निजामती प्रशासनमा भ्रष्टाचार यसरी व्याप्त छ कि विकास कार्यक्रम, ठेक्कापट्टा, कार्यालय सामान खरिद र मुद्दा फैसला गर्दासमेत अभियुक्तसँग रकम असुल गरेर पनि गढबढ गर्ने गरिन्छ । वनमा काठको प्रजातिअनुसारको दररेट कायम गरी भ्रष्टाचार गर्ने गरिँदै आइएको छ । निजी जग्गाको काठको छोडपुर्जी दिँदासमेत सालाखाला बकाइनोको रु. १०, साल–खयरको रु. १००, सिसौको रु. ५०, उत्तिसको रु. २० प्रतिक्युफिट आदिका दरले रेट कायम गरिएको छ । कतिपय बेला जिल्लाबाट प्रतिवर्ष निकासी हुने काठको परिमाण हेरेर माथिल्लो निकायबाट कर्मचारी त्यहाँ सरुवा गरिन्छ । जिल्लामा उठाएको रकम माथिसम्म भागबन्डा गर्छन् । छोडपुर्जी दिँदा रकम लिनु गलत हो भन्ने कुरा वन प्राविधिक साथीहरूसँग गर्या भने बिनाहिच्किचाहट यो त सिस्टम भइसक्यो भन्छन् । काठका ठेकेदार पनि आनाकानी नगरी क्युफिटका आधारमा कर्मचारीलाई रकम दिन्छन् । यस्ता अवैध र गोप्य लेनदेनका कारण पनि बजारमा काठको मूल्य आकासिँदो छ । कहिलेकाहीँ लेनदेनमा हिसावकिताव नमिल्दा मात्रै ठेकेदारले अख्तियारलाई खबर गरिदिन्छन् र वन कर्मचारी पक्राउ परेका घटना बाहिर आउने गरेका छन् ।
२०७३ चैत १५ मा जिल्ला वन कार्यालय, कास्कीका सहायक वन अधिकृत घूस लिएको नगद रकमसहित अख्तियारले पक्रेको खबर सञ्चारमाध्यममा सेलाउन नपाउँदै त्यसको पाँच दिनपछि नै बर्दिवासमा अमिनलाई घूससहित नियन्त्रणमा लिएको समाचार आउँदा मलाई उदेक लाग्यो । कहिले पुलिस पक्राउ पर्छन्, कहिले जिल्ला प्रशासन र मालपोत कार्यालयका कर्मचारी त, हुँदाहुँदा अख्तियारमै काम गर्ने कर्मचारी पनि पक्राउ परे भन्ने समाचार आउँछ । यसरी हेर्दा कर्मचारीलाई अख्तियारले पक्रन्छ, कारबाही गर्छ भन्ने कुरातर्फ कुनै डर नै छैन भने अख्तियारको कारबाहीको के अर्थ भयो त ?
हामी बेलैमा सच्चिने कि नसच्चिने ? हरेक ३÷३ महिनामा एक जना वन प्राविधिकलाई अख्तियारले पक्रेर मुद्दा चलाओस् र वन पेशाको बदनाम होस्, के हामी यस्तो कष्ट बेहोर्न तयार छाँै त ? अर्थात हरेक वन प्राविधिकको घाँटीमा तरबार झुण्डिएको छ र यही हविगत भएमा जोसुकै पनि अख्तियारको फन्दामा पर्न सक्ने सम्भावना छ । किन हुन्छ यस्तो पटकपटक ? के कर्मचारीलाई अख्तियारको कारबाहीले कुनै प्रभाव पार्न सक्दैन ? पछिल्लो समय पक्राउ पर्नेले पनि यी सबै समाचार पढेकै, सुनेकै र देखेकै हुन्छन् तर त्यसपछि पनि किन पक्राउ पर्ने क्रम रोकिँदैन ? किन नियन्त्रण हुँदैन भ्रष्टाचार, किन मोलाहिजा, लोभलालचमा फसिरहन्छन् उनीहरू ? अब सोच्नुपर्ने बेला आएको छ ।
मैले साथीहरूसँग यसबारे चर्चा गरेँ । उनीहरू भन्छन्– हिसावकिताव गरेर यो काम हुन्छ । साथीहरूले कमाइ गर्ने पटकको हिसाव गर्छन्, कमाए कमाइहालिन्छ भन्ने हुन्छ । मैले भनेँ, बदनामी हुन्छ, इष्टमित्र, श्रीमती, बालबच्चा, आफन्त, नातेदार, साथीभाइलाई हुने पीडाबारे सोच्नुपर्दैन ? मैले यो पनि भनेँ कि धन कमाएर घरघडेरी किन्यो, त्यसमा श्रीमती छोराछोरी बुहारी, नातिनातिनी हालीमुहाली गर्छन् । उनीहरू जेलमा कहिलेकाहीँ स्याउ केरा बोकेर भेट्न आउलान् । दुई चार महिना नियास्रो मान्लान्, त्यतिमात्र हो । जेलमा उनीहरू बस्नुपर्दैन, त्यहाँ बस्नुपर्ने त आफू नै, त्यसैले आफूले दुःख पाइपाइ यो सबै किन गर्नुपर्याे?
