२ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

वीरताको चिनोः नेपाली सेना

नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबैभन्दा पुरानो संस्था नेपाली सेना हो। यस देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ। यसको आफ्नै विशेषता छन्। समयसापेक्ष यो संगठनले आफूलाई परिवर्तन र परिमार्जन गरी आज ‘नेपाली सेना’ बन्न पुगेको छ। यो संस्थाले इतिहासको थालनीदेखि आजसम्म सरकारको आदेश पालना गरी राष्ट्रप्रति लगनशील, वफादार, राष्ट्रभक्त र कर्तव्यपरायण भई उच्चतम कीर्ति र यश कमाएको छ। नेपाली युवा चाहे आफ्नै राष्ट्रको सेनामा होऊन्, चाहे विदेशी सेनामा, आफ्नो इमान्दारी, कर्तव्यपरायणता र निस्वार्थ सेवाले ‘वीर गोरखाली’ भनी इज्जत कमाएका छन्। कुनै समयको युद्धमा नेपाली सेना ‘आयो गोरखाली’ भनी अगाडि बढ्दा कुन चाहिं शत्रुको मुटु कम्पन नगरेको होला! यही हो नेपाली सैनिक इतिहासको वास्तविकता र गौरव। प्रागैतिहासिक कुरूक्षेत्रको युद्धभूमिदेखि २० औं शताब्दीको फकल्यान्डसम्म वीर नेपालीले आफ्नै पौरख देखाउँदै आएको सत्य र तथ्य हाम्रो सामु छ। नेपाली वीरहरू बरू प्राण अर्पण गर्न तयार हुन्छन्, तर पछि हट्दैनन्। यही वीरताको गाथा बोकेको छ नेपाली सेनाले।

अस्थायी सेनादेखि ब्यारेकमा बस्ने स्थायी र प्रतिभा तथा शक्तिसम्पन्न स्थायी सेना बनाउने ४५६ वर्ष लामो इतिहास यसले बोकेको छ।

प्राचीन नेपाली सेनामा पैदल, घोडचढी र हात्ती सेनाहरू मात्र थिए। पाँचौं शताब्दीमा पश्चिममा गण्डकी नदी पारिका विद्रोही सामन्तहरूलाई दबाउन पैदल र हात्ती सेना प्रयोग गरिएका थिए भने आठांै शताब्दीमा नेपाली घोडचढी फौजले उत्तर भारतमा आफ्नो पुरूषार्थ देखाएको थियो। यस प्रकार प्राचीन नेपालको सैनिक कार्य सराहनीय थियो। प्राचीनकालदेखिको तीन प्रकारका सेनाहरूमा मध्यकालसम्म राजनैतिक परिवर्तन साथै सैनिक प्रथामा पनि परिवर्तन हुँदै आयो। स्थायी सेनाको सट्टामा जनसहभागिताको आधार एक राज्यको युवाहरूलाई आवश्यकताको आधारमा परिचालन गर्ने प्रथा देखापर्‍यो। युवाहरूलाई तत्कालीन हतियारहरू–तरबार, भाला, खुकुरी, खुँडा, धनुष बाँण आदि प्रयोग गर्ने तालिम दिइन्थ्यो। आवश्यकताअनुसार प्रत्येक घरबाट आवश्यक संख्यामा युवाहरू आह्वान गरी युद्धमा परिचालन गरिन्थ्यो। मध्यकालसम्ममा देशभित्र राजपरिवारिक कलह, सामन्तहरूको विद्रोह, विभाजित राज्यहरूबीचका युद्धहरू र विदेशी आक्रमणले गर्दा प्रत्येक राज्यमा सैनिक संगठन अझ बढी दरिलो बनाइयो। तथापि स्थायी सेना संगठन गरिएको आभास भएको छैन। त्यस समय युवाहरूलाई सैनिक तालिम र हतियार प्रयोगको अभ्यासको अनुमति दिइन्थ्यो। विभिन्न मन्दिर र विहारहरूमा समेत हतियारहरू संकलन गरी राखिन्थ्यो। संकटकालमा घन्टा वा नगरा बजाई आमनागरिक जम्मा गरिन्थ्यो, हतियार हुनेले आफैँ ल्याउँथे र नहुनेलाई सरकारका तर्फबाट मन्दिर, विहार वा किल्लामा राखिएका हतियार वितरण गरिन्थ्यो। यसप्रकार मध्यकालमा स्थायी सेना नराखी जनसहभागिताको आधारमा राज्यको सुरक्षा गरिन्थ्यो। हात्ती सवार फौज बारेमा यदाकदा मात्र उल्लेख भएकाले सो फौज लोप हुँदै गएको आभास हुन्छ।

