७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

सामाजिक रूपान्तरणमा योगमाया

करिव डेढ सय वर्षअगाडि नेपालको पूर्वी पहाड भोजपुरको नेपाले डाँडामा जन्मिएकी थिइन् योगमाया। ५–६ वर्षकै हुँदा घेद्लेका मनोरथ कोइरालासँग विवाह भएको थियो। तर विवाह भएको २–३ वर्षमै उनका पतिको निधन भएको थियो। नेपाली समाज त्यही त हो, पतिको देहान्तपछि अनेकौँ लाञ्छना, तिरस्कार र हिंसा खप्न बाध्य भइन् उनी।एकातिर समाजको लाञ्छना अर्कोतिर घरको कठिन बुहार्तन सहन सकिनन्। यस्तो अवस्थाबाट पार पाउन उनी माइत पुगिन् भागेर।

सोही क्रममा तत्कालीन परिवेशमा योगमायाले खेप्नुपरेका अन्याय, अत्याचार, कुसंस्कारविरुद्ध सामाजिक रूपान्तरण र महिला अधिकारका पक्षमा उठाएको सशक्त आवाज र अभियान आज पनि त्यत्तिकै सान्दर्भिक छ। जतिबेला महिलाले लेखपढ गर्न र आफूमाथि भएको अन्याय महसुससम्म पनि गर्न नपाएको अवस्थामा त्यो दुर्गम ग्रामीण भेगमा जन्मिएकी योगमायाको अठोट र साहस अतुलनीय छ। अनमेल वालविवाह भएर, वालविधवा भएर अनेकौँ अपहेलना, प्रताडना र हिंसाको सामना गरेकी उनमा त्यस्तो अन्याय, अत्याचार र कुसंस्कारविरुद्ध आवाज उठाउने चेतनाको जन्म नै अनौठो पक्ष थियो।उनमा समाजलाई जागरुक बनाउने चेतना, अठोट र हिम्मत कसरी जाग्यो भन्ने विषयसमेत उत्तिकै जिज्ञासालायक छ।

 नेपाली समाज त्यही त हो, पतिको देहान्तपछि अनेकौँ लाञ्छना, तिरस्कार र हिंसा खप्न बाध्य भइन् उनी।एकातिर समाजको लाञ्छना अर्कोतिर घरको कठिन बुहार्तन सहन सकिनन्। यस्तो अवस्थाबाट पार पाउन उनी माइत पुगिन् भागेर।

जतिबेला एउटी बालिकाले विवाहको अर्थ र लोग्नेको मर्मसमेत बुझेकी थिइनन्, त्यतिबेला उनी बाबुको उमेरको पुरुषलाई पति स्वीकारेर पराइघर जान बाध्य भइन्। त्यो पुरुषको मृत्युसँगै उसकै चितामा जिउँदै जल्नुपर्ने बाध्यता (सतीप्रथा) थियो त्यतिबेला। त्यस्तो अवस्थामा सामाजिक प्रचलनलाई तिरस्कार गर्दै एउटी बालविधवा जसले आफूमाथि भएको अपहेलना, तिरस्कार र हिंसाविरुद्ध विद्रोह गर्नु पक्कै चानचुने थिएन। उनले विद्रोहका क्रममा घर-परिवार र आफन्तजनसमेत त्याग्ने हिम्मत जुटाएकी थिइन्। त्यस्तो क्रूर अमानवीय सामाजिक परिवेशमा पनि विद्रोहको आवाज उठाउँदैअधिकार र सामाजिक न्यायका लागि डटेर अगाडि बढेकी एउटी संघर्षशील महिला थिइन् योगमाया न्यौपाने। त्यतिबेला न कुनै राजनीतिक पार्टी, न संगठन, न कानुन न त संविधान नै। योगमाया आफैँमा थिइन् एउटी सामाजिक रूपान्तरणकी साहसी अभियन्ता।  

