१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

उधारो राजनीतिको नगदी सत्ता!

मोही माग्ने ढुंग्रो लुकाउने !

उधारो राजनीति बजेट बनाउन भुटानी शरणार्थी बनेर आयो। बुख्याँचा मोर्चा बनेर छलफलमा आयो र त्यसपछि बजेट पास गर्ने सूत्र बनेर ललिता निवास प्रकरण आयो। त्यसैले मुलुकका लागि के गर्ने भन्ने नभएर पनि, कसैले नबुझ्ने भएर पनि, कसैले के पाउने भन्ने थाहा नपाएर संसद्बाट बजेट पारित भयो।

नेपालीलाई आकर्षित गर्ने अजेन्डा बालेन साह, हर्ष साङपाङ, रवि लामिछाने, स्वर्णिम वाग्लेहरूले लगिसकेका छन्। तिनले स्थापित राजनीतिक दलहरूलाई हायलकायल पारिरहेका छन्। तिनबाट तर्सिएर आत्तिएका प्रचण्डले अब अगाडिका दिनमा उधारो राजनीति के÷कसरी अगाडि बढाउने छन्? यतिखेर कुन उधारो सवाललाईदेश र जनतासामु ठड्याउन प्रचण्ड लागेका छन्? उधारो राजनीतिका चतुर र माहिर खेलाडीको उधारो राजनीतिका ललीपप समाधान जति ठड्याए पनि एकपछि अर्को ढलिरहेका देखिँदैछ।  

यतिखेर उनको पहिलो उधारो राजनीतिको चम्किलो तारा बनेको छ, २०७५ मा बनेर २०७८ मा अदालतले समाप्त पारिदिएको नेकपा ब्युँताउने उद्घोष। सतहमा ल्याउने अभियान सुरु भएको छ। त्यसपछि प्रचण्ड नेपालीलाई चीन भ्रमणको ढ्यान्टरान बनाएर ल्याउनेवाला देखिँदैछन्। यसले उधारो राजनीति बनेर आएको समाजवादी मोर्चाको हदम्याद सकिइसकेको सावित हुन्छ। प्रचण्डको भारत भ्रमणको ‘उपलब्धि‘पनि सेलाइसकेको छ। भुटानी शरणार्थीको मुद्दाले राजनीतिक हदम्याद नाघिसकेको प्रतीत हुँदैछ।

प्रधानमन्त्री प्रचण्डका यी गतिविधिलाई नियालिरहेका राजनीतिशास्त्रका प्राध्यापक भन्छन्, प्रचण्ड एकपछि अर्को कार्ड फ्याँकिरहने जुवाडेको अवस्थामा पुगिसकेका छन्। यसको अन्तर्य के हो भने उनी निरन्तर ओरालो लागिरहेका छन्। उनको अवस्था दिन÷परदिन खस्कँदो छ। उनको आभा नक्कली थियो र त्यो समाप्त भैसक्यो। सत्ताको आभा सत्ता छउन्जेल हो। त्यसैले सत्तामा रहिरहन कन्दनी कसेर लागेका छन्। छटपटीका अभिव्यक्ति हुन् उनले एकपछि अर्को गर्दै अगाडि सारिरहेका कार्डहरू। ढुंग्रो नलुकाइ भन्ने हो भने यतिखेर प्रचण्ड अत्यन्त अलोकप्रिय नेता सावित भएका छन्। लुकिंग लन्डन, टकिंग टोकियो र स्ट्यान्डिंग कांग्रेसको वैशाखीमा। यस्तो दयनीय अवस्थामा यसअघि उनी कहिल्यै परेको लाग्दैनथ्यो। यद्यपि, संविधानसभाको दोस्रो निर्वाचनपछि उनी निरन्तर ओरालो लागेको लाग्यैछन्। उनको अवस्थामा एकरत्ति सुधार आउन सकेको छैन। यही कारण हो मौसमसँगै बदलिइरहेको प्रचण्डको छट्पटी र औडाहा! कहिले कुन र कहिले कुन चलाखी गरेर अगाडि बढेको देखाउन खोजिरहन्छन्। यो नै उनको असफलता हो। त्यसैले उनले आफू मात्र होइन, पूरै मतियार जाकिने ठूलो खाडल खनिसकेका छन्।