 मध्यकालमा भने सैनिक कारबाही सञ्चालन गरी आयआर्जन गर्ने कार्य हुन थालेको देखिन्छ। पूर्व मध्यकालमा यहाँ तीन राज्यहरू– त्रिशूलीदेखि कुमाउँ–गढवालसम्मको खस मल्ल राज्य, त्रिशूलीदेखि कोसीसम्मको पहाडी इलाकामा नेपालमण्डल राज्य र महाभारतदेखि दक्षिणमा बोधगया र गंगा, पूर्वमा कोशी र पश्चिममा गण्डकी नदीबीचमा अवस्थित सिम्रोनगढबाट प्रशासित कर्णाटवंशी राज्य थिए। ती राज्यहरूमा पनि विशेष गरिकन सम्पन्न नेपाल मण्डल राज्यका शासक परिवारहरूबीच झगडाका कारण काठमाडौं उपत्यकाले धेरै आक्रमण भोग्नु पर्‍यो। आक्रमणकारीलाई प्रशस्त सम्पत्ति प्रदान गरी फिर्ता पठाइन्थ्यो। यस्ता घटनाको फलस्वरूप सैनिकीकरण सुरू भयो। विशेषगरी खस मल्ल राज्यले नेपाल राष्ट्रलाई दुई पक्ष भाषा अर्थात खस भाषा (वर्तमान नेपाली भाषाको पूर्व रूप) र सैनिकीकरण विशेष देन प्रदान गर्‍यो। सबल सैनिक शक्ति भएकाले नै खस मल्ल साम्राज्य स्थापना भयो। पूर्व मध्यकालको अन्तमा खस मल्ल र कर्णाटवंशी राज्यहरू अन्त्य भई नेपाल देश अझ विभाजित भई बाइसी, चौबीसी, तीन नेवार मल्ल तर जयस्थिति मल्ल क्षेत्री वंशीय थिए र त्यसका पछिका नेवार मल्ल भनिएकाहरु क्षेत्री वंशीय नै थिए। राज्य र पूर्वी सेन तीन राज्यहरू गरी ५२ वटा राज्यहरू स्थापना भए। यसको परिणाममा पहिलाको जस्तो सबल र सक्रिय सेना भुरे राज्यहरूले राख्न सकेनन्। तात्कालीन भुरे राज्यहरूमा विशेष गरी नेवार मल्ल राज्यहरू धर्म, संस्कृति र कलाकौशलको उन्नयनमा लागे। सैनिक पक्ष जनसहभागितामा आश्रित भए।

 उत्तर मध्यकालमा भुरे राज्यहरूमा स्थायी सेना राख्नुको सट्टामा आवश्यक पर्दा जनसहभागिताको आधारमा जम्मा गरिएका सेना नै प्रयोग गरी समस्या सुल्झाइन्थ्यो। पछि गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण गर्ने अभियान शुरू गरेपछि स्थायी सेनाको आवश्यकता महसुस भयो। त्यसैले पृथ्वीनारायण शाहले वि.स. १८१९ मा पाँच कम्पनीहरू (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुज) स्थापना गरे। यो कार्य नेपालको सैनिक इतिहासमा विभिन्न पक्षबाट कोशेढुङ्गा भएको प्रमाणित भएको छ। वि.सं. १५५९ मा भगीरथ पन्तको नेतृत्वमा खडा भएको गोरखाली सेनाले परम्परागत रूपले सैनिक व्यवस्था कायम गरी आएकामा २०३ वर्षपछि मात्र नेपाली (गोर्खाली) सेनामा पहिलो पटक पाश्चात्य पाराको १०० नाल हतियारको १०० जना संख्या रहने गरी कम्पनी खडा भएको थियो।

