१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय

नोभेम्बर, ८, २०१६ मा डोनाल्ड जे. ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा हात पारेपछि  दुई शताब्दीभन्दा बढी समयदेखि उदारवादी दर्शन तथा त्यसले स्थापित गरेका मूल्य–मान्यतामा आधारित व्यवस्था एकाएक समापनमा गएर कथित् लोकप्रियतावाद (पपुलिज्म) को उदय भएको आशंका गरिँदै छ। बहुसंख्यक उदार अमेरिकीहरूका विचार सुन्दा लाग्छ– संयुक्त राज्य अमेरिकामा एकाएक अमेरिकाबारे पटक्कै जानकारी नराख्ने (इग्नोरेन्टको अर्थमा), आत्मअभिमानी अर्थात् दम्भी, ठूलो स्वरले चिच्याउने अर्बपति, पूर्वजनरल, गलत अफवाह फैलाउने तथा धर्मान्धता तथा नश्लीय सोचग्रस्त असभ्य हुलको राजकाज सुरुआत हुन लागेझैँ ठान्न थालेको देखिन्छ (हेर्नुस्, इयान बुरुमाको होपिङ फर दि बेस्ट अगेन्स्ट ट्रम्प, १० जनवरी २०१७, प्रोजेक्ट सिन्डिकेट)। ४५औँ राष्ट्रपतिका रुपमा ट्रम्पको विजय घोषणाको केही घन्टा व्यतित नहुँदै अमेरिकाका धेरै सहरमा उनको विजय पचाउन नसकेर सयौँ अमेरिकीले विरोध जुलुस निकाले।

रोविन्सनको विचारमा बीसौँ र एक्काइसौँ शताब्दीको फासीवादबीच आधारभूत भिन्नता छ। हालको ट्रम्पिज्म बहुराष्ट्रिय पुँजीवादको नयाँ हैकम (इमर्जिङ डिक्टेटरसिप अफ ट्रान्सनेसनल क्यापिटल क्लास) खडा गर्नका लागि भएको हो निषेधका लागि होइन।

ट्रम्पले आजै (जनवरी २०, २०१७) राष्ट्रपति पदको शपथ लिँदै छन्। उनीविरुद्ध माथि उल्लिखित आशंका त्यसै गरिएका वा आरोप त्यसै लगाइएका होइनन्। सन् २०१५ को सुरुमा जब उनले रिपब्लिकन पार्टीका तर्फबाट चुनाव लड्ने घोषणा गरे र बिस्तारै पार्टीको प्रारम्भिक प्राइमरी छनोटमा अन्य उम्मेदवारलाई हराउन जुन अजेन्डा अगाडि सारे, ती अहिलेसम्म अमेरिकी इतिहासमा कसैले घोषित रुपमा उल्लेख गरेका थिएनन्। खासगरी यी दुई वर्षको चुनाव अभियान अवधिमा उनले उदार प्रजातान्त्रिक व्यवस्थामा पाच्य नहुने सात मुख्य नारा उराले।

(क) 'ठूलो पर्खाल खडा गर र आप्रवासीहरूलाई निष्कासन गर।' उनको यो नारा मेक्सिकीलगायत दक्षिण अमेरिकी हिस्प्यानिक, मुस्लिम तथा एसियाटिक नागरिक आप्रवासी जो औपचारिक इजाजतबेगर अमेरिकामा (१ करोड १० लाख हाराहारीमा छन भन्ने अनुमान गरिएको छ ) बसोबास गरिरहेका छन्, तिनलाई आफूले राष्ट्रपतिको शपथ लिएको सय दिनभित्र निष्कासन गर्ने घोषणा गरेका थिए।

(ख) 'मुस्लिम समुदायलाई अमेरिका प्रवेशमा निषेध गर।' युद्धले आक्रान्त अफगानिस्तानी, इराकी तथा सिरियाली शरणार्थीलाई सन् २०१५ डिसेम्बरमा युरोप प्रवेशका लागि आंशिक रुपमा खुला गरेका बेला ट्रम्पले त्यो नीतिको आलोचना गर्दै राष्ट्रपति भएको सय दिनभित्र अमेरिकामा मुस्लिम कानुनी बन्देज लगाउने घोषणा गरे।