राज्य र सिंगो मानव समाजले पनि भौतिक सुखसुविधालाई नै पहिलो प्राथमिकता दिएको छ । तर यथार्थमा त्यो सुख क्षणिक हुन्छ भन्ने कुरा जबसम्म हामीले मानिसको भावनामा जगाउन सक्दैनौँ तबसम्म यस्ता कुरा भई नै रहन्छन् । बढे योगी र त्यागी नेता पनि भौतिक सुख र इन्द्रिय तृप्तिीका लागि मरिहत्ते गर्छन् भन्ने कुरा पटकपटकका हाम्रा अनुभवबाट हामी सबै प्रष्टै छौँ । त्यसैले अहिलेको एउटैमात्र विकल्प हो– एसी भक्तिवेदान्त स्वामी प्रभुपादद्वारा लिखित पुस्तक अध्ययन गरी कसरी आफूलाई कृष्णभावनामा लगाएर भौतिक सुख सुविधाभन्दा अलौकिक आनन्द प्राप्त गर्ने दिशातर्फ उन्मुख हुन सक्छौँ भन्ने ज्ञान हासिल गरौं । यसैबाट मात्रै हामी यो भ्रष्टाचारको समस्या समाधान गर्न सक्नेछाँै । कलि युगमा योग, ध्यान, साधनाबाट पनि इन्द्रियलाई नियन्त्रण गर्न सकिँदैन । यसको एकमात्र विकल्प कृष्णभावनाभावित हुनु नै हो । यस ज्ञानबाट हामीलाई दुःखसुख, लाभ÷हानि र विषम परिस्थितिमा पनि समभाव राख्न सिकाउँछ ।
इन्द्रिय कति बलवान हुन्छन् भन्ने कुरा श्रीमद्भागवद्गीता (२.६०) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– यततो ह््यपि कौन्तेय पुरुषस्य विपश्चितः । इन्द्रियाणी प्रमाथीनि हरन्ति प्रसभं मनः ।। हे अर्जुन ! इन्द्रियहरू कति बलवान र वेगवान छन् भने तिनीहरूलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् । कृष्णकृपामूर्ति श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपाद श्रीमद्भागवत गीता यथारूपमा उक्त श्लोकको तात्पर्यमा विश्वमित्र र मेनकाको प्रसंग कोट्याउँदै विश्वमित्र जस्ता सफल योगी पनि कसरी इन्द्रियलाई वशमा पार्न नसक्दा मेनकाको अगाडि लाचार हुनुप¥यो, उनको सौन्दर्यका अगाडि वर्षौंसम्मको ध्यान, तपस्या, साधनले घुँडा टेक्नुप¥यो भन्ने कुरा उल्लेख गर्नुभएको छ ।
प्रभुपाद आफ्ना टीकामा व्याख्या गर्नुुहुन्छ– ‘भौतिक सुख भनेको मरुभूमिको मृगतृष्णामा देखिने पानी जस्तै झुटो सुख हो । मरुभूमिमा पानीले तिर्खाएको जनावरले पानी नभए पनि पानी भएजस्तो मान्छ, त्यसको पछि दौडन्छ र अन्त्यमा त्यसको मृत्यु हुुन्छ । हामीलाई थाहा छ, मरुभूमिमा पानी छैन । पानी जस्तो देखिने भनेको सूर्यको परावर्तनमात्र हो तर यो कुरा जनावरलाई थाहा हुँदैन । इन्द्रिय वासनाको परिपूर्तिबाट प्राप्त हुने सुख भनेको मरुभूमिमा देखिने पानी जस्तै झुटो हो । जसरी पाँच इन्द्रिय तृप्तिका लागि बत्तीको उज्यालो देखेर पुतलीको नाश हुन्छ, संगीतको मीठो धून सुनेर मृगहरू सिकारीको जालमा फस्छन्, जिब्रोको स्वादका लागि बल्छीमा थापेको चारोमा माछा फस्छ, बीनाको गन्ध सुँघेर कस्तूरी फन्दामा पर्छ त्यस्तै ढोइको स्पर्शले गजराज पासोमा पर्छ ।
