धेरै राष्ट्र निरङ्कुशतन्त्र र भ्रष्टाचारमध्ये एउटाबाट अभिशप्त छन्। कतिपय राष्ट्र दुवै किसिमका रोगले ग्रस्त छन्। विशुद्ध प्रजातान्त्रिक वातावरण भएका स्विडेन, नर्वे, बेल्जियम र ब्रिटेनका जनताले त्यो कहालिलाग्दो पीडा भोग्नुपरेको छैन। दुर्भाग्यवश, कम विकसित र दरिद्र राष्ट्र भ्रष्टाचार तथा कठोर अधिनायकवाद (निरङ्कुशतन्त्र) जस्ता विकारको सिकार बन्दै आएका छन्।
पाकिस्तान जन्मिएका सालदेखि दुःख भोगिरहेको छ। लामो सैनिक शासन वा निरङ्कुशतन्त्रमध्ये एउटा रोज्न बाध्य छन्, जनता। सत्तरी वर्षको मात्रै इतिहास छ, पाकिस्तानको तर सत्तरी हण्डर खायो उसले।
अबका तीन वर्षमा सिंगापुर वा दक्षिण कोरियाको हाराहारीमा उत्थान गर्ने भनेर कार्यक्रम सार्वजनिक गरियो। यता राष्ट्र अन्योलमा छ। भ्रष्टाचारको मुद्दामा तहरिक– ए– इन्साफ दलका प्रमुख इमरान खान सत्ताबाट झरे। नेसनल अकाउन्टिबिलिटी ब्युरो नामक संयन्त्रले इमरानमाथि अनेक अभियोग लगाएको छ। मुस्लिम लिगका पूर्वअध्यक्ष तथा वर्तमान प्रधानमन्त्री शाहबाज शरिफ सत्तारूढ भएपछि अर्को प्रश्न उठेको छ, के यिनले स्थिरता देलान्?
पाकिस्तान मात्रै उदाहरण होइन, दक्षिण एसिया र अफ्रिकी राष्ट्रहरूमध्ये धेरैले उस्तै पीडा भोग्नुपरेको इतिहास छ। भ्रष्टाचारी हटाए निरङ्कुश आउने, निरङ्कुश गएपछि भ्रष्ट आउने, कहिले तरवारका दुई धार जस्तो भ्रष्ट र निरंकुशतन्त्र मोबाइल फोनमा दुईवटा सिमजस्तो बनेर आउने गरेको देखिन्छ।
धेरै राष्ट्र निरङ्कुशतन्त्र र भ्रष्टाचारमध्ये एउटाबाट अभिशप्त छन्। कतिपय राष्ट्र दुवै किसिमका रोगले ग्रस्त छन्। विशुद्ध प्रजातान्त्रिक वातावरण भएका स्विडेन, नर्वे, बेल्जियम र ब्रिटेनका जनताले त्यो कहालिलाग्दो पीडा भोग्नुपरेको छैन।
कम्बोडियामा प्रजातन्त्र ल्याउने भनेर विदेशीले पोलपोट र उनको खमेररुज दललाई उचाले। अफगानिस्तानमा मस्कोका शासकहरूले जहिर शाहलाई अपदस्थ गरेर उनकै ज्वाइँ दाउदलाई सत्तारुढ गराए। इरानमा धार्मिक कट्टरपन्थीहरू शक्तिशाली भए। हजारौँलाई “परिवर्तनका बाधक” मानेर मृत्युदण्ड दिइएको थियो। विदेशी षड्यन्त्र नबुझ्दा दश वर्ष इरान–इराक युद्ध चल्यो। लाखौंँ जनता मरे। अर्बौँ डलरको क्षति भयो। हार–जित भ्रम ठहरियो। दुवै राष्ट्र हारेको अवस्था थियो भन्छन्, त्यहाँका विद्वान्–विदुषीहरू।
स्थायित्व, शान्ति तथा समृद्धि एकअर्काका परिपूरक हुन्। एउटाको कमी हुँदा अरू पनि अधुरो बन्न पुग्छन्।
हामी नेपाली सुखद भविष्य, शान्तिपूर्ण वर्तमान र दीर्घकालीन सुशासनका पक्षमा छौँ। हरेक राष्ट्रका जनताको चाहना यस्तै हुन्छ। पृथ्वीनारायण शाहले नेपाल र नेपाली आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिए। आज पनि हामी त्यही भनिरहेका छौँ। अब निर्मम समीक्षा गर्नुपर्ने बेला आएको छ, आखिर समस्याको जरो कहाँ छ?