(ग) ओबामा केयर (स्वास्थ्य सेवा) खारेजी र 'बजारमा आधारित निकास।' राष्ट्रपतिको शपथ लिएलगत्तै अमेरिकी कांग्रेसलाई भनेर ओवामा केयरको खारेजी गर्ने घोषणा उनले गरेका छन्। हाल सो सेवाअन्तर्गत १ करोड ६९ लाख गरिब असहाय अमेरिकीले स्वास्थ्य बिमामार्फत उपचार पाइरहेकाहरूको सुविधा खारेज हुनेछ।

(घ) कर कटौती घोषणा :   ट्रम्पले आफू राष्ट्रपतिको शपथ लिएपछि हाल सातवटा ट्याक्स ब्राकेटलाई घटाएर तीनमा झार्ने घोषणा गरेका छन्। उनको योजनाअनुसार माथिल्ला धनाढ्यहरू (० दशमलब १ प्रतिशत) ले समाजको तल्लो तहमा रहेका ६० प्रतिशतभन्दा बढी कर तिरिरहेकाले त्यो पुरानो स्किमलाई खारेज गर्ने घोषणा उनले गरेका हुन्। यो योजना अन्तर्गत आगामी दस वर्षभित्र १० खर्ब डलर अमेरिकी ट्रेजरीमा घाटा हुनेछ। यद्यपि, ट्रम्पले सामाजिक खर्च कटौती गरेको रकम पूर्वाधार विकास तथा सैन्य तालिममा खर्च गर्ने योजना अगाडि सारेका छन्।

 (ङ) पेरिसमा सम्पन्न वातावरणीय सम्झौताको खारेजी :  ट्रम्पले पटकपटक पोहोर साल सम्पन्न भएको पेरिस सम्झौता खारेज गर्ने बताएका छन्। संयुक्त राज्य अमेरिकामा औद्योगिक उत्पादन कम गर्न चिनियाँले खडा गरेका बखेडा भन्ने गरेका छन्। 'पेरिस एकर्ड' भनेर चिनिएको उपर्युक्त सम्झौता गएको वर्षको ४ नोभेम्बरबाट लागू भएको हो जसले १९५० देखि अत्यधिक मात्रामा उपयोग गरिँदै आएको खनिज तेल (पेट्रोलियम) न्यून गर्दै लैजाने र अहिले बढेको तापक्रममा दुई डिग्री सेल्सियस घटाउने योजनामा विश्व सहमति जुटेको थियो।

(च) ट्रम्पले आफ्नो कार्यकालमा युएस मिलिटरीलाई 'भयंकर ठूलो', 'शक्तिशाली', 'महान्' बनाउने घोषणा गरेका छन्। उनले पूर्वी र चीन सागरमा आफ्नो सैन्य उपस्थिति वृद्धि गर्ने जनाएका छन्। आणविक हतियारविहीन केही मुलुकहरुमा आफ्नै केही आणविक हतियार हुनपर्ने बताएका छन् र अमेरिकाले आफूसँग भएका परमाणु बमको उपयोग किन गर्न नपाउने भनेर पटकपटक विदेश नीति सम्बन्धी विज्ञसँग सोध्ने गरेका छन्।

(छ) प्यारेन्टहुड प्रोगाममा बजेट कटौती :  संघीय राज्य व्यवस्थाअनुसार स्वास्थ्य सेवा, परिवार नियोजन र एबोर्सन सेवालगायत कोष कटौती गर्ने घोषणा गरेका छन् जसले करोडौँ महिलाको स्वास्थ्यमाथि नकारात्मक असर पर्ने जनाइएको छ। आफ्नो निर्वाचन अभियान भरी महिलाको प्रजनन् सम्बन्धी अधिकारविरुद्ध उनले धेरै उपद्रो बोलेका छन्। पहिलो चारवर्षे कार्यकालमा युएस सुप्रिम कोर्टमा उनले गर्ने तीन न्यायाधीशको नियुक्ति कतै उनका विचारबाट प्रभावित हुने भए भने न्यायको गति के होला भनेर महिला त्रस्त देखिएका छन्।