योगमायाको जीवनी, उनका बारेमा लेखिएका विभिन्न कृति, रचनाहरू आदि अध्ययन गर्दा उनको अभियान र आन्दोलनलाई यसरी केलाउन सकिन्छः

भक्तिमार्गकी अनुयायीः योगमायाको आन्तरिक चेतनाको दियोलाई भक्तिमार्गले सल्काएको थियो। परिवार, आफन्त र समाजबाट तिरस्कृत भएर मातृभूमि नै त्यागेर भारतको आसाममा नैराश्यपूर्ण जीवन व्यतीत गरिरहेकी योगमायामा जीवनमा धर्म र भक्तिका गाथा गाँउदै हिँडेका साधु÷सन्तको संगतले जीवनप्रतिको आशा र कर्तव्य जगायो।

‘...मेरै नाम लिएर घर खोज्दै पनि आउन थालेका थिए पछि पछि। दिनभर कता कता डुल्ने तर रातको बास हाम्रामा हुन्थ्यो। उनैले बजाएको एकतारे सुनेर धुनी बालेर बसिन्थ्यो रातिसम्म। कहिले छर्लङ्ग बिहान पनि हुन्थ्यो। उनकै संगतले सिकेकी सबै मैले’– योगमाया नामक कृतिमा उल्लेख छ।

त्यतिबेला न कुनै राजनीतिक पार्टी, न संगठन, न कानुन न त संविधान नै। योगमाया आफैँमा थिइन् एउटी सामाजिक रूपान्तरणकी साहसी अभियन्ता।  

महिला अधिकारवादी ः तत्कालीन समाजमा विद्यमान सतीप्रथा, वालविवाह, बहुविवाह, अनमेल विवाह, विभिन्न किसिमका हिंसा र दुव्र्यव्यवहार जस्ता महिलाप्रतिका अमानवीय कुप्रथाको खुलेर विरोध र विद्रोहको आरम्भ गरिन् यागमायाले। छोरा र छोरीबीचको सामाजिक विभेदलाई अस्वीकार गर्दै छोरीले पनि छोरासरह लेखपढ गर्न पाउनुपर्ने शैक्षिक अधिकारको विषयलाई समेत जोडदाररूपमा उठाइन्। बहुविवाहको विरोध गर्दै पतिको देहान्तपश्चात पत्नीलाई जिउँदै जलाउने अमानवीय कुसंस्कारविरुद्ध विद्रोहको आवाज चकाइन्। वि.सं. १९७९ मा सती प्रथा अन्त्यको कानुन बन्यो। तत्पश्चात भक्तिमाता योगमायाको आश्रममा ठूलो हर्क बढाइँ नै भयो। नाचगानसमेत भयो–

‘सलामी दिन्छु बारम्बार          

राजाले सतीलाई छोडिदिए

ईश्वरले मति फेरिदिए

राजाले बिन्ती सुनिदिए

सतीलाई पोल्न छाडिदिए

धन्य हो सरकार ३ सरकार।’

पत्नीको देहान्त हुनासाथै विधुर लोग्नेलाई समाजले दोस्रो विवाह गराउँछ भने कलिलो उमेर र जवानीमा पतिको देहान्त हुन्छ भने त्यस्ती विधवालाई पनि उनको स्वेच्छाले दोस्रो विवाह गरेर अगाडि बढ्न चाहन्छिन् भने समाजले अवसर दिनुपर्छ भनेर विधवा विवाहको पक्षमा योगमायाले खुलेरै यसरी वकालत गरेकी थिइन्–‘...विधवा भएर बस्न कति गाह्रो छ यो समाजाँ। उठ्दै पोइटोकुवी, बस्दै अलच्छिनी !.....नरक बनाइदिन्छन् विधवाको जीवन। जोइ अघि मरेमी छ भने पोइलाई जोइ टोकुवा त भनिँदैन नि ! अलच्छिनो पनि भनिन्न।’