नेपाल र नेपालीको उन्नयनका लागि राजनीतिक नेतृत्व इमानदार हुनैपर्छ। संसद्मा पुगेका हरेक दलले राष्ट्रिय मूलनीति बनाउन चासो दिनैपर्छ। राष्ट्रिय सुरक्षा, परराष्ट्र, गृहलगायतका विषयमा विवाद होइन, एउटै धारणा हुनैपर्छ। धेरै राष्ट्रमा राष्ट्रिय हित सर्वाधिक महत्वको सम्वेदनशील विषय मानिन्छ। राष्ट्रिय हितका प्रश्नमा विवाद गरिँदैन।
इशापूर्व १३८ मा रोममा जन्मेका सुल्ला प्रथम तानाशाह हुन् भनेका छन्, प्रसिद्ध राजनीतिशास्त्रीहरूले। सामान्य परिवारका ती शासकले अनन्तः सुखको कल्पना गर्दै राज्यकोषबाट ठूलो सुविधा लिए। अर्थात् एउटै शासक भ्रष्ट, अनुदार, क्रूर, अधिनायक, निर्दयी र जनविरोधी हुन सक्छ भन्ने यो ऐतिहासिक प्रमाण थियो।
राजा बेनलगायतका केही पथभ्रष्ट शासकलाई राजदरबारभित्रका विद्वान् र सल्लाहकार मिलेर राजसभाको निर्णयअनुसार बध गरिएको कुरा हाम्रा प्राचीन ग्रन्थमा पाइन्छ। सुशासन शासकको प्रथम कर्तव्य हो तर जीवनभर अधिकारका लागि संघर्ष गर्नेहरू जब सत्तामा पुग्छन् तब उनीहरूले राष्ट्र र जनताप्रतिको दायित्व एवं कर्तव्य किन बिर्सन खोज्छन्, यो प्रश्न गम्भीर छ।
कम्बोडियामा प्रजातन्त्र ल्याउने भनेर विदेशीले पोलपोट र उनको खमेररुज दललाई उचाले। अफगानिस्तानमा मस्कोका शासकहरूले जहिर शाहलाई अपदस्थ गरेर उनकै ज्वाइँ दाउदलाई सत्तारुढ गराए। इरानमा धार्मिक कट्टरपन्थीहरू शक्तिशाली भए।
यजुर्वेदमा “वयं राष्ट्रे जागृयाम् पुरोहिता” अर्थात् राष्ट्र उठाउन सबै जागौँ भन्ने सन्देश छ। वेदमा राष्ट्र, संसद्, सभासद् जस्ता शब्द भेटिन्छन्। हजारौँ वर्षअघिदेखि पूर्वी गोलाद्र्धमा प्रजातान्त्रिक शासन थियोे भन्ने प्रमाण धेरै छन्। सनातन धर्मावलम्बी राजाले शुभराज्याभिषेकमा ब्राह्मण, क्षत्री, वैश्य र शुद्रले मात्रै होइन, नगरवधुले टेकेको माटाको तिलक लगाएर म सबैको राजा हुँ तर कर्तव्यपालन गर्न सकिनँ भने सहुँला, बुझाउँला भन्ने प्रण गर्नुपर्थ्याे। तानाशाह, भ्रष्ट, अप्रजातान्त्रिक र अन्यायी हुने छूट कसैलाई थिएन। जनता (प्रजागण) पनि चेतनशील थिए। उनीहरू शासकलाई भन्थे, “हामी शक्ति र व्यक्ति होइन, सत्यको मात्रै समर्थन गर्छाैँ।”
“जेलमा बीस वर्ष” ग्रन्थका लेखक पुराना राजनीतिज्ञ खड्गमानसिंह बस्न्यातले पंक्तिकारसँग उहाँको निवास (नक्साल) मा भन्नुभएको थियो, “बाबु, म राणा शासनविरुद्ध धेरै वर्ष लागिरहेँ। जेल बसेँ। अनेक यातना सहेँ। अहिले सम्झिँदा निकै भावुक हुन्छु। राणाहरू निरंकुश, भ्रष्ट र कठोर भए पनि देशद्रोही होइनन्। तीमध्ये गोरखापत्र स्थापना गर्ने उदार शासक देवशमशेर थिए। उनी पनि प्रजातान्त्रिक दृष्टिकोणले हेर्दा खराब हुन् तर कम खराब।”
विरोधी भए पनि संस्कारीहरू वस्तुपरक (अब्जेक्टिभ) विश्लेषण गर्छन्। कुनै दलमा आबद्ध नभएको वा हुन नचाहने मानिस प्रजातान्त्रिक प्रणालीको विरोधी होइन। उसलाई स्वतन्त्र हुने छूट छ। स्वतन्त्र विचार अभिव्यक्त गर्न पाउँछ। केही हप्ता झापा/इलामतिर बस्दा थाहा भयो, कैयौँ पत्रकार कुनै दलमा नलाग्ने र स्वतन्त्र बस्ने प्रतिज्ञा गरिरहेका रहेछन्।
