१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

सेप साउथ एसिया–२०२३ का उपलब्धि

दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ। जीवाश्म इन्धन उत्सर्जनको वर्तमान प्रक्षेपणलाई आधार मान्ने हो भने दक्षिण एसियाले सन् २०५० सम्ममा आफ्नो कुल गार्हस्थ्य उत्पादनको औसत १.८% र यस शताब्दीको अन्त्यसम्ममा प्रत्येक वर्ष अर्थतन्त्रमा ९% घाटा हुने एसियाली विकास बैंकले सन् २०१४ मा प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ।

सबै दक्षिण एसियाली राष्ट्रले जलवायु संकटसँग लड्न क्षेत्र–विशिष्ट मुद्दाहरू र फोकल क्षेत्रहरूलाई पङ्क्तिबद्ध गर्न र बुझ्नका लागि विशेषज्ञता आवश्यकता रहन्छ। यो क्षेत्रका पूर्वाधारका साथै सामाजिक र राजनीतिक प्रणालीमा जलवायुजन्य संकट थेग्न सक्ने उत्थानशीलता आवश्यक देखिएको छ। जलवायु उत्थानशीलता कार्यान्वयनका लागि आर्थिक लागत, सरकारी समर्थन र सहयोग आवश्यक हुन्छ।

जलवायु उत्थानशीलताको मुद्दामा प्रतिक्रिया दिन र योगदान गर्न ग्लोबल सेपर्स काठमाडौँ हबले ‘सेपिङ क्लाइमेट रेजिलेन्सी टु अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने नाराका साथ हालै सेप साउथ एसिया–२०२३ नामक सम्मेलन आयोजना गरेको थियो।

यसले दक्षिण एसियामा जलवायु परिवर्तनको तीव्र प्रभावको प्रतिक्रियामा उत्थानशील सामाजिक–आर्थिक संरचनाहरू सुनिश्चित गर्न अत्यावश्यकतामा जोड दिएको छ। वल्र्ड इकोनोमिक फोरमको पहलमा रहेको सेप, विश्वका विभिन्न ७ क्षेत्रमा आयोजना हुने ग्लोबल सेपर्स समुदायको तीनदिने क्षेत्रीय सम्मेलन हो। यस वर्ष दक्षिण एसियामा आयोजना भएको तीनदिने ‘सेप दक्षिण एसिया २०२३’ जेठ ७ गते काठमाडाँमा सम्पन्न भएको हो।

यो सेप सम्मेलन, कोभिड–१९ महामारीपछि आयोजित पहिलो विश्वव्यापी सेप सम्मेलन थियो। यस सेप सम्मेलनमा दक्षिण एसिया र विश्वभरका सहरमा आधारित हबहरूबाट १३० भन्दा बढी युवा नेताहरूको उपस्थिति थियो। सम्मेलन उद्घाटन समारोहमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत निजी क्षेत्र, सरकार र विकास साझेदारहरूका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। जलवायु परिवर्तनको दीर्घकालीन चुनौतीका रूपमा दक्षिण एसियाली क्षेत्रका प्रमुख साझा विषयहरूमध्ये एक रहेको जलवायु परिवर्तनसँग जुध्न छलफल गर्न विभिन्न पृष्ठभूमि भएका सेपर्ससँग तीनदिने छलफलमा जुटेका थिए। उनीहरूले दक्षिण एसियाका सहर–आधारित हबहरूमा कार्य गर्ने क्रममा ठोस कार्यक्रम र जलवायु उत्थानशीलता बढाउन सामूहिक दृष्टिकोणको आवश्यकतामा जोड दिएका छन्।

सेप साउथ एसिया–२०२३ ले दक्षिण एसियामा जलवायु उत्थानशीलताका लागि प्रमुख चुनौतीहरू, अवसरहरू र कार्यविन्दुहरूलाई प्राथमिकतामा राखेर बहसको सुरुवात भएको छ र प्रश्नहरूको उत्तरको खोजी भएको छ। दक्षिण एसियाभरका १४ सहरमा आधारित हबका युवाहरूद्वारा विकसित र स्वामित्वमा रहेको सम्मेलनको निचोडलाई सम्बद्ध विज्ञहरूले समेत अनुमोदन गरेका थिए। यो निचोडसँगै सेप दक्षिण एसियाले साझारूपमा वातावरणीय परियोजनाको विकास गर्ने बाटो खुलेको छ र पृष्ठभूमि तयार भएको छ।

सम्मेलनका क्रममा अमेरिकाको क्लाइमेट रियालिटी प्रोजेक्टका विज्ञ टोलीले सम्मेलनमा सहभागी रहेका १४ देशका १३० प्रतिनिधिहरूसँग सीमित स्रोत/साधनको पृष्ठभूमिमा आगामी दिनमा हबमा आधारित परियोजनाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ र जलवायुजन्य चुनौतीसँग जुध्न के/कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा छुट्टै सत्रको आयोजना गरेका थिए। जलवायु उत्थानशीलताका लागि आगामी कार्यक्रमहरू तय गर्न यो सत्र महत्वपूर्ण रहेको थियो। स्मरणीय छ, क्लाइमेट रियालिटी प्रोजेक्ट संयुक्त राज्य अमेरिकाका पूर्वउपराष्ट्रपति अल गोरद्वारा स्थापना गरिएको जलवायु परिवर्तनसँग सम्बन्धित शिक्षा र वकालत गर्ने गैरनाफामूलक संगठन हो।