देश दुनियाँले स्पष्टसँग के थाहा पाए भने कहिले एमाले, कहिले कांग्रेस, कहिले माधव नेपाल, कहिले उपेन्द्र यादव र फेरि त्यही चक्र दोहोर्याउनुलाई प्रचण्डले जुन छलांग भनिरहेछन्, त्यो नै उनी भँड्खारोमा जाकिने यथार्थ हो। के गरौँ के नगरौँको द्वन्द्वमा उनी चक्करकाटिरहेका छन्। यो अत्यन्त पीडादायक छ किनभने आफूले सुरु गरेको भनिएको आन्दोलनको बलमा स्थापित हुन नसक्ने गरी सिद्धिइसकेका उनले आफ्नो अवस्था राम्रैसँग बुझिसकेको हुनुपर्छ। त्यसैले उनी जस्तोसुकै उट्पट्याँग गर्न राजी हुने अवस्थामा पुगिसकेका देखिन्छन्। नत्र उनी जे गरिरहेका छन्, एउटा परिवर्तनकामी नेताले गर्ने कुनै काम गरिरहेका छन्? झिनामसिना उद्घाटन, विमोचन र शिलान्यासमा राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिबारे बर्बराइरहेछन्। जबकि मन्त्रालयहरू दलअनुसारका दृष्टिमा विभाजित देखिन्छन्। प्रधानमन्त्रीका मन्त्रीहरू होइनन्, उनी मन्त्रीका प्रधानमन्त्री बनिरहेको देखिएका छन्।

आमनिर्वाचनपछि उनले एमालेसँग गरेको सहकार्य तोडेर कांग्रेससँग गरेको गठबन्धनपछि उनको ठूलो फण्डा भनेकै समाजवादी मोर्चा हो। माधव नेपालसँग रहेको एमालेको भोट उनलाई किनारा लगाएपछि आफूमा पार्ने उनको रणनीति कारगर हुने देखिएन किनभने समाजवादी छोड्दै पुराना एमाले एमालेतिरै फर्किइरहेका छन्। तिनको प्राथमिकतामा माओवादी कहिल्यै परेन। माधव नेपालका कार्यकर्तालाई एमालेमा जान नदिने उनको ट्याक्टिस टूस भैरहेछ। समाजवादी राष्ट्रिय पार्टी नरहेपछि एमालेमा जानसक्ने सहानुभूति भोट काट्ने प्रचण्डको योजनाले माओवादी जोगाउने विकल्प बन्न सकेन। सक्ने देखिएन।

उधारो राजनीतिका चतुर र माहिर खेलाडी प्रचण्डको उधारो राजनीतिका ललिपप समाधान जति ठड्याए पनि एकपछि अर्को ढलिरहेका देखिँदैछ।

अजेन्डाबिहीन पार्टीहरूलाई उधारो राजनीतिको ललिपप चटाएर माओवादीको भोटबैंक बनाउने योजना सरसर्ती सुन्दा चलाखीपूर्ण र योजनाबद्ध लागे पनि त्यो बतासे योजना नै सावित हुनपुग्यो किनभने आजका सचेत मतदाता कम्तीमा आफूलाई कसले मुर्गा बनाउँदैछ भन्ने बुझ्ने सामथ्र्य राख्छन्। यो कुरा प्रचण्डलाई थाहा नभए पनि आममतदातालाई राम्रैसँग थाहा भैसकेको कुरा हो। किनभने २०४६ सालको परिवर्तनपछि जनताले आठ÷नौ पटक प्रत्यक्ष मतदान गरेर त्यसको रसपान गर्न थालिसकेका छन्। जसको फल माओवादी मात्र होइन, एमाले र कांग्रेसीले पनि आफ्नो घट्दो प्रभाव र मतबाट जानकारी पाइसकेका छन्। जति÷जति चुनाव भैरहेछन्, त्यति नै ठूला दलहरूलाई स्वतन्त्र, योग्य र काविल उम्मेदवारहरूले चुनौती दिएका मात्र होइनन्, हावाकावा खुवाइरहेका छन्। भर्खरै सकिएको उपचुनावमा तीनवटै उम्मेदवार न कांग्रेस, न एमाले नत माओवादीले जित्न सके। चुनाव परिणाम त एकवर्ष पनि नपुगेको कान्छो पार्टीले पो उछिट्याइ दियो!

आफ्नै आँखाअगाडिका यी गतिविधि नियालिरहेका चलाख प्रचण्ड तीन÷चार साना पार्टीलाई मोर्चाको नाउँमा आफ्नो वरिपरि घुमाउने वातावरण बनाउन सकियो भने तिनको प्रभावको भोट आउँदो चुनावमा माओवादी बक्सामा खसाउने माहोल बन्छ र माओवादीतिर मतको बाढी आउछ भन्ने अनुमान गरेर दलहरूलाई एकठाउँमा ल्याउने सफलता पाएजस्तो देखिए पनि त्यसको भित्री कुरा भिन्नै रहेको बताउँछन्, प्राध्यापक। उनले थपे, माधव नेपाल के÷कति कारणले मोर्चामा आएको छ थाहा छ? अनि उपेन्द्र यादव? त्यसपछि नेत्रविक्रम चन्द? एमालेले शान्तिपूर्ण राजनीतिमा आउन सहमत गराएका विप्लव किन माओवादीतिर लहसिएका होलान्? विप्लवलाई प्रचण्डले एक्लै रहे दुवै हेगतिर तानिन्छौँ भनेर तर्साएको हुनुपर्छ। भोलि प्रचण्डलाई परेको अवस्थामा थाम्ने कसले? माओवादी अभियान नै सोम शर्मा ब्राह्मणको कथा जस्तो बन्न पुगेको त होइनभन्दा अन्यथा नभनियोस्, सत्य यही हो!

