९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

ज्ञान मन्दिरमा गुन्डागर्दी!

विश्वविद्यालय भनेको एउटा यस्तो संस्था हो जहाँ उच्च कोटिको शिक्षा दिइन्छ। परीक्षा लिइन्छ तथा विद्यार्थीलाई विद्यासम्बन्धी उपाधि प्रदान गरिन्छ। अनुसन्धानमा तालिम दिइन्छ  र विद्यार्थीलाई समस्या समाधान गर्न सक्षम बनाइन्छ।  

जीवनको कुनै न कुनै बिन्दुमा शिक्षित हुने र आफ्नो शिक्षाको उचित डिग्री प्राप्त गर्ने चाहना सबैको हुन्छ। विश्वविद्यालयमा प्रवेश गर्नु भनेको ज्ञानका लागि आफ्नो इच्छा पूरा गर्ने अवसरको संसारमा प्रवेश गर्ने दिशामा एक कदम अगाडि बढ्ने हो। विश्वविद्यालय भनेकै ज्ञानको पवित्र मन्दिर हो। यहाँबाट दीक्षित हुने विद्यार्थीबाट परिवार, समाज र सिंगो राज्यले सकारात्मक अपेक्षा गरेको हुन्छ।  

उच्च प्राज्ञिक अभ्यास गर्ने विश्वविद्यालयमा पछिल्लो समय शिक्षक र विद्यार्थीले अध्ययन अनुसन्धान तथा तर्क र विज्ञताभन्दा पनि आआफ्नो शक्ति प्रर्दशन गरी अनैतिक माग पूरा गराउनेहरूको हालीमुहाली बढेको छ। यस्तो अवस्थामा के अपेक्षा गर्न सकिन्छ? मुलुकै जेठो त्रिभुवन विश्वविद्यालय हाल राजनीतिक भर्ती केन्द्रका रूपमा विकसित भइरहेको छ। यसले त्रिविको साख क्रमशः ओरालो लाग्दै छ।  

विश्वविद्यालयभित्र बढ्दै गएका यस्तै अराजक कार्यले गर्दा हाल विश्वविद्यालय शिक्षा थला परिसकेको छ। अझै भन्नुपर्दा नेपालको पहिलो र ठुलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयका शैक्षिक अवस्था त पूर्ण रूपमा थला परिसकेको छ।  

वैशाख १३ गते त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागीय प्रमुख डा. युवराज लुइँटेलमाथि विश्वविद्यालयकै आंशिक शिक्षक ललितकुमार बिष्टले गरेको दुव्र्यवहार। आफूलाई निसर्त करार गराउन विभागीय प्रमुखलाई डर, त्रास, धाक, धम्की देखाएर अभद्र व्यवहार गरे बिष्टले । विभागीय प्रमुख लुइँटेलले पटक पटक प्रक्रिया पु¥याएर काम गर्ने भन्दै गर्दा उनलाई आंशिक शिक्षक बिष्टले तथानाम गाली गलौज गर्नुका साथै प्रमुखको टेबुलमा तीन पटक हेलमेट बजारे।  

अन्तर्राष्ट्रिय विश्वविद्यालयका अधिकांश विद्यार्थीले आफ्ना प्राध्यापकलाई भगवान्जस्तै पूजा गर्छन्, किनभने त्यहाँका शिक्षक र विद्यार्थीबीच सकारात्मक सम्बन्ध हुन्छ। त्यहाँ तह उत्तीर्ण भइसकेका विद्यार्थीबारे शिक्षकहरू सकारात्मक चासो राख्दा रहेछन्, उनीहरू के गरिरहेछन् ? कस्तो अवस्थामा छन् ? कुन काम गरिरहेका छन् ? जस्तो चासो। कति मिठो सम्बन्ध !

२०७७ साल असोज २० गते समाज शास्त्र विभागकै उपप्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालयका विद्यार्थी नेताहरू तथा भाडाका गुन्डाहरूले सांघातिक हमला गरी विश्वविद्यालय परिसरभित्रै कुटपिट गरे। पदाधिकारी नियुक्तिको विषय लिएर विद्यार्थीले लगाएको ६० दिनदेखिको तालाले पठनपाठनमा नकारात्मक असर पर्न थालेपछि उपप्राध्यापक चलाउनेले विद्यार्थीलाई ताला खोल्न अनुरोध गर्दा उनलाई नेपाली नेविसंघका नेताले भाडाका गुन्डा लगाएर कुटपिट गर्न लगाए। उपप्राध्यापक चलाउने जीवन र मरणको अवस्थामा लामो समयसम्म अस्पतालमा भर्ना हुनुप¥यो।  उनी अझै शारीरिक र मानसिक रूपमा पूर्ण निको भएका छैनन्।

२०७६ मंसिर ९ गते त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि भर्ना तथा शुल्कको विवादलाई लिएर कलेजका विद्यार्थी संगठनका नेताले कुटपिट गर्दा उनलाई लामो समय अस्पताल भर्ना हुनुपरेको थियो।  

२०७१ साल जेठ महिनामा त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा प्राध्यापक संगठनहरूका प्रतिनिधिले तत्कालीन उपकुलपति हीराबहादुर महर्जन, रजिस्ट्रार चन्द्रमणि पौडेल र शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई करार शिक्षकलाई स्वतः स्थायीको माग गर्दै २४ घण्टा थुनेर दुव्र्यवहार गरेका थिए।  

विश्वविद्यालयमा किन पटक पटक शिक्षक र विद्यार्थीबीच शक्ति प्रदर्शन भइरहन्छ? यसको एउटै कारण हो–विश्वविद्यालयले आफैले बनाएको विधि–पद्धति र प्रणाली अपनाउन नसक्नु।  

अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयको चर्चा गर्ने हो भने त्यहाँ विद्यार्थीले आफ्ना विश्वविद्यालयका प्राध्यापकलाई भगवान्जस्तै पूजा गर्छन्, किनभने त्यहाँका शिक्षक र विद्यार्थीबीच सकारात्मक सम्बन्ध हुन्छ। त्यहाँ तह उत्तीर्ण भइसकेका विद्यार्थीका बारे शिक्षकहरूले सकारात्मक चासो राख्दा रहेछन्। उनीहरू के गरिरहेछन्? कस्तो अवस्थामा छन्? कुन काम गरिरहेका छन्? कति मिठो सम्बन्ध हुन्छ। विद्यार्थीले पनि शिक्षकको कुरा मानेर अघि बढ्छन्। मानसम्मान गर्छन्। विश्वविद्यालयको उपकुलपतिको त झन् ठुलो इज्ज्जत प्रतिष्ठा हुने गर्छ। अर्थात् विद्यार्थी र प्राध्यापकसँगको सम्बन्ध नम्बरमा मात्र होइन, भविष्यसँग जोडिएको हुन्छ। एउटा प्राध्यापकले सिफारिस गर्नु भनेको त्यो विद्यार्थीको करिअर बन्नु हो। तर हाम्रा विश्वविद्यालयहरूमा शिक्षक र विद्यार्थीले शैक्षिक उन्नयनभन्दा पनि आआफ्ना पार्टीका कार्यकर्ता कसरी कहाँ भर्ना गर्न सकिन्छ भन्नेमा बढी दिमाग लगाउँछन्। यसका कारण न त विद्यार्थीले गुरुको सम्मान गर्छ न गुरुले नै विद्यार्थीको भविष्यबारे चिन्ता गर्छ।  

विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनका लागि विभिन्न राजनीतिक आस्थाका आधारमा शिक्षक र विद्यार्थीको संघ संगठन खुलेका छन्। तर यी संगठनले भने दलगत भागबन्डामा नियुक्ति गराउने काममा मात्र सीमित भएको विश्वविद्यालयका प्राध्यापकहरूको तितो अनुभव छ।  

विगतदेखि नै विश्वविद्यालयभित्र विभिन्न राजनीतिक दलको खोल ओढेर चलेका विद्यार्थी, शिक्षक तथा कर्मचारीका संगठनले उपकुलपतिदेखि विभिन्न विभागका पदाधिकारी नियुक्ति गराउने विकृति बढेको छ। विश्वविद्यालयका प्राध्यापकहरू नै राजनीतिक आड समातेर विद्यार्थी नेताको पाउ पर्दै नियुक्ति पाउँछन्। उपकुलपति नियुक्ति पनि प्राध्यापक संगठनका नेताहरूकै सिफारिसमा प्रधानमन्त्रीले गर्ने गरेका छन्। जब विद्यार्थीले नै पदाधिकारी नियुक्ति गराउने भएपछि उनीहरूले आफ्ना गुरुलाई आदर गर्न सक्दैनन्। उनीहरूले शिक्षकलाई आफूले नियुक्ति गराएको एक कामदारकै रूपमा हेर्ने गर्छन् र हेरिरहेका छन्।  

विश्वविद्यालयभित्र पदाधिकारीकै नियुक्तिको विषयलाई लिएर विद्यार्थीले शिक्षक कुट्ने र शिक्षकले आफ्नै पदाधिकारीमाथि दुव्र्यवहार गर्ने घटना पछिल्लो समय बढ्दै गएको छ।  

विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक उन्नयनका लागि विभिन्न राजनीतिक आस्थाका आधारमा शिक्षक र विद्यार्थीको संघ संगठन खुलेका छन्। तर यी संगठनले भने दलगत भागबन्डामा नियुक्ति गराउने काममा मात्र सीमित भएको विश्वविद्यालयका प्राध्यापकहरूको तितो अनुभव छ।  

अपराधीलाई ठोस कारबाही नभएकै कारण यस्ता विद्यार्थी र शिक्षकको खोल ओढेर विश्वविद्यालयभित्र आपराधिक क्रियाकलाप गर्नेहरूले प्रश्रय पाइरहेका छन् भने अर्कातर्फ विद्यार्थी र शिक्षक संगठन नै पदाधिकारी नियुक्ति गराउने खेलमा समावेश भएकाले पदाधिकारीहरू पनि विद्यार्थी सामु निहुरिएरै बस्छन्। यति सम्म कि विश्वविद्यालयमा अझै पनि छात्रावासमा अवकाश प्राप्त शिक्षकहरू दलबलकै प्रयोग गरी ओगटेका छन्। तर विश्वविद्यालय प्रशासनले निकाल्न सकेको छैन। यसका पछाडि पनि दलकै संरक्षण रहेको छ, किनभने विभिन्न समयमा छात्रावासका लागि पनि विद्यार्थी र शिक्षकबीच त्रिवि परिसरमा भिडन्त नै हुने गरेको छ।  

अपराधीलाई कुनै कारबाही हुन नसकेकै कारण बौद्धिक विरोधीहरूले आपराधिक क्रियाकलाप गर्न प्रश्रय पाइरहेका छन्। दलको नांगो हस्तक्षेपले विश्वविद्यालय असुरक्षित बन्दै गएको छ। शिक्षकले त्रासमय वातावरणमा बाच्नुपरेको छ। उनले विश्वविद्यालय तीन वर्षमा ३ सय ४५ दिन तालाबन्दी हुँदासमेत विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमेतले केही नबोल्नुले पनि  विश्वविद्यालय राजनीतिक दलदलमा फस्दै गएको प्रस्ट हुन्छ। विश्वविद्यालयभित्र रहेको दलका भ्रातृ संगठनहरूले विद्यार्थीको हकहितभन्दा भागबन्डा हुबहु लागु गराउने मात्र काम गरिरहेका छन्।  

दलगत दलदलमा फस्दै विश्वविद्यालय

पछिलो समय त्रिवि दलगत दलदलमा फस्दै गएको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलकै पालामा त्रिवि सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग गरी नियुक्ति प्रक्रिया अघि बढाइएको छ। कम्तीमा सेवा आयोगको नियुक्तिमा भागबन्डा नहुने विश्वास लिइएको थियो। यो पनि गलत साबित भयो। मन्त्री पौडेलले प्रक्रिया अघि बढाए पनि पछि फेरि दलको भागबन्डामै गएर अड्कियो र पद रिक्त भएको एक वर्ष लाग्दासमेत अध्यक्ष नियुक्ति हुन सकेको छैन।  