यस सन्दर्भमा, ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँले आफ्नो जिम्मेवारीअनुरूप नेपालका निजी क्षेत्रसँग सहकार्य अगाढि बढाइसकेको छ। नेपालका विभिन्न क्षेत्रका व्यवसायी र उद्यमीहरूलाई प्रतिनिधित्व गर्ने निजी क्षेत्रका संघहरू दक्षिण एसियामा पहिलोपटक जलवायु परिवर्तनका लागि एक प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न एकजुट भएका छन्।

हरित रूपान्तरणलाई समर्थन गर्न तथा यसका लागि आवश्यक आविष्कार र लगानीलाई अगाडि बढाउन निजी क्षेत्रको भूमिका आवश्यक मानिएको छ। पेरिस जलवायु सम्झौताअन्तर्गत नेपालले राष्ट्रियरूपमा तय गरेको योगदानका लक्ष्य पूरा गर्न र यो लक्ष्य प्राप्त भए/नभएको अनुगमन गर्ने खाका तयार गर्ने र कार्यक्रमहरू कार्यान्वयन गर्न पनि निजी क्षेत्रको भूमिका अहं रहने देखिएको छ।

सम्मेलनले जारी गरेको प्रतिज्ञापत्रमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च र नेपाल चेम्बर अफ कमर्सले हस्ताक्षर गरेका छन्। यी निकायले अधिकांश मझौला र ठूला उद्योगहरूसहित हजारौँको संख्यामा रहेका उद्यमी तथा व्यवसायीहरूलाई प्रतिनिधित्व गर्छन्।

नेपालमा भएको यो विकासक्रमलाई ग्लोबल सेपर्स समुदायका विदेशी प्रतिनिधिहरूले प्रशंसा गरेका थिए र यसलाई प्रेरणाका रूपमा लिएका थिए। उनीहरूले आफ्नो देशमा फर्केपछि निजी क्षेत्रका च्याम्बरहरूसँग पनि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्राविधिक छलफल र केही कार्यक्रम को सुरूवात गर्नु मात्र यो सम्मेलनको उद्देश्य थिएन। सम्मेलनको दौरानमा नेपालकाकला, संस्कृति र सम्पदालाई विदेशी प्रतिनिधिहरूलाई परिचित गराउने कार्य पनि गरिएको थियो। ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँले काठमाडौँ उपत्यका संरक्षण कोषसँगको साझेदारीमा पाटन दरबार स्क्वायरमा एक विशेष अन्तरक्रियात्मक पैदलयात्रा आयोजना गरेको थियो। यो कार्यक्रमलाई विदेशी प्रतिनिधिले निकै रुचाएका थिए।

यसैगरी सम्मेलनको अवसर पारेर माया फाउन्डेसनले आफ्नो ‘पिला चेनः होमस्टे’ को उदघाट्नमा विदेशी प्रतिनिधिहरूलाई सहभागी गराएको थियो। होमस्टे रहेको यो भवन २०१५ को भूकम्पपछि ग्लोबल सेपर्स काठमाडौँ समुदायको सहयोगमा माया फाउन्डेसनले पुनर्निर्माण गरेको हो। होमस्टेको यसअघि काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वल्र्ड इकोनोमिक फोरमका डा. सन्दुक रुइत र करेन सेजले शुभारम्भ गरेका हुन्। उदघाटनपछि अतिथिहरूलाई परम्परागत नेवारी भोज र धेमे नृत्यले सत्कार गरिएको थियो। सेप साउथ एसिया २०२३ ले प्रतिनिधिहरूलाई यसअघि पहिले कहिल्यै नगरेको अनुभव हासिल गर्ने अवसर प्रदान गरेको थियो।

समग्रमा भन्नुपर्दा ग्लोबल सेपर्स युवाहरूको समुदाय हो भन्ने भावना सुदृढीकरण गर्न सेप साउथ एसिया २०२३ सफल भएको छ। सेपर्स परिवर्तनका परिकल्पनकार र निर्माताहरूको संगठन हो र परिवार हो। यी युवाहरूको फरक पृष्ठभूमि र अनुभव छन्। उनीहरू आफ्ना सहर र विश्वको उज्ज्वल भविष्यका लागि प्रतिबद्ध छन्।

सेप साउथ एसिया २०२३ ले आपसी अनुभवहरूको साटासाट गर्र्दै एकापसमा बलियो सम्बन्ध स्थापना गरेको छ। दक्षिण एसियामा रहेको उच्च हिमालहरूको भविष्य सुनिश्चित गर्न, जलवायु उत्थानशीलताका उपायहरूलाई आकार दिन र अवलम्बन गर्ने दिशामा सेप साउथ एसिया २०२३ ले दूरगामी महत्व राख्नेछ। 

प्रकाशित: १० असार २०८० ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App