अपराधीले सोच्छ– ‘मैले ती वस्तु पाएँ भने म खुशी हुन्छु ।’ अनि, उसले ती वस्तु प्राप्त गर्न जीवनमा ठूलो जोखिम लिएर अपराध गर्छ । चोरलाई थाहा हुन्छ, यदि ऊ समातियो भने प्रहरीले उसलाई सजाय दिन्छ, तैपनि ऊ चोरी गर्ने गरिरहन्छ किन ? ऊ इन्द्रिय वासनाको परिपूर्ति गर्न पागलजस्तै हुन्छ, त्यसैले चोरी गर्छ, भ्रष्टाचार गर्छ ।
प्रभुपाद लेख्नुहुन्छ– पक्राउ परे पर्छु भन्ने पागलपन हुन्छ, भौतिक सुखका लागि, इन्द्रिय सुखका लागि ऊ त्यसैमा लिप्त हुन्छ । उसलाई पक्राउ परुँला, जेल जाउला, मेरो बेइज्जती हुन्छ, मेरो घर÷परिवारले दुःख पाउँछन्, उनीहरू चिन्तित हुन्छन् भन्ने कुनै कुराप्रति उसले ध्यान दिँदैन । त्यसैले हामीलाई इन्द्रिय वासनाको परिपूर्ति गर्न बलपूर्वक लगाउने ती अपवित्र इच्छा आकाङ्क्षालाई हृदयबाट बाहिर निकालेर हृदय पवित्र बनाउनुपर्छ ।’ इन्द्रियवासनाको परिपूर्तिलाई त्याग गरेर हामीले आध्यात्मिक सुख प्राप्त गर्न प्रयास गर्नुपर्छ । कृष्ण भावनामृत भएपछि अन्य कुराप्रतिको मोह नै भङ्ग हुन्छ । अरु कुराले उसलाई आकर्षित नै गर्न सक्दैन । त्यसैले कृष्णभावनाको स्वाद पाएको व्यक्तिमात्र इन्द्रिय भोग, भौतिक सुखलाई तुच्छ ठान्छ । प्रभुपाद लेख्नुहुन्छ– वैदिक साहित्यमा यो पनि लेखिएको छ भ्रष्टाचार गरेर चोरी गरेर पुलिस वा अख्तियारले पक्रन सकेन भनेर ढुक्क नुहुनुहोला । अख्तियार र पुलिसले थाहा नपाएर पक्रेन भने पनि तपार्इँले यसको सजाय अनिवार्य भोग्नुपर्छ भनिएको छ ।
यस्तो पीडाबाट र सजायबाट सरकारी कर्मचारी र वन प्राविधिकलाई बचाउन पनि श्रीमद्भागवतगीता यथारूप उनीहरूलाई पढाउनुपर्छ । यथारूपमा इन्द्रिय तृप्तिलाई कसरी नियन्त्रण गर्न सकिन्छ, हाम्रो दायित्व के हो ? पैसा कमाउने पागलपन कसरी उत्पन्न हुन्छ ? त्यो पागलपन के हो ? त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने तरिका र सुझाव सिकाइएको छ । भ्रष्टाचारमा संलग्नहरूलाई पक्रने मुद्दा चलाउने खर्च, समयको बर्बाद, जोखिम आदि झन्झट भन्दा भ्रष्टाचार हुनै नदिनेतर्फ ध्यान जानुपर्छ । त्यसैले सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा खर्चने बजेटबाट श्रीमद्भागवतगीता यथारूपको ज्ञान कर्मचारीलाई दिने हो भने सरल तरिकाले भ्रष्टाचारमा उल्लेखनीय नियन्त्रण हुन सक्थ्यो । हाम्रो मनस्थिति र सोचलाई परिवर्तन गर्न श्रीमद्भागवतगीता यथारूपले हामीलाई दिशानिर्देश गर्छ । जब जब मेरा इन्द्रियहरू यताउता भाग्न थाल्छन् तबतब मैले श्रीमद्भागवतगीता यथारूप पढ्न थाल्छु अनि मेरा इन्द्रिय स्वतः वशमा आउँछन् र मेरा सबै लोभमोह हराएर जान्छन् ।
प्रमुख संरक्षण अधिकृत, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय
प्रकाशित: ६ वैशाख २०७४ ०५:०४ बुधबार