एमालेले पनि राजनीति गरेको सावित भैरहेको छैन। भँडुवाहरू त्यहाँ पनि हावी भैरहेका देखिन्छन्। ऐनमौकामा एमालेलाई सिध्याउन लागिपरेर टाढिएकाहरूलाई नै धमाधम पार्टी प्रवेश गराएर एमालेलाई शक्तिशाली बनाउन सकिन्छ भन्ने भ्रममा नेतृत्व जाकिएको देखिँदैछ। एमाले भाँड्ने, क्षति पुर्याउने, धम्की दिने वामदेवहरूलाई पार्टीमा विशेषस्थान दिन लागिएपछि एमालेलाई सर्वस्व ठानेर पार्टी जोगाउनेहरूआफ्नै टाउकोमा ‘धुन्धुकारि‘ थोपरिने भय र त्रासले गर्दा ठूलो पंक्ति निरास बन्दै गइरहेको छ।  

वामपार्टीहरूको एकतामा एमालेले विश्वास गर्न सक्ने अवस्था नै छैन। एमालेभित्र एमालेलाई कसले उधारो राजनीतिको दलदलमा धकेल्न खोजिरहेको छ? केपी ओलीले पनि बुझ्न सकेका देखिइरहेको छैन। जबकि प्रचण्डका विगतका घात÷प्रतिघात सहन बाध्य ओलीले सत्तामा गएर माओवादी अवसरवादलाई समाप्त पार्न हुँकार गर्नुपर्ने बेलामा वामदेव भित्राउने र प्रचण्डबाट आश गर्ने अभिव्यक्ति थोरै मात्र पनि आयो भने पनि एमाले भनेर जीवन दिएर लाग्नेहरूको टाउकोमा फेरि प्रचण्ड र वामदेव थोपर्ने कार्य कर्मठ नेता÷कार्यकर्तालाई कदापि स्वीकार्य हुने देखिँदैन। कथम्कदाचित्त नहुनुपर्ने कुरा भयो भने एमालेको पतन यही कदमबाट सुरु हुनेछ, प्राध्यापक भन्छन्। यसो गर्न ओलीलाई ट्रयापमा पार्ने को हो? हर्ष साङपाङ र बालेनलाई पागल भन्ने को हो? नारायणमान बिजेक्छेलाई सराप्ने को हो? यस्तो अराजनीतिक सोचविचार भएकामाथि भर परेर ओलीले एमालेलाई वैतरणी पार गराउन किमार्थ सक्दैनन्? त्यसैले ओलीले यस्ता चिन्तन राख्नेहरूलाई धोइपखाली होइन, कारबाही गर्नसक्नुपर्छ। अन्यथा एमाले देशको पहिलो सशक्त राजनीतिक पार्टी बन्न सक्ने छैन। तेस्रो पार्टीले पहिलो पार्टीलाई च्यापेर दोस्रो किनारामा पारिरहनेछ। पहिलो पनि तेस्रोको गोलचक्करमा परिरहनेछ।  

देश दुनियाँले स्पष्टसँग के थाहा पाए भने कहिले एमाले, कहिले कांग्रेस, कहिले माधव नेपाल, कहिले उपेन्द्र यादव र फेरि त्यही चक्र दोहोर्याउनु लाई प्रचण्डले जुन छलांग भनिरहेछन्, त्यो नै उनी भँड्खारोमा जाकिने यथार्थ हो।