अमेरिकी दर्शनशास्त्री तथा लेखक कोरनेल वेस्टले ट्रम्पलाई नवउदारवादको उपज र नव–फासीवादउन्मुख व्यक्तित्वको संज्ञा दिएका छन्। उनको आँकलनमा अमेरिकामा अबका दिनमा पाँचवटा आन्दोलन बेग्लाबेग्लै र संयुक्त रुपमा सुरु हुन सक्ने बताएका छन् जसबारे हामी पछि चर्चा गर्नेछौँ। शान्तावारवरा क्यालिफोर्निया विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर विलियम आई रोबिन्सन तथा बेलायती पत्रकार ग्ोरी योङ भने डोनाल्ड ट्रम्पको यो उदय विगतको उदारवादी राजनीति प्रयोगलाई जिम्मेवार ठान्छन् (हेर्नुस् गेरी योङको 'हाउ वाराक ओबामा पेभ्ड दि वे फर डोनाल्ड ट्रम्प' १६ जनवरी २०१७ मा गार्जियन तथा टेलेसुर अंग्रेजी अनलाइनमा १३ जनवरीमा प्रकाशित  'दि फेलियोर अफ प्यासिभ रेभुल्युसन)'।

नवफासीवादको उदय र उदारवादको संकट

योङको विचारमा आज ट्रम्पमार्फत देखिएको जातिवादी वा नश्लभेदी स्वरुप आज अकस्मात देखिएको संकट होइन। ५० वर्षअघि रिपब्लिकन पार्टीभित्र विभिन्न समूह वा गुटमा हुर्किएको विचारको संग्रह हो। रिचार्ड निक्सनले आफ्नो चिफ अफ स्टाफ एज आर होल्डम्यानलाई यो सारा समस्या 'काला' हरुबाट आएको हो भनेबाट सुरु भएको हो भन्ने ठान्छन्। यो नितान्त नश्लभेदी कुरा पछि ढाकछोप गरिएको थियो। उता रोविन्सन भन्छन्– नवफासीवादी ट्रेन्ड जर्ज डब्लु बुस (जुनियर) को पालामै सुरु भएको हो। रिपब्लिकनको अति दक्षिणपन्थी धार पछिल्लो समय तीन खेमामा देखिएको उनले बताएका छन्। पहिलो टी–पार्टी, अरिजुवानामा आयोजना गरिएको सन् २०१० को एन्टाई–इमिग्रेसन ल जसलाई एसबी १०७० भनेर बुझिन्छ र तेस्रो काटो इन्सिचिउट र मेराकट्स सेन्टर तथा दक्षिणपन्थी अर्बपति कोच ब्रदर्सले चलाएको सिलसिलेवार अभियानलाई लिन सकिन्छ। यी दुई संस्थाले विगत आठ वर्षदेखि नवउदारवादको अतिवादी भर्सनलाई अगाडि सारेका थिए। जस्तो कर्पोरेट ट्याक्स घटाउने, सामाजिक सेवा खर्च कटौती गर्ने, शिक्षामा राज्यको खर्च कटौती गर्ने, सबैखाले पुँजी नियमनबेगर बेरोकटोक परिचालन हुन पाउनुपर्नेजस्ता विषय अभियानका रुपमा परिचालन गरिएका थिए जुन ओवामा र सत्तारुढ डेमोक्र्याट उदारवादी अनविज्ञ थिए भन्न मिल्दैन।

रोविन्सनको विचारमा विश्व पुँजीवादी संकट वामपन्थी र दक्षिणपन्थी दुवै खाले भूमण्डलीकरणविरुद्ध लोकप्रियतावादी क्रियाकलापका (पपुलिज्म) कारण झन् गहिरो बन्न पुगेको छ। हाल देखा परेको ट्रम्पिज्म पुँजीवादी भूमण्डलीकरणलाई ब्रेक लगाउन होइन तर समाजको तीव्र धु्रवीकरण र संकटलाई अझ गहिरो बनाउने काममा उद्यत हुने बताउँछन्। उनका नजरमा बीसौँ शताब्दीको फासीवाद र एक्काइसौँ शताब्दीको फासीवादबीच आधारभूत भिन्नता रहेको छ। बीसौँ शताब्दीमा प्रतिक्रियावादी तथा दमनकारी शासकहरु र राष्ट्रिय पुँजीको मिलोमतोमा फासीवाद सुरु भएको थियो भने बहुराष्ट्रिय पुँजीको संलग्नतामा। त्यसैले हालको ट्रम्पिज्म बहुराष्ट्रिय पुँजीवादको नयाँ हैकम (इमर्जिङ डिक्टेटरसिप अफ ट्रान्सनेसनल क्यापिटल क्लास) खडा गर्नका लागि भएको हो निषेधका लागि होइन। युद्ध विज्ञानका प्रणेता कार्ल क्लजविजले 'लडाइँ वा युद्ध अरु माध्यमबाट राजनीतिको विस्तारित रुप हो' भनेझैँ 'ट्रम्पिज्म नवउदारवादको विस्तारित रुप हो।'