त्रिवि नियमअनुसार सेवा आयोग ६-६ महिनामा खुलेर शिक्षक नियुक्ति, स्थायी तथा बढुवालगायतका काम सबै रोकिएका छन्। शैक्षिक क्यालेन्डर त्रिवि आफैले पालना नगरेकै कारण परीक्षा, कक्षा सञ्चालन तथा आवश्यक शिक्षकसमेत समयमा नियुक्ति हुन सकेको छैन। सेवा आयोगका अध्यक्ष मात्र होइन विश्वविद्यालय अन्तर्गतका सबै निकायमा भागबन्डामै नियुक्ति गर्ने विकृति बढेको छ। जसका कारण भागबन्डा नमिले वर्षौंसम्म पनि पदाधिकारी नियुक्ति हुँदैनन्।

विद्यार्थीमा विश्वविद्यालयप्रति नकारात्मक दृष्टि  

विश्वविद्यालयमा बढ्दै गएको अराजकताका कारण शैक्षिक उन्नयनको काम हुन सकेको छैन। विश्व बजारमा मागअनुसारको नयाँ पाठ्यक्रम र पाठ्यविषय विश्वविद्यालयले बनाउन सकेका छैनन्। देशमा स्थापना भएका १३ वटै विश्वविद्यालय एउटै प्रकृतिका छन्। सबैले उही विषय र उस्तै पाठ्यक्रम पढाउँछन्। देशको नयाँ आवश्यकता अनुसारको समेत पाठ्य विषय पढाउन नसक्नु दुर्भाग्य नै हो। शिक्षा मन्त्रालयकै तथ्यांकअनुसार गत एक वर्षभित्र कुल ७२ देशका लागि एक लाख १७ हजार ५ सय ६३ ले विदेशका विभिन्न शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्नका लागि एनओसी लिएका छन्। विश्वविद्यालय अुनदान आयोगका अनुसार नेपालमा स्नातकमा भर्ना हुने विद्यार्थीको कुल १५ प्रतिशत मात्र छ। जबकि छिमेकी मुलुक भारतमा २९ प्रतिशत र चीनमा ५८ प्रतिशत रहेको छ।  

सुझाव  

एकातिर वस्तुगत र वैज्ञानिक आधारबिना नै अर्बौंको लगानीमा खोलिएका विश्वविद्यालयहरूमा विद्यार्थी रित्तिँदै जाने र अर्कातिर स्वदेशमा अध्ययन हुने विषयमा समेत विद्यार्थीले स्वदेशमा अध्ययन नगरी विदेसिने शृङ्खला अन्त्य गर्ने सम्बन्धमा कसको दायित्व के भन्नेबारे अब राज्य प्रस्ट हुनुपर्छ। राजनीतिक दलले आफ्नो भ्रातृ संगठनका शिक्षक र विद्यार्थीलाई नियम कानुनमै नभएको विषयवस्तु माग पूरा गराउन साथ दिनुहँुदैन। विश्वविद्यालयभित्र पदाधिकारी नियुक्त राजनीतिक निगाहमा होइन, प्राज्ञिक मर्यादा कायम गर्दै विश्वविद्यालयलाई हाक्न सक्ने स्पष्ट भिजन भएको प्राज्ञिक व्यक्तिबीच खुला प्रतिस्पर्धा गराएर मात्र गर्नुपर्छ। यसले विश्वविद्यालयको प्राज्ञिक मर्यादा कायम गर्छ।  

उच्च शिक्षा पढ्ने उमेरका युवाहरू विदेश पलायन हुनु केवल शिक्षाका लागि मात्र नभएर शिक्षापछिको रोजगार र उज्ज्वल भविष्यका लागि हो। आफ्ना सन्ततिका लागि सुरक्षित भविष्यको सुनिश्चता नै हो भन्ने विषय जगजाहेर भइसकेको छ। त्यही भएर अब राजनीतिक दलहरूले यो यथार्थ बुझेर विश्वविद्यालयलाई आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाएर तहसनहस गर्ने काम तत्काल रोक्नुपर्छ। युवाका यस्ता समस्या सम्बोधन गर्ने गरी नेपालमै पढाइ हुने विषयमा कम्तीमा स्नातक तहका विद्यार्थीलाई स्वदेशमै रोक्न मुलुकभित्रै लाभदायक रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार एवम् उद्यमी बन्न सक्ने नीतिलाई समग्र उच्च शिक्षा नीतिसँग जोड्नुपर्छ। शिक्षामा भएको लगानीले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने स्पष्ट नीति सरकारको हुनुपर्छ। 

प्रकाशित: ३० वैशाख २०८० ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App