केपी ओलीको यही कमजोरी प्रचण्डले थाहा पाएको प्रतीत हुन्छ। त्यसैले ओलीलाई पहिलो पार्टी बनेर माथि जानबाट प्रचण्ड रोकिरहन सफल भैरहेछन्। गिरिजाप्रसादले गणतन्त्र ल्याएको देख्ने प्रचण्डभित्र नेपालका वामपन्थीहरूले के गरे भन्ने मान्यता पन्पिरहेको रहेछ? थाहा नभएर उनले त्यसो भनेका होइनन्। अब वामपन्थी एकताको नाउँमा एमालेले पनि प्रचण्डपथ दोहोर्याइरहने हो भने एमाले र माओवादीमा भिन्नता के नै बाँकी रहन्छ र! माओवादी धुत्र्याइँ दोहोर्याइरहने हो भने गाउँगाउँदेखि देशको मुहार परिवर्तन गर्न लागेका एमालेजनहरू खरानी बनेर सकिँदैनन्? आठ लाख बढी सदस्य भएको एमालेका नेता कार्यकर्ताले जेल, नेल, यातना सहेर, जीवन न्यौछावर गरेर गणतन्त्र ल्याउन साँच्चै केही गरेनन् त? अनि गिरिजाप्रसादले ल्याएको गणतन्त्र भन्ने प्रचण्डसँग वामपन्थी एकता गर्न लहसिने कि दक्षिणपन्थी? एमाले प्रचण्डसँग मिलेर वामपन्थी एकता गर्ने र नेकपा ब्युँताउने? हिजो के र कसको कारणले नेकपा सकियो? त्यसको निर्मम समीक्षा गर्नुपर्दैन? कोको थिए हिजो नेकपालाई मटियामेट पार्ने? हिजोको वामएकतामा नपर्ने त मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला मात्र होइनन्? बाँकी त यिनै हुन् जसले नेकपा समाप्त पारे। एमालेका नेता, कार्यकर्ता, बुद्धिजीवी कुन दुलोमा पसेका छन्? तिनले वर्तमानमा खह्रो उत्रिएर नेतृत्वलाई लल्कार्नु पर्दैन?

जोसुकैले अप्ठेरोमा प्रहार गर्ने भनेको कमजोरीमा हो। घरको कुरो नमिले छिमेकीले फाइदा उठाउँछ होइन? खोइ एमाले नेतृत्वले यो कुरा बुझेको? म गल्तीतिर त गइन भनेर प्रत्येक एमालेले आफैँलाई हेर्नु पर्दैन? वाम–प्रजातान्त्रिक योद्धाको धर्म निर्वाह गर्नुपर्दैन? आफैँलाई समीक्षा गर्नु पर्दैन? आफू वरिपरि कुडाकर्कट छ भने त्यसलाई पन्छाउनु पर्दैन? आफूमा रहेको भद्रगोल र गैरराजनीतिक हर्कतलाई बेलैमा नसुधारी अगाडि बढ्न सकिन्छ? राम्रो इमेज भएकालाई अगाडि बढाउने र हनुमानगिरीका किल्ला नभत्काइ कुनै पनि संगठन बन्दैन। वनस्पति विज्ञानको सिद्धान्त नै छ, जस्तोसुकै बिरुवा पनि छाँटकाँट गरेपछि मात्र त्यो अझ सुन्दर र उत्पादक बन्छ!

२०८४को आमचुनावतपाईँको टार्गेटमा छ?यसका लागि  

आफ्ना कमजोरीलाई सुधार्दै सैद्धान्तिक, वैचारिक र सांगठनिक हिसाबले पार्टीलाई तन्दुरुस्त नराखी चुनावमा सफलता एक पाइन्न, दुई पाइन्न र तीन पाइन्न। पाउँदै पाइँदैन!अरूलाई सिद्धान्त बिचार नभएको पार्टी भन्ने आरोप लगाएर चुनाव जित्न सकिँदैन। ‘सिद्धान्त विचार‘ नहुनेले चुनाव नजित्ने भएको भए गएको चुनाव र उपचुनावमा उनीहरूका उम्मेदवारले हार्नुपर्ने हो तर चुनाव त उनैले जिते। सिद्धान्त, बिचार, संगठन भएकाहरूले सर्मनाक पराजय बेहोर्नुपर्यो।  

सबैको भ्रम खुलोस्, चुनाव जित्ने भनेको जनताको मन जित्ने हो! यसका लागि पार्टीले संसदीय मोर्चा मात्र संहालेर पुग्दैन। सिद्धान्त, संगठन र वैचारिक धारिलोपन खस्किएपछि कसैको केही लाग्दैन। मूलकुरा संगठन बलियो बन्नुपर्छ। नेता÷कार्यकर्ता जनताबीच मात्र होइन, विरोधी पार्टीहरूबीच पनि इमान्दार, कर्तव्यनिष्ठ र लगनशील ठहरिनुपर्छ। यसका लागि पारदर्शी, स्वच्छ र जनमुखी नबनी सुखैछैन। सदस्य यतिछन् भन्ने ध्वाँस देखाएर पुग्दैन।तुवाँलो लगाउने राजनीति गर्यो भने जनता अलमलमा पर्छन्। कांग्रेस, माओवादी, राप्रपा, स्वतन्त्र मध्ये को ठीक भन्नेमा जनतालाई अलमलमा पार्न खोजियो भने भोट अर्कैले उछिट्याउँछ। बेलैमा चेतना भया!

प्रकाशित: २० असार २०८० ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App