यसरी नारी जातिको आत्मसम्मान, पहिचान र प्रतिष्ठा उठाउन समाजका अगुवा पुरुषहरूलाई पनि योगमायाले प्रेरित गरिन्। यसरी हेर्दा अहिले महिला अधिकारका पक्षमा जे÷जति सकारात्मक परिवर्तन भएका छन्, तिनका लागि योगमायाले तयार पारिदिएको आधारलाई पनि नजरअन्दाज गर्न मिल्दैन।

जातीय विभेद र छुवाछूतः योगमायामा जातीय विभेद र छुवाछूतप्रति पनि तीव्र आक्रोश थियो। ‘मेरो त जात छैन। तिमीहरू के रोज्छौ तिम्रा मर्जी,...मेरो कौडिन्य गोत्रमा जन्म भाको थ्यो तर अब मेरा जात गोत्र सबै भगवान्मा मिल्न गो।’ सर्वाथ योगवाणी नामक कृतिका अनुसार उनले भनेकी थिइन्– धर्म छाड्नु क्या हो भने आफ्नो नियाँ छाडी, ब्राह्मणहरू बन्न लागे शुद्र जातका जोडी।’ यसरी हेर्दा उनी जातीय समानताको पक्षमा उभिएकी थिइन्। उनको आश्रम र प्रवचनमा सवै जातका मानिसको समान सहभागिता हुनुले पनि उनी त्यतिबेलै सामाजिक न्यायको पक्षमा खुलेरै लागेकी बुझ्न सकिन्छ।

ब्राह्मणवाद र धार्मिक आडम्बरः योगमायाले ब्राह्मणवाद र धार्मिक आडम्बर विरुद्ध सामाजिक सुधारका लागि सशक्तरूपमा जागरण फैलाउँदै गइन्। धर्म र पुराणका माध्यमले मानिसलाई भ्रमित पारेर दमन र शोषण गर्ने ब्राह्मणहरूको गलत क्रियाकलापको विरोधमा उनले चर्कै आवाज उठाइन्। उनले मानिसको मृत्युकर्ममा अनिवार्य गरिएको गरुड पुराणका सन्दर्भमा भनेकी छिन् (योगमायाका अनुसार)ः

‘पण्डितले चाल् पाउँनू गडुर न लाउँनु

धेर कर्ममा नभुलुन् प्रेतमा नहुल्नु

यो बात् सुन्दा पण्डितको चित दुख्नेछ  

भक्तजीको दृष्टि पर्दा नर्क सुक्नेछ।’

दासप्रथाः योगमाया मानिसले मानिसलाई पशुसरह किनबेच गर्ने प्रथाको अन्त्य चाहन्थिन्। वि.सं. १९८२ मा श्री ३ चन्द्रशमशेरले दास मोचन गरेपछि उनी ज्याँदै खुसी र उत्साहित भएकी थिइन्। जसलाई योगमायामा प्रकाशित उनका यी भनाइले पुष्टि गर्छन् ः

‘मुलुकमा दाशी रमाए,

राजाले धर्म कमाए,

राजाले धर्म गरिदिए,

पैसा त धेरै छरिदिए।

सुन सुन सवैजना शुभसम्चार आयो। देशैभरि आजका दिन खुसियाली छायो।’

गरिव दुःखीका पक्षमा

योगमाया सामाजिक न्याय र गरिब दुःखीको पक्षमा उभिएकी थिइन्। आफूमाथि अन्याय भएको ठान्नेहरू न्याय पाउन मझुवावेशी ठूली हजुरसमक्ष जानुपर्छ भन्दै योगमायाको आश्रममा आउँथे। सामन्तको थिचोमिचोबाट अन्यायमा परेका मानिस हुन् या घरेलु हिंसाबाट पीडित महिला हुन्, सबैको पहुँच भएको न्यायालय थियो मझुवाबेशी ठूली हजुरको आश्रम।  

