२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

विपीको ब्रेन

मानिस ब्रेड (रोटी) ले होइन, ब्रेन (दिमाग) ले चल्छ भन्ने विपी कोइराला बहुआयामिक व्यक्तित्वका धनी थिए। विपी राजनीतिक आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्। असाधारण व्यक्तित्वका धनी विपीसँग कठिन, असहज तथा विषम परिस्थितिमा पनि कार्य गर्ने बुद्धि अर्थात् भावनात्मक सामर्थ्य (इक्यु) थियो। यस्तै भावनात्मक बुद्धिमत्ताको ऊर्जाले नै विपी नेपाली राजनीतिक आकाशको शिखरमा पुगेका हुन्।

विपी जति समर्थवान् राजनेता थिए, त्यति नै कुशल स्रष्टा पनि। यसबाट विपीका दुवै ब्रेन सक्रिय रहेको पुष्टि हुन्छ। बनोटका दृष्टिकोणले मानिसको ब्रेन (सेरिब्रम) का दुई गोलार्द्ध हुन्छन्, दायाँ गोलाद्र्ध र बायाँ गोलार्द्ध (राइट र लेफ्ट हेमिस्प्कियर), जसलाई राइट ब्रेन तथा लेफ्ट ब्रेन पनि भनिन्छ। यी दुवै गोलार्द्धलाई कोर्पस कोलोजमले जोडेको हुन्छ।

राइट ब्रेन तथा लेफ्ट ब्रेनको एउटा विशेषता के छ भने राइट ब्रेनले शरीरको बायाँ अंगहरूका क्रिया सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ भने लेफ्ट ब्रेनले दायाँ अंगहरूका क्रिया सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ। त्यसैले नै त टाउकाको दायाँपट्टि चोटपटक लागेर दायाँ मस्तिष्कमा क्षति पुग्यो भने बायाँ हातखुट्टा नचल्ने हुन्छ।

मानिस ब्रेड (रोटी) ले होइन, ब्रेन (दिमाग) ले चल्छ भन्ने विपी कोइराला बहुआयामिक व्यक्तित्वका धनी थिए। विपी राजनीतिक आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्।

त्यसैगरी बायाँ मस्तिष्कमा क्षति पुग्यो भने शरीरको दायाँ भागमा असर पर्न सक्छ। यसका साथै यी दुई मस्तिष्कको अर्को विशेषता पनि छ, त्यो के भने राइट ब्रेन संगीत, नृत्य, चित्रकला, लेखन, अभिनय, प्रत्यक्षीकरण, सिलाइबुनाइ इत्यादि सिर्जनात्मक कार्यहरूसँग सम्बन्धित हुन्छ। लेफ्ट बे्रन तर्क–वितर्क गर्ने, परीक्षण गर्ने, हिसाबकिताब गर्ने, संगठन, भाषा र विज्ञान इत्यादि तर्कपूर्ण कार्यहरूसँग सम्बन्धित हुन्छ।

राइट ब्रेनले कार्य गर्ने मानिसहरू ज्यादै सिर्जनशील हुने गर्छन्। उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ तर लेफ्ट ब्रेनले कार्य गर्ने मानिस बढी तार्किक हुने गर्छन्। संगठन तथा भाषामा उनीहरूको राम्रो दखल हुने गर्छ। राइट ब्रेन तथा लेफ्ट ब्रेनको सम्बन्धमा वैज्ञानिकहरूको निचोड छ, साधारणतया वयस्क र दायाँ हाते मानिसहरूले लेफ्ट ब्रेनले कार्य गर्ने गर्छन्, तर बालबालिकाले राइट ब्रेनले कार्य गर्छन्।

जतिजति मानिसको उमेर ढल्कँदै जान्छ, उनीहरूको राइट ब्रेन निस्क्रिय हुँदै जान्छ। यसै कारणले गर्दा नै बालबालिका कुरा भुइँमा खस्न नपाउँदै टप्प टिप्ने गर्छन्, पाका मानिस दिन प्रतिदिन भुलक्कड हुँदै जान्छन्। तर संसारमा केही दुर्लभ मानिस पनि हुन्छन्, जसको राइट ब्रेन र लेफ्ट ब्रेन दुवै सक्रिय रहन्छन्। दुवै ब्रेन सक्रिय रहनु भनेको मेची महाकालीरूपी ज्ञान र कर्मको दोभान बन्नुजस्तो हो। यस्ता व्यक्ति जीवनमा महान् कार्य गर्न समर्थ हुन्छन्। विपी पनि यस्तै असाधारण मानिस भएको तथ्य उनको सोच, शैली, व्यवहार र कर्मबाट पुष्टि हुन्छ।

विपी ब्रेनको यही विशेषताले गर्दा नै विपीको सम्झना–शक्ति बुढेसकालसम्म पनि निकै अद्भूत रहेको कुरा उहाँका सम्पर्कमा रहेका व्यक्तिहरूको कथन तथा उहाँसँग सम्बन्धित दस्ताबेजहरूले पुष्टि गर्छ। त्यसो त गणेशराज शर्माले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा विपीको अद्भुत सम्झना शक्तिबारे प्रकाश पारेका छन्। उनले लेखेका छन्, ‘विपीको आत्मवृत्तान्त उहाँ (विपी) ले लेख्नुभएको होइन, मृत्यु–शय्याबाटै भन्नुभएका कुरालाई टेपमा संकलन गरी लिपिबद्ध गरिएको हो।

राइट ब्रेनले कार्य गर्ने मानिसहरू ज्यादै सिर्जनशील हुने गर्छन्। उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ तर लेफ्ट ब्रेनले कार्य गर्ने मानिस बढी तार्किक हुने गर्छन्। संगठन तथा भाषामा उनीहरूको राम्रो दखल हुने गर्छ।

गणेशराज शर्माले उक्त किताब अगाडि लेखेका छन्, ‘विपीको आत्मवृत्तान्तका कुरा उहाँ (विपी) ले कुनै टिपोट, लिखित वा सहायक सामग्रीहरूको मद्दत लिनुभएन। कसैसँग केही सोध्नु पनि भएन। सबै कुरा तत्कालको सम्झनाको भरमा बोल्नुभएको हो।

उहाँको स्मरण–शक्ति अद्भुत थियो भनेर मात्र यहाँ पुग्लाजस्तो लाग्दैन। सम्झना–शक्तिद्वारा हामीलाई चकित पारेका केही दृष्टान्त नै मैले दिनु ठिक हुन्छ। त्यसताका उहाँको अन्तिम दर्शनको अभिलाषाले ओखलढुंगातर्फको एकजना अधबैंसे उमेरका अपरिचित गाउँले व्यक्ति आएका थिए। भेट्न आउने सबैमाथि समुचित ध्यान दिने उहाँको संस्कारगत अभ्यासबमोजिम उहाँले त्यस व्यक्तिलाई कहाँबाट आउनुभयो? भनी सोध्नुभयो। उनले आफ्नो जिल्लाको नाउँ लिए। त्यसपछि उहाँले गाउँ कुन नि? भनी सोध्नुभयो। उनले असजिलो मान्दै तपाईं जान्नु हुन्न होला, अमुक गाउँ हो भने। अनि विपीले भन्नुभयो, मलाई २००४ सालमा धनकुटाबाट अड्डासार गरेर हिँडाएर ल्याउँदा त्यो गाउँ हुँदै आएको छु भन्दै त्यस गाउँको बाटो र जंगलको भौगोलिक अवस्थिति र गाउँको बस्ती र बसाइ वर्णन गर्दा ती व्यक्ति मात्र होइन, त्यो सुन्ने हामी सबै आश्चर्यमा परेका थियौं।

यस्तै सम्झना उहाँले हाम्रा मित्र कुसुम श्रेष्ठको बन्दीपुरस्थित पुख्र्यौली घरको बाटो, ढोकासम्म चढ्नुपर्ने ढुंगाका खुड्किला कतिवटा छन्, झ्याल कस्ता छन् र छानो केको छ भन्ने शब्द–चित्र सुनाएर आफ्नो अद्भुत सम्झना–शक्तिको परिचय दिनुभएको थियो। नेपाली कांग्रेसको संगठनात्मक कामको सिलसिलामा उहाँले २००७ सालपछि बन्दीपुर जाँदा कुसुमजीको घर देख्नुभएको कुरा त्यसरी सम्झिरहनु साधारण सम्झना–शक्तिको कुरा होइन।

अतः क्यान्सरबाट थलिएका एक ६८ वर्षीय वृद्ध व्यक्तिको यस्तो सम्झना–शक्ति हुनु सामान्य कुरा होइन। यिनै अद्भुत क्षमताका कारण नै विपी नेपाली आकाशका नक्षत्र भएका हुन्। विपी जति सम्झना–शक्तिका धनी थिए, त्यति नै निडर र साहसी थिए। यो कुरा आत्मवृत्तान्तमा विपीले स्मरण गरेको एक घटनाले प्रस्ट पार्छ। गणेशमानजी भन्नुहुन्थ्यो, ‘त्यो तपाईंको शान्त मनस्थिति, त्यो साहस। म भन्ठान्थें, म जति साहसी को होला? तर तपाईं (विपी)लाई देख्दा म छक्क परें।’ यो नै विपीको बे्रनमा विद्यमान भावनात्मक समर्थताको एक नमुना हो।

विपी प्रजातान्त्रिक समाजवादका प्रणेता थिए। विपी मनमस्तिष्कमा प्रजातान्त्रिक समाजवादलाई केन्द्रमा राखेर राष्ट्रियता, प्रजातन्त्र र देशको सर्वाङ्गीण विकासका लागि अघि बढ्ने एक स्पष्ट मार्गचित्र थियो। त्यसैले त विपीले हरेक नेपालीसँग एउटा घर, एक हल गोरु र एउटा दुहुनो गाईको परिकल्पना गरेका थिए।

यसरी विपीले हरेक नागरिकलाई गास, बास र कपास तथा त्यसका लागि रोजगार अनि पौष्टिक आहार, शिक्षा र स्वास्थ्यको कुरा पनि उठाएका थिए। यहाँ एक हल गोरुको अर्थ रोजगार हो। दुहुनो गाईको अर्थ पौष्टिक आहार र स्वास्थ्य हो।

राष्ट्र निर्माणका सन्दर्भमा विपीले भनेका छन्, ‘एकीकरणपछि नेपालले एउटा आधुनिक भुगोल निर्धारित गर्‍यो। एउटा देश गठन भयो, यस निर्धारित सिमानामा बस्ने अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश नेपालको उदय त भयो तर बहुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिको साझा फूलबारी हुन सकेन, एक राष्ट्र बन्न सकेन।

शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन। फ्रेम बनाइयो तर तस्बिर राखिएन, भाँडो कुदियो तर त्यसभित्र राखिने तत्व राखिएन।’ विपीले एकदम सटिक, तार्किक र भावनात्मक कुरा व्यक्त गरेका छन्।

विपीले भनेझैं यो देशलाई सबै जातजातिको एक राष्ट्र बनाउन नै २०६२–२०६३ सालको जनआन्दोलन भई नेपालमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना भएको हो। तर राजनीतिक दलहरूको अक्षमता, अकर्मण्यता र डकैती व्यवहारका कारण लोकतान्त्रिक गणतन्त्रमा पनि सार्वभौमसत्ता सम्पन्न जनताले समेत सुख पाएका छैनन्।

विपी प्रजातान्त्रिक समाजवादका प्रणेता थिए। विपी मनमस्तिष्कमा प्रजातान्त्रिक समाजवादलाई केन्द्रमा राखेर राष्ट्रियता, प्रजातन्त्र र देशको सर्वाङ्गीण विकासका लागि अघि बढ्ने एक स्पष्ट मार्गचित्र थियो।

सरकार तथा राजनीतिक पार्टीहरूको अर्जुनदृष्टि राष्ट्रको समृद्धि तथा जनताको भलाइमा होइन, सिर्फ सत्तामा छ। राजनीतिक पार्टी तथा हरेक नेतालाई सिर्फ सत्ता चाहिएको छ। अरू पार्टीको कुरा परै छाडौं, विपीले जन्माएकै पार्टी नेपाली कांग्रेसको ध्यान पनि सुरुदेखि नै विकास र समृद्धितिर होइन, सत्तातिर नै केन्द्रित छ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्ताको हातमा आएको छ। तर नेपाली कांग्रेसको दोस्रो पुस्ता लक्ष्यहीन राजनीतिमा कुहिरोको कागजस्तो भएको छ। नेतृत्वसँग न स्पष्ट भिजन छ, न त कुनै उद्देश्य। नेपाली कांग्रेसको लक्ष्य के हो? सिर्फ सत्ताको कुर्सी? त्यही भएर पनि नेपाली कांग्रेस अहिले ओसिएको ब्याट्रीजस्तो भएको हो।

वास्तवमा अहिले नेपाली कांग्रेसले न त नेपाली जनताको भावनालाई आत्मसात गर्न सकेको छ न त मुलुकको सक्षम नेतृत्व गर्न सकेको छ। त्यसैले हरेक वर्षको साउन ६ गते र भदौ २४ गते विपीको सालिकमा माल्यार्पण गरी औपचारिकता पूरा गर्ने र बाँकी ३६३ दिन विपीको ‘ब’ पनि उच्चारण नगर्ने नेपाली कांग्रेसका सानाठुला नेतालाई बोध हुनुपर्ने कुरा के भने आम नेपाली जनताको चाहना भनेको नै नेपालमा सामाजिक न्यायसहितको लोकतान्त्रिक शासन व्यवस्था स्थापित गरी राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो। विपीले कोरेको लोकतान्त्रिक समाजवादको बाटो नै नेपाली जनताको चाहना पूरा गर्ने सर्वोत्तम विकल्प हो।

विपीको आदर्श, सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा युवा वर्गको गहकिलो सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवा सपना हो। दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ। त्यसैले नेपाली कांग्रेसको दोस्रो पुस्ताले विपीको आदर्शलाई मागिखाने भाँडो बनाइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेसका नाति पुस्ताले विपीको ब्रेनलाई आत्मसात् गरी विपीले देखाएको बाटोमा मजबुत संगठनका साथ अघि बढ्नु नै आजको आवश्यकता हो। तर विपीको नाति पुस्ताले पनि विपीको ब्रेन बुझ्न र विपीको बाटो हिँड्न सकेनन् भने नेपाली जनताले कांग्रेसलाई राम राम त भन्लान् तर अब काँध थाप्नेवाला छैनन्।  

प्रकाशित: ६ श्रावण २०८० ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App