बेलायती कन्जरभेटिभ राजनीतिज्ञ जोन इनोच पावेल (सन् १९१२–१९८८) आधुनिक नश्लवादी अतिवादका नायक ठानिन्छन्। तेस्रो विश्वका मुलुकबाट बेलायत बसाइँ आउनेहरुविरुद्ध उनले अप्रिल २०, १९६८ मा बर्मिङघमको एउटा बैठकमा रगतको खोलो (रिभर अफ ब्लड) बग्ने भाषण गरेका थिए। सन् १९९१ म्ाा तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले पावेलको आप्रवासन सम्बन्धी विचारलाई 'भ्यालिड प्वाइन्ट' को संज्ञा दिइन्। उनका सहयात्री राष्ट्रपति रेगनले आफू निर्वाचित भएपछि वैदेशिक नीति अघिल्ला राष्ट्रपतिको दक्षिण अफ्रिका सम्बन्धी नीतिलाई उल्ट्याएर सुरु गरेका थिए। सन् १९८५ मा दक्षिण अफ्रिकी राष्ट्रपति पिडब्लु बोथाले एक व्यक्ति एक भोटवाला प्रजातन्त्रलाई अस्वीकार गरेर चलाइरहेको नश्लभेदी सरकारलाई रेगनले समर्थन गरे र अप्रिकन नेसनल कंग्रेसलाई उग्रवादी संगठन भनेर घोषणा नै गरिदिए। अगस्तो पिनोचेको चिलियन फौजी सरकारलाई हतियार बिक्री गर्न अघिल्लो लेबर सरकारको निर्णयलाई मार्गरेट थ्याचरले उल्ट्याइदिइन् जुन शासन सत्ताले हजारौँ राजनीतिक तथा आमनागरिकको हत्या गरेको थियो। वास्तवमा उनीहरु दुवै शासक तत्कालीन आर्थिक संकट, तत्कालीन समाजमा भित्रिएको असन्तुष्टि, खनिज तेल संकटले खडा गरेको मन्दी, उच्च ब्याजदर र बढ्दो बेरोजगारीको दक्षिणपन्थी असफलताका उपज थिए। हालको ट्रम्पको उदयलाई पनि यसरी हेर्नुपर्ने हुन्छ।

यसपटक उदारवादी अर्थराजनीति किन संकटमा पर्‍यो भन्नेबारे पनि सानोतिनो लेखाजोखा गर्नु मनासिब नै हुन जान्छ। समाजशास्त्री विलियम रोविन्सन उदारवाद कमजोर हुुनुमा डेमोक्र्याट्सहरु कम जिम्मेवार नरहेको तर्क गर्छन्। २०१६ को निर्वाचनमा सम्भ्रान्त उदारवादीहरुले वाम सोचका सिनेटर बर्नी सेन्डरलाई किनारा लगाएर नवउदारवादी उपासक हिलारीलाई बोक्न पुगे। तर सन् २००८ मा जस्तो 'प्यासिभ रेभ्युल्युसन' को अवस्था थिएन। सन् २००८ को बृहत मन्दीको उभारमा बाराक ओबामाका पक्षमा लहर चल्नुको अर्थ तत्कालीन नवउदारवादको विकल्पमा ओबामाले केही गर्छन्, गर्न सक्छन् भन्ने थियो। बहुराष्ट्रिय कम्पनीहरुको बेरोजगार बनाउने नीतिविरुद्ध, बैंंकहरुको कृत्रिम सम्पत्ति मूल्यवृद्धि र वित्तीय संकटविरुद्ध उभिएको जनमतलाई राष्ट्रपति ओबामाले कहिल्यै पक्षपोषण गरेनन्। प्रसिद्ध अर्थशास्त्री एवं 'सिस्टम फ्रेजालिटी इन दि ग्लोबल इकोनोमी' का लेखक ज्याक रासमुसले समाजशास्त्री रविन्सनको भनाइलाई पुष्टि हुने गरी ओबामा अर्थतन्त्रबारे समीक्षा पस्किएका छन्।