यसरी डेढ शताब्दीअगाडि नै नेपाली समाजमा योगमाया एउटी सशक्त अधिकारवादी सामाजिक अभियन्ताका रूपमा उदाएकी बुझ्न कुनै कठिनाइ छैन। यही अभियानका क्रममा पटक–पटक श्री ३ समक्ष मागपत्र पठाउने क्रममा सुनुवाइ नभएपछि अन्तिम पटक वि.सं. १९९३ मा योगमायाकै नेतृत्वमा श्री ३ जुद्धशमशेरलाई सुधारका माग समावेश गरिएको मागपत्र तत्काल पूरा गर्न अनुरोध गर्दै बुझाइएको थियो। त्यस क्रममा श्री ३ जुद्धशमशेरले धर्म उदय गर्न र राह थिति जुग बदल्न तयार भएको कुरा जानकारी गराएका थिए।  

तर लामो समयको पर्खाइमा पनि राणा सरकारबाट ती माग पूरा गर्नेतर्फ ठोस कदम नचालेपछि योगमायाले त्यसका विरुद्ध सशक्त आन्दोलन घोषणा गरिन्। जसअनुसार सरकारलाई दवाव दिनका लागि वि.सं. १९९५ कात्तिक २७ गते, कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म माग पूरा गर्न समयसीमा दिइन् र नभए अग्निदाह गर्ने घोषणासमेत गरिन्। यसबारे ठाउँ ठाउँमा सूचना टाँसियो। तर २०९ जना भन्दा धेरैले नाम लेखाइसकेका सामूहिक अग्निदाह सरकारी अवरोधका कारण रोकियो। प्रशासनिक धरपकड र दमन भयो। यसबाट योगमाया र उनका समर्थक निराश भएनन्। बरु गोप्य तयारीमा लागे। यसरी दोस्रो पटक १९९८ असार २२ गते हरिशयनी एकादशीका दिन योगमायासहित उनका ६६ जना अनुयायी एकैपटक अरूणमा जलसमाधि लिएर देह त्याग गरे।  

त्यतिबेलादेखि अहिलेसम्म नेपालमा विभिन्न आन्दोलन भए। जसबाट राणा शासन अन्त्य भयो। लोकतन्त्र आयो। गणतन्त्र पनि आयो। तर पनियोगमायाले त्यतिबेलै उठान गरेकी महिला अधिकारका धेरै सवाल अझै पनि उत्तिकै सान्दर्भिक छन्। कानुनीरूपमा बालविवाह र बहुविवाह वर्जित गरिए पनि व्यावहारिकरूपमा स्वीकार्य मात्र हैन, कायमै छ। विधवा विवाहलाई कानुनी मान्यता दिइए तापनि यो महिलाका लागि सामाजिक–पारिवारिकरूपमा कठिन छ। धर्म र संस्कृतिका नाममा हुने विभेद, अत्याचार र शोषण आज पनि उस्तै छ। कुप्रथाका रूपमा विद्यमान जातीय छुवाछूत कानुनतः वर्जित भए तापनि सामाजिकरूपमा अझै विकारालरूपमा कायमै छ।  

तसर्थ, जबसम्म महिलाले आफैँ राज्यबाट भएका व्यवस्था र प्रावधानहरू उपयोग गर्न सक्ने अवस्था हुँदैन, तवसम्म त्यसले सकारात्मक प्रभाव पार्न र परिणाम दिन सक्दैन। त्यसैले अबको महिला आन्दोलन भनेको महिलाको पहुँच र हैसियत बढाउने हो। महिलालाई सशक्त बनाउने हो। त्यो हैसियत निर्माणका लागि आर्थिकरूपमा आत्मनिर्भर र स्वावलम्वी बनाउने हो। महिलालाई स्वआर्जन र उत्पादनमा सहभागी बनाउने हो। यसरी हेर्दा योगमायाले थालनी गरेको सामाजिक आन्दोलनको अभियान आज पनि उत्तिकै सान्दर्भिक छ। नेपाली महिला आन्दोलन योगमायादेखि आजसम्म निरन्तर जारी छ। जसलाई अझै सशक्त बनाउनुको विकल्प छैन।

(अध्यक्ष– राष्ट्रिय महिला आयोग)

प्रकाशित: २६ असार २०८० ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App