 जनसहभागिताको आधारमा भन्दा स्थायी रूपमा स्थापना गरिएका सेनाहरू प्रतिभाशाली र प्रभावशाली देखापर्न थाल्यो। यसैले शासकहरूले स्थायी सेना राख्ने नीति अपनाए। यस्तो नीति कान्तिपुरका राजा जयप्रकाश मल्ल र गोरखाका राजा पृथ्वीनारायण शाहले अपनाए। पछि मल्लवंशको अन्त्य गरी पृथ्वीनारायण शाहले विभाजित देशलाई संगठित गर्ने नीतिमा लागे। स्थायी सेनामा कुन कुन जाति राख्न उपयुक्त होला भनी उनले आफ्ना मामा पाल्पाका राजकुमार उद्योत सेनसँग सल्लाह माग्दा खश जातिलाई प्राथमिकता दिनु उपयुक्त हुने सल्लाह दिए तापनि उनले आफ्ना राज्यका सबै जातिका मानिसहरू आफ्ना सेनामा भर्ती गरेको प्रमाणित भएको छ। राजा रणबहादुरको शासनकालमा बाइसे राज्यहरूमाथि आक्रमण गर्न पठाइएका सेनामा पराजित राज्यका मानिसहरू पनि गोरखाली सेनामा राखिएको तथ्य तत्कालीन राजपुरोहित विद्वान शक्ति वल्लभले आफ्नो कृति ‘जय रत्नाकर’ नाटकमा उल्लेख गरेका छन्। विश्वको इतिहासले प्रमाणित गरेको छ, कुनै पनि जाति आफ्नो राष्ट्रको रक्षाको लागि दत्तचित्त र प्रतिभाशाली हुन्छन्। मात्र जो सैनिक दृष्टिकोणबाट सबल र प्रतिभाशाली हुन्छ, उसैले विजय हासिल गर्छ। प्राचीन र मध्यकालीन सैनिक इतिहास र रणनीतिका बारेमा भनाइ छ– युद्धमा एक सुसंस्कृत र सभ्य जातिलाई असंस्कृत, असभ्य र निर्दयी जातिले विजय हासिल गर्छ। सुसंस्कृत र सभ्य मानिसहरू निर्दयी हुँदैनन्, मारकाटमा लाग्दैनन्। असभ्य मानिसहरू आफ्नै फाइदाको लागि निर्दयी र मारकाटमा लागि रहन्छन्। तर वास्तविकतामा मानव समाजको विकासको इतिहासले जुन जाति युद्धकलामा निपूर्ण हुन्छ सोही जातिले विजय हासिल गर्छ। नेपालको इतिहासमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू जुन किसिमले युद्धकला र रणनीतिमा लगनशील भई दक्षता हासिल गरे त्यसैको फलस्वरूप गोरखाली सेनाले सफलता हासिल गर्दै अगाडि बढ्यो। तीन नेवार मल्ल राजाहरू भक्तपुरको युद्ध वि.स. १८२६ पछि अन्त्य भए। शाह राजाहरूले पराजित क्षेत्रका युवाहरूलाई पनि आफ्नो सेनामा संलग्न गराए। यही अवधिमा नेपाली सेनाले गुर्गिन खाँ र क्याप्टेन किनलक, नेपाल–तिब्बत–चीन युद्धमा आक्रमणकारी विदेशी सेनाहरूलाई नराम्रोसँग पराजय गर्न सफल भए। त्यस्तै वीरता, साहस र सफलता हासिल गर्दै नेपाली सेनाअगाडि बढ्दै गयो। पृथ्वीनारायण शाहले युद्धमा देखाएको बहादुरी, रणकौशलता र दक्षताको आधारमा पदोन्नति गर्ने नीति अपनाएकाले नेपाली सेनामा कार्य कुशलता र सफलता हात पर्दै गयो। यस्तो नीति फ्रान्समा नेपोलियन बोनापार्टले अपनाएका थिए तर नेपालमा भने भीमसेन थापा मुख्तियार र जनरल भएपछि जनरल, कर्नेलको पद आफ्नो परिवारमा सीमित राखी कम्पु तथा पल्टन पनि आफ्ना पिता, भाइ र भतिजाको मातहतमा राखे। साथै कोत पर्वपछि राणा परिवारको उदय भयो र सेनामा पदोन्नतिको नीतिमा आमूल परिवर्तन गरियो। राणा शासकहरूले सैनिक उच्च पदहरू आफ्नै परिवारको एकलौटी अधिकार कायम गरे। नेपालको इतिहासमा कुनै पनि युद्धमा सरिक नभई ‘जनरल’ र ‘प्रधान सेनापति’ पद पाउने प्रथम व्यक्ति भीमसेन थापा नै थिए। ‘प्राइम मिनिस्टर एन्ड कमान्डर–इन–चीफ’ हुने व्यक्ति माथवरसिंह थापा थिए। यही क्रमलाई राणाहरूले अनुकरण गरे। यही कारण पछि नेपाली सेनामा समानुपातिक विकास हुन सकेन।