सन् २००८ देखि हालसम्म जुन रोजगारी खडा गरिएको छ, ती अत्यन्त न्यून वेतन भएका, कुनै सहुलियत नभएका, पार्ट टाइम, अस्थायी, एकघन्टे काम गर्न कुल युवा बेरोजगारमध्ये ४० प्रतिशत बाध्य छन्। निर्वाचनको समयमा घोषणा गरेबमोजिम मन्दी समाप्त पारेर रोजगारमूलक वैकल्पिक अर्थतन्त्रको विकास गर्नुको सट्टा ओबामा सरकारले बहुराष्ट्रिय निगमहरुको सेयर खरिद गर्न ५ खर्ब डलर सरकारी ढुकुटीबाट खर्च गर्‍यो। धनाढ्य सेयरहोल्डरले लाभांशका रुपमा झन्डै दोब्बर अर्था्त १० खर्ब डलर कुम्ल्याए। ओबामा मातहतको युएस प्रशासनमा धनी १ प्रतिशतले ९७ प्रतिशत अमेरिकी नागरिकभन्दा बढी राष्ट्रिय आयमाथि अधिकार जमाउने गरेका छन्। जब कि बुस प्रशासनका बेला १ को अनुपात जम्मा ६५ प्रतिशत थियो र विल क्लिन्टनका पालामा १ बराबर ४८ प्रतिशत थियो। सन् २००८ को तुलनामा तीन गुणा बढी सेयर कब्जा गरेका छन्। यो ८ वर्षको अवधिमा ६ खर्व डलरभन्दा बढी रकम कर छुट पाए (हेर्नुस् जततउकस्ररशअय्क्क।यचनरशलभतबचतष्अभिरयदब्कबक(ाबचभधभिि(बममचभककर)।

ओबामा प्रशासनले अमेरिकी निर्वाचनलाई सहज र जनपक्षीय पनि बनाउन सकेन। अर्को अर्थमा निर्वाचन असाध्य धेरै महँगो हुन पुग्यो। डेमोक्र्याटिक पार्टीले सन् २००८ मा डिजिटल राजनीतिक विज्ञापन २ करोड २० लाख डलर खर्च भएको थियो भने १५ करोड ८० लाख सन् २०१२ मा १ अर्ब डलर २०१६ मा हुन पुग्यो। सन् २० को निर्वाचनमा ३ अर्ब पुग्ने अनुमान गरिएको छ। यसरी डेमोक्र्याटिक पार्टीको निर्वाचन पैसावाला साहुकारको पोल्टामा पर्दै गएको कतैबाट लुकेको छैन। यसको अर्थ डेमोक्र्याटिक पार्टी सामान्य मजदुर, निम्न मध्यमवर्गीय वा मध्यमवर्गीय उदार प्रजातान्त्रिक नरहेको पुष्टि हुन पुग्यो।

विश्व अर्थराजनीतिक व्यवस्था (वर्ल्ड अर्डर)

विश्व व्यवस्थाबारे गहन अध्येता इम्यानुयल वालरस्टेन (हेर्नुु्स् ष्धबििभचकतभष्ल।अय्क) भन्छन्– ट्रम्पको ९५ प्रतिशतभन्दा बढी विश्व नीति पहिलो वर्षमा अत्यन्त डरमर्दो हुनेछ। उनले नियुक्ति आफ्नो मन्त्रिपरिषदमा छानेका व्यक्तिलाई लिएर नै वालरस्टेनले यो घोषणा गरेका हुन्।

