२०२३ जुलाइ २० मा सोभियत संघ (रुस) र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ वर्ष पुगेको छ। हुन त वर्तमान विश्व–परिप्रेक्षमा यो बिर्सिएको पाटो र हेलाँको बाटो भइरहेछ र नेपाली उखान ‘खोलो तर्यो लौरो बिर्सियो’ लाई चरितार्थ गर्ने त होइन भन्ने संशय जन्माउँछ। शायद त्यस्तै भइरहेछ इतिहासप्रतिको बेवास्ता। हुन त रुसी नीति र कदमहरूसित सहमत–असमहत हुन सकिन्छ। तथापि इतिहास भुल्नुहुँदैन र त्यसप्रति कृतघ्न हुन हाम्रो पूर्वीय दर्शनले पनि दिँदैन।
२० जुलाइ १९५७ मा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्धमा हस्ताक्षर भयो। यसले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपालमा सोभियत संघ सहयोगको युग सुरु भयो। सन् १९५७ मा सोभियत संघले मानव इतिहासमै पहिलोपटक अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गयो। यही वर्षदेखि सोभियत सरकारले उच्च शिक्षाका लागि नेपालीलाई छात्रवृत्ति दिन सुरु गर्यो। यो त्यो बेला थियो, जुन बेला नेपालको साक्षरता दर दश प्रतिशत भन्दा कम थियो। त्यसयता सोभियत संघबाट फर्केका हजारौँ विज्ञ वैज्ञानिक, इन्जिनियर, डाक्टर र कृषिविद् आदिका रूपमा काम गर्दैछन्।
नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको तथ्य उजागर गर्ने पहिलो विज्ञ मस्को इलेक्ट्रिकल इन्स्टिच्युटमा विद्यावारिधि गर्ने इ. हरिमान श्रेष्ठ थिए। उनले ‘जलविद्युत्को सम्भावनामा नेपाल विश्वमा दोस्रो नम्बरमा भनेर देशलाई विश्वजगत्मा चिनाए। अन्य हजारौँ विज्ञ ६ दशकदेखि मुलुकको नीति निर्माणदेखि विकास निर्माणसम्म संलग्न रहँदै आएका छन्।
उच्च जनशक्तिबाहेक सोभियत संघले नेपाललाई कृषि, उद्योग, यातायात क्षेत्रका आधारभूत पूर्वाधार निर्माणमा महत्वपूर्ण विकास सहायता प्रदान गर्यो। सन् १९६५ मा निर्मित पनौती जलविद्युत् आयोजना पहिलो मेगावाट क्षमताको सोभियत उपहार थियो। सोभियत रुसले स्थापना गरेको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, वीरगन्ज कृषि औजार कारखाना, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड आफ्नो समयमा देशको औद्योगिकीकरणको मेरुदण्ड थिए र मुलुकको राजस्व र रोजगारीका प्रमुख स्रोतमा गनिन्थे। जनकपुर चुरोटका ब्रान्डहरूको आफ्नै प्रसिद्धि थियो र यसले वैदेशिक आयातलाई विस्थापित गरेको थियो। १९६४ मा निर्मित चिनी कारखानाले किसानहरूको उखु खेतीलाई नगदे बालीमा परिणत गर्न उत्साहित गर्यो।
राजा महेन्द्रले साठीको दशकमा महत्वाकांक्षी पूर्व–पश्चिम राजमार्ग निर्माणमा सहयोगका लागि विश्व समुदायलाई आह्वान गरेसँगै होस्टेमा हैँसे गर्ने सोभियत संघ प्रथम राष्ट्र थियो। एक हजार किलोमिटर लम्बाइको यो राजमार्गको १०९ किलोमिटर लामो ढल्केबर–पथलैया खण्ड संघले निर्माण गर्यो। सन् १९६३ मा मुलुकको पहिलो बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ सोभियत राष्ट्रकै पहलमा स्थापना भयो।
बाह्य राष्ट्रहरूले गर्ने सहयोगको प्राथमिकतामा ‘उद्योग धन्दा स्थापना’ विरलै पर्छन्। हाम्रो जस्तो कृषिप्रधान देशको कृषि क्षेत्रको औद्योगिकीकरणमा निस्वार्थ सहयोग गर्ने सोभियत संघ शायद प्रथम देश हो। सोभियत मिसनले दिन र बाँड्न मात्र जान्यो, लिन जानेन। शायद यो सोभियत विखण्डनको आर्थिक कारकहरूमध्ये एक हुन सक्छ। यो छोटो लेखमा इतिहासका ती गौरवमय दिनहरूको विस्तृत विवरण सम्भव छैन र त्यसका लागि छुट्टै पुस्तक आवश्यक छ।
विश्व बजारीकरणको लहरले नेपाललाई जस्तै रुसलाई पनि छोयो। सोसियल मिडिया त्यहाँ पच्चीस वर्षभित्र असी हजार स्वदेशी उद्योग र कलकारखाना बन्द भएको भन्छ। दशकौँदेखि आयातित सामानका क्रेजीहरूका लागि बाह्य जगत्को वस्तु खुला भयो। नेपालमा पनि मुलुकको राजस्वमा महत्वपूर्ण योगदान दिने सार्वजानिक उद्योगहरू सरकारको निजीकरण नीतिअनुरूप बन्द भए। अरू देशमा उदारीकरणको प्रभाव के रह्यो थाहा भएन, नेपालमा चाहिँ ती कौडीको भाउमा बिक्री भए भन्ने यत्रतत्र सुनिन्थ्यो। विश्व बजारीकरण र अर्थतन्त्रको उदारीकरणसँगै सोभियत जनताको मायाको प्रतीकका रूपमा स्थापित मुख्य उद्योगहरू बन्द भए, जुन दुःखद कुरा हो। अब ती इतिहासमा मात्रै रहे। कतिपयले यसलाई रुसको उपहारको अपमान भनी उल्लेख गर्ने गर्थे।
सोभियत संघको विघटनपछि रुसलाई तङ्ग्रिन धेरै समय लाग्यो। मुद्रास्फीति र मन्दीले अर्थतन्त्र छिया–छिया भयो। त्यहीमाथि उसले आन्तरिक र बाह्य द्वन्द्व झेल्नुपर्यो। एउटा प्रणालीबाट अर्कोतर्फको यो संक्रमणमा उसको बाह्य सम्बन्ध पातलिनु स्वाभाविक थियो। समाजवादबाट प्रजातन्त्रतर्फको संक्रमणपछि विकसित करिब डेढ दशकको अन्तर्राष्ट्रिय परिस्थितिलाई रुसले टुलुटुलु हेरेर बस्यो। अमेरिका र पश्चिमाहरूलाई उसले हाम्रो डेमोक्रेटिक पार्टनर भन्ने गथ्र्यो। अझ नब्बे र त्यसपछिको सुरुवाती दशकमा उसको तिनीहरूप्रतिको क्रेज अत्यधिक देखिन्थ्यो। त्यतिखेर शीतयुद्धको अवसानपछि खडा भएको एक ध्रुवीय विश्वलाई उसले द्वन्द्वको समाधानका रूपमा देख्यो। १७ जुन १९९२ मा रुसी राष्ट्रपति बोरिस यल्त्सिनले अमेरिकी कांग्रेसलाई गर्नुभएको सम्बोधनमा ‘अब संसारले सहज सास फेर्न सक्छ। पृथ्वीमा जताततै सामाजिक विद्वेष, वैमनस्य र क्रूरता छर्ने, मानव समुदायमा भय जगाउने कम्युनिस्ट मूर्ति ढल्यो। र, म तपाइंँहरूलाई आश्वस्त पार्न यहाँ छु। हाम्रो पृथ्वीमा, हामी उसलाई फेरि उठ्न दिने छैनौँ। धेरै वर्षसम्म हाम्रा राज्यहरू दुई चरम विपरीत ध्रुवमा थिए। अब यो सैतानी परिदृश्य विगत भएको छ। अमेरिका र रुसले एकअर्कालाई जुनसुकै बेला बन्दूकको ट्रिगर तान्न तयार रहेको अवधि सकिएको छ’भन्नुभएको कुराले यो पुष्टि गर्न खोज्छ।
करिब दुई दशकको उतारचढावपछि रुस सम्हालियो। फेरि उसले अन्तर्राष्ट्रिय जगत्मा हात बढायो। सबैलाई लागेको थियो, त्यहाँ सोभियत कालमा विकसित विज्ञान र प्रविधिको जग धराशायी भइसक्यो होला। तर सबैलाई चक्मा दिँदै त्यो क्षेत्रमा उसले विश्वश्रेष्ठ उच्चताको इतिहासलाई निरन्तर राख्यो।
सोभियत संघ विघटनपछि रुसले नेपाललाई दिने विकास सहायतामा कमी आए पनि उसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेे परम्परा निरन्तर राखेको छ। दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने प्रशस्त सम्भावना छन्। अहिले रुसमा बसोबास गर्ने नेपाली उद्यमीहरूले देशको जलविद्युत् आयोजना र अन्य थुप्रै उद्यममा लगानी गरिरहेका छन्। नब्बेको दशकदेखि रुसी पर्यटकको आगमन ह्वात्तै बढ्यो। लुम्बिनी तथा हिमालय रुसी र बौद्ध धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ। रुसको बौद्ध संघ र पब्लिक चेम्बर अफ रिपब्लिक अफ बुर्याटियाको पहलमा र रुस–नेपाल मैत्री तथा सहयोग समाजको समन्वयमा लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण भइरहेको छ।
कोभिड–१९ संकटका बेलारुसी सरकारले प्रस्ताव गरेको ‘स्पुतनिक भिभ्याक्सिन’को फाइदा नेपालले लिन सकेन। हाम्रा राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिमिल्सिनाको हालैको रुस भ्रमणपछि रुसी दूतावासले वैशाख २१ गते नेपाललाई पत्र पठाएर १३ वटा विभिन्न आयोजनाको विस्तृत प्रस्ताव माग गरेकामा नेपाल सरकारबाट कुनै औपचारिक अनुरोध प्राप्त नभएको भन्ने रुसी पक्षको तर्क छ। यसमा पोखरा–पर्वत–रिडी सडक निर्माण, पोखराको बाल क्यान्सर अस्पताल, पूर्व–पश्चिम रेलवे, अध्ययन छात्रवृत्ति आदि पर्छन्।
सुनिन्छ, नेपालमा रुसबाट कुनै परियोजना प्रस्ताव आउनेबित्तिकै त्यसलाई उत्पत्तिस्थलमै निष्क्रिय गरिन्छ। यो हाम्रो असंलग्न नीति विपरीत छ। सोभियत संघ छैन तथापि अझै पनि रुस देश मात्र नभएर एउटा महादेश हो। त्यहाँ सुदूरपूर्वको भ्लादिभास्तोकमा सूर्य उदाउँदा सेन्ट पिटर्सवर्गमा साँझ पर्छ। अनन्तः प्राकृतिक सम्पदा, साधन, खनिज, विज्ञान र प्रविधिका अजस्र स्रोतहरूले त्यो मुलुक समृद्ध छ। नेपालले रुसको सदाशयतालाई सम्मान गरेर त्यसबाट लाभ लिनुपर्छ। त्यो नै हाम्रो कूटनीतिक सफलता हो। अरूको लहैलहैमा लागेर हामीले आफ्नो मूल शक्ति गुमाउनुहुँदैन।
शीतयुद्धकालमा नेपालले आफ्नो परराष्ट्र नीतिमा असंलग्नता र तटस्थताको सिद्धान्तलाई अपनायो। त्यतिखेर र अहिले पनि नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई रुसले सम्मान गरेको छ। तर पछिल्ला परिघटनाले ऊ संशयमा छ।
नेपाल जस्तो दुई ढुंगाबीचको तरुल भई अत्यन्त संवेदनशील भूगोलमा अवस्थित मुलुकले असंलग्न नीति अवलम्बन गर्दा नै राष्ट्रको दीर्घकालीन हित हुन्छ। अहिलेको श्रीलंका र युक्रेनबाट मुलुकले पाठ सिक्नुपर्छ। हाम्रा जस्तो राष्ट्रले रुसी महाशक्तिबाट फाइदा लिने कूटनीति अवलम्बन गर्दा बुद्धिमानी हुन्छ।
त्यो युग जुनबेला मुलुकलाई अशिक्षा, रोग, भोकले गाँजेको थियो र हाम्रा निम्ति शिक्षा, स्वास्थ्य र उद्योग अपरिहार्य थियो, हामीलाई सहयोग गर्ने सोभियत जनताको सहयोगलाई कसरी बिर्सन सक्छौँ ?
(लेखक सोभियत विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर उपाधि प्राप्त हुन्।)
प्रकाशित: ४ श्रावण २०८० ००:३६ बिहीबार