झापाको भद्रपुरमा भद्रपुर प्रेस क्लबले पत्रकारका लागि अल्पकालीन प्रशिक्षणमा मलाई प्रमुख प्रशिक्षकको दायित्व दिएको थियो। जेठ ६ र ७ मा भएको कार्यशाला गोष्ठी र प्रशिक्षणमा सहभागी धेरैले भनेको सुनियो, “पत्रकार रेफ्री हुनुपर्छ, कुनै दल वा गुटको खेलाडी हुनुहुँदैन। राजनीति गर्ने भए पूर्ण रूपमा उतै लाग्नुपर्छ। पत्रकार भनेर ठग्नु हुँदैन।
कतिपय राष्ट्र प्रजातान्त्रिक प्रणालीलाई उपेक्षा गर्दा सर्वसत्तावादीको दासता स्वीकार्न बाध्य भएका छन्। आफैँले स्वतन्त्र ढंगबाट चलाइएको सिक्किममा दलहरूबीच एकता नहुँदा सन् १९७५ मा अन्ततः भारतमा विलय भएको इतिहास छ। जनमत संग्रहको नाममा भएको प्रपञ्चबारे भारतीय लेखक सुनन्दा के. दत्ता–रेद्वारा लिखित “स्म्यास एन्ड ग्याब: एनेक्सेसन अफ सिक्किम” पुस्तकमा सविस्तार उल्लेख छ। सिक्किम विलयबारे “सिक्किम सागा” लगायतका अरू पनि रोचक पुस्तक छन्।
सर्वसत्तावाद, एकदलीय अधिनायकवाद, अप्रजातान्त्रिक प्रणाली, अनुदार नायक, निरङ्कुश एवं गतिहीन र मतिहीनलाई आजको पुस्ताले समर्थन गर्दैन।
राजनीतिक परिवर्तन भनेको केही व्यक्तिको अनुहार र सत्तारूढ हुने खेल मात्रै होइन। परिवर्तनको अर्थ पहिलेको भन्दा खराब पनि होइन। जब राजनीतिक प्रणालीका हरेक अंगमा विकार देखिन्छ, तब त्यसको शुद्धीकरण अत्यावश्यक हुन्छ। प्रजातन्त्रको विकल्प त्योभन्दा सुन्दर प्रजातान्त्रिक पद्धति मात्रै हो, कुनै किसिमको निरङ्कुश शासन होइन।
प्रजातन्त्रलाई भ्रष्टाचारी मृत्युशैयामा पुगेको हेर्न चाहन्छन्। अप्रजातान्त्रिक सोच हुनेहरू पानी धमिलो बनाएर फाइदा लिन लालायित हुन्छन्। प्रजातन्त्र मरेपछि मेरो पालो आउँछ भन्दै ढुकेर बस्नेहरू पनि हुन्छन्। प्रतिपक्षी र सत्ताको बागडोर सम्हालेर बस्नेहरू “हामीले जे पनि गर्न सक्छौँ” भन्ने अहंकारले ग्रस्त भएमा प्रजातन्त्रको मृत्यु हुन सक्छ भनेर विद्वान्हरूले चेतावनी दिएका छन्। तसर्थ, नेताहरूले अरूलाई दोष दिने होइन, आफू पवित्र हुने प्रण गरे पुग्छ।
राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।
सर्वसत्तावाद, एकदलीय अधिनायकवाद, अप्रजातान्त्रिक प्रणाली, अनुदार नायक, निरङ्कुश एवं गतिहीन र मतिहीनलाई आजको पुस्ताले समर्थन गर्दैन। विदेशी विचार, परावलम्बी र भ्रष्टलाई तत्कालै दुत्कार्छन् युवाले। यसकारण, राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।
क्यानाडा, स्विडेन, फ्रान्स, जर्मनी, नर्वे, बेल्जियम जस्ता राष्ट्र अत्यन्तै न्यून भ्रष्टाचार हुनेमा गनिन्छन्। राष्ट्र बलियो र विश्वासिलो बनाउन राजनीतिकर्मी, कर्मचारी, सेना, प्रहरी, विभिन्न व्यवसायी सबै सचेत र इमानदार हुनुपर्छ। दुःखका साथ भन्नुपर्छ, राष्ट्रिय चरित्र लोप हुँदै गएका कारण हामी हरेक दिन प्रायः अप्रिय समाचारहरू सुन्न अभ्यस्त छौँ। यो राष्ट्र र प्रजातन्त्रका लागि घातक कुरा हो।
प्रकाशित: ८ असार २०८० ००:३४ शुक्रबार