गत साता अर्थात् १५ जनवरी २०१७ मा डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर युरोपियन युनियनबाट बेलायतको बर्हिगमन, युकेसँगको व्यापार सम्बन्ध, जर्मनी र जर्मन चान्सलर एंगेला मर्केलको आप्रवासन नीति तथा औद्योगिक नीति सम्बन्धमा, पश्चिमा सैनिक गठबन्धन नाटो सम्बन्धमा, औद्योगिक उत्पादन र भन्सार सम्बन्धमा, इरान, रसिया र न्युक्लियर पावर सम्बन्धमा इराक सम्बन्धमा अफगानिस्तान र पश्चिम एसिया तथा उत्तर अफ्रिका सम्बन्धमा आफ्नो राय व्यक्त गरेका छन्। आजसम्म डेमोक्र्याटिक पार्टीका पदाधिकारीले गरेका प्रायः सबै निर्णयलाई उनले लगभग उल्ट्याउन सक्ने सम्भावना देखिएका छन्।

सबैभन्दा बढी उनी चीनसँग चिढिएका छन्। चीन दोस्रोबाट पहिलो अर्थतन्त्रमा फड्को मार्ने सम्भावनातर्फ अग्रसर भएको मुलुक हो। रोजगारी उपलब्धता, दिगो तथा सन्तुलित विकास, आम दरिद्रताबाट मुक्ति, पूर्वाधार विकासमा सहभागिताको खोजी, वान वेल्ट वान रोडको दीर्घकालीन परियोजना र विश्व सहभागिता, वैकल्पिक वित्तीय संस्थाहरुको विकास  चिनियाँ राज्य पुँजीवादको ठूलो देनका रुपमा हेरिन र बुझिन थालिएको छ। हाल राज्य पुँजीवादको चिनियाँ मोडल आफ्नो परिवेशमा अनुकरणयोग्य विकासको मोडलका रुपमा हेरिन थालिएको छ। विश्व पुँजीबजारमा बढ्दै गएको चिनियाँ साख, उत्पादन, नाफा र वितरणमा बढ्दै गएको विश्व वर्चस्वका कारण ट्रम्प चीनसँग ईर्श्याजन्य चेहरा र धम्की सार्वजनिक गरिरहेका छन्। चार दशकको विश्व पुँजीवादको नवउदारीकरणमा चीन र अमेरिका ठिक उल्टो दिशामा उभिएका छन्। चीन डाभोसमा पुगेर ग्लोबलाइजेसनमा सहकार्य हुनुपर्ने वकालत गरिरहेका छन्। र ट्रम्प व्यापार प्रतिबन्ध र आफ्नै औद्योगीकीकरणमार्फत उत्पादन र व्यापार। त्यसैले उनी खासगरी विश्वबजारमा प्रभाव जमाइरहेका चीन र जर्मनीविरुद्ध खुलेर उत्रिएका छन्। रुसको पक्षमा उभिएको देखिए पनि क्युबा र इरानसँगको सम्झौताविरुद्ध देखिन्छन्। भूमण्डलीकरणविरुद्ध राष्ट्रिय राज्य वा स्वघोषित दक्षिणपन्थी राष्ट्रवादको उनको नीतिले युद्ध र अप्ठ्यारा कसरी कुन बेला निम्तिने हुन् भन्न नसक्ने अवस्था छ। एक चीन नीतिविरुद्ध आफ्नो शपथग्रहण समारोहमा ताइवानी राष्ट्रपतिलाई निम्ता गर्नु, जापान र भारतसँग मिलेर चीनलाई एक्ल्याउन खोज्ने उनको रणनीतिले उनको राजनीतिलाई कति परसम्म धकेल्छ भन्न नसकिने अवस्था छ। अफगानिस्तान, सिरिया, यमन, पाकिस्तान, लिबिया, इजिप्ट र उक्राइना सम्बन्धी ओबामा–हिलारी नीति कुनै गतिलो थिएन। १० लाखभन्दा बढीको नरसंहार १० लाखभन्दा बढी विस्थापन र सिरियाको ध्वंसमा अमेरिकाको बल मिच्याइँ सबैभन्दा बढी जिम्मेवार रहेको कुरा विज्ञले बताउँदै आएका छन्। हाल आइएस आइएसविरुद्ध अमेरिका खनिएको छ तर त्यस शक्तिलाई हुर्काउने मलजल गर्ने र शक्तिशाली बनाउने काम साउदी अरेबियाली खर्चमा अमेरिकाको संलग्नतालाई कसैले नकार्न सक्तैन। युरोपबाट बेलायतको बहिर्गमन (ब्रेग्जिक्ट) र युरोपेली युनियनको सम्भावित 'विघटन' सम्भवतः सिरिया, लिबिया, इराक तथा अफगानिस्तनमा युद्ध नथोपरिएको भए यी दिन देख्नुपर्ने थिएन। झुटा बयान दिएर नरसंहार निम्त्याउन (खासगरी लिबिया) नखोजिएको भए र निर्वाचित नेतृत्वलाई कथित् आन्दोलनमार्फत उक्राइनामा 'कु' गराएर भिक्टोर यान्कोबिचको सरकार गिराउन अमेरिकाले पहल नगरेको भए सायद हिलारीको दशकौँ लामो सपना भताभुंग हुने थिएन। ट्रम्पको उदयले संसार बडा अप्ठ्यारोमा होमिएको महसुस गरिँदै छ। के हुन्छ भन्न गाह्रो छ।

