा हुने बताए। उनी अर्को शीतयुद्धबाट विश्वको प्रगतिको बाटो रोक्ने पक्षमा छैनन्। फलतः उनी आफ्नै देशका राजनीतिक नेतृत्वलाई चीनसँगको वैमनस्यता त्याग्न आग्रह गरिरहेका छन्। युक्रेन–रुस युद्धले निम्त्याएको आर्थिक संकटले पिरोलिएको आजको विश्वलाई चीन र अमेरिकाबीचको द्वन्द्वले थप पिरोल्नु समग्र मानव समाजको हित विपरीत हुनेछ।

चीनको आर्थिक र प्राविधिक फड्कोमाथि नियन्त्रण गर्ने अमेरिकी प्रयासले आफै अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने वास्तविकता अमेरिकी नेताहरूले बुझ्न जरुरी छ। शीतयुद्धकालीन शैलीमा अहिले पनि अमेरिकाले चिनियाँ रक्षामन्त्री ली साङ्फुमाथि नाकाबन्दी लगाएको छ। अनि आफै नाकाबन्दी लगाएको रक्षामन्त्रीलाई बेइजिङमा अमेरिकी विदेश सचिवलाई नभेटेको भन्दै अमेरिकी अधिकारीहरू रिस पोखिरहेका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश सचिवका रूपमा किसिन्जरले ल्याटिन अमेरिकी देशमा खेलेको भूमिकाबारे टिप्पणी र बहस गर्न सकिने विषय अथाह छन्। तथापि, आपसी बोलचाल बन्द र निषेधको सम्बन्धमा रहेका चीन र अमेरिकालाई मित्रताको सेतुमा बाँध्न किसिन्जरले खेलेको भूमिका भने इतिहासले सधैं सम्झिरहनेछ, जसको पदचापमा अघि बढ्दा आजको अन्तर्राष्ट्रिय राजनीति शीतयुद्धकालीन संकटबाट मुक्त हुन सक्नेछ।  

प्रकाशित: ७ श्रावण २०८० ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App