 विभाजित नेपाललाई एकीकरण गर्ने अभियानमा दु्रततर गति आएपछि नेपाली सेनामा संख्यात्मक वृद्धि गर्न आवश्यक हुन गयो। पृथ्वीनारायण शाहले पाँच कम्पनी स्थापना गरेपछि निरन्तर रूपमा वि.स. १८७१–७३ को कम्पनी सरकारसँगको युद्धसम्म सेनाको संख्या बढाउँदै गयो। विशेष गरी चौबीसी र बाइसी राज्यहरूलाई विजय गर्न बृहत तयारी गर्न थालियो। सोहीअनुरूप विभिन्न नयाँ कम्पनीहरू गठन गरिए। अझ छिमेकी देशहरूसँगको युद्धकालमा स्थायी सेनाले मात्र नपुगी झारा प्रथा (अस्थायी) द्वारा असंख्य सेनाको संगठन गर्नु परेको थियो। नेपाल–कम्पनी सरकारको युद्धपछि तेस्रो नेपाल–भोट युद्ध वि.सं. १९११ बाहेक नेपालले  कुनै पनि बाह्य युद्धमा सरिक हुन परेन।

नेपाली सेनाले आफ्नो राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताका लागि मात्र होइन, नुनको सोझो गर्न पनि त्यत्तिकै बहादुरी र साहसका साथ आफूलाई युद्धमा होमी आफ्नो वीरता देखाएका थिए र देखाउँदैछन्। विदेशी सेनामा भर्ती भएका नेपाली युवाहरूले खटाइएका युद्ध क्षेत्रमा बडा संयमतापूर्वक आफ्नो कार्य सम्पन्न गर्न कहिल्यै पछि परेका थिएनन्। उनीहरूले विशेष गरी ब्रिटिस गोरखा रेजिमेन्टमा काम गर्दा जुन इमान्दारी, बहादुरी र कर्तव्यपरायणता देखाए, त्यसबाटै  विश्वको सैनिक इतिहासमा ख्याति प्राप्त गरेका हुन्। जर्मन सम्राट विलियम कैजरसमेत गोरखाली सेनादेखि तर्सन्थे। प्रथम विश्वयुद्धमा नेपाली सेनाले देखाएको बहादुरी र प्रभावले दोस्रो विश्वयुद्धअगाडि नेपाललाई आफ्नो पक्षमा लिई वीर गोरखालीलाई आफ्नो सेनामा समावेश गर्ने भित्री मनसायले प्रधानमन्त्री जुद्ध शम्शेरलाई जर्मनी, इटाली, जापान, फ्रान्स आदि विभिन्न देशबाट तक्माहरू प्रदान गरियो तर नेपालीहरू आफ्ना छिमेकी हितैषी अंग्रेज सरकारलाई सहयोग गरी नेपालीहरूले तत्कालीन ब्रिटिस–गोर्खा फौजबाट विभिन्न युद्धमा अतुलनीय बहादुरी तथा साहस प्रदर्शन गरेबापत ब्रिटिस साम्राज्यले अति गौरवमय तक्मा ‘भिक्टोरिया क्रस’ प्रदान गरेको थियो। त्यसैगरी नेपाली सेनाबाट लड्ने योद्धाहरूले ‘मिलिटरी क्रस’ तक्मा पाएका थिए। नुनको सोझो गर्नु नेपाली जातिको महान विशेषता हो। स्वतन्त्र भारतलाई पनि समस्या पर्दा नेपालले सैनिक सहयोग प्रदान गरेको थियो। सन् १९६५ मा भारत–पाकिस्तान युद्ध हुँदा भारतस्थित गोरखाली सेनाका जवानहरूले निडरताका साथ युद्धभूमिमा सहभागी भई आफ्नो जीउज्यानको बलिदान दिई कर्तव्यपरायणताको सराहनीय परिचय दिएका थिए। त्यस्तै प्रकारले फकल्याण्डको रणभूमि, इराक तथा अफगानिस्थानमा समेत अति सराहनीय भूमिका खेलेका थिए। यसरी नेपाली जवानहरूले विश्वका विभिन्न रणभूमिमा अति साहस, पराक्रम, बहादुरी र रणकौशल देखाई नेपाललाई ‘वीर गोरखालीहरूको देश’ भनी चिनाए। शासनको बागडोरमा रहेकाहरूले नेपाली युवालाई जीविकोपार्जन गर्न पाइने स्थिति स्वदेशमा खडा नगरी दिएकाले ती वीर युवाहरूले विदेशीको सेवामा लागेर पनि कहिल्यै विश्वासघात गरेनन्। नेपालीहरूको विशेषता हो– नुनको सोझो गर्नु। वि.स. १६१६ देखि आजका दिनसम्म ४५६ वर्ष नेपाली सेनाले अविछिन्न रुपले नेपाली माटोको खातिर नुनको सोझो गर्दै आएको छ।

(लेखकले नेपालको सैनिक इतिहासमा पिएचडी गरेका छन् भने उनी नेपाली सेनाको पूर्व व्रिगेडिएर जनरल पनि हुन्।)

प्रकाशित: १३ फाल्गुन २०७३ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App