अमेरिकामा वर्गसंघर्ष?

सुन्दा आश्चर्य लाग्न सक्छ– 'अमेरिका र वर्गसंघर्ष।' तर वर्गसंघर्षको आह्वान त निवर्तमान हुन लागेका राष्ट्रपति ओबामाले क्यालिफोर्नियामा आयोजित बिदाइ सभामा 'इन्टरडिपेन्डेन्ट वर्ल्ड', 'टेरोरिज्म', 'पोभर्टी', 'फिनान्सियल क्राइसिस' र 'ग्लोबल वार्मिङ' को कुरा गरेर उठाइसकेका छन्। उनका कुराले मात्र होइन, संसारभर अहिले देखिएका असमानता, गरिब र धनीबीच उत्पन्न खाडल डरलाग्दो बन्दै गएको रिपोर्ट पाँच दिनअघि (जनवरी १५ मा जारी गरिएको अक्सफाम प्रतिवेदन) ले पनि उजागर गरेको छ। धनाढ्यहरुको 'जम्बोरी' आयोजना गर्ने वर्ल्ड इकोनोमिक फोरमले पनि असमानता र सामाजिक धु्रवीकरणले समस्या उत्पन्न गर्ने बताएको छ। हुन पनि पोहोर साल यतिबेला विश्वका ६२ धनाढ्यले पछिल्ला आधा जनसंख्याको सम्पत्तिबराबर सम्पत्ति आर्जन गरेका छन् भनिएकोमा यसपटक विश्व सिर्फ आठ धनाढ्यले ४ सय २६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति जोडेका छन् जुन विश्वका आधा जनसंख्याको सम्पत्तिभन्दा बढी हो।

अमेरिकी समाजशास्त्री अमेरिकामा प्ााँचवटा क्षेत्रमा संघर्ष सुरु हुन सक्ने आँकलन गरिरहेका छन्। पहिलो आप्रवाससन सम्बन्धी स्यान्चुरी क्याम्पस मुभमेन्ट, दोस्रो, वातावरण सम्बन्धी डिफेन्ड साइन्स मुभमेन्ट, तेस्रो, फेमिनिस्ट प्रोच्वाइस मुभमेन्ट, चौथो, एन्टाई इस्लाम फोबिया मुभमेन्ट र पाँचौँ एलजी बिटिक्यु मुभमेन्ट। डोनाल्ड ट्रम्पको राज्यारोहणकै दोस्रो दिन जनवरी २१ मा २ सयभन्दा बढी भिन्नभिन्न समूहमा आबद्ध महिलाको सञ्जालले देशभर प्रदर्शन गर्ने जनाएको छ।

संघर्ष सजिलो छैन र हुँदैन। सबै आन्दोलनले क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन् भन्ने पनि हुँदैन। यद्यपि, यो भूतलमा बीसौँ शताब्दीको दोस्रो दशकमा जस्तै असमानता र वैरभाव निम्तिएको छ। युद्ध र अपठ्यारा दिनको संकेत पनि देखिएका छन्। अक्टोबर क्रान्तिको शतवार्षिकीको उही रुपमा दोहोेरिने कल्पना त नगरौँ तर संघर्ष जरुरी हुन पुगेको देखिन्छ। हाललाई भने अमेरिकी महिलाको संघर्षमा ऐक्यबद्धता जनाउनु कोही पनि परिवर्तनकामी व्यक्ति र शक्तिको कर्तव्य भने हुन जान्छ।

प्रकाशित: ७ माघ २०७३ ०४:५० शुक्रबार

अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय