प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमणको सिलसिलामा इन्दौरको महाकालेश्वर मन्दिरमा लगाएको पूजाआजालाई आफूलाई कम्युनिस्ट भन्ने एउटा दलको नेताको सांस्कृतिक विचलनको रूपमा मात्र लिनु पर्याप्त हुने छैन। गेरु बस्त्र लगाएर दाहालले मन्दिरमा १०८ केजीको रुद्राक्षको माला अर्पण गर्नु सांस्कृतिक कोणबाट जति छलफल गर्नुपर्ने विषय हो, उति नै यसका राजनीतिक आयाम पनि केलाउन जरुरी छ। द्वन्द्वात्मक भौतिकवादलाई जीवन दर्शन मानेका नेता दाहालले मन्दिरमा पूजाआज गरी विरामी श्रीमतीको स्वास्थ्यलाभ हुने अपेक्षा गर्नु उनले आफ्नो जीवन दर्शन मान्दै आएको विचार र व्यवहारबीच बेमेल र विरोधाभास हो। धर्म व्यक्तिको निजी स्वतन्त्रताको विषय मानिन्छ। तर, कम्युनिस्ट पार्टीको सदस्य हुनुको अर्थ उसले द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शन अङ्गीकार गर्नु हो। कम्युनिस्ट बन्ने अनि धर्मभीरु पनि बन्ने छूट सिद्धान्तले दिँदैन। त्यसकारण प्रम दाहालको महाकालेश्वर पुजनपश्चात कम्तीमा अन्तर्राष्ट्रिय जगत् उनी कम्युनिस्ट रहेनन् भन्ने कुरामा प्रष्ट भएको हुनुपर्छ। प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका दाहालको तीर्थाटनलाई यतिबेलाको भारतको परिस्थितिसँग जोडेर राजनीतिक कोणबाट पनि लेखाजोखा गर्न जरुरी छ।
भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) हिन्दु अतिवादी राजनीतिक दल हो। नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको सरकार बनेयता भारत धार्मिक, जातीय र सामाजिकरूपमा साम्प्रदायिक र सङ्कीर्ण बन्दैछ। मुसलमान, दलित, अल्पसङ्ख्यक र महिलामाथि हिंसा फैलाउन राज्य स्वयम् लागेको छ अथवा राज्यले त्यस्ता हिंसाका दोषीलाई संरक्षण गरिरहेको छ। हिन्दु अतिवाद भारतीय संविधानमा अन्तरनिहीत प्रजातान्त्रिक भावनाविपरीत हो। भारतलाई हिन्दुमय बनाउने राजनीतिक लक्ष्यसहित प्रधानमन्त्री बनेका मोदी आफ्नो लक्ष्यमा सफल देखिँदैछन्। तर धर्म निरपेक्ष रहनुपर्ने राज्यका प्रमुख कुनै एउटा धर्म र संस्कृतिलाई पोस्ने र बाँकीलाई दबाउने सोचका साथ अघि बढ्नु राज्य स्वयम् फासीवादतिर उन्मुख हुनु हो। त्यसकारण आजको भारतीय नेतृत्वलाई फासीवादी नेतृत्व भनी भारतकै बौद्धिकहरूले व्याख्या गरिरहेका छन्। इतिहासलाई कच्याककुचुक पारेर हिन्दु धर्म र संस्कृतिलाई बढावा दिनु र बाँकीलाई दमन गर्नुलाई उनीहरूले फासीवाद भनेका हुन्। फासीवादले जनतालाई एकताको सूत्रमा बाँध्ने होइन, बरु धर्म, जाति, नश्ल, भाषा आदिको नाममा विभाजित गर्छ। आफूभन्दा बाहेकका धर्म, जाति, नश्ल र भाषा–संस्कृतिका जनतामाथि दमन गर्छ र आफ्नो धर्म, जाति र संस्कृतिलाई सर्वोकृष्ट भन्दै अन्धता प्रदर्शन गर्छ। मोदी सरकार र भाजपाका यस्ता गतिविधिका कारण पश्चिमा देशहरूले समेत भारतमा प्रजातन्त्र कमजोर भएको भन्दै आलोचना गरिरहेका छन्।
महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालको पूजाआजालाई भारतको आजको यस्तो परिस्थितिको सापेक्षमा विश्लेषण गर्न जरुरी छ। कूटनीति र अन्तर्राष्ट्रिय राजनीतिमा नेताहरूका गतिविधिले गर्ने सङ्केतको ठूलो महत्व हुन्छ। दाहालले बाहिर भनिए जस्तै श्रीमतीको स्वास्थ्य लाभको कामना गर्न मात्र महाकालेश्वरमा पूजा लगाएका पक्कै थिएनन्। अथवा उनले त्यही मनसायले पूजा लगाएका भए पनि यसले उत्सर्जन गर्ने सङ्केत भने त्यतिमा मात्र सीमित छैन। दाहालको पूजाआजाले सब भन्दा खुसी त भारतीय हिन्दुवादी शासक वर्ग नै भएको हुनुपर्छ। उनीहरू आफूलाई कम्युनिस्ट भन्ने नेपालका प्रधानमन्त्रीलाई समेत आफ्नो ढाँचामा ढाल्न सफल भएकामा हर्षविभोर भएका होलान्। नेपालमा हिन्दु राज्य बनाउन चाहने धर्मभीरु अतिवादीहरू पनि नेपालका प्रधानमन्त्रीको भङ्गिमाबाट खुसी भएको हुनुपर्छ। यसले भारतमा हावी हिन्दुअतिवादलाई अझ टेवा दिएको छ। मोदी सरकारले गैरहिन्दु, अल्पसङ्ख्यक, महिला, दलित र प्रगतिशील भारतीय जनतामाथि गरेको भौतिक, बौद्धिक र आर्थिक अत्याचारलाई दाहालको मन्दिर पुजनले अनुमोदन गरेको छ किनभने मोदी सरकारले हिन्दु अतिवादी सोचाइकै बलमा यस्ता दमन गर्दै आएको हो। जुन चिन्तनले आज भारतीय जनतालाई विभाजित बनाएको छ, त्यही चिन्तनलाई नेपालका प्रधानमन्त्रीले टेवा दिँदा परोक्षरूपमा भारतीय फासीवादलाई उनले सहयोग गरेको अर्थ लाग्छ।
प्रधानमन्त्री भए पनि राजनीतिकरूपमा कमजोर र असजिलो स्थानमा रहेका पुष्पकमल दाहाललाई सत्ता जोगाउन भारतीय नेतृत्वलाई खुसी बनाउनुपर्ने बाध्यता छ। भारत खुसी भए सिंंहदरबारको कुर्सी जोगिने मान्यता नेपालको पुरानै सोच हो। दाहालले यतिबेला भारतीय नेतृत्वलाई खुसी बनाउने सब भन्दा उपयुक्त हतियार धर्म र मन्दिर पूजालाई बनाए। तर उनको यस्तो कदमले नेपाली राजनीतिमा अवसरवाद अझ जब्बर बनेको भने प्रष्ट भएको छ।
राजनीतिक सिद्धान्त र दर्शन नै पार्टी स्थापना र सञ्चालनको मूल आधार हो। सिद्धान्तबिनाको राजनीतिक दल क्लब र भिड मात्र हुने गर्छ। अल्पकालीनरूपमा त्यस्ता क्लबले पनि केही गरे जस्तो देखिए पनि समाजको दीर्घकालीन परिवर्तनको चालक राजनीतिक दलका लागि सिद्धान्त हुुन अपरिहार्य छ। तर राजनीतिक दलका निम्ति सिद्धान्त देखाउने दाँत हुनु अर्को विडम्बना हो। जनतालाई देखाउन आकर्षक दर्शन र सिद्धान्तको जामा लगाएर व्यवहारमा भने उल्टो गतिविधि गर्नु राजनीतिक बेइमानी हो।
दाहालले भारतमा जुनसुकै कारण देखाएर मन्दिर पूजा गर्ने निधो गरे पनि त्यहाँ पुग्नुअघि उनले आफ्नो विगतको पृष्ठभूमि र कार्यकर्तालाई दिएको प्रशिक्षण स्मरण गर्नुपथ्र्यो। कम्तीमा आफँैले लेखेका पार्टीका दस्ताबेज र प्रतिवेदनको ठेली पल्टाउन भ्याएका भए मात्र पनि यो निधोमा पुग्ने थिएनन् कि? उनले भारतको महाकालेश्वर मन्दिरमा जे गरे त्यो के हिजो आफ्ना कार्यकर्तालाई दिएको प्रशिक्षणअनुरूप थियो? आफूले ‘प्रतिपादन’ गरेको सिद्धान्त मिल्दो थियो त्यो पूजा? उनले प्रष्ट पार्न जरुरी छ–या उनी हिजो बेठीक थिए या आज? यो प्रश्नको उत्तर जसरी आए पनि यसले माओवादी नेताको राजनीतिक बेइमानी नै सतहमा देखिनेछ।
कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्। अर्थात्, एउटा देशका कम्युनिस्ट, क्रान्तिकारी र कामदार जनताको न्यायपूर्ण सङ्घर्षलाई अर्को देशका कम्युनिस्ट, क्रान्तिकारी र कामदार जनताले समर्थन र ऐक्यबद्धता जनाउँछन्। उनीहरू न्यायपूर्ण सङ्घर्षका लागि देशको सीमामा बाँधिएर बस्दैनन्। श्रमिक वर्गको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउन उनीहरू आफ्नै देशको सरकारको पनि विरोधमा लडेका हुन्छन्। पहिलो विश्व युद्धमा जर्मनीको कम्युनिस्ट नेतृत्वले आफ्नै देशको सरकारको पक्षमा लिएर अन्धराष्ट्रवादी नीति अङ्गीकार गरेका थिए भने रुसमा लेनिनको पार्टीले आफ्नै देशको प्रतिक्रियावादी सरकारको विरोधमा लडेको थियो र अन्तर्राष्ट्रवादको मुद्दा उठाएको थियो। आज भारतका कम्युनिस्टहरू मोदी सरकारका फासीवादी गतिविधि र हिन्दु अतिवादविरुद्ध लडिरहेका छन्। हिन्दुवादीहरूको भौतिक हमलामा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता घाइते र मारिएका छन्। यस्तो अवस्थामा नेपालका कम्युनिस्टहरूले भारतका कम्युनिस्टहरूप्रति ऐक्यबद्धता जनाउनुपर्ने थियो। तर नेपालका एकजना कम्युनिस्ट नाम गरेको पार्टीका नेताले हिन्दु अतिवादीहरूलाई खुसी बनाउन महाकालेश्वर पूजा गरेका छन् र भारतीय कम्युनिस्टहरूले भोगिरहेको प्रतिकूल परिस्थितिप्रति खिल्ली उडाएका छन्। यो सिद्धान्तबाट विचलित हुनुको स्पष्ट आधार हो।
दाहालको महाकालेश्वर पुजनबाट नेपाललाई फेरि पनि हिन्दु राष्ट्र बनाउन वकालत गर्दै आएकाहरू खुसी छन्। उनीहरूका केही नेताहरूले सार्वजनिकरूपमा ‘पशुपति नाथ नगएका प्रधानमन्त्रीले भारतमा महाकालेश्वर पुजा गरे’ भनी बोले पनि खासमा उनीहरू भन्दैछन्, जहाँको मन्दिर पूजा गरे पनि आफूलाई नास्तिक भन्दै हिँड्ने कम्युनिस्ट गेरु बस्त्रकै शरण परेका छन्। यस्ता तर्क गर्दै उनीहरू नेपालमा फेरि पनि हिन्दु राष्ट्र र प्रकारान्तरले राजतन्त्रलाई फर्काउने तर्क गर्नेछन्। अथवा दाहालको मन्दिर पूजाले राजतन्त्रका पक्षधरलाई बल दिनेछ। फलतः गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता जस्ता संविधानले संस्थागत बनाएका राजनीतिक संस्थालाई प्रधानमन्त्रीका कदमले कमजोर बनाउनेछ।
दाहालसामु आज प्रश्न छन्– के उनी भारतमा मौलाइरहेको फासीवादी सत्ताका पक्षपोषक हुन्? के उनी नेपालमा हिन्दु राज्यको पक्षमा छन्? के उनी गेरु बस्त्रको वैचारिकीमा उभिएको शासन व्यवस्थाका प्रबद्र्धक बन्न खोजेका हुन्? प्रश्न यहाँ कोही दाहाल थरी व्यक्तिको भारत भ्रमण र महाकालेश्वर मन्दिरको पूजासँग मात्र जोडिएको छैन। नेपालका प्रधानमन्त्री र एउटा कम्युनिस्ट पार्टीको नेताका कामसँग यी प्रश्न जोडिएर आउँछन्। यो विषयलाई सामान्यरूपमा लिएर छलफलमा निषेध गर्नुले नेपाली समाजको बौद्धिक र राजनीतिक असंवेदनशीलता मात्र उजागर हुनेछ।
प्रकाशित: २६ जेष्ठ २०८० ००:३३ शुक्रबार