३ असार २०८१ सोमबार
image/svg+xml
विचार

स्वस्थ मुटुका लागि ध्वनि प्रदूषण नियन्त्रण

क्षयरोगसंबन्धी अध्ययन-अनुसन्धान गरेबापत सन् १९०५ मा आयुर्विज्ञान क्षेत्रको नोबल पुरस्कार पाएका रबर्ट कोचले सन् १९१० मा ध्वनि प्रदूषण भविष्यमा हैजा भन्दा पनि जटिल समस्या भएर आउने घोषणा गरे। हैजा आतंकका कारण लाखौँ मानिस मारिने तत्कालीन समयमा आवाज प्रदूषणले महामारीको रूप लिन्छ भन्ने डा. कोचको भनाइलाई गहकिलो सन्देश ठानिएन बरू महावैज्ञानिक सन्किए भन्नेसम्मको आरोप लाग्यो। आउँदा वर्षहरूमा जीवनका प्रत्येक क्षेत्रमा मेसिनको प्रयोग हुने अनि इन्जिन चल्दा निस्कने आवाज थेगिनसक्ने अवस्थामा पुग्ने प्राध्यापक कोचको भविष्यवाणीलाई तत्कालीन समाजले बुझ्न सकेन।  

पछिल्लो शताब्दीको तीव्र औद्योगिकीकरण अनि गाडी, हवाईजहाज, रेल जस्ता सवारी साधनको बढ्दो चाप तथा झिनामसिना कामका लागि समेत मसिन प्रयोग गर्ने संस्कृतिले विश्वभरि नै ध्वनि प्रदूषण बढ्यो। विगतमा चराको गीत तथा जंगली जनावरको स्वर मात्र सुनिने गाउँमा अहिले डोजर, गाडी तथा प्लेनका आवाजलाई सामान्य मान्ने अवस्था आयो। अप्राकृतिकरूपले ध्वनि शक्ति आकासिँदा धेरै किसिमका समस्या देखिए। ध्वनि प्रदूषणले ल्याउने स्वास्थ समस्याका संबन्धमा भएका अध्ययनको चर्चा यो लेखको लक्ष्य रह्यो। स्वरको संवेदनताका लागि कानको प्रयोग हुने भएकाले ध्वनि प्रदूषणको असर ज्ञानेन्द्रिय कर्ण भन्दा पर नपुग्ने धेरैको सोच हुनु अन्यथा होइन। तर आवधिक अनुसन्धानले साउन्ड पोलुसनको असर श्रवण शक्ति भन्दा निकै पर पुगेको देखायो।  

ध्वनि प्रदूषण महामारी हो भन्ने नोबल पुरस्कार विजेता रबर्ट कोचको एक शताब्दीअघिको अभिव्यक्ति स्मरण गरौँ अनि सबैलाई सम्झाऔँ पनि।

ठूलो अनि तिखो आवाजले श्रवण क्षमता क्षीण बनाउने गरेको देखियो। चखिलो ध्वनिले पार्ने श्रणव क्षमता क्षयीकरणलाई ‘न्वाइज इन्डिउस्ड हिएरिङ लस’ भनिन्छ। एउटै ठूलो बिष्फोटन अथवा लामो समयको चहकिलो ध्वनिले मानिसलाई कान नसुन्ने बनाएको देखियो। आवाजले भित्री कानको कक्लियामा रहने मसिना रौहरूलाई क्षति पु¥याउने भएकाले व्यक्ति बहिरो हुन्छ। भित्री कानका मसिना झुसहरू फेरि नपलाउने चरित्रका तन्तु भएकाले एकपल्ट कक्लिया ड्यामेज भएपछि श्रवण शक्ति फेरि सामान्य बन्न सक्दैन, व्यक्ति सधैँका लागि बहिरो हुन्छ। बहिरो हँुदा समाजमा झेल्नुपर्ने मानसिक तथा पारिवारिक तनावले पार्ने मनोवैज्ञानिक व्ययको तथ्यांक लामो बन्छ नै। अब साउन्ड पोलुसनले पार्ने अप्रत्यक्ष स्वास्थ्य जटिलता हेरौँ।  

तौललाई किलोग्राममा मापन गरिएझैं ध्वनिको शक्तिलाई डेसिबेल स्केलमा मापन गरिन्छ। संयुक्त राज्य अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ डेफनेसका अनुसार ७० डेसिबेल अथवा त्यो भन्दा तलको आवाज हाम्रो कानका लागि उत्तम हुन्छ। सामान्य वार्तालापका आवाज ६० देखि ७० डेसिबेलको हाराहारीमा हुन्छ। लगातार अथवा आवधिकरूपमा सुनिने ८५ डेसिबेल भन्दा अधिक चर्को आवाजले श्रवण शक्तिलाई शिथिल मात्र नबनाउने बरु विभिन्न स्वास्थ्य समस्या देखाउने भन्छ वैज्ञानिक तथ्यांकले।  

के ठूलो स्वरमा समय व्यतित गर्ने मानिसमा सामान्य दिनचर्या बिताउने समूहको भन्दा अधिक स्वास्थ्य समस्या देखिन्छ त भन्ने प्रश्नको ठोस उत्तर खोज्न संयुक्त राज्य अमेरिकाको म्यासाच्युसेट्स जेनरल हस्पिटलका अन्वेषणकर्ताहरूले अस्पतालमा संकलित ब्रेन स्क्यान डाटा उत्खनन गर्ने निधो गरे। अनि उक्त अभियानको नेतृत्व गरे अनुसन्धानकर्ता माइकल अस्वर्नले। हस्पिटलका संकलित सयौँ ब्रेन स्क्यान तथ्यांक तथा रोगीको काम र बासस्थानको ध्वनि प्रदूषणबीचको अन्तर्संबन्ध हेरियो। उक्त तुलनात्मक तथ्यांकले ठूलो आवाजमा लामो समय व्यतित गर्ने व्यक्तिको ब्रेनको एमिग्डेला भन्ने भाग अत्यधिक सक्रिय देखियो। ठूलै समस्या परेका बखत मात्र सामान्यतः क्रियाशील हुनुपर्ने एमिग्डेला अनायासमै किन चुल्बुलियो त भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा ध्वनि प्रदूषणले यो अंग सक्रिय हुन्छ भन्ने देखियो। यसरी ठूलो आवाजले एमिग्डेला सक्रिय हुन्छ भन्ने तथ्यांक सन् २०२० मा युरोपियन हर्ट जर्नलमा प्रकाशित भयो। अब एमिग्डेलाको क्रियाशीलताको बायोलोजिकल कारण के छ त भन्ने हेरौँ।

ठूलो स्वर कानमा पर्दा मस्तिष्कको तनाव सिर्जनामा संलग्न हुने भाग एमिग्डेला क्रियाशील हुन्छ। परिणाम स्वरूप चरण बद्धरूपले मस्तिष्कमा विभिन्न किसिमका रासायनिक परिवर्तन सुरु हुन्छन्।

ठूलो स्वर कानमा पर्दा मस्तिष्कको तनाव सिर्जनामा संलग्न हुने भाग एमिग्डेला क्रियाशील हुन्छ। परिणामस्वरूप चरणबद्धरूपले मस्तिष्कमा विभिन्न किसिमका रासायनिक परिवर्तन सुरु हुन्छन्। धेरै चरित्रका रासायनिक पदार्थ उत्पन्न भएपछि इन्डोक्राइन सिस्टमहरू बढी नै सक्रिय बन्न पुग्छन्। अनि मिर्गाैलाको माथ्लो भागमा रहने एडरिनल ग्ल्यान्डले कोर्टिसोल र एडरिनालिन हर्मोनहरू उत्पादन गर्छ। यी हर्मोनहरू अत्यधिक मात्रामा उकासिनु भनेको ठूलै दुःखको संवाहक हो। ठूलो आवाजलाई हाम्रो शारीरिक संरचनाले भयानिक कष्टपूर्ण अवस्थाका रूपमा लिएको देखियो। त्यस्तो विषम परिस्थितिमा शरीरलाई सामान्य बनाउन स्नायु प्रणालीअन्तर्गतको सिम्पेथेटिक नर्भस सिस्टम क्रियाशील हुन्छ। नर्भस सिस्टममा तडकभडक आउँदा मुटुको चाल बढ्ने अनि रक्तचाप एक्कासि उकासिन पुग्छ। यस्तो असामान्य अवस्थालाई हाम्रो प्रतिरक्षा प्रणालीले शरीरमा खतरनाक भाइरस तथा ब्याक्टेरियाले संक्रमण गर्दा पैदा गर्ने स्वेत रक्त कणिका (ह्वाइट सेल) उत्पन्न गर्छ। तसर्थ, ठूलो स्वरले प्रतिरक्षा प्रणाली तथा रक्त सञ्चार प्रणाली दुवैलाई असामान्य बनाउँछ। यसरी रक्त सञ्चार प्रणाली असामान्य बनेपछि रक्त नलीमा रोकावट आउने अनि मुटुको धड्कन तथा रक्तचाप उकासिने भएकाले व्यक्तिको मुटु तथा मस्तिष्कमा रक्त आपूर्ति रोकिइ व्यक्तिको मृत्यु हुन सक्ने संभाव्यता देखियो। ध्वनि प्रदूषणले हर्ट अट्याक तथा पक्षघातलाई उकास्ने देखायो अन्वेषणले। एउटा पृथक अन्वेषणले ध्वनि प्रदूषणको नगन्य प्रभाव भएको दुर्गम भेगका जनता र सहरको कोलाहलमा हुर्किएको समूहको एमिग्डेलाको एक्टिभिटिज तुलना गर्दा जुम्लीको तुलनामा काठमाडौँबासीमा कार्डियो भास्कुलर डिजिजको संभाव्यता ५ गुणा अधिक हुन्छ भन्ने देखायो।  

ध्वनि प्रदूषणले हर्टअट्याक र स्ट्रोक जस्ता जटिल समस्या निम्त्याउने भए पनि लगातार उच्च आवाजमा बस्ने र कहिलेकाहिँ ठूलो स्वरमा रहन बाध्य मानिसमा देखिने स्वास्थ्य जटिलताका बीच भिन्नता भए÷नभएको ठम्याउन स्विस अनुसन्धान टोलीले लगातार गाडी गुडिरहने सडकछेउका बासिन्दा र कहिलेकाहिँ मात्र मालबाहक रेल हिँड्ने बाटो समिपका नागरिकको कार्डियो भास्कुलर अवस्थाको तुलना गर्दा अनौठो नतिजा पाए। अन्य हिसाबले समान दिनचर्या भएका दुई समूहको स्वास्थ्य परीक्षणले सधैँ निश्चित तहको ध्वनिको सामना गर्नुपर्ने समूह भन्दा यदाकदा ठूलो आवाज सुन्नुपर्ने बाध्यता भएका व्यक्तिको अवस्था अझ नाजुक देखियो। उत्तिकै स्तरको ध्वनि शक्ति भए पनि खण्डित प्रकृतिको ध्वनि झन खतरनाक देखे स्विजरल्यान्डका अनुसन्धान समूहले। सधैँ गाडी गुडिरहने बिपी राजमार्ग छेउका मानिस भन्दा दिनको दुई चारपटक आकासबाट हवाईजहाज उड्दा ध्वनि प्रदूषण महसुस गर्ने दुर्गम काभ्रेपलान्चोकका बासिन्दाको अवस्था अझ खराब हुन्छ भन्ने सन्देश दियो उक्त अन्वेषणले। आखिर किन सधैँ ध्वनिको चित्कारमा काम गर्ने भन्दा कहिलेकाहिँ ठूलो स्वरमा बस्ने मानिसले बढी सजाय भोग्नुप¥यो भन्ने प्रश्नको उत्तर दिन सकेन उक्त अनुसन्धानले।  

सामान्यतः शान्त कोठाको आवाज करिब ४० डेसिबल हुन्छ भने नयाँ सडकको व्यस्त इलाकामा ध्वनिको कम्पन झण्डै ८० डेसिबल हुन्छ। तर ध्वनि मापनको हिसाबले न्युरोडको ध्वनि प्रदूषण शान्त कोठाको भन्दा केबल दोब्बर मात्र खराब हुँदैन बरु १६ गुणा विषाक्त हुन्छ। प्रत्येक १० डेसिबल आवाजको कम्पन बढ्दा ध्वनि प्रदूषण भने दोब्बर गतिमा बढ्छ भन्ने कुरा बिर्सनुहँुदैन।  

४ करोड मानिसलाई केन्द्रमा राखी गरिएको एक दशक लामो अध्ययनले सालाखाला ३५ डेसिबेलको कम्पनमा बस्ने नागरिक भन्दा प्रत्येक १० डेसिबेल उच्च आवाजमा जीवन यापन गर्ने व्यक्ति मुटुसंबन्धी रोगले मर्ने संभाब्यता झण्डै ३ प्रतिशतले बढ्ने देखायो। मरण संभाव्यता ध्वनि प्रदूषणको ग्राफसँगै उकासिँदै जान्छ भन्ने उक्त अध्ययनको सार देखियो।  

अनिदो बस्दा विभिन्न किसिमका शारीरिक समस्या देखिनुका अतिरिक्त दिमागी शक्ति पनि क्षीण हुने भएकाले शान्त वातावरणमा रात्रिकालीन विश्राम लिन आवश्यक हुन्छ। प्रकाशित तथ्यांकले ३० डेसिबेल भन्दा मुनि ध्वनि कम्पन भएको कोठामा निद्रा अविच्छिन्न हुने भएकाले शान्त बेडरुममा सुत्नु स्वास्थ्यका हिसाबले उत्तम देखियो। शयनकक्षमा ४० डेसिबेलको आवाज हँुदा धेरै मानिसमा निद्रा खण्डित हुन सक्ने देखिएकाले सुत्नुअघि कोठाको अवस्था संभव भएसम्म शान्त बनाउन आवश्यक देखियो।  

ध्वनि प्रदूषणका संबन्धमा गरिएका प्रत्येक अध्ययनले उच्च आवाजमा जीवन व्यतीत गर्ने व्यक्तिमा उच्च रक्तचाप, पक्षघात, अल्पनिद्रा, श्रवण शक्तिमा ह«ास आउनेलगायतका स्वास्थ्य समस्या आउने देखायो। उचो आवाजमा काम गर्नेदेखि सहरको कोलाहलमा बस्न बाध्य सबै नागरिकले आफ्नो स्वास्थ्यमा संझौता गर्नुपर्ने बाध्यता देखियो। मुल सडकमै टाँसिएका अस्पतालका बिरामीलाई गाडीका आवाजले कस्तो असर पार्ला सहजै अन्दाज गर्न सकिन्छ। सवारीको आवाजले ध्वनि प्रदूषणमा पार्ने नकारात्मक प्रभावलाई मध्यनजर राख्दै विश्व स्वास्थ्य संगठनले रोड ट्राफिकको ध्वनि ५३ डेसिबेल भन्दा अधिक हँुदा नकारात्मक स्वास्थ्य परिणाम आउने भएकाले सबै राष्ट्रलाई तद्अनुरूपको कानुनी व्यवस्था गर्न निर्देशन दियो।  

राजधानीको ट्राफिक कोलाहल देख्दा नेपालले राष्ट्रसंघीय प्रोटोकललाई चासो दिएको देखिएन। स्थानीय सरकार सशक्तरूपले प्रस्तुत हुने गरी स्थानीय ऐन आएको अवस्थामा सबै नगरलाई ध्वनि प्रदूषण नियन्त्रणका उपाय अवलम्बन गर्न गाह«ो पर्ने देखिँदैन। ध्वनि प्रदूषण र कार्डियो भास्कुलर डिजिजका बीच प्रत्यक्ष संबन्ध रहेको वैज्ञानिक तथ्यलाई मध्यनजर राख्दै साउन्ड पोलुसन कम गर्न सबै पक्ष एकजुट हुन आवश्यक छ। ध्वनि प्रदूषण नियन्त्रण गर्न सके मुटुका रोगीको संख्या घट्न गइ हेल्थ केयर सिस्टमको चाप न्यून गर्न सकिन्थ्यो। ध्वनि प्रदूषण महामारी हो भन्ने नोबल पुरस्कार विजेता रबर्ट कोचको एक शताब्दीअघिको अभिव्यक्ति स्मरण गरौँ अनि सबैलाई सम्झाऔँ पनि।

प्रकाशित: १२ असार २०८० ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App